विकासको विगुल फुकिरहँदा 
सभ्यतालाई निर्मूल पारिरहँदा 
हामीले शान्तिलाई
सँगसँगै सिकाएर साँच्नै सकेनौँ
केहीबेर शान्ति खोज्न
शान्तिलाई क्रान्ति चाहिन्छ
मानव अधिकार भन्न पनि
आयोगको पदाधिकार चाहिन्छ 
गगनचुम्बी भवनहरू
चिटिक्क मिलेका छन् स्वार्थले
अब मानवता खोज्नु पनि 
कहाँ कुन अर्थले?
सद्भावना, सदाचारी पनि 
खुलेआम लिलाम हुन्छ यहाँ
अब कति संयमताको बास राख्नु
कुन आशले?
तराईले हिमालको माया पिएको छैन 
पहाडले तराईलाई साया दिएको छैन
लेकका बुकी फूललाई चुम्नु छ 
तराईको ढिक्रीको स्वाद
पहाडका थुम्कालाई फन्को मार्नुछ
हिमालको बख्खु लगाएर 
अब बढाउनुपर्छ
साक्षरताको दायरा 
पैतालामुनि छर्नु छ, अध्ययनले आत्मबल 
मिलेर गर्यौं भने सब सम्भव छ
अक्षरको आफ्नै आयतन हुन्छ 
एकसाथ शब्द बन्दा भावना सजीव बन्छ
किताबी ज्ञानले मात्र 
साक्षरता चरितार्थ गर्दैन
व्यवहारमा व्यय हुने व्यवहारिक हुनुपर्छ
जातमा चल्ने फरक चलनमा 
द्वेषको विजारोपण गर्ने
लादेनहरू छ्यापछ्याप्ती छन्
आजका बुद्धहरू!
ज्ञान सिक! ज्ञान सिकाऊ!
भाइचारा परस्परमा बढाऊ!
सुगन्ध खोजिरहेको कस्तुरीझैँ
युवाहरू शिक्षाको प्रकाश 
विदेशी भूमिको चमकधमकमा खोजिरहेछन्
तर
जीवनोपयोगी भोगाइहरुको
सन्जीवनी बुटी आफ्नै माटोमा पाइन्छ 
विदेशमा त बाटो देखाउने जुनकिरी मात्र छ
दिनभरिको घामको तातो राप
रोइरोइ सहिरहेको धर्ती
पूर्णिमाको लामो प्रतीक्षामा
धेरै दिन बिताइदिन्छ
शीतल सफलताको प्रतीक्षामा
जीवन बुझेर
साँच्चै सहन सकिन्छ
साक्षरतालाई सार्थक पार्न सकिन्छ 
आफैंले आफैं चिनेर
विवेकको फराकिलो मुस्कान
सजाउन
शान्ति चाहिन्छ
अहिले 
वीरताको गाथाभन्दा चुलिएको छ महङ्गी 
उन्नति चुहिने छानामा अड्किरहेछ
अब 
नेपाली झण्डाको प्रेमपूर्ण अँगालोमा 
बाघको छाला ओढेका स्यालहरूबाट
स्वाधिनता र स्वाभिमान बचाउन 
दिगो विकासलाई 
बामे सार्नु छ
थाहा छ, समय लाग्छ 
तर सम्भव पक्कै पनि छ
निमुखाहरुले पनि मेरै देश हो 
भन्ने चाल पाउनुपर्छ 
महिला र पुरुषले मेराे ठाउँ
भनिरहँदा समलिङ्गीले पनि 
नाउँ पाउनुपर्छ
साक्षरताको दर्पणमा
परिवर्तनले दृश्य फर्नेछ 
आँगनबाट मेसो मिलाउँदै
विकासको मिठास छाप्दै
समानान्तर हक रोप्दै
शान्ति यहीँ सजाउनु छ
ढिला नगरौं
शान्ति यहीँ झक्झकाउनु छ
तब 
शान्ति बिरानो हुनेछैन।