‘सर तपाईंको नाममा चिठी आएको छ’, गेटमा उभिएको मानिसले खामबन्दी चिठी हातमा थमाइदियो।
उसले भर्खरै जाँगरको मलामी गएर आएजस्तो अनुहार लगाएको थियो।
'ओ हो प्रविधिको जमानामा के चिठी लेखेको? कसले चिठी लेखेको?' चिठीबाहकलाई मेरा प्रश्नहरू सुन्ने उत्साह थिएन। उसले बालै दिएन। रजिष्ट्रर गरिएको चिठी रहेछ, चिठीको साटोमा एकथान हस्ताक्षर बोकेर ऊ गयो।
चिठी भन्ने बित्तिकै एक समय मन हुचिल जस्तै कहाँ कहाँ उडेर पुगिहाल्थ्यो। पत्रमित्रहरूले पठाएको चिठी पढ्नु र त्यसको जवाफ लेख्नु मै आधा जुग जो सकिएको थियो। उमेर र प्रविधिले चिठीप्रतिको प्रेम र उत्कण्ठाको ग्राफ कतिबेला ओरालोतिर झार्यो पत्तै भएन।
जीवनका कालखण्डमा कैयौं अतिप्रिय कुराहरू हराउँदै जाँदा पनि थाहै नहुने रहेछ। टायर गुडाउन कहिले छाडियो? केटीलाई देख्दा सिट्टी बजाउन किन मन लाग्दैन अचेल? रेडियोको अनुरोध संगीतमा नाम नबजेको कति भए होला? कति भयो होला खुला आकाशमा शौच गरेर माटोकोे डल्लोले नपुछेको? सिनेमा हलमा गन्ध आउने पिसाब वासनामय लाग्न छाडेको कति भए होला? कति भए होला कागजको पानाले फिरफिरे बन्न नपाएको? आहा कति मनमोहक र लोभलाग्दा थिए ती दिनहरू। अब फर्कंदैनन्, अब भेटिँदैनन्। नफर्कने र नभेटिनेहरू अक्सर जिन्दगीमा मीठो याद बनेर कुदिएका हुन्छन्। बेला बेलामा झरी बनेर निथ्रुक्क भिजाउँछन्।
चिठीको बाहिर पठाउने ठेगाना थिएन, पाउनेको मात्रै रहेछ।
म्यासेन्जरमा ट्याङ्ग म्यासेज पठाएको भरमा संसारको एउटा कुनाको सन्देश अर्को कुनामा निमेषभरमै पुग्ने जुगमा कनिकुथी चिठी लेखेर कसले म्यासेज पठायो? यति धेरै गोप्य राख्नुपर्ने कुरा नै के रहेछ? गेट लगाएर कोठाभित्र पुग्दासम्म मन कहाँ कहाँ पुग्यो। पाइतालाले मनको गतिलाई कहिले पो भेट्न सकेको छ र? मनमा अनेक तर्कनाहरूले प्याराग्लाइडिङ गरे।
चिठीको पहिलो अनुच्छेदमा लेखिएको वाक्यले नै मन हायलकायल बनायो 'मेरो प्यारो तर अर्काको अधिकार भएको मान्छे। म तिम्रो पूजा।'
दिमाग र दिलबाट धेरै पहिला खुइलिसकेको नाम अचानक रिप्रिन्ट भएर आइदियो। पूजा अर्थात् मैले सबैभन्दा धेरै विश्वास गरेको अनि मेरो जीवनमा सबैभन्दा धेरै धोका दिएको मानिस। यदि गिनिज बुकले रेकर्ड गथ्र्यो भने सायद संसारमा सबैभन्दा धेरै विश्वास गर्ने मान्छे नै सबैभन्दा धेरै धोका दिने मान्छे हुन्थ्यो होला। खैर जिन्दगी र नियतिको रुझानमा भिज्नै पर्छ। यसबाट जोगाउने छाता पो कहाँ छ र?
एक समय थियो। पूजाले एक झल्को हेर्दिए मात्र पनि खुसीको एकाएक वर्षा हुन्थ्यो। असिना पानी नै पथ्र्यो। दिल बगैंचा हुन्थ्यो। उसले लेखेका कुरा पढ्दा अनि बोलेका कुरा सुन्दा मुटुमा रगत होइन प्रेम दौडिएको हुन्थ्यो। फोक्सोमा सास होइन उसकै नाम धड्किरहेको हुन्थ्यो। प्रकाश कोविदका उपन्यासले प्रेमको व्याख्या के गरेका थिए जति पूजाको आँखा र हँसिलो अनुहारले गरिरहेको हुन्थ्यो। सरूभक्तको पागलबस्तीमा आदिमाताको प्रेम के प्रेम जति पूजाको मनमा प्रेम अटाएको हुन्थ्यो।
समयले प्राथमिकताको सूचकलाई चिप्लेटी खेलाउँदो रहेछ। आज मेरा लागि पूजाको चिठी कुनै उत्साहको कारण थिएन। वर्षाैंपछि उसका सुन्दर लाग्ने अक्षर देख्दा पनि मुटुको गति सामान्य नै थियो। छिटोछिटो पढ्ने हुटहुटी पनि थिएन। अझ प्रष्टसँग भन्दा जाँगर नै थिएन। भन्छन् नि आफूलाई निक्कै मन परेको कुरा आफूले चाहेको बेलामा पाइएन भने अरू बेलामा त्यसको अर्थ हुँदैन। एक समय पलपल मुटुमा धड्किने पूजा आज मेरा लागि केही पनि थिइनँ। कोही पनि थिइनँ।
हुटहुटी, जाँगर र उत्साहलाई सुस्ताउन दिएर पत्रका अक्षरहरूमा केही क्षण दौडिएँ।
प्यारो मान्छे,
म अस्ट्रेलियाबाट घरमा आएको छु। तिमीसँग भेट्न निक्कै मन छ। म्यासेजमा पठाएका कुराहरू वास्ता गरेनौ। यो अन्तिम उपाय हो तिमीसँग भेटेर कुरा गर्न। यसको पनि तिमीले वास्ता गरेनौ भने, तिमीसँग भेट्ने मेरा विकल्पहरूको अन्त हुनेछ। थाहा छैन त्यसपछि के गर्छु।
मसँग पोखिने तिम्रा क्रुर आवेगहरूप्रति कुनै पनि आपत्ति छैन। तर मेरो मान्छे तिमीलाई अरबौं मान्छेका बीचमा मसँग मात्रै किन रिस र आवेग छ? मनलाई सोधेका छौ? तिमीले नचाहेर पनि तिम्रो दिल अनि दिमागमा बसिरहेको मान्छे हुँ म। उज्यालोमा मात्रै देखिने छाया जस्तो नठान मलाई। जिन्दगीका गुनासाहरूलाई बाँधेर नराख। त्यसले तिम्रो मनलाई अपवित्र बनाउँछ। आऊ भेटेर म तिमीलाई तिम्रा गुनासाहरूको बन्दी जीवनबाट मुक्त गराउन चाहन्छु, जसै तालबाट छुट्ने बाटो भेटाउँदा पानीले आनन्दको महसुस गर्छ।
मलाई थाहा छ, तिम्रो मनलाई तिम्रो अहमले अल्झाएर राखेको छ। आयु नहुने अहमको पछि लागेर कालजयी मनलाई किन बन्दी बनाउँछौ। एक बारको जुनीलाई अहमताको विष खुवाएर किन मार्ने प्रयास गरिरहेका छौ? समय र परिस्थिति नबदलिए पनि म किन बदलिए? हिँडिसकेको बाटोमा तिमीले कहाँ बिरायौ, मैले कहाँ बिराए आऊ कठोर समीक्षा गरौं। म घडीको सेकेन्ड सुइँ हेरेर तिम्रो प्रतीक्षा गरिरहेकी हुनेछु।'
ओहो, चिठी त डबल सट कफीभन्दा पनि कडा पो रहेछ।
मान्छेमा अहमताका अनेकानेक आकृतिहरू कोरिएका हुन्छन्। यी अमूर्त आकृतिहरूले जीवनका सबै रङ्गहरूलाई बेरङ्ग बनाइरहेका छन्। मेरो मनमा पनि एक समय अहमताको बोट उम्रिएको थियो। पूजालाई बेवास्ता गरेको बहाना गर्दागर्दै पनि उसले खै कहाँ कहाँबाट मुटुलाई हल्लाउन आइहाल्थी। कैयौंपटक आमनेसामने हुँदा पनि मैले उसलाई हेर्ने चेष्टा गरिनँ। बरू एकैछिन अहमतालाई खुसी पार्नका लागि कैयौं दिनसम्म बोलेको भए हुन्थ्यो भन्ने पश्चातापमा परिरहेँ।
अहमतालाई जीवन दिनका लागि मान्छेले आफ्नो जीवनमा कैयौं त्याग किन गर्छ होला? आज पनि अहमताको जडमा कैयौं सम्बन्धहरू अदालतको बेन्चमा परिभाषित भइरहेका छन्। अहमता जोगाउनका लागि कैयौं परिवारहरू भत्किएका छन्।
स्कुलमा वार्षिकोत्सव कार्यक्रम चलिरहेको थियो। मलाई गीत गाउन रहर लाग्थ्यो। पूजालाई पनि गाउनमै रहर रहेछ।
'श्रीमान गम्भीर ................' गाउनका लागि हामी ठूलो जत्थासहित स्टेजमा टेक्यौं। स्टेजमा सँगै टेकेका पाइलाहरू मनसम्म पुग्नका लागि हामी दुबैलाई महिना पनि कुर्नुपरेन।
'तिम्रो स्वरमा साँच्चै नै जादु लुकेको छ', भन्ने प्रशंसामूलक वाक्यांश नै हामी दुईलाई जोड्ने चुम्बक बनिदियो। सबैसँग लुकाएर हामीले मायाको घर अग्लाइरहेका थियौं। बगेको नदीजस्तो, उडेको चराजस्तो, फर्कंदो फूल अनि राजेश हमाल देखिएको सिनेमा जस्तो हाम्रो माया साँच्चै लोभलाग्दो थियो।
कसैलाई थाहै नदिई मायाको बन्धनमा बाँधिनुको अनुभूति करेलाजस्तै मीठो अनि तीतो दुवै हुँदोरहेछ।
'आँखाले मात्रै कति कुरा गर्नु विवश मलाई तिम्रो आवाजमा आवाज मिसाएर कुरा गर्न मन लाग्छु' पूजाले कागजको टुक्रोमा कोरेको जवाफ पनि मैले कागजको टुक्रो मै दिन्थेँ।
'प्रेममा बोल्नेभन्दा पनि नबोल्ने कुराबाट बोल्नुको आनन्द अर्कै हुन्छ पूजा, आँखैबाट कुरा गरौं', कक्षाकोठामा सरले पढाइरहँदा हाम्रो चिर्कटो संवाद चलिरहेको हुन्थ्यो। ती दिन कागजका टुक्राहरूले कति माया बोक्थे, कति आरिस अनि सानातिना झगडा पनि। हाम्रा गन्थन बोकेर कहिल्यै थाकेनन् कागजका टुक्राहरू, अनि माया बोकेर कहिल्यै थाकेन हाम्रो मन पनि।
मनको संघार टेकेपछि हामीले सधैं युगल गीत गायौं।
'भाकेर वरपिपल' देखि 'तिमी हुन्छ भन जेसुकै सहुँला' सम्म हामीले स्वरमा स्वर मिलाएर गायौं।
हाम्रो प्रेमसँग अनि हाम्रो जीवनसँग पूरापूर मेल खाने हरेक गीतहरूलाई हामीले प्राण दिएर गायौं।
दुनियाँ हाम्रो प्रेमका बारेमा बेखबर थियो। कतै भेटेर कुरा गर्दा थाहा पाउने डर। गीतबाट हामीले कैयौंपटक माया पोख्यौं, मन पोख्यौं अनि गीतकै माध्यमबाट एक अर्काको आलिंगनमा पनि बाँधियौं।
'मायाका गीत गाउँदा मैले आफूलाई थाम्नै सक्दिनँ। तिमीलाई स्टेजमै अंगालोमा बेरौंजस्तो लाग्छ', पूजाले मेरो कुरा सहजै उडाइदिन्थी।
'अरे हो, तिम्रो मुटु त्यति बलियो पनि छ र? खोइ मलाई त विश्वास नै लाग्दैन, लु अर्कोपटक त्यसो गर्नु नि', मलाई आफ्नै कुराले लज्जित बनाउथ्यो।
पूजाको समर्थनमा मैले कहिल्यै हिम्मत गर्न सकिनँ।
हाम्रो सम्बन्धको गणित अविराम समानान्तर रेखाबाट अगाडि बढिरहेको थियो। लाग्थ्यो हामीलाई छुटाउन कोही आउँदैन। हाम्रो प्रेमलाई रोक्न कोही सक्दैन।
'विवश तिमीले छाडेको दिन त म बहुलाउँछु होला', कहिलेकाहीँ प्राप्त हुने एकान्तबासमा पूजाले आफैंलाई सम्हाल्न सक्दैनथी।
उसले गरेको यस्ता संवादहरूले मेरो मुटुको कुनामा घोच्थ्यो।
'पूजा, तिमीसँगको सम्बन्ध सारंगीको तारजस्तो हो, टुटेको दिन मेरो जीवनका सारा धुनहरू हराउनेछन्। तिमी हाम्रो प्रेमको सामथ्र्यलाई कम आकलन नगर।'
हाम्रा संवादहरू प्रेम कथामा बनेका सिनेमाका पटकथा जस्ता हुन्थे। जति बोल्दा पनि कहिल्यै सकिँदैन थिए।
प्रेमको समानान्तर रेखा एकाएक बक्र रेखातिर दौडिन थाल्यो। कागजको टुक्रोमा पोखिने माया, कागजको टुक्रोबाटै हराउन थाल्यो। सधैं माया बोकेर आउने कागजको टुक्रो एकदिन आँधिबेहरी र भूकम्प बोकेर आयो।
'तँ खातेले मलाई अबदेखि हेर्ने पनि काम नगर्नु तेरो हैसियत मैले बुझिसकेँ', ९० सालको भूकम्प धरहराले थेगेजस्तो मैले पनि आफूलाई थेग्ने प्रयास गरेँ। तर सकिएन। धरहरा अलिकति भत्कियो, मेरो मन पूरै भत्कियो। मन बुझाउन सकिनँ, आँखाका आँसुलाई थम्थम्याउन सकिनँ।
सबैभन्दा धेरै माया गरेको मान्छेले किन मलाई एक्लो बनाउँदैछ? किन बुझेन मेरो मनको भाव? प्रेमिल शब्दबाहेक केही पनि नजानेको मनबाट कसरी बिस्फोट भए यस्ता मन दुख्ने कुराहरू।
जघन्य अपराध गरेको अपराधीलाई बरू स्पष्टीकरण दिने मौका दिइन्छ माया गर्ने मान्छेले आफूलाई गरेको गालीको स्पष्टीकरण माग्न पाइनँ।
'पूजा मैले के गरेँ? तिम्रो मन दुखाउने जघन्य कुरा के भयो मबाट?' मेरा प्रश्नहरू शून्य शून्य भए। पूजाले मेरा प्रश्नहरूलाई जवाफका लागि योग्य ठानिन अनि मलाई प्रेमका लागि।
जीवन फेरि शून्य भयो। भर्खरै उकालो लाग्दै थिएँ। लुडोको सर्पले जस्तै पूजाको मायाले मलाई एकाएक शून्यमा ल्यायो। छोडेर जानेले मनमा भएको अलिकति खुसी पनि बोकेर लैजाँदो रहेछ।
माया गर्दागर्दै पनि घृणा पाएपछि मैले पूजातिर हेर्न छाडिदिएँ । माया बसेको मान्छे, मुटु साटिएको मान्छे जति धेरै हेर्न नखोज्यो त्यति धेरै आँखामा आउँदो रहेछ। पढ्न मन लाग्दैनथ्यो, बोल्न मन लाग्दैनथ्यो। मेरा बदलिँदो काया देखेर आमाले एकदिन भन्नुभयो, 'बाबु मलाई थाहा छ कसैले तेरो मनलाई एक्लो बनाएर दु:ख दिएको छ' मैले अर्कोतिर फर्किएर भनेँ, 'आमा, जोसँग तपाईंजस्तो माया गर्ने आमा हुन्छ, त्यसको मन कसरी एक्लो हुन्छ, केही भएको छैन' आमाले पत्याएको जस्तो गरिदिनुभयो।
आफैंभित्र दन्दनी दन्किएँ तर कहिल्यै पनि जल्नुको आभाष दिइनँ। रातभरी भिज्ने सिरानीले, सधैंभरी दुख्ने मनले अनि पूजालाई मात्रै खोज्ने आँखाले कहिल्यै गुनासो गरेनन्। यिनले पनि गुनासो गरेको भए मेरो मन अडाउने सहारा को नै हुन्थ्यो र? आँसुको सागर कति विशाल हुँदो रहेछ, मैले महसुस गरेँ। हरपल बगिरहे आँसु तर याद बगाउन सकेनन्।
कागजको टुक्रो पाए पनि मैले कारण जान्न पाइनँ। पूजाले अरूबाट सुनेको कुराको वास्तविकता जान्न चाहिनन्। एकले बोलाउला भन्ने कुर्दाकुर्दै हाम्रो स्कुले जीवनको अन्तिम बिन्दु पनि आयो। बाटो छुट्टियो। उनको बाटो अलग भयो। मेरो बाटो अलग भयो। हामी अलग अलग भयौं। नदी भएर सँगै भएका हामी किनार बनेर छुट्टियौं।
अचानक पत्र पाएपछि पुराना यादहरूले घेर्न छाडेनन्। रातभर मनको लडाइँले आँखा सुस्ताउन पाएनन्। अशान्त हुने मन अनि दु:ख पाउने आँखाले। साँच्चै यो आँखा र मनको सम्बन्ध साह्रै अनौठो लाग्दो पो हुँदो रहेछ। अन्ततः प्रेम छुटेको २२ वर्षपछि मैले पूजालाई भेट्ने निधो गरेँ। आक्कल झुक्कल बाहेक उसको मुखाकृति समेत मन र दिमागबाट एकैपटक हराइसकेको थियो।
पार्क क्याफेको कुनातिरको टेबलमा उसले मलाई नै कुरेर बसेकी रहिछ।
'कस्तो मोटाएको है तिमी त जीवनमा सबै कुरा भेटाएजस्तो पो छ त?' पूजाको आवाजको यौवन हराएको रहेनछ। उस्तै मादकता भेटियो लवजमा।
'चाहेको कुरा नपाएपछि, भेटाएको कुरामा पनि सन्तुष्ट त हुनैपर्यो नि है' पूजालाई गाँसमा ढुंगा लागेजस्तो भयो क्यार अलि हच्किई।
'होच्याउने तिम्रो बानीले त अझै स्कुले जीवन छाडेको रहेनछ, बुढो हुन लागेर पनि कस्तो बच्चाको बानी छाड्न मन नलागेको', 'स्कुले साथी भेटिएपछि यसलाई पनि बच्चा बन्न मन लाग्यो होला नि' पूजाले मेरो कुरालाई हाँसेर टार्दै प्रसंगको नदी अर्काे किनारातिर तर्काई 'स्कुलको साथीमात्रै'
'साथीमा जीवन जोडिन कहाँ मान्यो र पूजा? त्यो त मनमा भन्दा पनि भाग्यमा लेख्नुपर्दोरहेछ, यो जुनीमा तिम्रो हुन लेखेको रहेनछ भैगो' आँखामा आँसु रोक्नै सकिनँ। पूजाले पनि आँखा ओसिलो बनाई।
'किन हामी आफ्नो कमजोरीको सारा दोष निधारलाई दिने? सम्बन्धलाई भाग्यले लेख्ने होइन विवश, हामीले लेख्ने हो, त्यतिबेला काँचो दिमाग थियो, रिसको आवेगमा मैले पनि गल्ती गरेँ। आफैंलाई दोष दिऊँ। भाग्यलाई दोष लगाएर तिमी र म आफ्नो कमजोरीबाट भाग्न पाउँदैनौं।'
'कफी कस्तो खाने?'
मैले परिस्थितिलाई सहज अवतरण गर्ने प्रयास गरेँ।
'जीवनका २२ वर्ष प्रश्नबाट भागेर पुगेन तिमीलाई? फेरि भाग्न खोज्दैछौ? तिमीले कागजको टुक्रोको बारेमा किन मसँग कारण मागेनौ?' पूजालाई भावुकता र अतितले भिजाएको थियो।
'तिमीले कारण नजानी किन निर्णय लिएको? मेरो कमजोरीका बारेमा मसँग तिमीले कुरा गर्नुपर्ने होइन?'
'तिमीले किन सोधेनौ कि, मैले त्यो बेलामा कागजको टुक्रोमा गाली गरेर पठाएँ भनेर'
'मैले एकाधपटक प्रयास गरेको थिएँ, तिमीले सही व्यवहार गरिनौ'
'मान्छे आवेगमा परेको बेलामा आँखा खोलेर हिँड्दैन, मलाई त्यस्तै भएको थियो। आवेग शान्त भएपछि तिमी किन आएनौ?'
'मलाई आउने जाँगर चलेन' मेरो आवाजमा थोरै अहमताको पार्श्वधुन बजेको थियो।
'हो तिमीलाई आउन तिम्रो अहमताले दिएन अनि तिमीलाई बोलाउन मेरो अहमताले दिएन। अहमता पाल्नेहरूसँग प्रेम जीवित हुन सक्दैन। त्यही भएर हाम्रो प्रेम असफल भयो'
'यति धेरै ज्ञान भएको मान्छेले त्यतिबेलै सिकाउनुपर्दैन पूजा'
'ठक्कर खाएपछि आएको ज्ञान हो, तिमीलाई गलत देखाएर मलाई जसले आफ्नो बनायो। उसैले ठक्कर दिएपछि यो ज्ञान आएको हो'
निरजले पूजा र मेरो प्रेममा यसरी खलनायक भूमिका बहन गरेको कुरा मेरो लागि सहजै पचाउन सक्ने कुरा थिएन। बाल्यकालमा सबैभन्दा नजिकको एक मात्रै साथीमा पथ्र्यो निरज। प्रेममा साथीको नाता पनि बाधक बनिदिँदो रहेछ। मलाई गलत सावित गरेर मेरो मनको साथीले नै मेरो मनको मान्छेलाई आफ्नो बनाउला भन्ने कुरा मेरो कल्पनामा पनि थिएन। जीवनमा कैयौं कुरा कल्पना बाहिरका पनि हुन्छन्।
दसैं बिदाको माहौल भएकाले क्याफे नयाँ नयाँ मान्छेले भरिँदै थियो।
समयले मन पनि बदल्दो रहेछ क्यार। पूजालाई गुमाउनुको त्यति धेरै छटपटी मलाई थिएन। पूजामा पनि मैले खासै त्यो छटपटी देख्दैनथेँ। एक समय हुँदो रहेछ मायामा पागल हुनका लागि। समयसँगै मायाको पागलपन पनि उत्रदै जाँदो रहेछ। तिमीबिना बाँच्न सक्दिनँ भन्नु त केवल प्रेमको सुन्दर संवाद मात्रै रहेछ। यथार्थमा हुँदो रहेनछ।
पूजाले जीवन भोगाइका टुक्रा टुक्राहरू सुनाई। संघर्षका अनुभवहरू सुनाई। मर्दामर्दै बाँचेका जीवनका दर्दनाक पलहरू बाँडी। अस्ट्रेलियाको एक्लो जिन्दगीका आनन्द अनि दुखहरू साटी।
छुटिने बेलामा हातमा एउटा पोको थमाइदिँदै भनी, 'यिनी सबै हाम्रा स्कुले जीवनका मायाका टुक्राहरू हुन् लैजाऊँ आजदेखि म तिम्रो प्रेमबाट फुक्का हुन चाहन्छु'
मैले लेखेका एक एक मायाका टुक्राहरू थिए ती। पूजाले लेखेका टुक्राहरू त मैले कहाँ जतन गर्न सकेँ र?
एउटा टुक्रा खोलेर हेरेँ-
'पूजा, तिमीले छाडेको दिन मलाई सासले पनि साथ दिने छैन।'