मेरो जीवनको पहिलो वसन्त
चैत्र मासको खडेरीले उजाड भएको
त्यो,
जंगलको खुसी बनेर आएको थियो।
जसरी वसन्तको आगमनले
नयाँ पालुवाहरू सिरसिरे बताससँग
आफ्ना खुसी साट्दै हावाको बहावसँग नाच्दछन्
त्यसैगरी मेरी आमाले पनि
मेरो जीवनको पहिलो वसन्तको खुसी
मेरा बासँग साटेकी थिइन्!
सायद त्यो पहिलो वसन्त थियो होला
मेरी आमाको आोठमा मुस्कानको
उमंग ल्याउने
बाँकी वसन्तले कहिल्यै
मेरी आमाको ओठमा मुस्कान भर्न सकेनन्
केबल पालुवा पलाए, फूल फुले र झरेर गए।
मेरो जीवनका बाँकी वसन्त ऋतुसँगै
बरु
घरमा अभाव, समस्या,
नयाँ चुनौतीको आगमन हुन थाल्छन्
विस्तारै
आमाको त्यो ओठको मुस्कान
हराउन थाल्छ
बाको पसिना बगाउने
कोदालो र घन बजार्ने जाँगर हराउन थाल्छन्
केबल
घरको जिम्मेवारी, बाआमाको आशा
आफन्तका गुनासा, भविष्यको चिन्ता,
मनभरि निराशाको आगमन हुन थाल्छन्।
जीवनमा
विस्तारै वसन्तको
उत्साह र उमङ्ग हराउन थाल्यो
हो, त्यसैले
अब मरेका सपनाहरूको कंगाल बोकि
ढल्किँदै गरेको उमेरसँगै
रित्तो गोजी बोकेर फेरि
वसन्तको आगमन नभइदिए जस्तो लाग्छ।