क्षणिकी
के जीवन एउटा विज्ञापन हो? दन्त मञ्जन, स्याम्पु, लुतोको औषधि, जुत्ता, चप्पल, चाँया पोतो डण्डीफोरको अस्पताल? बियरको बोतल, पर्फ्युम, खैनी, चुरोटको बट्टा? भित्ताभरि, बिजुलीका खम्बामा, भेटेभरिका खाली ठाउँमा टाँसिएर देखिनुपर्ने? के जीवन कागतको पोस्टर हो? भोलि बिहानै कबाडीमा बेचिने? किलोमा जोखिएर पसल पसलमा सामान पोको पार्न पुग्नुपर्ने?
अचेल जीवन सामाजिक सञ्जालको ‘खुराक’ बनेको छ – प्रचारको वस्तु।
जीवन चाहे जस्तोसुकै होस्– टर्रो, अमिलो, पिरो, गुलियो, रसिलो, निरसिलो, बोझिलो, हलुङ्गो, रङ्गीन, श्यामश्वेत, बाँझो, हराभरा, धनवान, निर्धन। तर पनि यो प्रचारयोग्य छ। अट्टालिकादेखि स्याउलाको बाससम्म, घुम्ने मेचदेखि चकटीसम्म। विज्ञापनमय छ जीवन।
केही घन्टाको लामो कार्यक्रमका दौरान एउटा क्षणले मलाई सियोले झैं च्वास्स घोच्यो। मन बिझाइरह्यो, निकैबेर कुरो कतै बिझाएझैं।
अमेरिकाबाट आएका युवा कथाकार कृष्ण कुसुम... उनको पहिलो कथासंग्रह ‘पाश्र्वधुन’ को विमोचन सभा।
नाताको खोटोले च्याप्प टाँसिएको म – झन् जानै पर्यो। नेपाल सरकारका पूर्वसचिव, मेरा पुराना परिचित व्यक्तित्व, आत्मीय भावहरू साटासाट गर्न मिल्ने – बामनप्रसाद न्यौपाने उर्फ बाबा न्यौपाने। हरेक कोही आत्मीय हुँदैनन्, जो कसैसँग भावहरू साटिँदैनन्। भावना बतास होइन, जे अगाडि पर्छ त्यसैमा ठोकिने, त्यसैमा बाँडिने।
हामी तीन जना पारिजात कक्षको पछाडिको भित्तामा करिब टाँसिएर नै बसेका थियौं, भलाकुसारी गर्दै। न्यौपानेज्यूका देब्रेतिर कथाकार गोविन्द गिरी प्रेरणा, दाहिनेतिर म। उहाँले हामीसँग एउटा ‘सेल्फी’ खिचाउँदै भन्नुभयो, 'आज बेलुकीको खुराक पुग्यो।'
र हामी तीनै जना भरेपखका लागि ‘खुराक’ भयौं– मोबाइलका पर्दामा झल्किने खुराक।
देखेकाले फेरि देख्ने, चिनेकाले फेरि चिन्ने, मन पराएकाले फेरि मन पराउने। कसैले ‘ओहो !’ भन्ने, कसैले ‘आहा !’ भन्ने। साथीसङ्गीले देखून्, छिमेकीले देखून्, आफन्तीले देखून्... यी! आज म यता थिएँ। फेरि भन्न मन लाग्यो – जीवन प्रचारको सामग्री, एउटा विज्ञापन, समाचारबिनाको समाचार।
कार्यक्रमको आरम्भसँगै हामी अग्रभागमा गएर बस्यौं। मञ्चभरि अतिथिहरू आसीन भए। जतासुकै फोटाहरू खिचिए, खिचिक्क खिचिक्क। म पनि कैद भएँ धेरैका तस्वीरमा। मलाई अघिकै भनाइले च्वास्स घोच्यो। म दर्शक हुँ कि स्रोता हुँ कि होर्ता हुँ कि खुराक? भरेपख यिनले पनि विज्ञापन गर्ने छन् – के के भएको थियो? को को आएका थिए ? के कति जम्मा भएका थिए? सबैका लागि म फेरि खुराक बन्ने छु।
मैले पटक्कै ध्यान टेकाउन सकिनँ, मञ्चमा बसेका नयनराज पाण्डेका शालीन भावहरूमा, कुमारी लामाका बेजोड तर्कहरूमा र अभय श्रेष्ठका कर्णप्रिय वचनहरूमा। मोहराज शर्मालाई देखिरहेको थिएँ, सुनेको थिइनँ। जसलाई सुनेको थिएँ उनीहरूलाई बुझिरहेको थिइनँ। किनकि म कित्ता कित्तामा बाँडिएर सबैका फोटामा खुराक बनिरहेको थिएँ, भीडभित्रको एउटा खुराक। एकाग्रता दसौं टुक्रामा बाँडिएको थियो।
हो रहेछ। जीवन त पूरै विज्ञापनमय पो भएछ। एक्सरेको फोटोले झैं कङ्काल बनाएर प्रदर्शन गरिरहेछ जीवनलाई। जन्मदेखि ब्रह्मनालसम्म सबैथोक उदाङ्गो पारेर देखाउन आतुर छ मानिस आफ्नै जीवनको रामरमिता। र त्यही रामरमितालाई वर्काई फर्काई आँखा चिम्साउँदै र तन्काउँदै हेरिरहेछ मानिस दङ्दास परेर।
म घर पुगिसकेँ, तर प्रज्ञा प्रतिष्ठानको पारिजात हलभित्रै अड्किएझैं भइराखेको थिएँ। सबै होर्ताहरू फर्किसकेका थिए, तर म न्यौपानेज्यूसँगै टाँसिएर बसेको थिएँ। भिड फेरियो, समय फेरियो, अनुहारहरू फेरिए, आवाजहरू फेरिए। तर म त्यही च्वास्स घोच्ने क्षणमा अल्झिएर उही वाक्य कानमा प्रतिध्वनित भइरहेको महसुस गर्दै थिएँ। मान्छेले आफूले आफैंलाई स्वयं खातिर पनि मनोरञ्जनको ‘खुराक’ बनाइरहेको छ।
के गरोस् विचरा मानिस विनोदरहित जीवन जिएर? समयसँग जुधेरमात्रै के गर्नु? आधुनिकताले चुँडाएर एक्लै पारिएको मानिस, भेलले हुत्याएर नदी किनारमा एक्लै छोडिएको काठको मुढोजस्तो भएर। आफूलाई हेरेर र आफूलाई हेराएर हाँस्दछ ऊ भित्तातिर फर्किएर।
यो विज्ञापनको युग हो। विनिमयको युग। क्रय र बिक्रयको युग। विज्ञापन बेगर कुन वस्तु बेचिन्छ सजिलै? अचेल मन र माया पनि वस्तु भएका छन्– बेचिन्छन्। विज्ञापनको एउटा राम्रो पक्ष छ– विज्ञापित वस्तुलाई उत्कृष्ट ठहर्याउँछ, अरूको खिसिट्युरी गर्दैन। आफ्नै स्वघोषित सर्वोच्चतामा रमाउँछ – आफूवादी भएर। त्यसैले अचेलको मानिस आफ्नै बारेमा विशेषणहरूले सिँगारिएको पलपलको सूचना हो। बल गरिरहेछ मानिस सबैको ध्यान खैँचिन आफ्ना सूचनाहरूले। न्यौपानेज्यूको ‘खुराक’ शब्द सूचनाको पर्याय हो।
आफ्ना वरपरकाहरूसँग एक्लिएर परचक्रीका जमातमा ‘भाइरल’ हुने रहर छ उसलाई। हेर्छ, खोज्छ, कोट्याउँछ अरूका प्रतिक्रिया, अवधारणा र मिथ्या प्रशंसा। रमाउँछ एक्लै कुनामा बसेर र निरवतालाई आँखा झिम्काउँछ खुसीले।
एघार छैसट्ठी...! यो एउटा विज्ञापन हो बिहान बिहानै रेडियोले भट्याउने। विज्ञापनजस्तै सूचना हो या सूचनाको विज्ञापन? आत्महत्या गर्न चाहनेहरूको जीवनरक्षा गर्ने फोन नम्बर। दैनिक बज्ने यो विज्ञापनले आजमात्रै ध्यान फर्कायो। आखिर कोही किन आफ्नै आत्माको हत्या गर्न चाहन्छ? आफ्नै देहको विनाश गर्न तम्सिन्छ? एकचोटि पाइने यो चोलासँग त्यत्रो वैरभाव किन?
वैमनस्यता किन ? गुनासो र पश्चाताप किन ? मानौं जन्मिनु नै उसको भूल थियो। जीवन त महाशय एउटा मास्टरपिस रचना हो सृष्टिको। किनकि आँसुबिनाको मानिस कोही हुन्न।
यसो सोच्नुस् तपाईंका लागि तपाईं आफैं जत्तिको प्रिय को छ? तपाईंलाई आफ्नो चोटले जति अरू केले दुख्छ ? र त मानिस ‘आफूवादी’ हो नि? मन जतिसुकै चिथरा परोस्, लुगाझैं जतिसुकै च्यातिएर ध्वजा पताका बनोस्, कुलेलम ठोक्छ मानिस एउटा भुइँचालोदेखि डराएर ज्यान जोगाउन। जीवनभरिको कमाइ, घरद्वारको चिन्ता नगरी राम! राम!! भन्दै। स्थावर वा जंगम। अद्भुत प्रिय हुन्छ आफ्नो ज्यान सबै प्राणीका लागि। मनको निवास हो, त्यो जिउञ्जेल।
जीवन यति मधुरम् छ कि जति जिउँदा पनि यसको लोभ र तिर्खा मेटिन्न। उमेरभरि जीवन पिएर पनि को अघाएको छ? समय यति पनि कृपालु हुँदैन कि बितेका दुई चार वटा पललाई दोहोर्याएर भुक्तान गर्न पाइयोस्। त्यसैले त ऊ आफ्नै मनभरि स्वर्ग फुलाउन सक्ने हुँदा पनि तुष्टि भेटाउन सक्दैन। अतृप्त मनले दौडेको दौड्यै छ 'भाइरल' हुने रहरले पराइका आँखाभरि। गुण निस्सार भयो, बोक्राको प्रदर्शन अहम् भयो। भ्रमित छन् अहिले नयाँ पृथ्वीका बासिन्दाहरू।
म उही क्षणमा अल्झिएर यतिञ्जेलसम्म आफैं विज्ञापित भएको तस्वीर हेर्दैछु, साँझको ‘खुराक’। अनि आत्मानन्दमा पढ्दै छु कमेन्टहरू र गन्दै छु ‘लाइक’ मा ठडिएका बूढीऔंलाहरू।
इति!
(लेखक शर्मा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्।)