हातमा स्लाइन, शरीरमा व्याण्डेज र पसिनाले छपक्क भिजेको मुहार। उसले विस्तारै आँखा खोल्यो, नजिकै पत्नी माया उभिएकी थिइन्, किशोरवय छोरा र छोरी चिन्तित भावले उसलाई हेर्दै थिए, उसले आधा मात्र खुलेका नजरले सबैतिर हेर्यो, हेर्दै हेर्दा जलमग्न भएका आँखा फेरि बन्द भए र ऊ पुनः बेहोसी मै फर्कियो।
लोग्नेको त्यो कारूणिक अवस्था देखेर छातीमा गाँठो पर्यो, उनले आफ्ना आँखका आँसु पुछिन् र गहिरो आत्मग्लानिका साथ बडबडाइन्।
‘कस्तो दशाले कुत्कुत्याएर पोखरा जाने जिद्दी गरेछु!’
रात विस्तारै छिप्पिँदै थियो, अरू कुरूवाहरू सुस्ताउँदै थिए तर उनी भने अपराधबोधले जल्दै थिइन्।
आँखामा निन्द्रा थिएन, मनमा केवल पश्चाताप र छटपटी मात्र थियो। आधा राततिर उनी बेडबाट उठिन् र व्यथित भावले झ्यालबाट हेरिन्।
बाहिर पिलपिलाउँदा बत्तीहरू रातको त्यो घनघोर अँध्यारोलाई चिर्ने अनवरत प्रयासमा थिए र उनी विवेकशून्य भएर त्यही अँध्यारोमा हराएकी थिइन्।
अस्पतालको त्यो डरलाग्दो शून्यता, सागर गहिरो बेहोसी र उनको आफ्नो बेसहरापन! मन सम्हालिने कुनै आधारै थिएन। उनी चुपचाप डरलाग्दा तिनै सम्झनामा हराएकी थिइन्, पोखरा जाने योजना बन्नु अघिका कुराकानीको यादहरूले असह्य पीडा दिन्थे र उनी भावशून्य हुन्थिन्। त्यस दिन उनले भनेकी थिइन्।
‘यसपटक विशेष किसिमले दुई जना मात्रै पोखरा गएर ‘म्यारिज एनिभर्सरी’ मनाउन न!’
उसले सुनेको नसुने झैं गर्यो, दोस्रोपटक पनि भनिन् तर उसले प्रतिक्रिया जनाएन र उनले आँखाभरी आँसु लिएर निरीह भावमा भनिन्,‘श्रीमतीका पनि त रहर हुन्छन् नि सागर! तिमी कहिल्यै वास्ता गर्दैनौ, जीवनमा खुसी नै नभएपछि जति पैसा भएनि के हुन्छ र?’
उनका कारूणिक शब्दहरू सुनेपछि ऊ पनि भावुक भयो र उनलाई मायालु अंगालोमा बाध्यो र उनको कुरामा सहमति जनायो।
केहीदिनमै उनीहरू पोखरा गए, एनिभर्सरीको अवसर पारेर बिछट्टै न्यानो, स्वप्निल र रंगीन समय बिताए।
काठमाडौं फर्किने अघिको रात सागरले भावबिभोर हुँदै भन्यो,‘साँच्चिकै माया! हामीले यति सुन्दर जीवन भोगेकै रहेन छौं!’
प्रतिउत्तरमा मायाले मनमोहक मुस्कान फिजाएकी थिइन् र उसले आत्मीय अंगालोमा बाँधेको थियो, त्यो रात पनि मदहोस भएर बितेको थियो ।
चौथो दिन बिहानै उनीहरू काठमाडौंका लागि हिँडेका थिए।
सागर प्रफुल्ल भावले कार चलाइरहेको थियो, उनी पनि पुलकित हुँदै साथै बसेकी थिइन्। बाटाभरी फुलेका चाँप, कट्टुस र काइयोका सुन्दर पालुवा र आरुका फूलहरूले बेग्लै सुखद् अनुभूति दिलाउँदै थिए।
त्यो मनमोहक यात्रा जारी नै थियो, दमौली नाघेपछि गाडीको गति ज्यादै बढ्दै गयो। उनले त्रसित भएर सागरलाई हेरिन्, उसले हल्का मुस्कुराएर आश्वस्त पार्यो तर त्यसपछि गति घटेन र डरले खंग्रङ्ग हुँदै उनले फेरि उसैलाई हेरिन्। उसको अनुहार पसिनाले छपक्कै भिजिसकेको थियो, उसले आत्तिँदै भन्यो- ब्रेकले काम गरेन...
उसको वाक्य पूरा नहुँदै गाडी सडकबाट पल्टियो। त्यसपछि कसले उद्धार गरेर अस्पताल ल्यायो उनले बुझेकी थिइनन्।
होसमा आउँदा उनी नारायणघाटको अस्पातलमा थिइन् र नजिकै अर्को बेडमा सागर अचेत भएर लडेको थियो। मन ज्यादै अस्थिर थियो, दुर्घटनाका कहालिलाग्दा सम्झनाहरूले होसहवास उडाएका थिए र उनी कर्कलोजस्तै गलेकी थिइन्। यहीबेला उसले पानी माग्यो, उनले आफूलाई सम्हालिन् र पानी पिलाउँदै असीम पीडाका साथ भनिन्, ‘कस्तो जिद्दी गरेछु सागर मैले! यो अपराधबोधबाट मैले कहिले मुक्ति पाउने छैन!’
सागरले गहभरी आँसु पारेर काँपेको शिथिल आवाजमा भन्यो,‘भाग्यमा लेखिएको दुःख नभोगी कहाँ सुख पाइन्छ र माया?...’
उसका शब्दहरूले झन् भावुक बनाए।
उसले दुई चार चम्चा पानी निल्यो र फेरि निन्द्राले छोपेझैं लठ्ठ पर्यो।
केटाकेटी घर फर्किसकेका थिए, अत्यासलाग्दो शून्यतामा भाग्यको कपटी खेल देखर उनी चुपचाप रुदै थिइन्। घरीघरी अचम्म लाग्थ्यो र उनी आफैंसँग सोध्थिन्।
‘एउटै दुर्घटना! ऊ जीवन मरणको दोसाधमा छ तर म सकुशल छु! यो कुरा कसरी सम्भव हुन्छ?’
उनी आफ्ना चेतनाका केस्रा केस्रा केलाउथिन् तर सन्तुष्ट हुन सक्दैनथिन्।
अस्पतालमा अत्यासलाग्दो गरी एक हप्ता बित्यो तर उसको कम्मरदेखि मुनिको चेतनाहीन भाग त्यस्तै भयो। ऊ त्यही चिन्ताले छटपटिन्थ्यो, कहिले ऊ चिढ्चिढाउथ्यो त कहिले एकशब्द पनि बोल्दैनथ्यो। त्यो देखेर उनी दुविधाले पनि झन् किंकर्तव्यमुढ हुन्थिन्। उपचार हुँदै थियो एकदिन उसले डाक्टरलाई सोध्यो,‘मलाई ‘प्यारालाइसिस’ भ’को हो डाक्टर साहेब ?’
डाक्टरले तत्कालै कुनै प्रतिक्रिया जनाएनन्, केहीबेर सोचेर गम्भीर मुद्रामा भने, ‘...... मेरूदण्डमा धेरै नै क्षति पुगेको छ, अहिले ह्विल चेयर प्रयोग गर्नुस्, अरू सबै ईश्वरको कृपा हो ...’
डाक्टरको कुरा सुनेर ऊ लल्याकलुलुक भयो। जलमग्न नजरले असहाय भावमा मायालाई हेर्यो। उसलाई त्यो दयनीय अवस्था देखेर उनी पनि मर्माहत भइन्, सम्झाउने कुनै शब्द भएनन्, असिम पीडाका साथ उसको पिँठ सुमसुम्याउँदै निकैबेरसम्म कोक्किइन्।
केही दिनपछि ऊ अस्पतालबाट घर त फर्क्यो तर उसका जीवनका फराकिला बाटाहरू सबै मेटिए र सपनाहरू पनि सबै झरे।
ऊ गजुर ढलेको मन्दिरजस्तै भयो। त्यसपछि ऊ हरेक दिन चर्किंदै, फुट्दै, भत्किँदै जान थाल्यो। यसैक्रममा एकदिन अकस्मात उसले अत्यन्त भावुक हुँदै फेरि भन्यो, ‘मेरा लागि किन सबैको बास उठ्याउछौ माया? बरू मलाई एक बोतल ‘मेटासिड’ ल्याइदेऊ , म मरें भने तिमीहरूको त बाटो त खुल्छ .....’
ती कारूणिक शब्दहरूले उनको धैर्यता पानी पानी भयो तै पनि आफ्ना संवेगहरू लुकाउँदै उनले सुस्तरी भनिन्,‘धत के भनेको त्यस्तो? तिमी त मेरो सौभाग्यको सिन्दुर हौ, छोराछोरीको सबैभन्दा ठूलो खुसी! तिमी हाँस्यौ भने पो त हामी पनि बाँच्न सक्छौ त सागर’
उनका ती मायालु शब्दहरूले पनि उमाथि कुनै असर परेन। उसले दुःखी नजरले आफ्ना सुक्दै गएका गोडाहरू हेर्यो, झ्याबाट बाहिरतिर हेर्दै कोक्कियो , त्यो दयनीय अवस्था देखेर उनी मर्माहत भइन्, चुपचाप उसको कपाल सुमसुम्याइन् र ओठ टोकेर कोक्किँदै रोइन्। दिनहरू आँसुमा डुबेर बित्दै थिए, अर्को दिन त्यसैगरी उसले भावुक भएर भन्यो, ‘.... दैवले नांङ्गेझार पार्यो माया! हेर त कस्तो जिउँदो लास भएँ? खोइ मेरा ती मान, प्रतिष्ठा, धन दौलत कहाँ गए ?.....खोइ मेरो जीवनको बाटो? खोइ गन्तव्य?’
बोल्दाबोल्दै उसको आवाज भासियो, माया पनि किंकर्तव्यमुढ भइन्। यसैबीच उसले लामो सास फर्यो र सुटुक्क आँसु पुछ्यो। त्यसदिन ऊ विक्षिप्त थियो, उसलाई सम्हाल्न निकै गाह्रो भयो।
यसरी समयले त घाँटी थिचेकै थियो, आर्थिक संकटले पनि बाँच्नै कठिन बनायो।
उसको चर्को उपचार र घर खर्चका कारण छोरा छोरीले पढ्न पाएनन्। निराश भएर छोरो खाडीतिर भासियो, हार खाएर छोरी पनि दुबईतिर लागिन्। नियतिको त्यो कठोर यातना सहेर दुबै जना बाँच्न बाध्य भए।
यसैबीच एकदिन घरमा उसको साथी विनय आएको थियो। त्यो दिन ऊ निकै खुसी भयो, उनीहरूले सहयात्राका कैयौं सुन्दर पलहरूको स्मरण गरे। फर्किने बेलामा उसले मायातिर हेर्दै भन्यो,‘भाउजु! हाम्रो बैंकमा एउटा भ्याकेन्सी थियो तर छोरा विदेश गइसकेछन्, कामै लागेन!’
ऊ हिँडेपछि सागरले उसलाई एकतमासले हेरिरह्यो, शायद उसले आफ्ना ती स्वप्निल भोगाइहरूलाई मनमनै स्पर्श गर्यो।
ऊ ओझेल परेपछि तमतमिलो अनुहार बनाएर फनक्क ह्विल चेयर घुमायो र रसिला आँखाले पैर्होले खाएको कोल्चे डाँडातिर हेर्दै टोलायो।
निकैबेरको त्यो पीडादायी मौनता तोडर उनले सागरलाई सोधिन्,‘त्यो काम मैले नै गरें हुन्न सागर ?’
तत्काल उसले कुनै प्रतिक्रिया जनाएन तर पछि राजी भयो र उनले बैंकमा काम गर्न थालिन्। त्यससँगै आर्थिक संकट केही खुकुलो हुँदै गयो।
उनले सागरको लागि मोबाइल र ल्यापटप किनिदिइन् र ऊ सामाजिक सञ्जालहरूमा व्यस्त हुन थाल्यो र त्यससँगै उनलाई जीवनले केही लय समाउन खोजेजस्तै महसुस भयो।
***
एक रात सुत्ने बेलामा सागरले उनलाई आशक्त नजरले हेर्यो र उनको हात समाएर आफैंतिर तान्यो र सारसउँदो जस्तै गरी प्रस्तुत भयो।
लामो समयको सामिप्यतासँगै तिर्सनाको आगोको दन्किसकेको थियो तर एकाएक ऊ झट्ट अलग्गियो र लामो लामो सास फेर्न थाल्यो, माया पनि असिन पसिन भइसकेकी थिइन्, उनले उसको पसिना पुछ्दै सोधिन्, ‘के भयो सागर?’
‘अपांग छु भन्ने नै बिर्सेछु माया! नपुग्ने रहर गरेछु, आगोको भुंग्रोमा परेजस्तै भयो!’
माया नि:शब्द भइन्, उसका आफ्नै कुण्ठित यौन चाहनाले ऊ अर्कोपटक घाइते भयो।
त्यस रातको घटनापछि पनि उसको यौन आशक्तिमा कमी आएन। ऊ सधैं मायाले कपडा फेरेको हेर्दथ्यो, उनलाई स्पर्श गर्दथ्यो र हरेक दिन उसका अनुहारमा यौन आशक्ति छरपष्ट हुन्थ्यो, उसको त्यो उत्कट यौन अभिलाशा र दयालाग्दो निरीहता देखेर उनलाई आत्मग्लानी हुन्थ्यो र पीडाले रन्थनिँदै उनी आफैंसँग प्रश्न गर्थिन्।
‘यो अपराधबोध लिएर म कति दिन बाँचौं ? ’
प्रश्नको कुनै जवाफ हुँदैनथ्यो मनमात्रै तमतमिलो हुन्थ्यो। समय आफ्नै रफ्तारमा थियो, एकदिन अफिसको वार्षिक उत्सव थियो, साँझ उनी ढिलो गरी घर फर्केकी थिइन्।
त्यसदिन सागरको मुहार उदास थियो, उनी कौतुहलतापूर्वक हेर्दै थिइन्, उसले आफ्नो मोबाइल झिक्यो र फेसबुकको एउटा फोटो देखाएर कटाक्ष गर्यो।
‘कति सुन्दर तस्वीर माया सुन्दर जोडी माया? तिम्रो र विनयको !’
‘छि! के भनेको त्यस्तो? कार्यक्रममा कसैले खिचिदिएछ, नराम्रो कुरा के छ र त्यो फोटोमा ?’
उसले फेरि व्यङ्यात्मक भावले भन्यो, ‘नराम्रो होइन सबैले राम्रो भनेका छन्, हेरेकी छैनौ कमेन्टहरू ?’
उसका ती संवेदनाहीन शब्दहरू मुटुमै बिझे तर उनले कुनै सवालजवाफ गरिनन्, लामो सुस्केरा हालेर भुइँमा बसिन्। त्यतिबेला नै छोराको भिडिओ कलको घण्टी बज्यो र त्यसपछि उनीहरूको त्यो तनावको दिशा नै बदलदियो।
ऊ घिस्रिँदै आयो र उनीसँगै टाँसियो। केहीबेर छोरोसँग दु:ख सुखका कुरा भए, त्यसपछि छोराले गम्भीर भावले भन्यो,‘बाबा! हजुरलाई कुनै रिह्याब सेन्टरतिर राखिदिन पाए मामुले पनि आफन्नो जीवनको बारेमा केही सोच्न पाउनु हुन्थ्यो कि!’
छोराको कुरा सुनेर ऊ निशब्द भयो।
आफ्नाहरूसँगका सम्बन्धहरूप्रतिको आफ्नो भ्रमित विश्वास देखेर आफैं खिन्न भयो। सबैको बोझ हुनु परेको अनुभूतिले सही नसक्नु पीडा दियो। तर लाचार ऊ! उसले लामो सुस्केरा हालेर अनुहारको पसिना पुछ्यो र मायातर्फ हेरेर एकपटक निरीह हाँसो हाँस्यो, आँखमा टिलपिलाएका आँसु पुछदै उसले मायालाई भन्यो,‘त्यहीबेला भुतुक्कै भ’को भए खेलै खत्तम हुन्थ्यो! मर्न सकिनँ र तिमीहरूको बाटो छेकें!’
उसको कारूणिक शब्दहरू मुटुमा किला ठोकेजस्तै गाडिए, पीडाले उनी बोल्नै नसक्ने भइन्। त्यो बोझिलो मौनताबीच रात अत्यन्त वेदनापूर्ण भएर बित्यो।
भोलिपल्ट अफिसमै ढिला भइसकेको थियो। उनी विनयकै गाडीमा आउन बाध्य भइन्, भित्र पस्ना साथ सागर आक्रोसित भएर भन्यो,‘म अपांग भइहालें .. धन्न विनय भेटेकी छौ र तिम्रो मन दिनभरी भुल्छ ...’
उसका ती छुराजस्ता शब्दहरूले मुटु छेडे तै पनि उनले धैर्यतापूर्वक चुपचाप सहिन्। त्यसपछिका दिनहरू अझै कठिन भएर आए। ऊ हरेक दिन उनको चरित्रमाथि गम्भीर प्रश्न उठाउथ्यो तर उनी त्यसको डटेर प्रतिपाद गर्दैन थिइन्। कहिलेकाहीँ अति नै हुन्थ्यो, एक्लै बसेर रुन्थिन् र आफैंलाई सम्झाउँदै भन्थिन्,‘सकेसम्म सहन्छु! मै पनि रिसाइदिएँ भने उसको आफ्नो भन्ने नै को हुन्छ र? ... एक न एक दिन त सत्यको जित कसो नहोला र?’
यसपछि पनि दिनहरू बित्दै गए तर सत्यको जित कहिले भएन।
जिन्दगीले अझै कठिन परीक्षाहरू लिँदै गयो, उनले लाचार भएर सामना गर्दै गइन्।
उसलाई छोडेर जाऊँ, धर्मले दिँदैनथ्यो, ऊसँगै बसौं, बसिसक्नु हुँदैनथ्यो। कहिलेकाहीँ भावविह्वल हुन्थिन् र एक्लै बडबडाउँथिन्।
‘तिमी भ्रमित छौ र मेरो निश्चल मायामा शंका गर्छौ। हरेक अशक्त लोग्नेका श्रीमतीहरू परपुरुषसँग लहसिएका हुँदैनन् बुझ्यौ? छोराछोरी बाटो लागिसके! मैले पनि झगडा गरे भने कस्को सहारामा बाँच्छौ तिमी? यही अगाध मायाले नै हो मलाई तिम्रा लान्छनाहरू सहेर बाँच्न बाध्य बनाएको।’
भावना यसैगरी उर्लिन्थ्यो तर पोखिने ठाउँ हुँदैनथ्यो। समय बित्दै थियो, यसैक्रममा उसमा मानसिक समस्या पनि देखियो। ऊ कहिले ह्विल चियरमा उभिन खोज्थ्यो र भुइँमा बजारिन्थ्यो, कहिले गाडीको साँचो माग्थ्यो, कहिले अन्तरंग कुरा गर्थ्यो र कहिले उनलाई गाली गर्न थाल्थ्यो।
यसरी ऊ दिनदिनै कमजोर हुँदैथियो तर उसका महत्वाकांक्षा भने झन् झन् बलिया बनेर उसलाई पिरोल्दै थिए।
कहिलेकाहीँ भावुकताले सीमा नाघ्थ्यो, भाग्यको अत्याचार देखेर उदेक लाग्थ्यो, रातभरी निदाउन सक्दैनथिन्। यसैक्रममा उनले उपचारको लागि एक महिनाको बिदा लिइन्। उसलाई मानसिक अस्पतालमा भर्ना गरिन्। करिब १५ दिन मै उसलाई निकै फाइदा भयो र घरमा ल्याइन्।
एकदिन उनी औषधि लिन बजार जान लागेकी थिइन्, उसले कापी कलम माग्यो र उनले जिस्क्याउँदै भनिन्,‘कविता लेख्न लाग्यौ कि क्याहो?’
उसले कुनै जवाफ दिएन, केवल फिक्का हाँसो हाँस्यो। उनी बजारतिर लागिन् तर साथमा डाक्टरको प्रेस्किप्सन थिएन, त्यही कारणले औषधि पसल चहार्दा चहार्दै ढिलो भयो। उनी निराश भएर घर फर्किइन् र खाजा लिएर उसको कोठामा गइन्।
बिडम्बना! उसको ह्विलचियर एकातिर थियो, उसले अर्कोतिर जुत्ताको तुनाले झ्यालको भेन्टिलेसनमा आत्महत्या गरिसकको थियो। त्यो हृदयविदारक दृष्य देखेर जमिन भासिएझैं भयो।
उनले हरतरहले बोलाइन् तर ऊ पटक्कै चलमलाएन।
उनी आत्तिएर कराइन्, भुइँमा एउटा कागजको टुक्रा थियो, उठाएर पढ्दै गइन्, त्यसमा उसले लेखेको थियो।
‘..., अब भोग्न बाँकी के रह्यो र? हिँड्दा हिँड्दैका बाटाहरू मेटिए, रहरहरू एकएक गरी झरे, सपनाहरू सबै हराए र जिन्दगी धुजाधुजा भएर च्यातियो। सबैको बाटोको काँडा भएर अब म कसको लागि बाँचौं? त्यसैले म मुक्त हुन चाहन्छु – हाँसो र खुसीबाट मुक्त, तन र मनको पीडाबाट मुक्त, सम्बन्धका सबै भ्रमहरूबाट मुक्त! अब म चिर शान्ति चाहन्छु र यो जीवन यही टुङ्ग्याउन चाहन्छु! ....’
मायाले पनि मानसिक सन्तुलन गुमाएकी थिइन्, उनले जुत्ताको तुना काटेर उसको देहलाई काँखी च्यापिन् र बिलौना गर्दै रोइन्।
‘हो बाबा! तिमी ज्यादै दुःखी थियौ तर म पनि त्यही नियति त भोग्दै थिएँ नि। मेरो पनि अरू को थियो र? मेरो कन्चन मायाले नै म एकदिन तिम्रा सबै भ्रम र कुण्ठाहरू जित्छु भन्ठान्थें तर मैले त तिमीलाई मायाको आभाषसम्म पनि पो दिलाउन सकिनँ छु। ल मैले त जानिनँ छु सागर! तर तिमी जतिको मान्छेले यो मूर्खता गर्न हुँदैनथ्यो। बाँच्नु पर्थ्यो! बाँचे हरेक समस्याको समाधान हुन्थ्यो तर आवेगमा तिमीले आफ्नो अमूल्य जीवन गुमायौं। आखिर मलाई मात्रै जिन्दगीले किन झुक्याउँछ!
उनले भावविह्वल भएर सागरको गलामा सुमसुम्याउँदै भनिन्, ‘... थाहा छैन अब म यो जीवन कसरी बाँचौंला? तर बाँचुन्जेल म संगालेर राख्ने छु, हाम्रा प्रेमका ती सुखद स्मृतिहरू। खुसी, पीडा, पश्चातापका अनगिन्ती अनुभूतिहरू। राख्नेछु म फेरि कहिले संगाल्न नपाइने तिम्रा अनन्त सम्झनाहरू र हामी दुबैले हारेका यी जिन्दगीका कथाहरू।’
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)