त्यस गाउँमा वर्षातले कहिल्यै सहकाल ल्याएन!
बरू अकाल मृत्युको कारक बनिरह्यो। विदारक मृत्युको निम्तो थमाइरह्यो। २०४३ सालमा नेटो काट्नै लागेको मनसुनले विपत्तिको दुन्दुभि बजाएर गयो।
सगर घोप्टिएर राम्चेको थाप्लो चिर्यो। फूलचिचिला गर्दै गरेको धानबाली पहिराको आहार बन्यो।
तीन पुस्ताले पाखुरा ओछ्याएर सम्याएको फगटा आँखै सामु बगर बनेपछि निरूपाय गाउँबासी मेघ मडारिनेबित्तिकै उही रौद्र झरी सम्झेर थरहरी हुन्थे।
भोर नफक्रिँदै आमाको आँखा खेत निलेर पसारिएको अजिंगरतुल्य पहिरामा पर्थ्यो।
लालाबाला भोकै छन्। खेत पहिरामुनि छ। भीमकाय पाषाण पन्छाएर बगर बिराउने तागत आफूसँग छैन। कर्मी लगाएर बिराउ नियतिले पोल्टाभरि गरिबी थमाएको छ।
आँखाको आँसु हत्केलाले ओभाएर सुसेधन्दामा फर्किनुबाहेक आमासँग कुनै विकल्प थिएन।
खेत निखारेर थामिएको वर्षाको विभीषिकाले दोहोर्याएर अनुहार देखाएन। कालक्रममा, जंगलले ढाकिसकेर शेष नदेखिँदो होस् त पहिरो मिथ बन्थ्यो होला!
त्यस रात पारि क्षितिजमा डरलाग्दो मेघमाला तयार भयो। गाजापट्टिको आकाशमाथि मुकाबिला गरिरहेका रकेटजसरी बादलको घमासान चल्यो।
रात बल्ल निशिथ (दोस्रो प्रहर) मा प्रवेश गरेको हुँदो हो, घनघोर वर्षात सुरू भयो।
मकैको तिखा पातमा पानीका थोप्ला बजारिँदै फिँजारिने कर्कश आवाजले वर्षातको घनत्व अनुमान गर्न सकिन्थ्यो। क्षणभरमै खहरे, खोल्साहरूले उर्लिँदो रूप लिए। असबल्ले भेल थपिएपछि खोलाका भँगाले फाँटतिर बाटो समाते। धानका गाँज सोहोर्न थाले।
वर्षातको विभीषिका झनै डरलाग्दो बन्दै थियो।
गड्याम्म... ड्याम्म्... गुडुडु...! उफ् कस्तो डरलाग्दो आवाज!
खोलाको हो कि पहिराको? आमाले आवाजको भेउ पाउन सक्नुभएको थिएन। झरीको गर्जन थामिएकै थिएन, वातावरणमा आर्तनाद छायो।
मुत्युको मुख छल्न ओछ्यानमा कुँजिएका मानिसहरू प्राण जोगाउन नांगैभुतुंगै घरबाहिर निस्किन थाले। बार्दलीबाट हाम फाल्दा कतिका अँगालाबाट पति–पत्नी छुटे, हातबाट वयोवृद्ध बाबुआमा छुटे। काखबाट दूधे शिशु छुटे। काँधबाट बालख बच्चा छुटे।
विभीषिकामा को–को छुटे? कसैले भेउ पाउन सकेनन्।
स्तब्ध सन्नाटा चिर्दै बस्ती पहिरामा सोहोरिँदै बगिरहेको थियो। अकिञ्चन गाउँलेहरू पाखामा बसेर बेलाबखत आकाशको मिल्क्याइमा पहिराले छिमलेको गाउँ देख्थे। फेरि उही निछ्याम रात!
रातको अन्तिम प्रहरसम्मै झरीले आफ्नो तागत देखाइरह्यो। बलबुताले भ्याएसम्म मानिसहरूलाई आगतशून्य बनाइरह्यो।
कालरात्रि काट्न एक युग पर्खिनुपर्यो।
भोर ब्युँतिएपछि बाँसघारीमा सारौटेको कल्याङमल्याङ सुरू भयो। पूर्व क्षितिजमा रातो डोरो बस्यो।
मेघाच्छादित आकाश र निछ्याम रातसँग जीवनको याचना गरिरहेकाहरूलाई आफन्तको सम्झनाले लपेट्न थाल्यो।
अचानक! प्रातःकालको शून्यता चिर्दै बालख रोएको सुनिन थाल्यो। घरका बार्दलीबाट आँगनमा हाम फालेर ज्यान जोगाएकाहरू बालबच्चा पहिराले पुरिए भन्दै छाती पिट्न थाले।
कति झरी थामिएको मौका छोपेर थातथलोतिर हानिए।
दुर्भाग्य! कसैको पनि घर त के जग पनि सग्लो थिएन। पहिराको जगजगी मात्रै थियो। मानिसहरू निद्रामा छु कि तन्द्रामा केही भेउ पाउन सकेका थिएनन्।
दुःखले अँठ्याएपछि मन भिज्छ। आँखामा खडेरी छाउँछ। पीडा मुटुमा गाँठो परेपछि रून मृत्युभन्दा गाह्रो हुन्छ।
एकनास बगिरहेको पहिराको लेदोमाथि काखे बालख रोएको आवाज आइरहेछ कहाँबाट? कोलाहल चिर्दै कानमा बज्रिइरहेको आवाजले कुतूहलता थप्दै पनि थियो।
आँगन जोडिएको घना बस्तीलाई पहिराले दुई किनार बनाइदिएको थियो। वल्लो किनारबाट पल्लो किनार तर्न एक बिहान लाग्थ्यो!
बस्तीको बीचबाट घट्ट घुम्ने पानी खण्डहर गाउँ गिज्याउँदै सिन्धु छिचोलिरहेको थियो। भर्खरै मूल फुटेर निस्किएको त्यो पानी छिचोल्दै गाउँलेहरू पहिराको पल्लो किनार तरे।
पहिराबाट छलिएको थियो, एउटा घर।
गड्गडाउँदै झरेको पहिरो छल्न त्यस घरका मानिसहरू राति नै पाखा चढिसकेका थिए।
एक्लो बिरालो कंकलाशब्दले रोइरहेको थियो।
रातभरिको झरीपछि बिहान झलमल्ल घाम लागेको थियो। उघारो झ्यालबाट पसेको घामको किरणले मझेरी दूधिलो थियो। रूँदारूँदा थाकेको अनुहारमा घाम पर्दा पनि उज्यालै त देखिन्छ, हो, त्यस्तै थियो मझेरी। मूल थाममा अडेस लागेको बिरालो जब ऐनामा आफ्नो अनुहारको प्रतिविम्ब देख्थ्यो, झन् कहालिएर रून्थ्यो!
झल्याँस्स ब्युँझिनुभयो आमा।
कस्तो विद्रूप र भयानक सपना!
ऐंठनकारी सपनाले आँत खरो तुल्याएछ। निधारभरि पसिनाका टुसा हलक्कै बढेछन्।
ओछ्यानबाट जुरूक्क उठ्नुभयो। एक अम्खोरा पानीले गोडा खलखली भिजाउनुभयो। फेरि आएर ओछ्यानमै पल्टिनुभयो।
लोटाउँदा जूठो नकुल्चियोस् भनेर चनाखो भएको थिएँ। एकसरो खुट्टा पखालेको पनि हो, कतिबेला खुट्टामा अपशकुन टाँसियो र दुःस्वप्नले घेरा हाल्यो पत्तै भएन।
हुन त आँखा पखाल्दैमा झझल्को मेटिन्छ र! खुट्टा पखाल्दैमा अपशकुन बगिजान्छ र!
दुःस्वप्नमा जीवन छ भने जीवनमा दुःस्वप्न शास्वत् हो।
र त, दुःस्वप्नले रातैभर फणा उठाइरह्यो। मस्तिष्कमा डसिरह्यो। ओछ्यानमा पल्टिए पनि कसरी पर्थ्यो निद्रा?
बम-गोलीको आवाजले सौम्य शिवपुरि रातैभरि बिथोलिइरह्यो। धडमधडम बजेका पैतालालले घरपछाडिको मूलबाटो रातैभर जाग्राम बस्यो।
बम-बारूदको मुस्लो निलेर उग्राइरहेको समयले कसकसलाई मृत्यु थमाउने हो, केही थाहा छैन! भोका अखबारले कसकसका मृत्युका खबर छापेर पेट उकास्ने हुन्! समाचारका प्यासी रेडियोहरूले कति दोहोरो भिडन्त बजाएर तिर्खा मेटाउने हुन्!
राज्यको गन्तीबिना बाँचिरहेकाहरू कति उनिने हुन् मृत्युको तथ्यांकमा र चढ्ने हुन् सरकारी अड्डाका ढड्डामा! कति मर्ने हुन् बेहिसाबै वनबुट्यानलाई मलखाद भएर!
अहँ केही थाहा छैन।
सम्झिँदासम्झिँदै आमाको नौनाडी फत्रक्क गलेर आयो। आँत खरो भयो। घाँटी नबिसाई एक अम्खोरा पानी निलेर कोल्टे फेर्नुभयो।
दक्षिण क्षितिजमा पुच्छ्रेतारा चलमलाउन थालिसकेको थियो। दुःस्वप्नले ठुँगेर लखतरान शरीर कतिबेला निद्राको कब्जामा पर्यो, आमाले पत्तै पाउनुभएन।
बन्दुक सिरानी हालेको एक युग लामो रात फाटेर भोर उघ्रियो। प्रातः नजाग्दै बहिनी उठ्थी। खित्रिक्क ढोका उघार्थी। दैलो-जस्केलो लिपपोत गर्थी। चुह्लो धुवाउँथी।
घाम स्वयंले दैलो पोतिसक्दा पनि बहिनीको पैतालाको टड्कारो आवाज नसुनेपछि आमा आश्चर्यमा पर्नुभयो।
'कतै बिरामी त परिन?,' चिसो भयो मातृमुटु!
धारामा पानी नआएका बखत बहिनी गाग्री च्यापेर कुवा जान्थी। कहिलेकाहीँले एक बिहान बिताएर फर्किन्थी।
धाराको पाइप खुस्काइ पो दिएर कुवा गई कि! सबैका धारा सुकेको भए त्यहाँ पनि के पालो पाई होला र! मनका अनेक तर्कना पन्छाउँदै उठ्नुभयो र भान्छा कोठातिर आँखा डुलाउनुभयो।
आमाको आँखा भान्छाको रित्तो गाग्रीमा पो पर्यो। अहँ! बहिनी थिइन।
संकटकालको सन्त्रासयुक्त शून्यता चिर्दै बटुवाहरू गन्तव्यकृत हुन थालिसकेका थिए। बाँसघारीमा बास बसेका चरा बचेराको आहाराको खोजपड्तालमा अकासिए। पुस्तैनी वेदनाको सुसेली हाल्दै घाँसेहरू वनपाखा, चौरी उक्लन थाले।
पुर्ख्यौली दुःखको कुम्लो भिरेका घट्वारेहरू घट्टको सुरमा जीवनको लय मिलाउन धमाधम सिन्धुबेँसी झर्न थाले। रहदेखि रहसम्म जीवनको परिधि नापिरहेका मछ्वारेहरू दह खोज्दै उँभो सिन्धु हानिन थाले।
घरमूली आउँदै गरेको चाल पाएका चौपायाहरूको डाँडाँडुँडुँले बेँसीले पनि दिनको लय समातिसकेको थियो।
बहिनी यतिन्जेलसम्म सुतेकै भान परेर आमा चोटामा उक्लनुभयो।
खंग्रङ्ङ हुनुभयो।
असरल्ल सिरक। तन्नाभरि कागजका मसिना टुक्रा। सिरानीभरि आँसुका धब्बैधब्बा। बसाइँ सरेर गएको मानिसको अवस्था बिर्साउने ओछ्यानको नाजुक अवस्था देखेपछि आमाको मुटु केहीबेर त निःचेष्टजस्तै बन्न पुग्यो।
कुदेर झ्यालतिर जानुभयो। दुईतले घरको उत्तरतिर फर्किएको झ्यालबाट सडकमा ओर्लिन मुस्किल थिएन। चोटामा पुगेका केटाकेटी अक्सर त्यहीँबाट फाल फाल्न खोज्थे। आत्तिँदै आमा भन्ने गर्नुहुन्थ्यो, 'ओई... नफराल्! खुट्टामा चोटपटक लाग्ला!'
झ्यालको फक्लेटो आधा उघ्रिएको देखेर यसपटक आमाको मुटुमा चोटपटक लाग्यो!
चोटाबाट कसरी भर्याङका खुट्किला ओर्लिँदै कसरी मझेरीमा आइपुग्नुभयो र सँघार काट्नुभयो, उहाँ सम्झिन सक्नुहुन्न!
मूल सडकमा आइपुगेपछि उहाँ झल्याँस्स हुनुभयो र सोच्न थाल्नुभयो, 'कतै अपहत्ते त गरिन?'
झन् जोडसँग बज्न थाल्यो मुटुमा ढोलक!
मनले भन्छ भर्याङमुनि जा, नाम्लो–बरियो थन्क्याउने ठाउँमा गएर हेर्। तर, खुट्टा लागे पो जानु! थाप्लामा भ्रामरी खनिएपछि कसरी सर्छ र पाइला?
जसोतसो भर्याङमुनि पुनि पुग्नुभयो। चारैतिर आँखा डुलाउनुभयो। भएजत्ति सामानमा एकैपटक आँखा पर्यो।
यथास्थानमा थिए, नाम्लो–बरियो, खुर्पेटो, हँसिया–कचिया।
'कतै पछ्यौरीकै पासो त लगाइन?'
'बाउकै गलबन्दीको सुर्केनी बनाएर पो उनिई कि?'
जतिजति बिहान छिप्पिँदै जान्थ्यो, मनमा ऊहापोहको ज्वारभाटा पैदा हुन्थ्यो।
रून आँखा असमर्थ छन्। डाँको छाड्न गलाले दिँदैनन्। बाटामा गएर हारगुहार गरौं, खुट्टा लाग्दैनन्!
बेदनाले हल न चल भयो शरीर! मस्तिष्क त झन् अघि नै सोच्न सक्ने सामर्थ्य गुमाएर शून्यमा झरिसकेको थियो।
कस्तो आपत्!
बचेखुचेको चेतनाले आफैंलाई सम्हालेर चोटा चहार्नुभयो। आँखा पुर्याउन कुनै निदाल–दलिन छुटेनन्।
घरभित्र नभएको टुंगो लागेपछि बारीका पाटापाटा चहारेर बोट–बुट्यान हेर्नुभयो। फेला परिन बहिनी।
अघि ओछ्यानमा च्यातिएका टुक्राहरूमा आँखा परेथ्यो। छारस्ट ती पढ्न सक्ने अवस्था थिएनन्। धुलोपीठो तुल्याएका ती जोड्न सक्ने हालतमा के हुँदा हुन्! आमाको मन न हो, तैपनि कुनै संकेत मिली पो हाल्छ कि!
दोहोर्याएर ओछ्यान पुग्नुभयो। आँसुको जाली लागेका आँखाले कागजका टुक्रा ठम्याउन पनि सकेनन्। एक हातले आँसु पुछ्दै अर्को हातले च्यातिएका टुक्रा जोड्ने चेष्टा गर्न थाल्नुभयो।
अहँ! केही उपाय लागेन।
हिजो साँझ, आँगनको छेउमा धुम्धुम्ती बसेर चुँडिएको चप्पल टुकी बत्तीको सहायताले जोड्दै गरेको देखेपछि आमाले भन्नुभएको रहेछ– बालाई नयाँ तुना किनेर ल्याइदिनुस् भनेको भए पनि त हुन्थ्यो नि!
'गाँसेर काम चल्छ भने नयाँ किन किन्नु, फेरि त्यो पनि नचुँडिने त कहाँ पर्छ र?,' हजुरआमाकै बोली टिप्दै उसले भनिछ।
'घर छोडेर जानै रहेछ त नयाँ जुत्ता लगाएर गएको भए पनि हुन्थ्यो! टाढा पुग्दासम्म दुःख त दिँदैनथ्यो!,' बल्ल आमाको गला खुल्यो।
गलाको गाँठो फुकेपछि आँखाबाट बलिन्द्रधारा आँसु खसे।
घडीले नौ बजायो। आधा बिहान बितिसक्दा खोलेपानी नखाएपछि बस्तुभाउ दाम्लो छिनालुँला झैं गरेर चिच्याउन थाले।
गाईभैंसी पालैपालो कराएको आवाज पर पहरोमा पुगेर ठोक्किन्थ्यो र प्रतिध्वनित भएर गोठतिरै फर्किन्थ्यो!
त्यो आवाजमा कतै बहिनी पनि मिसिएर आउँछे कि! चनाखो बन्नुहुन्थ्यो आमा।
भोकाएका बस्तुभाउको आवाज टाढैबाट सुनेपछि डेरी गएका बुवाको पैताला पनि छिटो चल्न थाले।
'बिहान जाँदा छोरी ओछ्यानमा छ, छैन हेर्नुपर्दैन?,' बुवा दैलोभित्र पस्न पनि पाउनुभएको थिएन, करूणार्द्र आमाको झम्ट्याइमा परिहाल्नुभयो।
'हैन के भन्छे यो,' अनभिज्ञ बुवा आश्चर्यमा पर्नु स्वाभाविकै थियो।
दौडिँदै चोटामा पुग्नुभयो। उही असरल्ल ओछ्यानमा आँखा पर्यो।
किंकर्तव्यविमूढ हुने पालो बुवाको थियो। अन्यमनस्क भावले बुवाले धेरैबेर छोरीको ओछ्यान हेरिरहनुभयो।
'साथीकहाँ पो गइछे कि, आउली नि त, किन आत्तिएकी? छोरालाई उता काठमाडौंमा पनि खबर गरेकै छु, ऊ पनि आउँदै छ!'
आफ्नै मन शीतांग छ, आमालाई कुन सामर्थ्यले सम्झाउनु। तथापि कोसिस गरिरहनुभएको थियो बुवा।
'खोलातिर गएर हाम पो फाली कि, दिन–दशा बिग्रिएपछि मान्छे कुन बाटो हिँड्छ स्वयंलाई थाहा हुन्न!' आमाको मनमा अनेक तर्कना आइरहेको थियो।
यो रूखमा पासो लगाई कि, त्यो रूखमा पो पासो लगाई कि, यो रूखको हाँगा मिल्दो छ भनेर सोच्दासोच्दै रूखैपिच्छे छोरी झुन्डिएको तस्बिर आँखाअगाडि देखा पर्न थालिसकेको थियो।
खाना खाने बेलासम्म पनि बहिनी फर्किन। पधेँरा, पाखा, छिमेकी कतै गएको संकेतसम्म पनि मिलेन।
झन्डै मध्याह्नसम्म बहिनी नफर्किएपछि बुवाले छरछिमेकमा सोधीखोजी गर्नुभयो।
डाँडाको फेदीमा थपक्क बसेको गाउँ। आँगन जोडिएका घरहरू। मानिसहरू जम्मा हुन कत्ति पनि बेर लागेन। गाउँले सबै मिलेर सिन्धुका रह–दह चहारे। भँगाला नियाले।
गाउँले सिन्धुबेँसीबाट फर्किँदा रामारूमी अँध्यारो भएको थियो।
'जिउँदै रहिछे भने फर्केर आउली नि त! एकले अर्कालाई सम्झाइबुझाइ गर अब!'
यति भनेर गाउँलेहरू आआफ्ना घर गए। कति सम्झाउन घरसम्मै आए। मन मसक्क बाँधेर बुवाले आफूलाई त सम्झाउनुभयो, आँगनको डिलमा बसेर एकतमासले रोइरहनुभएकी आमालाई कसरी सम्झाउने? के भनेर बुझाउने?
अहँ! बुवालाई कुनै उपाय सुझेन!
पतझड याममै बहिनी बेपत्ता भएर घर उजाड भएको थियो। वसन्त बहाल रहँदै रूखहरूमा नूतन पालुवा पलाए। वनबुट्यानमा हरियाली छायो।
बहिनी वियोगमा अनिदो घर दिनप्रति दिन बूढो सिमलसरह सुक्दै गएको आभास हुन्थ्यो। वियोगको वेदनका रूप आखिर विद्रूप नै त हुने भयो।
बहिनी बेपत्ता भएको भोलिपल्टै बुवा र म गएर प्रहरी चौकीमा बहिनी खोजिदिन अनुनयविनय गर्न गयौं। संकटकालको उत्कर्ष भएकाले युद्धको गर्जन बाक्लिँदै थियो। युद्धको लाभाले सहरबजार छपक्कै छोपेको थियो। अपरिचित मानिस देख्दा पनि सामुन्नेमा मृत्यु टुप्लुक्क आएको भान हुन्थ्यो।
गेटमा निकै केरकार गरेपछि बल्ल भित्र जाने अनुमति पायौं। चौरमा बिहानीको पार ताप्दै रहेछन् हाकिम।
बन्दुकको आगाले लपेटेजस्तो भयभीत अनुहारको उनले हाम्रो कुरा राम्रोसँग पनि सुनेनन्।
'कति वर्षकी थिई...?,' उनले केरकारकै भाषा बोले।
'१५ वर्ष भर्खर लागेकी थिई सर...!,' बुवा डराइडराइ बोल्नुभयो।
माओवादीको भयले हाम्रो गाउँ नजिकैबाट उखेलिएको चौकी त्यहीँ मिसिएको थियो। बर्दीधारी हामीले नचिनेको पनि थिएनन्।
बम-बारूदको भुंग्रोबाट उम्किएर आएजस्तो निकै रूखो र अरट्ठो बनेका रहेछन्।
कर्कश स्वरमा भने, 'गई होली माओवादीमा... उतै खोज्नू बाजे...!'
मूल बाटोसँगै जोडिएको घर। माओवादी र एकीकृत सुरक्षाफौजहरू उत्तिकै आउँथे। तर बस्न त्राहिमाम् हुन्थे। स्कुलमा कमिटी बनाएको, गतिविधि गरेको पनि थाहा छैन। कसरी सम्पर्क गरेर युद्धको आगामा होमिई होला र! बुवा घोत्लिनुभयो।
निरूपाय भएर घर फर्कियौं। घर फर्किँदा रामारूमी अँध्यारोले छोपिसकेको थियो।
'फेला परिन है छोरी?,' आमा विदीर्ण आवाजमा बोल्नुभयो।
बुबाले दिने जवाफ सम्झिँदैमा मेरो शरीरमा काँडा उम्रियो।
'माओवादीमा गई होली..' भन्ने प्रहरीको जवाफ सम्झिएर आमा प्रत्येक दिन रेडियोमा कान थाप्न थाल्नुभयो।
समाचार बोल्ने टठिलो आवाजमा छोरीको नाम आउँछ कि भनेर सास रोकेर सुन्न थाल्नुभयो। सास फेर्दा त्यहीबेला छोरीको नाम उच्चारण होला भनेर चनाखो हुनुहुन्थ्यो।
कतै छोरी मारिएको खबर पो आउँछ कि भनेर समाचारमा कान थापिरहेकी आमा देखेर घर पनि झसंग हुन्थ्यो होला!
समाचारको सुरूआती धुन उहाँलाई शोकधुन प्रतीत हुन्थ्यो भनेर समाप्तिको आवाजले केही त्राण दिन्थ्यो। रोकिराखेको सास एकैपटक फेर्नुहुन्थ्यो।
र, तत्क्षण नै निराशा पोख्नुहुन्थ्यो– मारिएका जत्ति यिनीहरूले थाहा पाउँछन् भन्ने पनि छैन!
एक्कासि हराएकी बहिनी महिना दिनसम्म बितिसक्दा घर फिरिन।
न घामले देखेको छु भन्यो, न हावाले नै मरेको खबर बोकी ल्यायो!
न कुनै ज्योतिषीले बहिनी गएको दिशा देखाइदिन सक्यो, न कुनै बाटाले बहिनीको गन्तव्य भनिदिन सक्यो।
वियोगको आलो घाउ बोकेर दस थान आँखा अनिँदै रहे। बलेनीमा आँसुको भेल बगाउँदै घर दिनरातै जाग्राम रह्यो। घाम–जूनले दिने उज्यालो पनि घरका निम्ति फिक्का नै रह्यो।
आँखैअगाडि अस्ताएको मानिस फर्किएर आउने आशा हुँदैन। अस्तुसँगै मानिसको बेदनाको आगो पनि सेलाउँदै जान्छ।
आँखामा छाउने भ्रान्ति दिन प्रतिदिन फाट्दै जान्छ। शनैःशनैः प्रियजनहरू सपनामा आउन पनि थाक्छन्।
हजुरआमाको निशानी यसैगरी धुमिल बन्दै गएको थियो। मुटुमा सम्झनाको स्याँठ चल्दा हरबखत रसाउने आँखा तिथि–श्राद्ध र चाडपर्वको छेको पारेर आँखाबाट फाल हाल्थे।
सुइँको पनि नदिई बेपत्ता भएकी थिई बहिनी।
उचित मलखाद पाएको मुलाझैं १५ वर्षमै हुर्किएर डँडाक भएकी थिई। बालखमै एकमेलो पकाउन सक्ने ऊ दिनानुदिन आमाको भरसिली साथी बन्दै थिई।
बालबच्चाले मेलो देखेपछि बाबुआमाको हातले आराम पाउँछन्। थाप्लाको बोझ हलुङ हुँदै गएर चैनको सास फेर्ने दिन नजिकिएको हर्षमा आमा दिनप्रति दिन उज्यालिँदै जानुभएको थियो।
पुस्तैनी दमले उहाँलाई बेलैमा गाँज्यो। उमेरमै दीर्घ रोगले अँठ्याएपछि हातगोडा चाँडै थाक्थे। शरीर क्लान्त देखिन्थ्यो। आँखा उदास हुन्थे।
सन्तान हुर्किँदै जाँदा आमा बौरिँदै आउनुभएको थियो।
हठात् थाप्लामा बज्र खनियो। आमाबाबुको कल्पनाको सीमारेखा काटेर बहिनी अलप भई।
कसैका निम्ति पनि दैलो दुर्लङ्घनीय हुँदैन। सँघार काट्न त्यति दुरूह पनि छैन। तर जानुअघि एक वचन सोधेको भए पनि त हुन्थ्यो! कहाँ हिँडेको हो, कुनै माध्यमबाट बताइदिएको भए पनि हुन्थ्यो! लेखेको कुरा बुझ्न सक्ने हालतमा छोडिदिएको भए पनि त हुन्थ्यो! सिरानीमा कोरिएका आँसुका दुर्बोध्य चित्र हेरेरै मैले कसरी थाहा पाउनु!
गुनासोले पिलोको रूप लियो। हृदय टनकटनक टन्किइरह्यो।
कुनै दिन भनी बिझाएछु र पो घर छाडी कि! कोही मन पराएकी थिई र भन्न धक मानेर पो बाटो लागी कि! बाटो खर्चसमेत नबोकी, बेखर्ची भएर कता हिँडेकी होली! आमा... भन्दै रूँदै पो छे कि!
मनको पिलोको आकार बढ्दै थियो।
घाँसको भारी बोकेर आउनुहुन्थ्यो आमा, बहिनीले पदचाप पछ्याइरहेको भान हुन्थ्यो। पिँढीमा घाँसको भारी बिसाएर पसिना निधारबाट पसिना तर्काउन खोज्यो सामुन्नेमा बहिनी उभिएको भ्रान्ति हुन्छ।
भान्छा पसेर चुह्लो जगाउन खोज्यो कानमा आमा भनेर बोलाएको आवाज ठोक्किन आइपुग्छ। दैलोमा नपुग्दै खुसी आँसुमा परिणत हुन्छ। दलिनमा झुन्ड्याइराखेको चोली, छिँडीमा जुत्ताहरूले पनि छल गर्छन् र ठाउँ-कुठाउँ बहिनीको आँखाअगाडि बहिनीको सग्लो आकृति देखाइरहन्छन्। बारम्बार ताडित तुल्याइरहन्छन्।
अस्तिको दिन त मैतालु फर्काउन आएकी नवविवाहिताको पछिपछि लागेर भर्भराउँदी युवती आएकी थिई। चालढाल दुरूस्तै बहिनीकै जस्तो।
सिकुवाको झ्यालबाट आमा हेरिरहनुभएको रहेछ!
'ऊ आइहाली नि!,' आमा अचानक पुलकित देखिनुभयो।
मैतालु र उसँगै आएकाहरू धानखेत छिचोल्दै कुलैकुला माथ्लो गाउँतिर पैताला सोझ्याए। पछिपछि आइरहेकी किशोरी पनि उही बान्कीमा उतै लागिन्।
बारम्बारको झझल्कोदंशले आमा थप आहत हुनुभयो।
धेरै दिनदेखि भान्छा कोठामा नाकै टट्टाउने गन्ध आइरहेको थियो। सुरूसुरूमा त मझेरीसम्म मात्रै कुइगन्ध छाउँथ्यो। दैलो छिचोल्दै बलेसीसम्मै दुर्गन्ध आउन थाल्यो।
उब्रिएको बासी खाना भाँडामा बिर्सिएर गन्ध आयो भनौं भने राम्रोसँग चुह्लो नबलेको तीन महिना बढी भइसक्यो! मूषक, छुचुन्द्रो कुहिएको भए त यसरी गन्हाउनु नपर्ने!
'के कुहियो होला?,' अस्वाभाविक गन्ध करेसोबाटै थाहा पाउने भएपछि बुवाले भान्छाको कुनाकानी पन्छाएर सफा गर्नुभयो। गन्धको स्रोत कतै पत्ता लागेन। हैरान भएर तख्तामा रहेको हाँडी निकाल्दै हुनुहुन्थ्यो। नाकले थेग्नै नसक्ने गन्धले छोप्यो।
गन्ध त हाँडीबाट पो आइरहेको रहेछ!
'कान्छीले ल्याइदिएको कुरौनी छोरी आउँछे र खान्छे भनेर राखेकी थिएँ। झिक्नै बिर्सेछु र पो गन्धले थाहा दिएको रहेछ!,' आमाले सँघारबाट बोल्नुभयो।
'कत्ति मन पराउँथी कुराउनी... आउली र खाली भनेर राखिदिएको... के गर्नु आइन... तुलसीको मठमा लगेर चढाइदिनू... नफाल्नू है...!,' आमाले अवरूद्ध गलाबाट यत्ति भन्न सक्नुभयो।
त्यसपछि कहिल्यै खाली रहेन तख्ताको हाँडी। बहिनी टुप्लुक्क आइपुग्छे र कुप्लुक्क खान्छे भनेर हाँडीभित्र मीठो–मसिनो राखिरहनुभयो। कुइगन्धले घर छेडेपछि मात्रै बुवाले थाहा पाउनुहुन्थ्यो। द्रवीभूत हुँदै पन्छाउनुहुन्थ्यो!
कथंकदाचित राख्न बिर्सिनुभयो भने पूजाकोठामा बालिराखेको बत्ती सामुन्ने खाना पस्किएर छाडिदिनुहुन्थ्यो!
पुत्री वियोगले थलिएपछि आमाले नै स्याहार पाउन सक्नुभएको थिएन। दैलो, मझेरीले कसरी स्याहार पाउनू! घरको पूर्वी पाखोको लिउन उक्किएर झर्न थालेको थियो। तुलसीसमेत स्याहार नपाएर मुर्झाउँदै गएका थिए। रूग्ण बन्दै गरेको बलेसीले घरको मनोदशा बताउँथ्यो।
मौसममा शरद ऋतुले पखेटा हाल्न थालेको थियो। दसैंको आगमन त्यति दूर थिएन।
बहिनीले घर छाडेर हिँडेदेखि आँगनमा झार जंगलतुल्य बनेको थियो। त्यही झारको बीचमा मखमलीका बोट हलक्क बढेका थिए। किशोरीको नाकमा टल्किएको फुलीझैं फूलले आकार लिँदै थियो।
भाइले एकाबिहानै उखेलेर तुलसीको मठको छेउमा थुपारेछ।
फूल फुल्दै गरेको बोट उखेलेपछि आमाले अफसोस मान्दै भन्नुभयो, 'किन उखेलेको बाबु! तिहारलाई चाहिन्छ नि!'
'दिदी हराइहाली कसले उन्छ माला र चाहिनु मखमली?'
पिँढीको थामको किलामा ऐना अड्याएर गाजल लगाउन खोज्दै हुनुहुन्थ्यो आमा। ऐनामा एक्कासि बहिनी प्रतिविम्बित भई। बालखमा बहिनी आमाको अनुहारको थिई। अहिले ऐनामा बहिनीको अनुहारको आफूलाई पाउनुभयो।
यो सपना थिएन।
सपना भएदिए हुन्थ्यो भनेर आमाले आँखा मिच्नुभयो!