बिदाइ हुनेहरूभन्दा
बिदाइ गर्नेहरूको ताँतीले
त्रिभुवन विमानस्थल खचाखच थियो
रिटेक गरी गरी खादा लगाएको
सुकेश गुडाएको र अंगालो हालेर
बिदाइका आँसु बगाएका फोटो र भिडिओहरू
टिकटक र फेसबुकको लागि तयार भए
अनि मध्येरातमा हवाईजहाजले पखेटा फिजायो।
पखेटा त तिम्रो पनि लाग्यो नि छोरा
त्यसैले त जिन्दगीको यत्ति ठूलो उडान
पहिलो चोटि एक्लै गर्दैछौ
नयाँ ठाउँ, नयाँ परिवेशको लागि
तिमी थोरै नर्भस र आत्तिएका थियौ।
मलाई पनि त हतार छ नि
घर पुग्ने वित्तिकै देशलाई दोष दिँदै एउटा स्टाटस लेख्नु छ
फोटो र भिडिओ अपलोड गर्दै
ती तमाम आफन्त, छिमेकी र साथीभाइलाई देखाउनु छ
जो भिसा लाग्नुअघि सोधखोज गरी हैरान पारेर
अहिले केही थाहा नपाएझैं गुपचुप छन्।
एक दुई महिना त हो नि
त्यसपछि त म पनि आइफोन र घडी लगाउँदै
चिया पसलमा सानसँग हिँडौला
तिम्री आमा पनि विदेशी परफ्युम र क्रिममा रमाउली
भैगो बरु तीर्थ व्रत नगई मर्न परोस् मलाई
तर त्यो निलो समुद्रमा एकपल्ट फोटो खिचाउने ठूलो रहर छ।
दायाँबायाँ हैन छोरा जसरी नि
तिमीले त्यहाँको कार्ड लिनू
बरु बेचौँला घरबारी, बन्द गरौँला यताको नाथे व्यवसाय
आफ्नो सन्तान चाहिँ विदेशी भूमिमा नै जन्माउनू
तेल भिसामा नै किन नहोस् हामीलाई पनि त्यतै बोलाउनू
तिमी गएको सपनाको सहर हेर्ने मन छ
जहाँ तिम्रो आफ्नै घर गाडी र परिवार हुनेछ।
मैले त नजा आफ्नै देश प्यारो हुन्छ भनेको
तर मानेन, देशको अवस्थाले मैले पनि रोक्न सकिनँ
म चिया पसलमा गफ लडौँला
तिमी पनि काम केको सानोतिनो भन्दै मेसिनझैँ घोटिएपछि
समय मिलाएर पार्कमा रमाइरहेको फोटो बेलाबेलामा सेयर गरौला
पल्लाघरे रमेश सरको छोराले जस्तै।
हाम्रो त जिन्दगी गैगयो
तिम्रो भविष्य चाहिँ सुरक्षित बनाऊ
बाह्र पास गर्ने वित्तिकै बहिनीलाई पनि उतै बोलाऊ
नमज्जा त लाग्छ नि तिमीहरू वरिपरि नहुँदा
चाडबाड खल्लो हुनेछ, हामी दुई एकअर्काले नदेख्ने गरी रुनेछौँ
तर छोराछोरी यूरोप अमेरिकामा भन्दा समाजमा छुट्टै शान र मान हुनेछ
माथ्लाघरे काकाकाकीको जस्तै।