एक परारै
'म त साहुको घर हुँ, यहाँ सधैं घमाइलो हुन्छ। यहाँ सधैं गाउँलेहरू आउँछन्। मेरो आँगनमा सधैं कचहेरी चल्छन्। मेरो जीवन रमाइलोमा बित्छ।'
ढुंगा लाएको घर चिच्यायो। त्यो चिच्चाहट् गाउँका अन्य घरका धुरीहरूले सुनेका थिए।
आखिर त्यो बेला साहुको घर गजबकै थियो। ढुंगा लाएको त्यो घर ठूलो थियो। त्यसका झ्यालहरू कुँदिएका र बलिया थिए। दलानमा बडेमानका दलिनहरू थिए।
पिँढीहरू अग्ला र मिलेका थिए र थियो ठूलो आँगन जहाँ मैरीमा तुलसी फुलिरहन्थे।
यसैले पनि साहु घर अरु घरभन्दा पृथक थियो। घमन्डी थियो। उसको वैभव सुनेका अरु घरहरू मालिकसँग गुनासो गर्थे। अरु घर स्याना थिए। खरका थिए। बतासी खिन्यौरा थिए। खाँबाहरू कमजोर थिए। दैला र झ्यालहरू मसिना थिए।
खाँबा, बलो र दलिनहरू टिठलाग्दा देखिन्थे। आँगन स्यानो थियो। मैरी स्यानै थियो।
बेलाबेला, चुहिएर, भाँचिएर, भत्किएर यी घरहरूले आफ्ना मालिकलाई भन्थे- हाम्लाई पनि साहुका घर जस्तै हुन मन छ। बलियो हुन मन छ। फराकिलो र भेकिलो हुन मन छ।
अहँ! मालिकहरूले सुन्दैन थिए। सुने पनि भेकिला घर बनाउन सक्दैन थिए। टाल्थे।
घरहरू बिच ठूलो स्यानोको लडाइँ चलिरहन्थ्यो। स-स्याना घरहरू ठूला हुँदै जाँदा, हर्ष बढाइ गर्थे।
समय बित्दै गयो। खरबाट टिनमा आएका घरहरू विस्तारै लेओन माटोबाट सिमेन्टी लाएका हुन थाले। रातो माटो र कमेरोबाट चुना र विविध रङहरूमा आउन थाले। घरहरू विस्तारै बदलिँदै गएँ।
साहुका घरहरूलाई गरिब दुखीका घरहरूले पनि भन्न थाले, 'ओई सुन् त- हाम्रो भित्र ग्याँस छ, फ्रिज छ, टिभि छ। भन् तेरोमा के छ?'
त्यो सुनेर, उदास साहुका घरले मनमनै भन्थे- हाम्रोमा साहु नै छैन त के होस्! बस् चाँपी छ।
यसरी हुँकेको देखेर साहुका घरले आफूलाई ऐनामा हेर्यो एकदिन। र देख्यो, बाछिटाले पिट्दा पिट्दा लेओन उप्किएर ढुंगाहरू नाङ्गै भएका छन्।
न कमेरो, न रातो माटो, केही त बाँकी छैन। पिँढीहरू भत्किएर भताभुङ्ग भएका छन्। आँगनभरि झारै झार छ। मैरी दुब्लो र जीर्ण भएको छ। बेन्चीहरू मक्किएर भाँचिएका छन्। बतासीहरू धुलियाले खाएर सक्किएका छन्। न परेवाका गुँड छन्। न दलानमा गौँथली नाच्या छन्।
साहुको घर रुन्छ एकछिन, विगत सम्झिएर। छाती पिट्छ, साहु सम्झिएर।
खोई साहु?
साँच्चै, साहु खोई?
साहुको घर अलमल्लियो।
बारी हेर्यो, रुख हेर्यो। र, हेर्दाहेर्दै रुखमुनिको ड्वा देख्यो। रत्यै ड्वाले उसको स्मरण खुल्यो।
हप्ता दिन पहिले, त्यही ड्वा हुँदै हिँड्ने मान्छेहरूले भनेको सम्झियो- हेर् त कस्तो हरिकति भएछ यो घर त! कुनै दिन त्यस्तो घर, अहिले यस्तो! उता बुढा बिरामी छन्, अस्ति अस्पतालबाट घर लग्द्याओ भन्ते रे!
उसले हप्ता दिन पहिले बाटा हिँड्ने मान्छेले गरेको कुरा सम्झ्यो।
ओहो! साहु त बिरामी पो रहेछन्।
घर देख्न मन गरेका साहुलाई एकफेर घरले देख्न मन गर्यो।
उसले सरोसरि साहुको बच्चा उमेर सम्झियो। आँगनमा उनी हुँदा आउने मान्छेहरू सम्झियो। साहुका केटाकेटी सम्झ्यो। सम्झँदा सम्झँदै उसले साहुनी सम्झ्यो र पुर्लुक्क भालेर भत्किएको मैरीतिर, साहुनीको हातको पोतारी सम्झ्यो।
हरेक दिन साहुनीले दैलो लिप्तिन्। घुर कसेर गर्तिन्। आँगनभरि उम्रिएका झार देखेर उसले साहुनीले बडार्ने कुचो सम्झ्यो। त्यो दिन उसले धेरैथोक सम्झियो।
आफ्नो त्यो अवस्था देखेर उसलाई गाउँका घरहरू हेर्न मन लाग्यो। जिम्मालको घर कस्तो होला? खप्तेरी साहुको घर कस्तो होला? डल्ले लाहुरेको घर कस्तो होला?
पहिले, सबै घरै आउँथे। आफ्ना घरबारे बताउँथे। ऊ त्यहीँ बसेरै सबैका घरबारे जान्दथ्यो। साहु साहुनीले पनि बेलाबेला गाउँका घरहरू बारे कुरा गर्थे। केही मान्छेहरू आफ्नो घर बनाम्न भन्दै पैसा लिन आउँथे। तर अचेल रित्तो घरमाको आओस्! को किन पसोस्!
त्यसैले पनि साहुको घरलाई, गाउँका घरहरू बारे जानकारी थिएन। तर उसलाई जान्न मन लाग्यो।
ऊ टोलाएर बसिरहेको बेला एक बिहान कौवा आयो र काँ-काँ गर्यो। साहु घरले पुर्लुक्क ऊ भएतिर भाल्यो र भन्यो- ओई कौवा, जा त गाउँ गएर घरहरू हेरेर आइजा त! कस्ता भएछन्?
कौवाले काँ-काँ गरेर हुन्छ आसय व्यक्त गरी गाउँतिर उड्यो।
ऊ पहिला जिम्माल टोला गयो। हेर्यो, घरहरू रित्ता छन्। आँगनहरू सुनसान छन्। कटेराहरू जीर्ण छन्।
खोई त मान्छेहरू?
उसले देखेन र भुर्र उड्यो।
त्यहाँबाट ऊ अलिक तल बन्जाडे टोला गयो। हेर्यो, उस्तै देख्यो।
कोही त छैन। अनि फेरि भुर्र उडेर थाम्काबाट बेल्बासे टोला हेर्यो।
देख्यो, एउटी बुढी आमा आँगनमा झार टिप्दै थिन्। झार बढ्दै-बढ्दै जाँदा आँगन घट्दै-घट्दै गएछ। ठूलो दैलो निरको पेटी भत्किएको रहेछ। कटेरो खाली रहेछ।
उसले धेरैबेर आमालाई हेर्यो। बुढी आमा बसेर उभिँदा जीउ काम्दो रहेछ। हत्केलाहरू काम्दा रहेछन्। भित्तो समाएर दैलोतिर गएकी आमाले दिउँसै ढ्याप्प ढोका लगाएपछि कौवा भुर्र उडेर गाउँतिर लाग्यो। खुब डुल्यो र साँझ साहुको घर फर्कियो।
उसलाई देखेर साहुको घर उत्साहित भयो र भन्यो- लौ बता के हाल छ गाउँका घरहरूको?
कौवाले गाउँका धेरै घरहरूमा मान्छे नभएको सुनायो। पुराना ठूलाबडाका घरहरूका चाँबीमा खिया लागेको सुनायो। गोठहरू भत्किएको, बाटाहरू झाडीले निल्दै गएको, बारीहरू खर्यान भएको, खर्यान वन भएको बताउँदै गयो।
उसका कुरा सुनेको साहु घरले सोध्यो, 'के सबै घरमा चाँबी लागेको छ?'
'छैन, केही आमाहरूले छोरा पर्खिएर बसेका छन्। केही श्रीमतीहरूले गोसाँ पर्खिएर बसेका छन्। केही बुढाबुढीहरूले काल पर्खिएर बसेका छन्। पर्खिनु बाँच्नु रहेछ। उनीहरू पर्खाइमा बसिरहेका छन्। जो छैनन् र घर छोडेर अन्तै गए, ती निवासमा पर्दाभित्र बसेर घर सम्झिरहेका छन्। जसरी तिम्ले साहु सम्झिरहेका छौ।'
कौवाको कुराले साहु घरलाई केही राहत भयो। आज उसले गाउँका धेरै घर आफूजस्तै भएको थाहा पायो। धेरै आँगनहरू झारपात भएको थाहा पायो। पिँढीहरू भत्किएको थाहा पायो र रुन्चे हाँसोमा चिच्यायो-
'ए सग्ला घरहरू हो, ए ती घरका मालिकहरू हो। तिमीहरू पनि मै जस्ता भएछौ, नभएका हुने बाटोमा छौ। तिम्रा मालिकहरू पनि मेरा साहु जस्तै भएछन्, नभएका हुने बाटोमा रहेछन्।
एकदिन सहर बस्ने सबैले मर्नु पहिले घर आउने इच्छा गर्नेछन्। त्यतिबेला, घर मै जस्तो खन्डहर भैसकेको हुनेछ। न आँगनको मेचले बस् भन्नेछ, न पिँढीमा गुन्द्री अट्नेछ।'
वर्षौं पहिले, चिच्याएको साहु घर आज फेरि चिच्यायो। तर यो बेलाको चिच्चाहटमा अट्टाहास थिएन, रोदन देखापर्यो।
देखेर सबैथोक, कौवा भुर्र उड्यो।