कविता
अरूणा लामाको गीतजस्तै
एउटा गरिबको कमिजजस्तै
तिम्रो फाटेको महानता बाट
तिम्रो नीचता हाँसी रहेको छ
तिम्ले ओकल्ने महावाणीलाई जिस्काउँदै
आँखा झिम्काइ रहेको छ।
तिम्रो नीचता लुकाउन
तिम्रो मुकुन्डो छिपाउन
लाख कोसिस गरें
ग्लु, सुपरग्लुले टालें
सूचीकारको सियोले सिलाएँ
अह! मैले टाल्न सकिनँ
मैले सिलाउन सकिनँ।
तिमी जुकाजस्तै चुसाह रहेछौ
राँगोजस्तै रिसाहा रहेछौ
दुर्वासा जस्तो क्रोधी रहेछौ
तिमीमा दया छैन
माया र मानवता छैन
म कसरी भनूँ तिमी महान छौ?
तिम्रो महानता बालुवाको महलजस्तै छ
जलप लगा'को पित्तलजस्तै छ
पूर्णिमाको जुनजस्तो
छर्लङ्ग छन् तिम्रा कुत्सित कर्म
तिम्रो रौद्ररूप भित्र कसरी बुद्ध देखूँ?
हाकिम साब!
म कसरी मानूँ तिमी महान छौ?
तिम्रो पैंतलामा किचिएको नैतिकता
तिम्रो शोषणले सुकेनाश लागेका
निरीह प्राणी उपर
तिमी दिग्विजयी छौ
अविरजात्रा गर!
तर मेरो मनले मान्दैन
तिम्रो महानता
तिम्रो आडम्बरता।