करेसाबारीमा हलुवावेद र अम्बाको रूख छ। हेमन्त र शिशिर खेपेर उजाडिएको रूख बसन्तको आगमनसँगै हरियो भएर मुर्जुराएको छ।
पश्चिमपट्टि केराघारी लहलह छ। त्यो पनि मालभोग केरा हेर्दै मोहिनी लाग्लाजस्तो।
बसन्तको आगमनसँगै दुईघरी केरा पसाएका छन्। घरबाट निस्किने कुहिने फोहोर हालेर होला केराको बोटहरू निकै मौलाएका छन्।
एकातिर फोहोर व्यवस्थापन भएको छ, अर्कोतिर आफ्नै बारीमा फलेका अर्ग्यानिक केरा खान पाएका छौं। रोपेदेखि ठूला ठूला दुई घरी फलिसके हामीले चाखिसक्यौँ अपूर्व छ मालभोग केराको स्वाद। काठमाडौंको ठाउँमा जमिन धेरै हुने कुरै भएन सानै ठाउँमा पनि ढकमक्क फुलेका छन् अम्बाका बोटमा सेता फूलहरू।
हलुवावेदमा पनि हरिया दाना लागेर हेरिरहुँजस्तो भएको छ। मलेखुदेखि सिग्देल भिनाजूले ल्याइदिएको एउटा सानो केराको बिरूवा अब त केराघारी नै भैसक्यो। हरेक बिहान हेर्छु हरियाली ओडेको मेरो सानो करेसाबारी। आँखा शितल हुन्छ। मन आनन्दित हुन्छ। झ्यालबाट देख्छु हरिया पातहरू बोकेर हाँसिरहेको हलुवावेदको रूख। हरियो परियो देखेर लामो सास लिन्छु। अक्सिजन फोक्सोभरि भरिन्छ।
मेरो करेसा बारीको सानो संसारमा प्रकृतिको सिङ्गो स्वरूप देखेर आह्लादित हुन्छु। घर वरिपरि नै सुन्छु चराहरूको जीवन्त सङ्गीत। प्रकृतिको सानो आँगनमा निर्बन्ध नाचिरहेका चरीहरूको सुमधुर आवाज। बिहानैदेखि चराहरू नाच्न थाल्छन् रूखको हाँगा हाँगामा, केराको पात पातमा। कहिले मेरै सन्चोबिसन्चो सोध्न झ्यालमै आएझैँ लाग्छ। घरी पूजा कोठासम्म पुगेर आरती लिएझैँ लाग्छ। बिहानीको पवित्र समयमा मलाई चराहरूको सङ्गत प्रीतिकर लाग्छ। तृप्त हुन्छु प्रकृतिको सान्निध्यमा।
प्रभातको सुरम्य सरोवरमा नजिकै आएर बोल्न थाल्छन् चरीहरू। एकमुठी चामल लगेर छरिदिन्छु कौसीभरी। हुरूरू उडेर आउँछन् चारोको आशमा। चरीहरू चारो टिप्न थाल्छन् म चरीहरूलाई हेरेर चरम आनन्दमा पुग्छु। कानैमा भनेको झैं लाग्छ, 'चारो मात्र होइन प्रिय अब घाम चर्को हुँदैछ हामीलाई सानो सानो भाँडामा पानी पनि राखिदेऊ न।'
चरीको पुकारले म हतारिँदै छतमा जान्छु र भाँडो भाँडोमा पानी राखिदिन्छु।
मैले पानी राखेको देखेर सबै चरीहरू एकै स्वरमा चिर्बिराएर मलाई आशीर्वाद दिन्छन्। खुसीले ती रमाएको देखेर म पनि दङ्दास पर्छु। कानमा प्रकृति बोल्दै गर्दा म भान्सामा केहीबेर हराउँछु।
प्रातकालीन भ्रमणमा गएर आउँछु। बैठक कोठामा पद्मासन लगाएर दक्षिण फर्किएर बस्छु। दक्षिणतिर नै छ हरियाली। श्वासमा ध्यान लगाउँदै झ्याल खुला पारेर रूखतिर फर्किंदै कपालभाँती गर्न थाल्छु। प्रणायाम सकेर ध्यानको अभ्यास गर्छु। कानमा सम्पूर्ण प्रकृति गुञ्जित हुन्छ। आँखा खोल्न पटक्कै मन मान्दैन। लाग्छ कुनै शान्त जङ्गलमा विचरण गर्दैछु। चराहरूको चिर्बिरचिर्बिर आवाजले मलाई प्रकृतिसँग नजिक लैजान्छ। चराहरूको चहलपहलमा म सोचमग्न हुन्छु। युगयुगान्तरदेखि चराहरूको दैनिकी एकनासको छ। आधुनिकताले यिनीहरूलाई पटक्कै छोएको छैन। चराहरू कति नियमित छन्, कति सभ्य छन्। म विचार गरिरहेकी छु उनीहरूको दैनिकी। एकैनासको छ। बिहान उज्यालो हुनुभन्दा अगाडि उठिसक्छन् दिनभरि डुलेर चारो बटुल्छन्। बेला बेला विश्राम गर्न रूखकै हाँगामा आउँछन्। मायाप्रेम त्यहीँ साट्छन्। घर त्यही बनाउँछन्। झमक्क साँझ परेपछि गुडमा फर्किन्छन्। समयमा उठ्ने, खाने, डुल्ने सबै निश्चित छ एउटा सानो जीवको।
हिजो र आजमा केही फरक छैन चराहरूको आनीबानी। म चरालाई हेरेर आफूलाई हेर्छु। काम छ भनेर मध्य रातिसम्म जागेको नयाँ पुस्तालाई नियाल्छु। भोलि त बिदा छ भनेर रात अबेरसम्म बसेको जीवनलाई कोट्याउँछु। टिभी मोबाइलमा घण्टौं हराएर रमाएको पुस्ताको पछि लाग्छु।
बिहान घाम छिप्पिसक्दा पनि मस्त निन्द्रामा हराएको भविष्यलाई उठाउन खोज्छु। म असफल हुन्छु। म सक्दिनँ भविष्यलाई समयमा सुताउन र उठाउन।
‘अर्लि टु बेड एण्ड अर्लि टु राइज, मेक्स म्यान हेल्दी एण्ड वाइज’ घोकिरहेको सन्तानलाई न त म समयमा सुताउन सक्छु न त समयमा उठाउन सक्छु। अनि हेल्दी र वाइजको लागि फार्मेसीतिर आँखा डुलाउँदै आउँछु र रूखको नजिकै गएर चराहरूसँग फिस्स हाँसिदिन्छु।
चरी मलाई खुसुक्क भन्छे 'प्रकृति पनि त अचेल तिम्रो सन्तानको सिको गरेर न समयमा रून्छे न समयमा हाँस्छे। हेर त धरणीलाई नरम हुनुपर्ने बेला अरठ्ठिन्छे अरठ्ठिने बेला सुलुलु बगिदिन्छे। आधुनिक प्रविधिले निर्माण गरेको तिम्रो सुन्दर बस्ती पनि निमेष भरमा सुलुत्त बगाइदिन्छे। हेर त हाम्रो आकाश कसरी निस्सासिएर बसेको छ। सास फेर्न पनि मुस्किल छ। हेर्दै जाऊ अब पानी बर्सिने समयमा आकाशबाट आगो बर्सिन्छ। सूर्यको तापले समुन्द्र सुकाउन सक्दैन भन्थे हेर्दै जाऊ प्रिय! अब तातेको समुद्रले आकाश पगाल्न सक्छ। अझ हेर्दै जाऊ आकाशबाट हिउँको कोइला पनि बर्सनसक्छ।' चरीले ख्यालख्याल्मै झ्याल पारी।
मलाई सचेत गर्दै थिई सायद त्यहीबेला पश्चिमतिरबाट कुहिरीमण्डल देखियो। प्याष्टिक बालेको पिसो धुवाँ मेरो करेसाबारीसम्म आयो। प्रभातको स्वच्छ हावामा त्यो विषाक्त धुवाँ मिसियो। चरीको सास अड्कियो। धूमिल आकाशमा चरी उडेर पर गई। निरूपाय भएर हेरिरहेँ। ऊ उकुसमुकुस गर्दै भौँतारिरही।
मेरो आँखाबाट तुरूक्क आँसु झर्यो। मनमनै सम्झिएँ सारा पृथ्वी गम्लङ्ङ छोप्न त कहाँ सक्थेँ र, त्यसैले मैले म बस्ने कोठामात्र सुरक्षित पार्न हतारिँदै झ्याल थुनेँ।
आँखा त पोल्न छोड्यो तर मन भत्भती पोल्न थाल्यो। चरीको विरहले मलाई सताइरह्यो।
झ्याल ढोका थुनेर म सुरक्षित हुँदै सोचमग्न हुँदैगएँ , ‘हामी बुद्धिमान मान्छे हिजोआज प्रकृतिको विरूद्धमा जाँदैछौं। हामी निकै जान्नेबुझ्ने भयौं। आधुनिक भयौं। हिजो गर्दै आएका पौराणिक ज्ञानलाई अज्ञानका कुरा भन्दै बेबुनियाद ठानेर छोड्दै गयौं। हाम्रो पुस्ता सूर्योदयभन्दा अगाडि उठिसक्थ्यो। सूर्यास्त हुनुभन्दा अगाडि खाना खाइसक्थ्यो र चरी जस्तै आफ्नो गुणमा गएर आराम गर्थ्यो। ठीक समयमा ठीक ठीक काम सम्पन्न हुन्थ्यो। सुत्ने उठ्ने समय निश्चित थियो। ब्रह्ममूहर्तमा चराहरूसँग मान्छेहरू पनि जागिसक्थे। सूर्यलाई जल अपर्ण गरेर उज्यालिन्थे। भिटामिन डी सूर्यबाटै मनग्गै लिन्थे। मुहारमा कान्ति सूर्यबाटै ग्रहण गर्थे। सूर्यको तेजले तेजिलो हुन्थे। तन र मनले सूर्य नमस्कार गरेर बलिष्ठ हुन्थे। तुलसीको मोठमा जल चढाएर पानी पिउँथे। कर्ममा विश्वास राख्थे। सन्तोषलाई सम्पत्ति ठान्थे। सेवालाई धर्म। क्षमालाई दान। परोपकारलाई पुण्य अनि पो शान्त र निरोगी भएर आनन्दसँग जीवन निर्वाह गर्थे।
तर आज हामीलाई विज्ञानले प्रविधिमयी बनाएको छ। निकै आधुनिक बनाएको छ। आजको पुस्ताले सूर्यलाई सौर्यमण्डलको मात्र एउटा ग्रह ठानेको छ र पन्ध्र वर्षको कलिलो उमेरदेखि भिटामिन डिको गोली खोजी खोजी गोजीमा बोकेर हिँडेको छ।
उन्नति र प्रगतिको स्वर्णिम कल्पनामा रातलाई दिन बनाएको छ। दिनलाई रात। मान्छे व्यस्त छ परिवर्तनको उपलब्धिमा। प्रकृतिको डरलाग्दो दोहन भएको छ, व्यक्तिगत स्वार्थको कहिले पूर्ण नहुने महाभारतको मैदानमा। दया, माया, करूणा, सेवा र सद्भाव जम्मै फोस्रो लाग्छन् आधुनिक सभ्य समाजमा।
आधुनिक बन्ने होडमा शान्तिलाई कमजोरको मार्ग ठान्दै विक्षिप्तता अङ्गाल्दैछन्। सस्तो सम्पन्नतामा स्वास्थलाई बेवास्ता गरेर हिँडेका छन्। मृत्युलाई भुलेका छन् अमरता प्राप्त गर्ने होडमा। सुन्दरताको भूमरीमा फसेर समयलाई रोक्न चाहन्छन्। केही सीप नलागेपछि समयको फेरलाई समातेर समयलाई नै परास्त गर्न समयभन्दा तीव्र गतिमा दगुरेका छन् अनि अशान्तिको जङ्गलमा निस्सासिएका छन्।
म मनलोकमा हराएकी थिएँ। साँझमा पुनः चरी चिर्बिराउँदै करेसाबारीमा आउँछे र मलाई झ्यालबाट पुलुक्क हेर्छे, प्लाष्टिक जलाएको धुवाँ हटिसकेको छ। आकाशको फोक्सोमा चारैतिर क्यान्सरका जीवाणु मडारिए पनि सास फर्न विवश छन् आकाश ओडेर बसेका पृथ्वीबासीहरू। झमक्क साँझ पर्छ। मेरो करेसाबारी आज उज्यालो छ। म छक्क पर्छु। सोच्छु आज पूर्णिमाको रात हो। काम सकेर राति नौ बजे सुत्न जान्छु। थाकेकी हुनाले ओछ्यान भेट्ने बित्तिकै लुटुक्क निदाउँछु।
चरीको विलाप मस्त निद्रामा सुन्छु। शरीर ऊर्जाशील हुन्थ्यो अरू दिन चराचुरुङ्गी चिर्बिराउँदा तर आज शरीर फतक्क गलेको छ। शिर उठ्न मान्दैन। झ्यालैमा आएर चराचुरुङ्गी एक स्वरमा कराउन थाल्छन्। काग अझ जोड जोडले काँ काँ गर्छ। सदैव चार बजे उठ्ने म आज उठ्न सक्दिनँ। झ्यालैमा आएर चराहरू मलाई अनुरोध गर्छन् राति हो रात जस्तो नै होस् न किन यो उज्यालो बालेको प्रिय! हामी निदाउन असमर्थ भयौँ। हामी सुत्नै सकेनौँ। उठ् बिन्ती ! बत्ती निभाऊ। उज्यालो चाहिन्छ तर अँध्यारोको मिठास बेग्लै छ। अँध्यारो भएन भने उज्यालोको के अर्थ? मेरी जहान ओथरा बसेकी छ रातिको समयमा मस्त निदाई भने मात्र हाम्रा बच्चा स्वस्थ हुन्छन् नत्र हाम्रा बच्चा पनि विक्षिप्त जन्मन्छन्। शारीरिक र मानसिक दुवै समस्या आउँछ। लौ न हामीलाई सुत्न देऊ। हामीलाई निद्रा प्यारो छ। निद्रा आवश्यक छ। हामीलाई स्वस्थ भएर बाँच्न देऊ ।'
जुरूक्क उठेर घडी हेर्छु रातिको एक बजेको छ। लौन! भुइँचालो आउन आँट्यो कि क्या हो? नत्र किन यो राति यसरी चराहरू कराउन थाले मन भुट्भुटिन्छ। भुसुक्कै बिर्सिएछु राति उज्यालो पारे समृद्ध भएको समाजको कथा। हो त हिजोआज सहरमा अँध्यारो छैन। रूखमा पनि झिलिमिली समृद्धिको बत्ती बलेको छ। चरी भन्छे, ‘प्रिय! अँध्यारो जति मान्छेले आफैभित्र सोहोरेर थन्क्याएको छ। आफू उज्यालिएर अरूलाई प्रकाश छरे पो त साँच्चै उज्यालो फैलिन्छ त। आफू तमसमा बसेर सहर मात्र उज्यालो पारेको छ। सहर अँध्यारो पारेर बरू मान्छे उज्याला भए कस्तो हुन्थ्यो।' चरी कल्पिन्छे र निकैबेर मसँग विलाप गर्छे।
लेखनाथलाई झलक्क सम्झिन्छु उनको पालामा बेग्लै थियो चरीको विलाप। मेरो पालामा चरी विलाप गर्छे कठै! उज्यालो धेरै भयो भनेर। म लज्जित हुन्छु चरीको अर्ति सुनेर।
चरी भन्छे, ‘रातको सौन्दर्य, पूर्णिमाको मधुरता र औंसीको कालो रात सहरले खायो। त्यसैले त अचेल न रात, रात जस्तो छ। न दिन, दिन जस्तो छ। न मान्छे, मान्छे जस्तो छ। न सहर, सहर जस्तो छ। न म, म जस्तो छु। न तँ, तँ जस्तो छेस्। अब उठ् तेरो बिहान पनि अब कहिले बिहान जस्तो हुँदैन। म झल्यास्स हुन्छु।
अचेल मेरो करेसाबारीमा रात रात जस्तो छैन। उज्यालो पोखिएको रातमा चरीको होस छैन। म त झन् बेहोस भएको वर्षौं भयो। अब मैले साँच्चै जाग्नु छ। अब साँच्चै रात रात जस्तो पार्नु छ।
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)