राती अलिबेरसम्म मोबाइल हेरियो। काठमाडौं आएपछि एक्लो कोठामा के गर्नु? केही काम गर्ने जाँगर पनि लाग्दैन। न त निद्रासँग सहजै भेट हुन्छ। अबेरसम्म सुतेर होला बिहान पनि अबेरसम्म निद्राले बाँधेर राख्यो। उठेर मोबाइल हेरेको म्यासेजले कुरिराखेको रहेछ 'ओए बसन्त म नेपाल आउँदैछु भेटौं है' म्यासेज ६ घण्टा अगाडि आएर कुरिराखेको रहेछ। म्यासेजसँगै प्लेनको टिकट पनि।
सुरज मेरो चरम संघर्षका दिनहरूको साथी।
मलाई पहिलो पटक काठमाडौं देखाउने साथी। वियरको स्वाद कस्तो हुन्छ चखाउने साथी। मन दुख्दा ओखती लगाइदिने साथी। अनुरोध संगीतमा नाम जोडेर पठाइदिने साथी। भोकै हुँदा पनि पेटभरी खाएको जस्तो आभाष दिलाइदिने साथी। अक्सर संघर्षका दिनहरूमा भेटिनुपर्ने सबै खाले गुण बोकेको साथी।
जीवनको मेलो सार्नका लागि अनेक संघर्ष गरिरहेका बेलामा साठीको दशक मध्यतिर उसले अचानक एकदिन उदास अनुहार लगाएर भन्यो 'म त तल्लो बाटो अमेरिका जान्छु यार'।
एउटै गोरेटो, एउटै गन्तव्य बनाएर हिँडेको साथीले अचानक अमेरिका जाने कुराले मेरो मथिंगलमा आधा रेक्टरको भूकम्प नै गयो। तर परिस्थिति भने प्रतिकूल थियो। जीवन गोलमाल हुँदाहुँदै त्यसलाई एकाकार दिन छाडेर प्रेमको पछाडि लागेर उसले विवाह गरेको थियो। छोरा समेत भइसकेको थियो। मैले एक जनाका लागि मात्रै सोच्दा उसले तीन जनाका लागि सोच्नुपर्ने थियो। उसलाई रोक्नका लागि मसँग कुनै ओखती थिएन। बतासजस्तो भएको उसको मन मेरो भावनाको डोकोमा कहाँ थुन्न सकिन्थ्यो र?
नेपालमा अनेक काम गर्दा पनि जीवनको मेलो सार्ने आधार नभेटेपछि ऊ निराश भएको थियो। मेरो निराशाका दिनहरूमा के के भन्थ्यो, भन्थ्यो। मलाई सधैं आशावादी बनाउथ्यो। आज आफैं ऊ निराश थियो। अरूलाई आशावादी बनाउनु र आफैं आशावादी बन्नु ठूलो फरक रहेछ।
म आफैं जिन्दगी अलमलमा काटिरहेको थिएँ। आफैं अलमल परेको मान्छेले अरूलाई बाटो कसरी देखाउनू! म अलमल परे पनि देश छाड्ने सोच्नै सकिनँ, उसले भने सक्यो।
'मिल्छ भने यतै केही गर, होइन भने ठीकै छ जिन्दगीमा आफूले चाहेको गरेर हेर फेरि भोलि यसो गरेको भए हुन्थ्यो भनेर पछुतो नहोस्' मैले अलि डिप्लोम्याटिक जवाफ दिएँ।
शिशिर यामको एक साँझ साथीले म्यासेज गर्यो।
'धेरै गर्छु भन्ने सोचेको थिएँ। केही गर्न सकिनँ। छोरा र श्रीमतीको अनुहारमा खुसी नदेख्दा मन पोल्छ। म त जसोतसो हाँसेकै हुन्छु। साथी धेरै प्रयास गरेँ नेपालमा बस्न, सबै प्रयासहरू व्यर्थ भए। मेरो जीवनसँग अब हार र असफलता थेग्न सक्ने सामर्थ्य छैन। मान्छेको जिन्दगीका अन्तिम दुई विकल्प हुँदा रहेछन्। कित गर्ने या त मर्ने यही दुई विकल्पलाई अन्तिम सत्य मानेर म अमेरिका हिँडें' मैले त्यो पल म्यासेज पढें मात्रै जवाफ लेख्ने शब्द नै फुरेन। अन्ततः मलाई यतैकतै छोडेर ऊ चरा जस्तै उडेर गयो।
फ्लाइट राडारबाट उसको फ्लाइटलाई फलो गरिरहेको थिएँ। काठमाडौं ओर्लने बित्तिकै उसलाई सरप्राइज दिन एयरपोर्ट गएँ। म काठमाडौं आएको उसलाई थाहै थिएन। १२ वर्षपछि नेपाल आउँदै थियो तर अमेरिकन बनेर। अब नेपाल बस्दाका हरेक दिनको पैसा तिर्नुपर्ने थियो उसले। लामो समयपछि नेपाल आउँदा पनि उसका लागि कोही पनि उभिएको थिएन। धन्न म पुगेछु।
ओ हो त्यत्रो वर्ष विदेश बसेर पनि यति सानो कुरा किन कमाउन सकेन उसले? मैले अंकमालले उसलाई स्वागत गरे। १२ वर्षपछिको अंकमाल छुट्नै मन नलाग्ने खालको थियो। हातमा सानो सुटकेश मात्रै थियो उसको। १२ वर्षपछि नेपाल आउनुको जस्तो कुनै पनि छाँट थिएन उसमा।
वर्षाैंपछि भएर होला मलाई देख्दा उसले आँसु थाम्न सकेन, आफैंलाई थाम्न सकेन। म पनि कसरी थामिनू! बिहे गरेर अन्माउन थालेकी दुलही र उनकी आमाको वियोगको क्षण जस्तो थियो हाम्रो मिलन। साथीलाई विमानस्थलबाट होटलसम्म ल्याएँ। नेपाल टेक्नुको उत्साह र उमंग केही पनि थिएन। कहिलेकाहीँ मात्रै पिउने साथी पूरै पियक्कड भएको रहेछ। उसको जिन्दगीको यो आदतलाई मैले प्रतिकार गरिनँ।
धरहरालाई भूकम्पले भुइँतले बनाएको थियो। त्यही टुक्रो धरहरालाई छोपेर राखेको दृश्यलाई क्यामेरामा कैद गर्नेहरूको भिडभाड बाक्लै थियो। टिकट काउन्टरमा दसैंको टिकट बुकिङ गर्नेहरूको लाइनले टेलिकमको कार्यालय छुनछुन आँटेको थियो। असोजले स्वागत गरिसक्दा पनि आकाश रून छाडेको थिएन। धेरैपछि विदेशबाट आएको श्रीमानलाई भेटेपछिको उत्साहमा श्रीमतीहरूका प्रेमिल अनुहारहरू सडकभरी पोखिएका थिए।
मान्छेले एउटा सानो मीठो पल भेटेपछि वर्षाैंको दु:ख र वियोग भुल्दो रहेछ। श्रीमानहरू पनि जीवनका अत्यासलाग्दा सारा पलहरू भुलेर जीवन खोजिरहेका थिए। आहा कति सुन्दर जोडीहरूले सुन्दर बनाएका थिए सुन्धारालाई।
अनेकानेक दृश्यहरूको इन्द्रेणी जस्तो छ सुन्धारा। यही इन्द्रेणीमा जीवनको सबै रङ्ग गुमाएजस्तो गरेको थियो सुरजले। अमेरिका रहँदा कहिल्यै दु:ख पोखेन। कहिल्यै घाउ देखाएन। हुन त म्यासेन्जरमा मुटुको घाउ कसरी देखियोस्!
कुराको मेलो खोल्नुपर्ने थियो मैले।
उसको जीवनको एकएक घटना सुन्न मन थियो। संसारका लागि सपनाको देशमा मेरो साथीले सपना हराएको कथा सुन्नु थियो। आवाज हराए जसरी ऊ मौन थियो। मलाई मौन मान्छेहरू पढ्न आउँदैन थियो। बर्दिया सेकुवा कर्नरमा दुई वटा बियर घुट्काएपछि उसले कहानी सुरू गर्यो।
अमेरिका जाँदा छोरा सानो थियो। आँखा र मनमा एकैपटक दौडन्थ्यो। जीवनमा केही पनि सहारा नभएपछि मैले जीवनै सकिए पनि केही छैन भनेर तल्लोबाटो रोजेँ। विभिन्न ठाउँमा गरेर करिब १ वर्षको जेल जीवन बिताएँ। सबैको सपनाको देश अमेरिका पुगेँ। दिनरात काम गरेँ। पैसा हात पर्दा श्रीमती र छोराको अनुहार याद आउथ्यो। बाँकी नै नराखी पठाउँथें पनि। अलमल भएको जीवनले बाटो भेटेको थियो। मनले केही गर्ने 'आँट' भेटेको थियो। वर्षाैंपछि छोरा र श्रीमतीको अनुहारले खुसी भेटेको थियो।
जीवनका पाँच वर्ष परिवारबाट अलग रहेर। साथीबाट अलग रहेर। बाआमाबाट अलग रहेर। देश अनि गाउँबाट अलग रहेर मैले बिताएँ। आफ्नाहरूबाट अलग रहेर बाँच्नु आफैंबाट अलग रहेर बाँच्नु जस्तो रहेछ। म पाँच वर्ष आफैंबाट अलग रहेर बाँचेँ। एक्लो भएर बाँचेँ।
नियतिको चर्खा कहिलेकाहीँ सुल्टो घुम्दो रहेछ। मेरो पाँच वर्षको संघर्षपश्चात श्रीमती र छोराको अमेरिका आउने कानुनी प्रक्रिया पूरा भयो। मेरो जीवनबाट खुइलिसकेको खुसीको रङ्ग पनि उज्यालो भएर आयो। मैले जीवनमा चाहेको सबै कुरा पूरा हुँदै थियो। अमेरिकाजस्तो देशको नागरिक भएको थिएँ। घर थियो। गाडी थियो। गतिलो काम थियो। अनि परिवार पनि अमेरिका आउँदै थियो।
सुरजको बोलीको आरोह एकाएक रोकियो। आवाजमा केही दु:ख मिसाएर बोल्यो।
श्रीमती नेपाल हुँदाका अनेक कर्तुत मलाई मोबाइलमा आइरहन्थ्यो। अमेरिका आएपछि सब ठिकठाक बनाउँछु जस्तो लाग्थ्यो। नेपाल हुँदा उसले गरेका सबै कुराहरू मोबाइलबाट मात्रै होइन दिमाग र दिलबाट पनि डिलिट गरिदिएँ। मलाई नयाँ ठाउँमा नयाँ तरिकाले घर बसाउनु थियो। आहा मैले ५ वर्षमै मेरो जिन्दगीलाई कति सुन्दर बनाएँ। आफैंलाई इर्ष्या लाग्ने बनाएँ। तर खुसी भन्नु शितको थोपा जस्तो भयो। किट्लीको बाफ जस्तो भयो। आकाशको इन्द्रेणाी जस्तो भयो। पाँच वर्ष लगाएर बनाएको घर बिनाभूकम्प अवशेष नरहने गरी भत्कियो।
अमेरिका आएको केही दिनमै श्रीमतीको सोच बदलियो। जसका लागि पाँच वर्ष कठिन रूपले काटेँ त्यही नै बदलिएपछि मलाई जीवनप्रतिको मोह नै हरायो। एक साँझ छोरा सुतिसकेको थियो। श्रीमती कामबाट आउन बाँकी थियो। खाना पकाएर यसो छतमा बसेर बत्ती निभाएर श्रीमतीको प्रतीक्षा गर्दै बियर खाइरहेको थिएँ। घर अगाडि एउटा गाडी रोकियो। गाडीबाट श्रीमती झरी, सँगसँगै अन्जान युवक पनि झर्यो। उनीहरूले एकअर्कालाई आलिंगन गरेर ओठमा चुम्बन गरेर छुट्टिए। मैले खाएको बियर र अलिअलि जम्मा भएको खुसी एकैपटक पोखियो।
'ट्याक्सी ड्राइभर हो, धेरै शंका गर्ने होइन, आफ्नो काम गर्ने' श्रीमतीको जवाफले थप मन बिथोलियो। काममा जान मन लागेन। तर परदेशमा मनको के अर्थ थियो र? फेरि दैनिकी सहज तरिकाले चल्न थाल्यो। मैले सानातिना घटनालाई वास्ता गर्न छाडिदिएँ।
काममा हुँदा मलाई श्रीमतीको खासै फोन आउँदैनथियो। भर्खर ड्युटी पुगेको थिएँ। एकदिन अचानक फोन आयो।
'हजुर राम्रोसँग पुगिस्यो' श्रीमतीको यति मायालु आवाज मैले बिहेको दिन पनि सुनेको थिइनँ। मनै फुरुङ्ग भएर आयो।
'पुगेर पनि काममा लागिसके कालु' मान्छेको जीवनमा खुसी हुनका लागि चाहिने कुरा नै त्यति मिठो बोली बचन त रहेछ।
'आज कति बजे सकिन्छ हजुरको काम ?' उनलाई थाहा थियो तै पनि सोधेपछि भन्नैपर्यो।
'सात बजे सकिन्छ ल, अनि आइहाल्छु नि,' उनले भनिन्, 'ल ल आज बाहिर खान जाने है त बुढा।'
मैले नाइँ भन्ने कुरै थिएन।
वर्षाैंपछि जीवनमा बहार आएको थियो। खुसीले पर्दा उठाएको थियो। मनले मायाको आभाष पाएको थियो। आँखामा पिरती झुलेको थियो। जीवनले शिशिर गुमाएको थियो।
कहानी ब्रेक भयो। उसलाई रक्सीले जितेछ या त आफ्नै कहानीको भारले थिचेछ बोली फुट्न नसक्ने भयो। मैले थप भन्न पनि लगाइनँ।
मलाई उसको कथा यत्तिकै ब्रेक लागे हुन्थ्यो जस्तो लाग्यो। मलाई लाग्नुले उसको जीवनको भोगाइलाई कसरी बदल्न सक्थ्यो र ? कथा बगेर उसले जिन्दगी बाँचिसकेको थियो।
रक्सीले धेरै गलाएछ पाइला नै लर्खराए। मैले सहारा दिएर कोठासम्म लगेँ। जुत्ता खोलिदिएँ। सिरक ओढाइदिएँ। साथी मस्तसँग सुत्यो। सायद कहानी जहाँसम्म भनेको थियो, त्यहीसम्म टुंगिए हुन्थ्यो जस्तो उसलाई पनि लागेको थियो क्यार।
साथीलाई नशाले सबै भुलाएको थियो। तर मलाई साथीको कुराले धेरै कुरा सम्झाएको थियो। निद्रा पटक्कै आँखामा आएको थिएन। मोबाइलमा आँखा दौडिरहेका थिए। म्यासेन्जरमा भाउजूलाई अनलाइन देखेँ।
नेपाल हुँदा कहिलेकाहीँ उहाँसँग कुरा हुन्थ्यो तर अमेरिका गएपछि भने सबै बन्द भएको थियो। तै पनि एकतर्फी मात्रै कहानीले वास्तविकता थाहा हुँदैन। वास्तविकताको नजिक पुग्ने हेतुले मैले नै कुराकानीको श्रृंखला अगाडि बढाएँ।
'भाउजू के छ सञ्चै हुनुहुन्छ? काम कस्तो हुँदैछ?,' मेरो म्यासेज कुरे जसरी नै उहाँले तत्काल जवाफ फर्काउनु भयो।
'ठीकै छ सबै राम्रो चलेको छ,' सामान्य औपचारिकतापश्चात मैले कुराकानीको मेलो खोलेँ।
उहाँले पनि फर्काउनुभयो।
सविस्तार उहाँका कतिपय कुरा साथीले मलाई भनिसकेको थियो। मैले साथीले जहाँ अडिएको थियो त्यहीँबाट मात्रै ध्यानपूर्वक सुनेँ।
भाउजूले लेख्दै गइन्।
'जीवनको खास आवश्यकता के हो? भन्ने बारेमा अहिले पनि हामी भ्रममा बाँचिरहेका छौं। केही दिन मात्र घरबाट बाहिर हुँदा युवती चाहिने श्रीमानले किन श्रीमतीलाई पनि सोही आवश्यकता हुन्छ भन्ने कुराको मनन गर्न सक्दैन? हामीले जीवनमा आवश्यकताको वैज्ञानिक पहिचान गर्न सकेनौं भने सारा जीवन निरर्थक हुन्छ। मैले पनि मेरो जीवनलाई निरर्थक हुनबाट जोगाएको हुँ। विदेश गएर श्रीमतीलाई दुई चार पैसा पठाउँदैमा के श्रीमानको जिम्मेवारी पूरा हुन्छ त? परिवार भनेको के हो? जबसँगै बस्न सकिँदैन भने त्यो परिवारको के काम? पैसाको अभाव तपाईंलाई पनि थियो नि बाबु ? तर तपाईं कतै जानुभएन। किनभने तपाईंलाई थाहा थियो परिवारको आवश्यकताको सूचीमा पैसा मात्रै हुँदैन। जीवनको सबैभन्दा प्रिय मान्छेसँग ५ वर्षसम्म अलग बस्नुको अभाव पैसाले पूरा गर्छ?'
मसँग न त भाउजूले सोधेका प्रश्नहरूका जवाफ थिए न त साथीले सोधेका नै। तर पनि उनीहरूको कुरा मौन भएर एकोहोरो सुनिरहेको थिएँ।
'जीवनका पाँच वर्ष साथ दिने सहयात्रीको अभावमा व्यतित गरेपछि अमेरिका आउँदा मेरा खुसीहरू हामी चढेको जेट जस्तै माथि माथि उडेका थिए। हाम्रो छोरा कति खुसी थियो। अमेरिका आउँदा मलाई लाग्थ्यो वियोग र विरहले मेरो जीवनबाट राजीनामा दिएका छन्, अब खुसी र मिलनको पोष्टिङ हुनेछ। आँसुहरू आँखाको संग्रहालयमा जानेछन्। रातहरू यादमा अलिना बन्ने छैनन्। तर म गलत रहेछु।
तपाईंलाई थाहा छ जीवनमा आत्महत्या गर्न नसकेपछि अविचलित मस्तिष्कबाट मैले कस्ता कस्ता कदम उठाएँ? घरमा पुरूष हुँदाहुँदै परपुरूषसँग महिला किन लाग्छन्? यो प्रश्नको खोजी किन गर्दैन समाज? जहाँ पनि महिला नै दोषी। श्रीमानकै सामुन्ने परपुरूषसँग आलिंगनमा टाँसिएपछि श्रीमानले बुझ्नुपर्दैन श्रीमतीले के खोजेको छ भनेर? केवल घण्टा हानेर बैंकमा पैसा थुपार्दैमा परिवार खुसी हुन्छन्? मेरो समय हुँदा श्रीमानको समय नहुने, श्रीमानको समय हुँदा मेरो नहुने। यस्तो पनि जीवन हुन्छ? जीवन यन्त्र त होइन नि जसरी पनि चलिरहने। तपाईं बुहारी नानीसँग एक हप्ता अलग भएको कल्पना गर्न सक्नुहुन्छ? घरमा हुँदा एकरात सँगै नसुतेको कल्पना गर्न सक्नुहुन्छ? मैले सँगै हुँदा पनि कति रात एक्लै काटें हिसाब गर्नका लागि तपाईंलाई क्याल्कुलेटर चाहिन्छ।'
म दोधारमा चेपिएको थिएँ। मसँग को सही? को गलत? छुट्याउन सक्ने कसी थिएन। साथी जिन्दगीलाई पूरापूर भुलेर मस्त निद्रामा थियो। जीवनको सबैभन्दा सुन्दर आनन्दमा लीन थियो। निद्राको जस्तै आनन्दको महसुस गर्न त होला मान्छेले जीवनलाई सक्ने! खैर म भने भाउजूकै कुरा पढिरहेको थिएँ।
'एकदिन मैले श्रीमानलाई एक साताको लागि काम नगरौं। आखिर पैसा पुगिहाल्छ कतै जीवनका सुन्दर पलहरू खोज्न जाउँ भनेर प्रस्ताव गरेँ। मेरो त्यो प्रस्ताव पहिलो पटक नै नकार्नुभयो। मन दुख्यो। जीवन दुख्यो। मैले गर्ने प्रेम दुख्यो। सोचें अब मेरो बाटो अलग हुनुपर्दछ। संसारको सबैभन्दा सुन्दर देश भनेर होइन म अमेरिका आएको। म त संसारमा मलाई सबैभन्दा माया गर्ने मान्छे बस्ने देश भनेर आएको थिएँ। माया गर्ने मान्छेको माया पैसामा अडिएको थियो। म डिप्रेस्ड हुँदै जाँदा एकदिन प्रण गरें। अब अलग हुनैपर्छ। ऊ नभएको मौकामा मैले आवश्यक सामान लिएर अलग भएँ। ऊसँग कहिल्यै सम्पर्क पनि नहोस् भनेर सबै कुरा ब्लक गरेँ। सँगै बसेर मायाको अपेक्षा हुँदो रहेछ। म एक्लो बसेँ। एक्लै हुँदा मायाको अपेक्षा पनि भएन, अपेक्षा नभए मन पनि दुखेन। मेरो एक्लो जीवन बितिरहेको छ।'
आँखा निद्राले झ्याप्प झ्याप्प भएका थिए।
'भाउजू साह्रै रात पर्यो यता म सुत्छु है फेरि भोलि कुरा गरौंला' उताको जवाफ नकुरेर मैले वाईफाई अफ गरेँ।