सहर जाने भएपछि बेलुकादेखि नै आमाको आँखामा आँसु अडिएकै थिएन। बिहान भाले नबास्दै आमाले घरको आँगनसम्म रातो पारेर गोबर माटोले लिपपोत गरिवरि नित्य पूजाआजा सकेर खट्टे र भटमास भुटेर पोको पार्नु भएको रहेछ।
घरमा भएको बाख्रापाठा अनि भएको पाटो बारी अदियाँमा कमाऊ भनेर बेलुकी नै तल्लघरे काकालाई जिम्मा लगाइसकेका थियौं।
एकाबिहानै त्यही बाले पठाइदिएको गाडीमा सरसामान कोचाकोच गरेर गाडी चढ्यौं।
छरछिमेकीले मलिनो अनुहारमा हामीलाई बिदाइको हात हल्लाए, आमा बाटो भरिनै रोइरहनु भयो।
जब राजधानी आइपुग्यौं, बाले हाम्रो लागि भनेर दुइटा कोठा लिनुभएको रहेछ। सामान्य कोठाका सामानहरू। त्यै पनि बाले यी सब सामान किन्न कहाँबाट पैसा ल्याउनुभयो होला?’ भन्ने मनमा लागिरह्यो।
रातिको १० बजेतिर बा आफ्ना दुई साथीहरूसहित हातमा मासु र बियरको झोला लिएर कोठामा आउनु भयो।
आमा मोटर लागेर केही पनि नखाइ सुतिसक्नुभएको थियो। म चाउचाउ खाएर यत्तिकै पल्टिरहेको थिएँ। बाले साथीलाई मासु पकाउन लगाउनुभयो। मैले पनि भान्छामा सहयोग गरेँ। मासु तयार भएपछि सबैजना मासु, बियर पिउँदै गफमा मस्त हुनुहुन्थ्यो।
ओहो! गफ पनि सानोतिनो हो र! राज्यक्रान्ति, शासनसत्ता, विद्रोह, परिर्वत, अग्रगमन, के के हो? के के ! बासँग मेरो खासै दोहोरो कुरा हुन पाएन। त्यसो त बासित हामी खासै नजिकिन पनि सक्दैनथ्यौं।
रात बढ्दै गयो गफ झन् झन् चर्को बन्दै गयो। राति पटक्कै निदाउन सकिनँ। बिहानीपख भुसुक्क निदाएछु। म उठ्दा बा निस्किसक्नुभएछ। काठमाडौंको बसाइ एकोहोरो र दिक्कलाग्दो बन्दै थियो। कोठामा आमा र ममात्रै हुन्थ्यौं।
आमालाई पनि दिनभरि यत्तिकै बस्न गाह्रो लाग्थ्यो, मलाई पनि त्यस्तै। बा कहिलेकाहीँ मात्र कोठामा आउने तर आउँदा हामीलाई आवश्यक रकम छोडेर जानुहुन्थ्यो। त्यसैले सहर आएदेखि हामीलाई खान लगाउन दुःख भने भएन तर मलाई आफैंलाई केही गर्न मन थियो। यो उमेरमा यसरी बेकामको भएर बस्न पटक्कै मन थिएन।
आमा त ‘अब फेरि पढ्न जा’, भन्नुहुन्थ्यो। तर मलाई त्यो इच्छा भएन। आफूले केही समय होटलमा काम गरेको हुनाले एउटा सानो भए पनि होटल खोलौं कि भनेर बालाई लगानीको लागि डराइडराइ अनुरोध गरेँ।
तर बाले ‘ह्या! त्यस्ता जाबो भट्टी पनि को खोल्छ? तेरो बाउ मन्त्री हुन लागिराछ। किन काम गर्नुपर्यो? अरूले पनि के भन्छन्! आफ्नो औकातमा बस्नुपर्छ’ बुझिस, भनेर पो हप्काउनुभयो।
हाम्रो जीवन सामान्यबाट विशेष बन्दै गइरहेको थियो। प्रत्येक दिन हाम्रो जीवनस्तरमा कायापलट हुँदै गयो। बालाई दुइटा कोठा साँघुरो लाग्यो। साथीहरूलाई कोठामा ल्याउन पनि सर्म लाग्नथाल्यो। त्यसपछि उहाँले एउटा फ्ल्याट नै लिनुभयो। त्यसलाई नयाँ फर्निचर, महङ्गा सरसामानहरूले सजाइए। मलाई एकदम अचम्म लाग्थ्यो र बालाई अनावश्यक खर्च नगर्नको लागि रोक्न खोज्थेँ। तर उहाँ रोकिनुभएन। यी सबैको लागि बाको आम्दानीको स्रोत के हो? कसरी पैसा आउँछ? पैसा कमाउन कत्ति गाह्रो हुन्छ त्यो मलाई राम्रो सित थाहा थियो। बाको कामकाज केही भएजस्तो लाग्दैन, त्यही राजनीतिकबाहेक। त्यसैले उहाँलाई यी सबको बारेमा सोध्न मन थियो। तर बालाई एक्लै भेट्न र सोध्ने आँट गर्ने यी दुवै कुरा मेरा लागि मुश्किल थियो।
एक दिन बा हस्याङ्फस्याङ् गर्दै आउनुभयो। छिटो छिटो भन्न थाल्नुभयो, ‘अब हाम्रा पनि दिन आयो, तिमीहरूको पनि दुःखका दिन गए। सुन कान्छा! यत्तिका वर्ष मैले आफ्नै ज्यान बाजी लगाएर हुँदा खाँदाको सरकारी जागिर छोडेर तिमीहरूको पनि वास्ताब्यास्ता नगरी राजनीतिमा होमिएँ, भोलि नयाँ मन्त्रिमन्डल गठन हुँदैछ। सबै कुरा ठिकठाक चल्यो भने म पनि मन्त्री बन्दै छु, तँ पनि मेरो साथमा हुनुपर्छ है? यत्ति पनि भन्न नभ्याउँदै मन्त्रीको शपथ खाँदा लगाउन पर्ने राष्ट्रिय पोशाक किन्न भनेर हतार हतार बा बजार जानुभयो।
मलाई बाका एक एक बोली सपना जस्तो लागिरह्यो र बा गएको बाटो एकोहोरो हेरिरहेँ। जीवनमा पहिलोचोटि बाले आफ्नो मनको कुरा मसँग गर्नुभएको हो। उहाँलाई हामीप्रतिको जिम्मेवारी बोध भएको महसुस पहिलोचोटि मैले गरेँ। नभन्दै बा मन्त्री हुनुभयो। हामी मन्त्री क्वाटरमा सर्यौं। त्यहाँ सहायक, अर्दली, सल्लाहकार, मोटर गाडी सबै थिए हाम्रा लागि। सधैंभरि मीठोमसिनो अर्डर गरी गरी खान पाइने। कामकाज केही थिएन। मेरो आमाको पनि चाउरिएको गाला केही तन्किएको जस्तो भयो। मेरो पनि केही काम नभएकोले दिनभरि फुर्सद नै थियो। पैसाको खाँचो थिएन। बेलाबेलामा बाको खातामा हाल्न नमिल्ने भन्दै मेरो र मामाको खातामा खै कसकसले पैसा जम्मा गरिदिन्थे। तर ती पैसाको हिसाबकिताब बालाई बुझाउन पर्दैनथ्यो, बरू पैसाको ब्रिफकेस र उपहार बोकेर मन्त्रालयमा आएका अथितिहरूको स्वागत सत्कार गर्ने जिम्मेवारी बाले नभ्याएको बेलामा मेरो हुनथाल्यो।
मेरो पनि मन्त्रायलमा व्यस्तता बढ्न थाल्यो। यसैबीच सरकार कसरी चल्ने रहेछ? बाको आम्दानीका स्रोतहरू के के रहेछन्? कस्ता कस्ता मानिसहरू कामका लागि मन्त्रालयमा आउने रहेछन्? तिनीहरूको व्यक्तिगत लाभका कामलाई मन्त्रालयले कसरी वैधानिक बनाइदिँदो रहेछ? मन्त्रालयभित्र नीतिगत र आर्थिक भ्रष्टाचारको च्यानल कसरी बन्दोरहेछ? त्यसबाट आफूले कसरी लाभ लिने? भन्ने सम्पूर्ण जिस्ट कुराको बारेमा मेरो सूक्ष्म अध्ययन भैसकेको थियो।
कतिपय अवस्थामा ती व्यक्तिहरूसँग म डाइरेक्ट डिल पनि गर्न थालेँ। मन्त्रालयमा पनि सबै जना मन्त्रीका छोरा भनेर सम्मान गर्थे। कर्मचारीहरू पनि मेरो चाकडी र चाप्लुसी गर्थे। प्रायः मोटो कमाइ हुने राम्रा राम्रा योजना पनि प्रस्ताव गर्थे। कहिलेकाहीँ त म मन्त्री हो कि मेरा बा हो म आफैं दोधारमा हुन्थेँ, मन्त्रालयभित्र कर्मचारीहरूले मलाई गरेको चाकडी देखेर।
बेलुकी भएपछि मोजमस्ती क्लब, डिस्को, क्यासिनो मेरो लागि दैनिकी बन्न थाल्यो। महङ्गा महङ्गा गाडी र उपहार घरमा नै आइपुग्थ्यो। यो आदर सम्मान, सेवा सुविधा, ऐश आराम, मोजमस्ती, विलासी जीवन यी सबै मेरा र मेरा बाका लागि गणतन्त्रको उपलब्धि थिए।
देश विदेशको भ्रमण, क्लबहरूमा सुरा सुन्दरीहरूसितको मोजमस्ती, दिनहुँको कक्टेल पार्टी, ऐश–आराम, सुख–सुविधा कुनै राजा महाराजाहरूको छोरा नातिहरूकोभन्दा कम थिएन मेरो दैनिकीमा। अब मेरो महत्वाकांक्षा यसरी बढ्दै गयो कि अब मेरो कनेक्सन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तस्कर, भूमाफिया, भ्रष्टाचारी गिरोहसित पनि हुनथाल्यो। त्यसमा साथमा साथ बाको अरू राजनीतिक साथीहरू र तिनीहरूको परिवार र छोराहरू पनि थिए। मलाई थाहा थियो व्यक्तिगत लाभ लिने कुरामा माथिदेखि तलसम्म सबैको सर्वसम्मतिले समर्थन र सहयोग हुन्थ्यो। मुठी भरका व्यक्तिहरू तगारो हाल्न आए तिनीहरूको सरूवा र कारबाही गर्ने काम पनि बिना रोकतोक गर्न सकिन्थ्यो। साम, दाम, दण्ड, भेद् जे जे अपनाएर भए पनि भ्रष्टाचार गर्न अधिकांश नेतादेखि नेताका परिवार र आसेपासे एकसे एक थिए। सबैलाई सबैले गरेको कालो कर्तुतबारे थाहा थियो। यो ओपन सेक्रेट जस्तै थियो। तैँ चुप, मैँ चुप।
यसैबीचमा हाम्रो आफ्नै आलिसान घर बङ्गला, गाडी, स्वदेश तथा विदेशमा बैंक ब्यालेन्स भए। ठूलाठूला होटल, हाइड्रोपावर, हाउजिङ आदिमा गोप्य रूपमा पार्टनरसिप व्यवसाय भैसकेको थियो। बीचबीचमा सरकार परिवर्तन भइरहन्थ्यो।
सरकार परिवर्तन नै भए पनि मलाई कुनै असर गर्दैनथ्यो। फेरि सरकारमा आउने व्यक्तिहरू पनि प्रायः ती र त्यस्तै प्रवृत्तिका हुन्थे। तिनीहरूसित कसरी काम लिने भन्ने कुरा मेरो दाहिने हातको खेल बराबर थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहसित गरिने व्यापारिक पार्टनरसिपमा दशकौं एकछत्र हाम्रो राज हुँदैथियो। हाम्रो विरूद्धमा सप्रमाण बोल्न कसैको आँट थिएन। बेलाबेलामा नेताहरूले देश बिगारे भन्दै मिडियामा कराउनुबाहेक।
हाम्रा बाहरू लावालस्कर गाडी लिएर गाउँ सहर सवारी हुँदा जयजयकार गर्दै किलोका किलो फूलमालासहित स्वागत सत्कार गर्नेको भीड नै हुन्थ्यो। यदि हाम्रा कर्तुत मिडियामा आइहाले पनि उच्च तहबाट नै डिसमिस पारिन्थ्यो। अलि धेरै सोसल मिडियामा आयो भने इन्भेस्टिगेसन भनेर लगिन्थ्यो र पछि सेटिङ मिलाएर निर्दोष सावित गरिन्थ्यो। लोकतन्त्र होस् या गणतन्त्र, नेपालमा हामीजस्ता नेता र नेताका परिवारले सजाय भोग्नु परेको विगत अनि वर्तमानमा कुनै उदाहरण थिएन। त्यसैले पनि भविष्यको बारेमा सोच्नुपर्ने वा डराउन पर्ने अवस्था कहिल्यै आएन। यसरी दशकौं नयाँ नयाँ राजाहरू र उनका परिवार, आसेपासेको एकछत्र राज चल्यो।
एकदिन ठूलै मिडियाले नेपालमा फैलँदै गएको भ्रष्टाचारका बारेमा सप्रमाण लेखेछ। जसको कारण सोसल मिडियाबाट इन्भेष्टिगेसनको लागि जनदबाब बढ्न थाल्यो। राज्य संयन्त्रबाट म लगायत मेरा केही साथीहरू र केही मानिसहरूलाई गिरफ्तार गरियो। केही फरारको सूचीमा परे। आजभोलि यस्ता नयाँ नयाँ काण्डहरूको बारेमा मिडियामा एकपछि अर्को निरन्तर खबर आइरहेको छ भने सरकार पनि बढो एग्रेसिभ भएर अगाडि बढिरहेको भान भैरहेको छ।
मलाई अचम्म लागिरहेछ ती सरकारमा भएका पनि आफ्नै मान्छेहरू, राज्यसंयन्त्र, अड्डा, अदालत सबैतिर हाम्रो राम्रो कनेक्सन छ। तीमध्ये कतिसँग त मिलेर काम पनि गरिसकेको छु। तिनीहरू को हुन् ? र तिनीहरूले पनि अकुत सम्पत्ति कमाइको राज के हो ? यो म राम्रोसित जान्दछु। फेरि पनि तिनै व्यक्तिहरू चर्कीचर्की आदर्शका भाषण छाँटिरहेका छन्।
आखिर यो सब कसको दबाब र डरमा हो म अचम्ममा छु! तर मलाई यहाँ गोप्य रूपमा भेट्नेहरूले धम्काउने अनि फकाउने भाषाका रूपमा भनिरहेका छन्, ‘तपाईं अपराध कबुल नगर्नूस्, कसैको पोल नखोल्नूस्। तपाईंलाई हामी बचाउँछौं। हाम्रो माथिल्लो तहसम्म नै कुरा भैसकेको छ, दुईचार दिन दुःख पाउन भयो, तपाईंलाई हामी निर्दोष सावित गर्ने वातावरण बनाउँदैछौं, यो सब त जनतालाई अल्मल्याउने दाउ मात्र हो।’ जसमा म पनि ढुक्क थिएँ।
रातभरि सम्झिँदा सम्झिँदै बिहानपख निदाएछु। हिरासतभित्र बेल बज्यो बिहानको ६ बजिसकेछ। सबै जना जर्याकजुरुक उठे म पनि मन नलागि नलागि उठेँ। टाउको हल्का दुखिरहेको थियो। बिहानै बासहित एक दर्जन मानिस भेट्न आएछन्। मलाई भने कोहीसित बोल्न मनै लागिरहेको थिएन। तै पनि फलामको बार अगाडि ठिङ्ग उभिएँ। बा खै के के बोल्दै हुनुहन्थ्यो। जुन अभियोगमा म समातिएको थिएँ, त्यसमा बालगायत बाका अरू साथीहरूको पहिलो हात थियो। त्यसैले पनि बा केही डराए जस्तो पनि लाग्थ्यो। बालाई ‘बयानको क्रममा कसैले केही बोल्यो भने आफूलाई पनि समस्या होला भन्ने कुराले’ मलाई सचेत गराइरहनु भएको थियो।
त्यसको भोलिपल्ट मुद्दा दर्ता भयो। सरकारी वकिलको कार्यालयबाट ५० करोड रुपैयाँ बिगो धरौटीसहित १० वर्ष जेल सजाय माग दाबी भएछ। आजैदेखि थुनछेकको बहस हुने सूचना आयो। पाँच दिनसम्म चलेको लामो बहसपछि आफूलाई निर्दोष सावित गर्ने मेरो भरमजदुरको प्रयासको बाबजुद जिल्ला अदालतले मलाई पुर्पक्षको लागि जेल चलान गरेको फैसला सुनायो।
फैसला सुनाएलगत्तै अरू साथीहरू त रोइरहेका थिए। म भने शून्य शिवाय केही भइनँ। प्रहरीले फैसला कक्षबाट निकाल्दै हामीलाई हातमा हत्कडी लगाएर डिल्लीबजार कारागार चलान गर्यो। यसरी जेल चलान गर्दैगर्दा हाम्रा पक्ष र विपक्षमा नारा, जुलुसको चर्को आवाज आइरहेको टाढा टाढासम्म सुन्न सकिन्थ्यो।
विकट गाउँकी एउटी आमाले आँसु–पसिना र दु:ख–वेदनालाई भोग्दै हुर्काएको सोझो इमानदार र मेहनती रामचन्द्रे कसरी मन्त्रीको छोरा रमेश भएर यो अवस्थामा पुग्यो!
‘यसमा दोषी को?’ म कि मेरो बा? कि ती तमाम राज्य संयन्त्र जसले पहुँच, सत्ता र शक्तिको आडमा गरेको भ्रष्टाचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आफूले फाइदा लिएर कारबाही गर्नको खातिर पटक पटक आँखा चिम्लियो! भ्रष्टाचार गर्न उत्प्रेरित गर्यो!
‘अब कसकसको पोल खोलौँ आफ्नै बाको ?’ ती नेताहरूको ? नेताका छोराहरूको ? नेताका भाउजू र श्रीमतीहरूको ! कि ती राष्ट्र सेवक भनिने घुस्याहा कर्मचारीहरूको, कि ती मुठ्भिरका व्यापारीघराना जसले हामी जस्ता युवाहरूलाई जानी नजानी दलदलमा फस्न बाध्य बनाए! आफ्नै मनलाई दोहोर्याइ दोहोर्याइ यी तमाम प्रश्नहरूको निष्कर्ष खोज्दैछु, ‘कि अब सबका सबको पोल खोलेर आफूले गरेको अपराधको कैदी जीवन बिताउँदै क्षमा याचना गरौं! कि फेरि तिनीहरूलाई नै प्रयोग गरेर निर्दाेष भएको फैसलासहित अबिर र फूलमालासहितको स्वागत, सत्कारमा बाजागाजा बजाउँदै विजय जुलुसमा सहभागी बनौं!’
धन्यवाद!
यो पनि:
दोषी को? [भाग-१]