कुन शब्द, वाक्य वा अनुच्छेदबाट सुरू गरूँ। या त शब्दविहीन भावनाबाट नै बुझाउने कोसिस गरूँ? उत्तरविहीन छु। भनिन्छ प्रश्न आफैंमा एक उत्तर हो तर म प्रश्नरहित छु तै पनि निराश कत्ति पनि छैन।
आशाको सानो झिल्को हृदयमा प्रशारित भइरहेछ र त यो भीडभन्दा पर छु। मेरो हृदय र गर्ने कर्म पर छ तर भीडमै भएजस्तो देखिन्छ। समयको माग होला सायद।
मान्छे झुक्काउन सायद आएको भन्नुपर्ला नि होइन?
कफी बगानको चर्चा पल्पसा क्याफेमा पढेपछि गर्मी नै भए पनि म कफी बनाउन थाल्छु।
पुस्तकको साइड इफेक्ट होला क्यारे त्यो चाहिँ। हुन त कतिले कफी बनाउन जान्नुपर्छ। यत्तिकै खाँदा कफीको सौन्दय बिग्रन्छ भन्छन्। म भने बालै फररररर भनेर आफैं बनाउन थाल्छु। जिब्रोलाई मिठो लागे भैगयो नि!
त्यही बेढंगले बनाएको कफी र पल्पसा क्याफे पुस्तकको फोटो मोबाइलले खिचिक्क पारें। अनि प्रमाणझैं पोस्टाइदिएँ इन्स्टाग्रामको स्टोरीतिर।
पोस्ट गरेर तितोतितो कफीको चुस्की के लिँदै थिएँ। आकांक्षाको रिप्लाइ आयो।
'दिदी म तपाईंलाई भेटन चाहन्छु।'
'किन, कहाँ र कहिले?' म केही व्यस्त भई टोपले।
उसले प्रतिउत्तरमा पठाई, 'जति सकिन्छ छिटो आजै, अहिल्यै, तुरून्तै।'
'लु त त्यसो भने अहिल्यै, किनकि म आज फुर्सदमा छु। पल्पसा क्याफेबारे तिमीलाई बताउला पनि। अर्को सुरू गरिहाल्ने मुड छैन।' उसले मेरो मेसेजमा वाउ रियाक्ट गरी।
सोचें टिकटक चलाउनभन्दा उससँग गफिन बुद्धिमानी हुन्छ। अनि उसलाई बेगनासको एक कुनोमा बोलाएँ।
म त एकैछिनमा पुगिहाल्थें। मलाई श्रृंगारपटारमा खासै रूचि थिएन। म रूपवान हैन, सुन्दर हुन चाहन्छु। सुन्दर हुनको लागि नै भनेर उसलाई कुरून्जेल पढ्छु भनेर मलाई पटक-पटक पढ्न मन लाग्ने तीन घुम्ती झोलामा हालें।
हरेकपल्ट पढ्दा नयाँ, ताजा र सिकेको अनुभव गर्छु। पुस्तकको शक्ति म कसरी विवेचना गर्न सक्छु र? पढ्नु भनेको सबभन्दा सुन्दर काम पो हो त। मौसम गर्मी गर्मी थियो। तालको छेउ भएकोले केही बतासको चिसो सर्को बेलाबेला बत्तिएको थियो। हावाको बहाव, मनको अधैयर्ता र पुस्तकप्रतिको लगाव एकसाथ एउटै बिन्दुमा थिए।
ऊ आई केहीबेरमै। सेतो कलरको वान पिस, सेतो जुत्ता र कालो चस्मा र कालो साइडव्याग भिरेर। उसको ड्रेसअप सेन्स राम्रै थियो। उमेरले ऊ मेरी बैनी हो तर सम्बन्धले साथी जस्तै छे। ऊ सरासर आएर मेरो छेउमा बसी।
'पहिले भेट्दा भन्दा निकै हँसिली, रसिली देखिएकी छौ त?'
'हो, दिदी मेलै जीवनलाई फरक तरिकाबाट बुझ्ने कोसिस गरें।'
पहिलो वाक्य नै गहन गर्न थाली।
र भनि ‘म यिनै कुरा हजुरसामु सुनाउन आतुर छु।’
म पनि सुन्न आतुर छु भनेपछि उसले यसरी सुरू गरी।
‘जब सुभानले नजानिँदो किसिमले मेरो प्रेम अस्वीकार गर्यो। मलाई असह्य भयो। मैले विश्वास नै गर्न सकिनँ कि कोही केटाले मलाई अस्वीकार गर्छ भनेर। कैयौं पुरूषको प्रशंसा र प्रेम प्रस्तावले म बाहिरी सौन्दर्य र खोक्रोपनको लालित्यमा विलिन भएको रैछु। केही महिना त मलाई निकै गाह्रो र पीडाबोध भयो। सुभानप्रति कहिले रिस, इर्ष्या र क्रोध उत्पन्न हुन्थ्यो त कहिले आफैंसँग पनि। फेरि सुभानले एक वर्षपछि भेट्छु भन्ने आशा दिलाएकोले कुरी बसें। पर्खी बसें। सम्झी बसें।
बाह्रौ महिना बिताउँदा पनि उसको केही खबर आएन। ऊ मसँग निकै टाढिएको थियो। अनि मलाई एकाएक लाग्न थाल्यो। एक वर्ष व्यर्थ गयो। मेरो जीवन आफ्नोभन्दा उसको प्राथमिकतामा चलिरहेको थियो। जसलाई म हुनु र नहुनुमा त कुनै फरक थिएन भने फर्केर आउँछ र मलाई प्रेम गर्नेछ भन्ने भ्रममा कतिन्जेल बाँचू।
सम्पर्कका सबै माध्यमबाट ऊ विलिन भइसक्दा पनि खै ममा केको आश र आशक्त थियो? मलाई आफैंप्रति घृणा उत्पन्न भयो र सगँसँगै एक किसिमको शक्ति सञ्चय भयो। उसले भनेका कुराहरू सम्झिन खोजें।
उसले भनेको थियो ‘कोहीसँग पनि आश्रित नहोऊ। तिम्रो जीवनमा तिमी नै पूर्ण छौ। प्रेम, सम्बन्ध, शारीरिक, संवेगात्मक परिवर्तन समय अनुरूप सही छन्, यीबाट सचेत होऊ तर नियन्तन्ण गर्ने कोसिस नगर।’
म त कसरी आफैंलाई बिर्सेर ऊप्रति आश्रित हुन पुगेछु। सोच्थें, ऊ आएपछि मेरो जीवनमा खुसीको नयाँ पालुवा पलाउनेछ। एकाएक मेरा सबै सपना पूरा हुनेछन्। ऊ आएर मेरो जीवन कसरी राम्रो हुन्छ? मेरो सपना रातारात कसरी पूरा हुन्छ? मेहनत नगरी के हुन्छ? आफ्नो लागि आफैंले त गर्नुपर्छ नि! म कति भ्रममा बाँचेकी थिएँ।
एकाएक बल्लतल्ल मेरो जीवनमा प्रकाशको नयाँ धर्साहरू देखा परेका छन्। आफैंलाई धेरै माया र विश्वास गर्ने भएकी छु। हरेक दिन आफूलाई बुझ्छु, आफूमै हराउँछु। कोही हुनु र नहुनुमा केही फरक नै परेको छैन। साँच्चै भन्ने हो भने एक्लै हुँदा म बढी खुसी भएकी छु। जीवन बाँच्नुको सार्थकता भेटेजस्तो लाग्छ। आफ्ना सपना सबभन्दा महत्त्वपूर्ण हो। आफू सबभन्दा महत्त्वपूर्ण हो। हो दिदी, आकांक्षाले आफ्ना आकांक्षाहरूलाई बेहिसाब प्रेम गर्न थालेकी छे। सुभानलाई अहिले म प्रेमभन्दा बढी श्रद्रा र सम्मान गर्छु। यो सानो पत्र उसको हातमा थमाइदिनुहोला।’
यति भनेर उसले पत्र मेरो हातमा थमाइदिई।
उसले आफ्नो कुरा सकाई। कुरा भनिन्जेल उसले खुलेर बोल्न नसक्ली भन ठानेर म तालको निर्मल कन्चन पानीसँग एकाकार थिएँ। बोलिसकेपछि बल्ल उसको आँखामा हेरें।
उसको आँखामा एउटा हुटहुटी थियो। जाँगर थियो। आनन्दको प्रत्याभूति थियो। उसलाई देखेर मेरो मन पनि खुसी भयो। उसको जीवनको परिवर्तन देखेर मैले पनि चैनको सास फेरें। आखिर ऊ मेरी प्रिय थिई।
उसले दिएको पत्र राखिसकेको थिएँ। उसले फेरि मेरो हात च्याप्प समाई र भनी ‘थ्याक् यु दिदी। बरू मलाई हजुरसँग भएको दुई पुस्तक दिनु न।’ ऊ अनुनय -विनयको भावमा एकैचोटि बोली।
म मुस्कुराउँदै सोधें- कुन दिऊँ?
‘हजुरलाई जुन ठीक लाग्छ त्यही।’
अनि हामी हात समाउँदै त्यहाँबाट उठ्यौं।
साँझ घरमा आएपछि मलाई निकै उत्सुकता जाग्यो। सुभानको लागि लेखेको पत्र हेर्ने। के गरूँ, के गरूँको दोधारमा परें। एक गिलास पानी पिएँ। मनलाई स्थिर बनाउन सकिनँ। आकांक्षासँग मनमनै ‘सरी है’ भनेर पत्र उघारें।
‘प्रिय हजुर,
म के भनेर सम्बोधन गरूँ। म आफैं अस्पष्ट छु तर मैले प्रिय चाहिँ भनिहालें मन नदुखाउनु ल। जीवनमा प्रत्येक मानिससँग फरक फरक किसिमको सम्बन्ध बन्ने रहेछ।
तपाईंको लागि म त फगत एक व्यक्ति हो। सायद मेरो उपस्थितिले तपाईंलाई रत्तिभर फरक पर्दैन। तर मेरो लागि तपाईं एक असल मान्छे हो। म अहिले लेखिरहँदा पनि किन लेखिरहेछुजस्तो लाग्छ तर मनपर्ने मान्छेलाई यति लेख्दा के ठूलो कुरा भयो र है! तर मनपर्ने भन्दैमा नआत्तिनु म प्रेमपत्र लेख्दै छैन। तर तपाईं असल लाग्छ। मलाई मन पर्छ। तपाईंप्रति म कति अस्पष्ट छु हेर्नु न, तपाईंजस्तै नै। तपाईंभन्दा नि मलाई तपाईंको व्यक्तित्व पो मन परेको हो कि! हजुरको उपस्थितिले, बेवास्ताले, न घृणा न प्रेमले आज मलाई म बनाएको छ।
जीवनलाई तपाईंकै जस्तो नजरले हेर्न सक्ने बनाएको छ। कृतज्ञ छु भन्नको लागि पत्र नै लेख्न बाध्य भएँ किनकि मसँग अरू कुनै माध्यम थिएन र छैन।
मैले भने नि यो प्रेमपत्र होइन। तपाईं नआत्तिनु। म पहिलेजस्तो रहिनँ। यो परिवर्तन तपाईंकै कारणबाट सम्भव भएको हो। म प्रेमले मात्रै हेरिरहन सक्दिनँ तपाईंलाई तर म श्रद्धा र सम्मान गर्छु। सधैं यस्तै सरल, सौम्य र सुन्दर रहनू। जीवनमा राम्रो गर्नु। यति मात्रै भने ल।’
यो पनि:
आकर्षण कि प्रेम!