म कुमारी हिमाल
अचेल त हिउँका कुमारी फूल फूल्नै मान्दैनन् मेरो बारीभरि।
ऐनाजस्तै फेवामा
लालुपातेले सिउँदो भरेर सर्लक्क फिजाउँदा मेरो जवानी
नाउमाथि बसेर जलाहारीले मेरो केश नकोरेको पनि वर्षौं भएछ।
हिउँफूल फूलेको मेरो जवानीको बेला
प्रेम जोडीहरू–
माछापुच्छ्रेजस्तै तिमी भनेर फकाउँथे आफ्ना प्रेमीलाई
मेरै नामको कसम खाएर डिल लगाउँथे प्रेमीकाको गाजलु खोलामा
मलाई पर्दा बनाएर खिच्थे युगल तस्विर, र झुण्डाउँथे बिस्तरा अगाडिको माटे भित्तामा।
अचेल
यसो हेर्छु तलतिर–
म जस्तै बुढ्यौलीले चाउरिएका देख्छु पोखरेली तालहरू
पुन हिलले बेलगनमै ओढिदिन्छे गुराँसको घुम्टो
धौलागिरि बारबार पन्छिरहन्छे हिउँका चोक्टा खसाल्दै
कोर्चां डाँडाबाट बसाइँ सरेर गए भेंडी गोठालाहरू
म भने जीउभरि बोकेर उभिएकी छु– पाटे बाघका जस्ता काला धब्बाहरू।
हरेक हिउँदमा
पूर्वमा जन्मनुभन्दा पहिले रातो घाम
आँखामा पाली लगाएर हेर्छु आकाशतिर र भाकल गर्छु आकाशका देउतालाई–
ए हिउँका देउता...
लौन... हिउँफूलको मजेत्रो ओढाइदेऊ मलाई
तर
अहँ! देउताले
सुन्दैनन् मेरो बोली
बुझ्दैनन् मेरो भाषा
देख्दैनन् मेरो अँगारजस्तो जीउ।
मलाई
भाग्यले ठग्यो कि मौसमले
अचेल अँगारको पहाड भएर उभिएकी छु–
हिउँफूल झर्ने आकाशको बाटो हेरेर।