गुल्मीमा जन्मेका अमित पढ्नमा सानैदेखि साह्रै सिपालु थियो। स्कुल पढ्दाताका हुने हाजिरीजवाफ प्रतियोगितादेखि लिएर निबन्ध लेखन प्रतियोगितासम्ममा उसलाई कसैले उछिन्न सक्दैन्थ्यो। कि पहिलो कि दोस्रोबाहेक पछि कहिल्यै परेन।
छोरो धेरै ठाटो देखेर आमाबुवा पनि दंग पर्थे। नातागोतासँग कुरा गर्दा पनि मेरो छोरो उस्तो र यस्तो भन्दै प्रशंसामा बोली खर्चिन्थे। अमित एक्लो छोरो थियो, बहिनी सानै थिई।
एसएलसीमा जिल्ला टप गर्यो अमितले। त्यसपछि त बा आमाको खुसीको सीमा नै रहेन। बाआमा अमितलाई डाक्टर बनाउन चाहन्थे। तर अमितको मन भने लोक सेवा लडेर प्रशासन सम्हाल्नेतर्फ थियो। अधिकृतबाट बढुवा हुँदै उपसचिव पुगेका छिमेकी नवीन अंकलको इज्जत र प्रतिष्ठा उसले आँखै अगाडि देखेको थियो। गाउँमा यस्सो झुल्कोमात्र पर्दा नि गाउँले नै उठेर नवीन अंकलको सेवा सत्कारमा लाग्थे। गाउँबाट त्यति माथि पदमा कोही पुगेको छैन पनि भन्थे।
'गाउँमा लौ न यो विकास ल्याइदिन पर्यो, तपाईं त ठाउँमा हुनुहुन्छ' भन्दै आफ्नै बाले गुहार मागेको अमितले धेरै पटक सुनेको थियो।
गरिबीसँग लुकामारी खेल्दै हुर्किएको अमित सुनौलो प्रभात रूपी सपना देख्न चाहन्थ्यो। घाँसदाउरा भैंसी गोठाला गरेरै हुर्किएको अमित अब आउने आफ्नो पिँढीले फेरि यस्तो दुःख भोग्न नपरोस् भन्नेमा जानकार थियो। अरूभन्दा पनि नवीन अंकलले जस्तै पाउने सम्मानको निकै भोको थियो अमित।
हावाको लहरहरू सँगै अमित काठमाडौं छिर्यो। आइएस्सी पढ्न अस्कल पुग्यो। पढ्न त अरू संकाय पनि पढ्न सक्थ्यो तर बा आमाको करले विज्ञान नै रोज्यो। उसलाई विद्यार्थी राजनीतिसँग मतलब थिएन। फुर्सद हुँदा बित्तिकै लोक सेवाका सामग्री जम्मा गरेर पढ्थ्यो। आइएस्सी सकेपछि नायब सुब्बाका लागि उसको अर्जुन दृष्टि थियो। ठमेलको पुरानो घरमा एउटा सानो कोठा लिएको उसले बिहान बेलुका दुवै छाक पकाउँदैन्थ्यो। बिहानको बाँकी खाना, बेलुकालाई राख्थ्यो। एउटा मात्र खाट रहेको उसको कोठामा पाहुना आउँदा भुइँमा नै सुत्नपर्थ्यो। पानीको साह्रै दुःख, लाइन बसेरै आधा जिन्दगी जाने। पानीको लाइनमा उभिँदा समेत अमित पढेका कुराहरू रिभिजन गर्दै उभिन्थ्यो।
कोठाका भित्ताभरी पढेका कुराहरू टाँसेको थियो। यस्सो फुर्सद हुँदा वा खाना पकाउँदा पनि सम्झिन सकियोस् भनेर। बाआमा कहिलेकाहीँ काठमाडौं आउँदा पशुपतिनाथको दर्शन गराइदिन्थ्यो, स्वयम्भू घुमाइदिन्थ्यो। भृकुटीमण्डप लगेर रोटे पिङ पनि खेलाइदिन्थ्यो। अनि बाआमा घरतिर लागेपछि फेरि आफ्नै पढ्ने दैनिकीमा फर्किन्थ्यो अमित।
बारम्बारको प्रयासपछि पनि नायब सुब्बामा अमित सफल हुन सकेन। अस्कलमा नै बिएस्सी पढ्न थालिसकेको थियो। अब उसको ध्यान शाखा अधिकृततिर थियो। साथीभाइहरू भेट्दा अमितलाई पागलको संज्ञा दिन्थे। एकोहोरो हुन्थ्यो। कतै घुम्न जाम भन्ने साथीभाइको प्रस्तावमा ऊ नाइँ भन्दैन्थ्यो तर अनेक बहाना बनाएर उम्किन्थ्यो।
गुल्मी पनि अमित दसैंमा मात्र जान्थ्यो। तिहारमा टीका लगाउन बहिनीलाई काठमाडौं नै बोलाउँथ्यो अनि आफूले होमट्युसन पढाएर जोहो गरेको केही रकम बहिनीलाई बाटा खर्च दिन्थ्यो।
न्युरोड गएर बहिनीलाई किनमेल पनि गर्दिन्थ्यो। बहिनी पनि आउँदा गाउँका भुटुन मसला, साग सब्जी चामल सबै लिएर आइदिन्थी दाइलाई।
समाचारमा दिनहुँ आउने भ्रष्टाचारका घटनाबाट अमित आजित थियो। अख्तियारले समातेका नासु, अधिकृतका स-साना घुसकाण्डहरू ऊ अखबारमा हेरिबस्थ्यो। मनमनै सोच्थ्यो पनि 'यति सानो रकमका लागि पनि मान्छेले किन घुस लिन्छन् होला है!त्यत्रो मेहनत गरेर पुगेको त्यो ठाउँको अलिकति पनि इज्जत नराख्नेहरू।'
देशको असल शासन र आफूजस्तै गरिब जनताको रोजीरोटीका लागि आफू सदा लागिपर्ने भन्दै आफूले नाम निकालेर सरकारी सेवामा प्रवेश गरे घुसको नाम समेत नलिने अठोट अमितले गरी बस्थ्यो।
संघर्षको मैदान छोडेर अमित कहिल्यै भागेन। निद्रा त्याग्यो, चैन मस्ती त्याग्यो, असफलतालाई अवसरका रूपमा बदल्यो। प्रेरणायुक्त कथाहरू पढ्थ्यो। कि जित्छु कि केही कुरा सिकेर जान्छु भनेर अघि बढ्थ्यो। कोसिस गर्नेहरूको कहिल्यै हार हुँदैन भनेर ठूलो अक्षरमा लेखेर भित्तामा टाँसेको पनि थियो।
भगवानले पनि मानिसका संघर्षहरू नजिकबाट अनुभव गर्दा रहेछन्। सफलताको लागि जिन्दगी रूपी समरभूमि लडिरहेको मानिस देखेर भगवानलाई पनि दया लाग्दो रैछ। अमितको पाँचौं पटकको प्रयासमा शाखा अधिकृतमा नाम निस्कियो।
नाम मात्र निस्किएन टप नै गर्यो। रिजल्ट आएको दिन नै गुल्मी जानका लागि नाइट बस समातेको अमित रातभर निदाउन सकेन। दुःखले मात्र होइन मान्छेलाई खुसीले पनि निदाउन दिँदो रैनछ।
गाउँमा अमितको भव्य स्वागत भयो। अबिर जात्रा गरियो। पञ्चेबाजा बजाएर गाउँ घुमाइयो। नियुक्ति पत्र लिन काठमाडौं आउने दिन बाले टीका लगाइदिँदै आशिष दिए, 'झुक्किएर पनि भ्रष्टाचार नगरेस् छोरा। गरिब जनताको सेवामा खट्टिनू। देशको भविष्य तँ जस्तै युवाहरूको काँधमा छ। सफलताहरू जादुजस्तै हुन्छन्, जादु सकिएपछि ताली बजाएर मानिसहरू आ-आफ्नो बाटो सोझाउँछन्। अनि जादुमा कुनै त्रुटि भयो भने मानिसहरू ढुंगामुढा बर्साउँछन्। गन्तव्यमा पुग्न सजिलो छ तर टिकिराख्न गाह्रो बाबु, त्यसैले अब तैंले सम्हालिन सिक्नुपर्छ। भुइँको टिप्छुभन्दा पोल्टाको पनि खस्न सक्छ। ख्याल राखेस् बाबु।'
आमाले पनि आशिष दिँदै भनिन्, 'सुन्दर आविष्कारहरूले सधैं सुख दिन्छन् छोरा। तँ मेरो आविष्कार होस्, म तेरो जननी। जति नै माथि पुगे पनि मेरा लागि तँ, फुल्ने आकांक्षा भरिएर बसेको कोपिला नै होस्। कतै चाँडै फुल्ने हतारोमा गल्ती गर्छस् कि झैं लागेर पीर मानी बस्छु। आमा बुवालाई नसोधी केही त्यस्तो कदम नचालेस् छोरा। अब बहिनी पनि ठूली भएकी छ, काठमाडौंमा लगेर पढाउने जिम्मा पनि तेरो नै हो।'
बा आमाका आशीर्वाद लिइसकेपछि, 'तपाईंका सपनाहरू बचनहरूमा म प्रतिबद्ध हुनेछु, गरिब जनताको फिक्का भावहरूमा रंग चढाउनेछु' भन्दै अमित काठमाडौं लाग्यो।
नियुक्ति पत्र लिइसकेपछि प्रशासन रोजेको अमितको पदस्थापन रसुवा जिल्लाको जिल्ला प्रशासन कार्यलयमा भयो। केही वर्ष त्यहाँ बिताएपछि उपसचिवका लागि समेत तयारी गर्ने भन्दै काठमाडौं सरूवा भयो अमित।
सिंहदरबारमा अलि काम कम हुने मन्त्रालयमा सरूवा पायो अमितले अनि रामशाहपथका गल्लीहरूमा अवस्थित सेन्टरहरूमा उपसचिवको तयारी कक्षा लिन थाल्यो। जनप्रशासनमा नै स्नातकोत्तर उसले सिध्याइसकेको थियो। कोठा पुतलीसडकमा थियो, बहिनीलाई प्लस टु कलेज पढाइराखेको थियो।
सरकारी जागिर नै खाए पनि कोठा एउटाबाट दुइटा हुन सकेको थिएन। बहिनीको खर्च अनि घरमा बुढा भएका बा आमालाई पनि हेर्नुपर्ने बाध्याता, आम्दानीले धान्न कठिन नै हुन्थ्यो। यसै क्रममा अमितले अलि वर्षको मेहनतपछि उपसचिवमा समेत आन्तरिक प्रतियोगिताबाट नाम निकाल्यो। अनि बिहे पनि गर्यो त्यसै वर्ष। अनि बल्ल अर्को एउटा कोठा भाडामा थप्यो अमितले।
अमितकी श्रीमती काठमाडौंमा नै स्कुलमा पढाउँथिइन्। त्यही भएर पनि काठमाडौंबाट सरूवा हुन चाहेन अमित। बेलाबखतमा गाउँका स्कुलका वार्षिकत्सव कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाउँथे अमितलाई। विद्यार्थीहरूलाई अमितजस्तै बन्नुपर्ने भन्दै प्रेरणायुक्त मोडेलका रूपमा स्थापित गर्न खोजिन्थ्यो। नवीन अंकल पनि रिटायर्ड भइसकेका थिए, जे थियो गाउँमा हाइहाइ अमितकै थियो। अमितलाई भेट्न मान्छेहरू ताँती लाएर आउँथे घरमा, अमित 'ल ल हुन्छ! म हेरौलाँ' भन्दै कुरा टुंग्याउन खोज्थ्यो।
विस्तारै पारिवारिक बोझले च्यापेपछि अमितलाई गाउँको मोहले छोड्दै गयो। गाउँको आतिथ्यता इन्कार गर्न थाल्यो अमितले किनकि एक दुई दिन भने पनि काठमाडौंमै बस्न पाए कहीँ कतैबाट आम्दानी गर्न सकिन्थ्यो भन्ने ध्याउन्न हुन्थ्यो अमितको।
समयक्रमले बच्चाबच्ची भए अमितका, कोठाबाट फ्ल्याटमा सर्यो अमित, बहिनीको पनि बिहे गरिदियो। अनि त महिनाको तलबले के पुग्ने? चुर्लुम्मै ऋणमा डुब्यो।
कतार, साउदी गएकाहरूले घर बनाएको देख्थ्यो। अष्ट्रेलिया, अमेरिका गएकाहरू उतै रमाएको देख्थ्यो। आफूले इमानका साथ प्रशासन हाँक्दा चढ्ने बाइकको पेट्रोल हाल्न पनि अमितलाई मुस्किल हुन थाल्यो।
चाँडै नै घर बनाउने अनि गाडी चढ्ने, अरूका अघि शानका साथ सुटेड बुटेड भएर हिँड्ने दूषित मनोभाव विस्तारै अमितमा सयर हुन थाल्यो। यो भावलाई श्रीमतीको सधैंको किचकिच र छोराछोरीको महँगो स्कुलको फिले पनि साथ दियो। अनि त के लाग्छ र! अरू कर्मचारीले जस्तै सेवाग्राहीलाई माकुराको जालो जस्तै घुमाइ घुमाइ घुस खाने प्रवृत्ति अमितमा देखा पर्यो।
उद्योग विभागमा उपसचिवका रूपमा कार्यरत रहेको अमित एकदिन २० हजार रुपैयाँ घुससहित समातियो। अख्तियार दुरूपयोग तथा अनुसन्धान आयोगले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै अमितलाई समात्यो। अमितकै कार्यकक्षबाट ४० हजारभन्दा बढी रकम बरामद पनि भयो। मुख्यसचिवसम्म बन्ने सपना लिएर अघि बढेको अमित सानो लोभमा अख्तियारको ढोक्सामा पस्यो।
भोलिपल्ट अखबारमा हेडलाइनहरू छापिए।
त्यसरात पनि अमितलाई निद्रा लागेन। नराम्रो लतको सिको गर्दै जाँदा र विलासी जीवन जिउने असंगति फर्मुला चालु गर्दा नराम्ररी फसेको भान अमितलाई भइराख्यो। थुनामा राख्न म्याद थपको आदेश लिन अदालत लगिँदै गर्दा बाटोमा अमितले सम्झिरह्यो 'आफू टपर हुँदा छापिएका अखबारलाई फ्रेमिङ गरेर सजाएको त्यो पुरानो घरको भित्तो, बाआमाले दिएको आशीर्वाद अनि साना साना स्कुलका विद्यार्थीलाई आफूले दिएको त्यो अटोग्राफ।'
तर उसले चाहेर पनि सम्झिन सकेन गाउँमा कुन हालतमा यो अवस्थाको सामना गरिरहेका होलान् बा-आमा भनेर। अझ बिर्सन चाह्यो, आफूलाई मार्गदर्शन गर्ने दाजु नै घुससहित पक्रिएको समाचार टिभीमा हेरेर कुन वियोगले आक्रान्त भइरहेकी होली बहिनी भनेर।
बस्! अदालतको प्रांगणमा ओर्लिंदा अमितले दुई थोपा आँसु झार्यो। जुन आँसुले प्रतिबिम्ब गर्थ्यो चाहेर पनि भ्रष्टाचार नगरी बस्न नसकेका सरकारी कर्मचारीहरूको वास्तविक हविगतहरू। तर त्यो आँसु मिडियाको क्लिप र हेडलाइनमा छाएन, मात्र न्यायालयको छातीमा गह्रुँगो भएर बजारियो।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)