किन-किन उसलाई कविताहरू पनि उसले कोर्ने चित्रझैं लाग्छ।
ऊ भन्छ, ‘कविताले नबोलीकनै धेरै कुरा बोलिदिन्छन्। मलाई कविहरू हल्ला गर्दै हिँडेको मन पर्दैन। कविहरूको मौनताले ठूलो अर्थ राख्छ।’
ऊ चित्रकार हो तर कविता मन पराउँछ। म कवि हुँ तर मलाई चित्रहरू मनपर्छ। जसरी ऊ क्यानभाषमा रङहरू पोत्छ, यस्तो लाग्छ ऊ रङहरूको क्रान्ती गर्दैछ।
मलाई रङ मनपर्छ तर रङसँग खेल्न सक्दिनँ। म हुर्कँदै गर्दा मसँग रङ थिएन। मलाई रङ खेलाउनेहरू आज पनि सम्पन्नताको उपजझैं लाग्छ।
ऊ महलमा जन्मेको होइन तर ऊ रङसँग रमाउँछ। मलाई लाग्छ अक्षरहरूको सिमाना हुन्छ तर रङहरू सीमा विहीन हुन्छन्। उसको अगाडि म आफूलाई जहिले सीमित पाउँछु।
कहिलेकाहीं लाग्छ हामीबीचको साथीत्व रङ र अक्षरले जुराएको हो। ऊ चित्रकार नभएको भए वा म कवि नभएको भए हामी कहिल्यै साथी बन्ने थिएनौं।
ऊ चित्र कोर्छ, म उसका चित्रलाई हेरेर कविता र्कोछु। र, हामी चित्र र अक्षरको अनौठो कोलाज पस्कन्छौं। मलाई सधैं लाग्छ ऊ हिमाल हो, म नदी। उसका रङहरू बेगर मेरा अक्षरहरू बग्दैनन्।
कहिलेकाहीं ऊ अनौठा रङहरूले आफ्नो क्यानभाष पोतिदिन्छ अनि भन्छ, ‘अब तिम्रो काम।’
उसका रङलाई जहिले अक्षरमा व्यक्त गर्न सजिलो छैन। ऊ अमूर्ततामा अर्थ खोज्छ। म शब्दहरूले अर्मूतता व्यक्त गर्न सक्दिनँ। शब्दमा सीमितता छ, किन-किन ऊ यो कुरा बुझ्न सक्दैन वा नबुझेझैं गर्छ।
ऊ भन्छ, ‘शब्दले अँध्यारो बोल्न सक्नुपर्छ। ल हेर त, मेरो क्यानभाषमा रातो र कालो रङ बढी छ। अब तिमीले विरोधलाई कवितामा व्यक्त गर्नुपर्छ।’
म उसले भनेको कुरा बुझ्छु तर लेख्न सक्दिनँ। सायद मैले विरोधको भाषा कहिल्यै बोलेकी छैन। आज रातभर मैले अँध्यारा शब्दहरू लेख्नुपर्ने छ। ऊ ग्यालरीबाट घर फर्कन्छ। मेरो लागि त्यो सुबिधा आज छैन। म ग्यालरीमै बस्छु। अनौठो परिस्थितिमा भएझैं लाग्छ।
यतिका वर्षसम्म मैले शब्दले विषमता र विरोधलाई व्यक्त गर्न नसक्नु कविको रुपमा मेरो आफ्नै कमजोरी हो। तर कवि यति धेरै यान्त्रिक पनि त बन्न सक्दैन। तर म उसलाई निरास बनाउन चाहन्नँ। अर्को महिना हामी युरोप जाँदैछौं। मेरा कविता बेगर हाम्रो यात्रा अधुरो बन्ने छ।
म लेख्छु-
आज फेरि
सेतो क्यानभाषमा
मैले कालो रङ पोतिलिएँ
थाहा छैन तिम्रा इन्द्रेणीहरूले
कसरी हेर्नेछन् भोलि
सायद यो कठिन हुनेछ
म फूल होइन, मुस्कुराइरहन सकिँन।
हरेक पटक
तिम्रो इन्द्रेणी
मेरो रहेन
तिम्रो रङ
मेरो भएन
तिम्रो परिभाषा
मेरो बनेन
सायद तिमीजस्तो नहुनु
जीवनका थुप्रै क्यानभाषमा कालो पोत्नु रहेछ
आज फेरि सेतो क्यानभाषमा
मैले कालो रङ पोतिदिएँ।
रातिको दुई बजेको छ। बल्ल मैले आफ्नो भागको काम भ्याएको छु। थाहा छैन भोलि उसले फेरि कस्तो रङ पोत्नेछ। मैले कस्ता शब्दहरू कोर्नुपर्नेछ।
भोलिपल्ट बिहानै ऊ ग्यालरीमा फर्कन्छ र मेरा शब्दहरूमा आँखा लगाउँछ। बदलामा केही बोल्दैन। किन-किन ऊ मैले लेखेका शब्दहरूमा टिप्पणी गर्दैन। बस् ऊ पाठक मात्र भैदिन्छ।
मलाई उसको यही बानी मनपर्छ। ऊ शब्दबारे बोल्दैन तर मन पराउँछ। ऊ शब्दलाई बिनामतलब मन पराइदिन सक्छ। ऊ चित्रकार नहुन पनि सक्थ्यो। भएर पनि गुमनाम हुन सक्थयो। तर ऊ दुवै भएको छ र मसँग ठोक्किन पुगेको छ। वा म ऊसँग ठोक्किन पुगेकी छु।
ऊ रङसँगै अक्षरमा पनि रमाउँछ। उसलाई कविहरू त्यसैले मनपर्छ। तर हामीबीच झिना मसिना गफ हुँदैनन्। ऊ बस् रङ पोत्छ र मलाई अक्षर कोर्ने काम दिएर गुमनाम भैदिन्छ। यतिका वर्ष सँगै काम गरेर पनि म उसलाई चिन्छु पनि, चिन्दिनँ पनि।
कलाले मान्छेलाई बुझिदिनु सजिलो छ र छैन पनि। म उसलाई सम्पूर्णतामा बुझ्दिनँ। सायद ऊ पनि मलाई बुझ्दैन। तर हामी एकअर्काको रङ र अक्षरलाई बुझ्छौं। यो अनौठो विरोधाभाष हो। तर मलाई सुन्दर लाग्छ।
मलाई लाग्छ ऊसँग कथाको भण्डार छ। त्यसैले ऊ सजिलै रङमा पोखिन सक्छ। ऊ रङमा नाङ्गो भैदिन सक्छ। म अक्षरले नाङ्गो हुन सक्दिनँ। अक्षर र मबीच यदाकदा लाग्छ कोसौंको दूरी छ। म सम्पूर्णतामा अक्षरमा पोखिन सक्दिनँ। यदाकदा लाग्छ म ऊ झैं स्वच्छन्द बन्न सकुँ। तर सक्दिनँ।
आज फेरि उसले बिनाअर्थका अनेकौं रङहरू क्यानभाषमा पोतिदिएको छ। अब मैले त्यसैलाई हेरेर शब्दहरू कोर्नुपर्नेछ। तर आज मलाई एकखाले स्वतन्त्रता छ। म रङले लगाउने अर्थले बाँधिनुपर्ने छैन। सायद म सजिलै शब्दमा पोख्खिन सक्छु,
मूर्तता...
अमूर्तता...
किन कहिल्यै देख्दिनँ सग्लो छु
भन्नेहरूको सग्लोपन
सुन्दर छु
भन्नेहरूको सुन्दरता
पिएर बसेको पियक्कडझैं
हरेक पटक...
किन अर्थहीन लाग्छन् सबै अर्थपूर्ण कुराहरू
र मात्र देख्छु पिकासोले झैं कोरको
जीवनका बाङ्गाटिङ्गा रेखाहरू
किन प्रश्नहरू प्रश्नजस्ता लाग्दैनन्
भन्न बाँकी उत्तरजस्ता लाग्छन्
किन कोही भन्दैनन्
बुझ्नु नबुझ्नु हो भनेर...
मौनता आवाज हो भनेर...
आज किन सबै जटिल प्रश्नहरूजस्तो
सबै कुरा जटिल मात्र देख्दैछु।
आज सजिलै आफ्नो काम भ्याएकी छु। ऊ मैले लेखेका शब्दहरू पढ्छ तर केही बोल्दैन। उसले मेरा कविताहरू बारे बोलेको मलाई थाहा छैन। तर पहिलोपटक उसका चित्रहरूमा कविता कोर्नको लागि आग्रह उसैले गरेको हो।
तर उसले मलाई तिम्रा कविताहरूलाई मनपर्छ भनेको होइन। उसकै शब्दमा भन्दा उसले उसको कला यात्राका एक सारथी रोजेको हो। यो अचम्मको साथ हो। हामीलाई जोड्ने माध्यम कला मात्र हो।
म कहिलेकाहीं निराश नभएकी पनि होइन। यतिका वर्षहरूमा उसलाई मन नपराइकन बस्न सकेकी पनि होइन। मलाई कहिलेकाहीं लाग्छ ऊ कला बेगर अरु चिज बारे पनि बोलोस्। मसँग कहिलेकाहीं ठट्टा गरोस्। हाँसोस्। तर ऊ अनौठो छ।
ऊ ठट्टा पनि रङमै गर्छ। मैले ऊ जिस्किएको कहिल्यै देखेको छैन। मलाई रङ बेगरको ऊ रुखो लाग्छ। यति रुखो मान्छे कलामा यति रसिक कसरी बन्न सक्छ जस्तो पनि लाग्छ।
म उसलाई उसको कलाले मात्र अपनाउन सक्दिनँ। म उसलाई सम्पूर्णतामा अपनाउन चाहन्छु। तर हजारौंका अँध्यारा कथाहरूलाई बुझ्न सक्नेले मेरो मौनताको कथालाई कसरी बुझ्न सक्दैन। म शब्दमा यी कुराहरू भन्न सक्दिनँ। तर यो सम्बन्धलाई सहकार्यमात्र मानेर अघि बढ्न पनि सक्दिनँ।
म कवितामा यो कुरा भन्नसक्छु तर मलाई उसको प्रतिउत्तरको आशा छैन। म लेख्छु-
जीवनको रङ फिका-फिका
लाग्छ कहिलेकाहीं
लाग्छ भरिदिउँ तिम्रो रङ
भरिदिउँ मेरो रङ
बुझ्न ग्राहो छ
बुझाउन अझै ग्राहो
सायद मैले गल्ती गरेँ
तिम्रो मौनताको जवाफ मौनतामै दिएँ
सबै मौनता प्रिय नहुँदो रहेछ
जस्तो कि सबै मौन रातहरू
आज फेरि
तिम्रा मौन गीतहरूमा
मैले मौन सिम्फोनीहरू भरिदिएकी छु।
यति लेखी भ्याएर म ग्यालरीको नोटिस बोर्डममा टाँसिदिन्छु। उसले ग्यालरी छोडिसकेको छ। मन ढक्क फुल्छ। नटाँसौझैं पनि हुन्छ। भोलि उसले कसरी लिन्छ भन्ने सोच्दासोच्दै म अत्तालिन्छु। घर फर्कन्छु। निन्द्रा पर्दैन।
भोलिपल्ट ग्यालरी आउँछु। नोटिस बोर्डममा आफ्नो कविता भेट्दिनँ। उकुसमुकुस हुन्छ। हात काम्छ। धेरै समयपछि नोटिस बोर्डको तल किरिमिरी अक्षरमा एउटा कविताजस्तो केही भेट्छु-
क्यानभाषको एउटा अंश
सधैं छोडिदिन्छु
लाग्छ
बिना रङ रग्याउने कोही छ
बिना रङ रंगिन बनाउने कोही हुनु
सबथोक हुनु रहेछ
..............
आज केही नबोली
सबैथोक बोलिदिन चाहन्छु।