पहाडै पारिबाट पनि खान आउला झैं हेर्ने बाघ
राति अबेर घर आउँदा काँचै खाउँला झैं हेर्ने बा
रिसले गर्जेपछि चप्पल समातेर भागुम झैं तर्साउँदा
मलाई बा र बाघ उस्तै-उस्तै लाग्छ।
सिकार खोजेर घाम ढलेपछि गुफा पस्ने बाघ
दिनभर आहारा जुटाएर साँझ घर फर्किने बा
सारा संसारसँग लडेर सन्तानको भोको पेट भर्दा
मलाई बा र बाघ उस्तै-उस्तै लाग्छ।
डमरुलाई सानैमा नङ्ग्रा तिखार्न सिकाउने बाघ
कर्म र जिम्मेवारीको पाठ बच्चैदेखि पढाउने बा
डरलाग्दो आचरणभित्र माया लुकाएको देख्दा
मलाई बा र बाघ उस्तै-उस्तै लाग्छ।
कस्को हिम्मत बाघको अगाडि डमरु जिस्काउने?
कस्को हिम्मत बाको अगाडि हामीलाई गिज्याउने?
समाज र संसार समक्ष ढाल बनेर रक्षा गर्दा
मलाई बा र बाघ उस्तै-उस्तै लाग्छ।