ड्रेसिङ टेबल अगाडि बसेर आफूले आफैंलाई नियाल्ने फुर्सद पनि आजसम्म कहिले आएको थिएन। तर आज त अचम्म भयो।
तन बुढो भए पनि मन बुढो नहुँदो रहेछ।
आज हेर्दैछु यो मनको ढिट्याइँ।
उफ! लामो उच्छवास निस्किन्छ।
किन किन ऐना अगाडि आफूलाई थपक्क राखेर निर्निमेष हेरिरहन मन छ।
किशोरावस्थामा जस्तै लोमहर्षक छ सम्पूर्ण तन र मन।
उफ! सूचना! सूचना!!
किन भुल्न सक्दिनँ उसलाई।
लिसोजसरी टाँसिएकी छ सूचना मेरो मगजमा। श्रीले मेरो जीवनलाई उत्कृष्ट तवरले श्रृङ्गारेकी छ तर पनि सम्पूर्ण चेतनाले सूचनालाई नै किन जागृत गर्दै छ?
कल्पना, सपना र यथार्थताको भूमरीमा भूत र वर्तमान केन्द्रीकृत भएको छ। साम्भवी मुद्रा लगाउँदा पनि आज्ञाचक्रले सूचनालाई नै सूचित गर्दैछ।
ध्यान भङ्ग छ, मन चंचल छ, श्वास नियन्त्रणमा छैन। वर्षौंसम्म नियन्त्रित संवेगहरू दाम्लो चुडाएका पशुजस्तै भएका छन्।
चालिस वसन्त उक्लिसकेको यो मन किन यो विध्न उद्बेलित छ। हिजोसम्म मनलाई सम्हालेर राखेको थिएँ। तर आज हेर्दैछु मनको मति!
ऐनामा अठार वर्षीया सूचना मुसुक्क मुस्कुराउँदै मलाई गिजोल्न आउँछे। चाहेर पनि सूचनालाई पर धकेल्न सक्दिनँ।
हो, हिजो सन्ध्याकालीन हिँडाइमा सूचनासँग जम्काभेट भएको थियो।
त्यो पनि वर्षौंपछि। वर्ल्ड ट्रेड सेन्टरको चिया अड्डामा एक कप चिया पनि सँगै पियौं। सूचनाको हेराइमा अनेकन प्रश्नहरूको सुनामी आएको देखेर बिस्तारै नजर झुकाएँ।
सूचनाको सुन्दरतामा समयले कपर्दी कमै खेलेछन् क्यार। ऊ प्रौढ अवस्थामा झन् आकर्षक लागि। वर्षौंपछि भेट्दा पनि हाम्रो वातचितमा बाँध बाँधिएको थियो। समयले के के पो गराउँछ!
पहिलोपटक भेटेको जसरी हामी छुट्टियौं।
सूचनालाई पुनः भेटेदेखि हो यो मनले विचित्रविचित्रको भावहरू उत्पन्न गरिरहेको।।
ऐनामा आफूलाई नियाल्दै सोच्न पुग्छु- समयले उमेरको च्यादर फैल्याएर मेरो आँखाको छेउछाउमा पनि निकै वसन्तहरू फुलाइसकेछन्। जीवनको घनघस्या कट्दाकाट्दै छाला झोलिन थालेको पत्तै भएन। आफूलाई आफैंले चियाउँदै गएँ। ऐनामा आफ्नो रूप त अपरिचित देखियो। अरूबेला आँखा चिम्म गरेर आफूलाई हेर्दा, उहीँ स्कुले ठिटोको रूपमा पाउँथे।
सबैको अनुहार हेर्नलाई मसँग यी एकजोडी आँखाहरू नै प्रयाप्त थिए। तर आफूलाई हेर्न मैले निर्जीव ऐनाको साथ लिनै परेको छ।
गम खान थालें आखिर ऐना ठूलो कि आँखा? आँखा भएर पनि यदि ऐना छैन भने आफूलाई जीवनभर हेर्न नसकिने रहेछ। ऐना मात्र छ तर आँखा नै छैन भने त झन् बित्याँसै परिहाल्यो।।
सोच्दै थिएँ तिलचामल कपालले मेरो मन पढेछ क्यार पुलुक्क हेरेर मुसुक्क हाँस्यो। उत्तिनैखेर पुटुक्क परेको पेटबाहिर निस्केर मेरो अनुहार चिहाउँदै व्यङ्ग्य गर्दै थियो।
उत्तिनैखेर हातका चुरा छुन्द्रुङ्ग बजे, ढोका बिस्तारै खुल्यो।
'ओहो! आज त के हो उल्कै भयो त!
ए मेरा प्यारा! बिहान बिहान ऐना अगाडि:::: ?
आफूलाई बढो मिहिन पाराले हेर्दै हुनुहुन्छ त!
कुरो के हो ? कसैलाई भेट्न जान लाग्नु भएको त होइन ? चालीस कटेपछि मान्छेलाई जवानी चढ्छ भन्छन्। कि कसो, कतै मन यताउता त भएन।'
रातो मगमा कालो कफी ल्याएर टेबलमा राख्दै सृजनाले मलाई जिस्क्याउन थाली। नजिस्क्याओस् पनि किन। साँच्चै बिहे भएदेखि आजसम्म यसरी ध्यान दिएर आफूलाई दर्पणमा स्थिर गराएको थिइनँ।
कफी चुस्स पारें। चिनीबिनाको तीतो कफी मीठो लाग्न थालेको पनि चालीस कटेपछि नै हो।
दूधको कड्क कफीको बास्ना छर्दै श्री मनजिकै आएर भन्न थाली।
'माया ! भोलि त २०८० साल हो नि। हेर्दाहेर्दै असी साल भैसक्यो। केही दिन त २०७९ मै झुक्किन्छ है। थाहा छ हजुरलाई, हामी पनि स्कुल पढ्दा नयाँ वर्षमा पोष्टकार्ड आदानप्रदान गर्ने गर्थ्यौं। कति रमाइलो चलन थियो है?
सबैले सबैलाई उपहार स्वरूप एक रुपैयाँको हिरोहिरोइनहरूको पोष्टकार्ड दिन्थ्यौं।
कविता लेख्न जान्नेले कविता लेख्थे।
गजल र मुक्तक लेख्न जान्नेले गजल र मुक्तक पनि लेखेर दिन्थे। थाहा छ माया! मलाई कुन हिरोहिरोइन मन पर्थ्यो?'
श्री बच्चाजस्तै उत्साहित भएर आफ्नो अतीत सुनाउँदै थिई।
'सृजना! ए सृजना, तेल तातिसक्यो लौन रोटी पोल।' पल्लो कोठाको झ्यालबाट आमाले एकोहोरो बोलाउनु भयो। नयाँ वर्षको दिन सेल रोटी र आलु काँक्राको पिरो अचार खाने योजना छ।
श्रीको मुखबाट पोष्टकार्ड सुन्नेबित्तिकै मेरो रोमरोममा युवा समय र शक्ति तरङ्गित भयो।
'पोष्टकार्डको प्रेम' मेरो मस्तिष्कमा तैरिन थाल्यो।
सूचना ! सूचना !!
उफ: सूचनालाई सम्झनेबित्तिकै हृदयको गर्तबाट लामो निश्वास अनायासै निस्किन्छ।
भर्खर जुँगाको रेखी बसेको थियो। सूचनालाई पहिलोपटक देख्दा मेरो शरीरभरि रक्त सञ्चारको बेग्लै उन्माद सलबलाएको चाल पाएको थिएँ।
यो अनुभूति पहिलो थियो। सूचनासँग आँखा जुधेको दिन नै हो, स्कुल प्राङ्गणमा म डुन्मुनिएर झण्डै लडेको। कुमारले मेरो कम्मरमा चपक्क समाउँदै कानमा खुसुक्क भन्यो - 'यार! हामीले हेर्ने केटी होइन सूचना! उसलाई हेर्न छोडिहाल नत्र दु:ख पाउँछस्, कसको छोरी हो थाहा छ?'
मलाई कुमारको कुराले झनक्क रिस उठ्यो।
अनि कुमारको कानमा फुस्फुसाएँ- 'पहिलो चोटि आँखा जुधेकी केटीको बाआमासँग मेरो केको सरोकार मुला! यो उमेरमा पनि केटी नहेरे के दाँत फुस्किएपछि हेर्नु त? अनि यार! केटी हेर्नलाई पनि जात, विचार र पार्टी मिलाउनु पर्छ र?'
मोबाइलमा ट्वाङ्ग म्यासेजको घण्टी बज्यो। अर्थ सरोकारको म्यासेज आएको रहेछ।
कुमारको सल्लाह बिलुप हुँदै अतिततिरै फर्कियो। म झल्याँस्स भएँ, वर्तमानमा अतितको छाता ओडेर ऐना अगाडि अझ स्थिर नै थिएँ।
सूचनाको यादले रोमहर्ष हुँदै थिएँ।
उबेला स्कुल प्राङ्गणमा जस्तो रक्तसञ्चार भएको थियो आज पनि त्यस्तै महसुस गर्दैथिएँ। मुटुको प्रत्येक धड्कनमा सूचनालाई सुरक्षित पारेर राखेको पत्तै थिएन। सूचना त वर्षौंदेखि मेरो मस्तिष्कमा विराजमान पो भएर बसेकी रहिछ।
के सूचनालाई मैले आफ्नो मनको भाव पोख्नु पर्थ्यो? किन डराएँ त्यो समयमा आफ्नो मनको कुरा भन्न? जीवनका कयौं वसन्तहरूमा मैले आफूलाई धिक्कारें। हो! सूचना नै थिइन, जसलाई मैले हृदयबाटै अलौकिक प्रेम गरेको थिएँ।
सूचना मसँग निर्वाध बोल्थी तर कहिले पनि माया र प्रेमको भाव उसको आँखामा देख्न सकिनँ। उसका आँखामा अनेकौं सपनाहरू चल्मलाउँथे। लोमहर्षक पार्ने उसको चञ्चलता थियो।
कुमार पनि सूचनालाई हेरेर मक्ख पर्थ्यो।
तर मेरो डरले केही भन्न सक्दैन थियो।
मृगको छावकजस्तै सूचना चुलबुल गर्दा, स्तब्ध हुन्थें। मेरा आँखा किताबमा भन्दा सूचनाको अनुहारमा गएर लुसुक्क टाँसिन्थे। उसलाई हेरेर लाटिन्थें, मदहोस हुन्थें। कस्तो तृप्ति, कस्तो उन्माद, कस्तो मादकता। जतिजति सूचनामा आफूलाई जमाउँथे उतिउति म त तलाउ बन्दै जान्थें र आफ्नो सुन्दर भविष्यको प्रतिछायाको कल्पना गर्दै उत्पुलक हुन्थें।
मनमा जे जस्ता भावहरू आएका हुन्थे सूचना बिनारोकटोक प्वाक्क सबैको सामु बोली हाल्थी। म ओठमा आएको कुरा पनि घुटुक्क निल्थें। मलाई मेरै भावनाको बाढीले कयौं पटक बगाएको थियो। थेचारेको थियो, पछारेको थियो।
हामी नदीका दुई किनारजस्तै थियौं।
हृदयमा सूचनालाई सजाएर, समयको कयौं पदचापलाई छिचोरेर आएँ। सुख र दु:खका कति पात झरेर पुनः पलाए तर मेरो हृदयमा रोपिएको त्यो अव्यक्त प्रेमको पात आजसम्म झरेको रहेनछ। मलाई त्यो किशोर अवस्थामा पनि उसलाई प्राप्त गर्ने अभिलाषा थिएन र आज पनि छैन। फेरि यो कस्तो चाहत, कस्तो प्यास, यो कस्तो प्रेम?
मेरो मुटुको कुनै कुनामा बसेर सूचनाले मलाई जीवन्त आनन्द दिएकी रहिछ त्यो पनि बल्ल बुझ्दैछु।
उसलाई स-शरीर प्राप्त गर्नु मेरो चाहना थिएन र आज पनि होइन। तर किन किन उसलाई हेर्ने बित्तिकै, उसलाई सम्झिने बित्तिकै अपार आनन्द, शान्ति र तृप्ति मिल्छ। सूचनाको नाम लिनासाथै सम्पूर्ण इन्द्रीयहरू आनन्दविभोर भएर सन्तुष्ट हुन्थे र आज पनि हुन्छन्।
स्कुल जाँदा र आउँदा सूचना मभन्दा अगाडि अगाडि हिँडेकी छ भने मेरो बाटो सुगन्धित हुन्थ्यो। मेरो दिन सफल हुन्थ्यो।
मलाई पनि उसले २०५० सालको नववर्षमा पोष्टकार्ड दिएकी थिई। बिचरीको लेख्ने ढङ्ग थिएन। बाङ्गाटिङ्गा अक्षरमा लेखेकी थिई
'नववर्ष २०५० सालको मंगलमय शुभकामना'
पठाउनेको नाम सूचना, पाउनेको नाम आभास।
सूचनाले लेखेको शुभकामनाको शब्दहरू पनि मलाई ताजमहल जस्तै लाग्थ्यो। अमर प्रेमपत्र जस्तै लाग्यो। कतिदिनसम्म छातीमा टाँसेर राखें।
कयौं पटक ओठमा लगेर स्पर्श गरें। पोस्टकार्ड नै मेरो लागि सर्वोच्च प्राप्ति भयो।
कसैले सत्य भनेका रहेछन्। दृश्य केही होइन। दृश्यभन्दा ठूलो त दृष्टिकोण रहेछ। जुन भावले जुन विचारले दृश्यलाई हेरिन्छ, दृश्य सोही अनुरूप देखिँदो रहेछ। सूचनाको लागि म सहपाठी मात्र थिएँ तर मेरो लागि त सूचना संसारै थिई।
मेरो रोमरोममा व्यक्त प्रेम सूचनाका लागि सदैव अव्यक्त प्रेम भयो।
मैले मेरो सुन्दर संसारको द्वार खोल्न जानिनँ। आफ्नो सपनाको संसारलाई कैदमा राख्ने मान्छे म नै हुँ। म पापी हुँ, पातकी हुँ। मैले जे सोचें त्यही नै सत्य लाग्यो। मै सूचनाको हात समातेर मेरो प्रेम व्यक्त गरेको भए!
मभित्र प्रेमको जरूवा पलाएको थियो। मैले जवर्जस्ती प्रेमको मुहान थुन्न खोजें। सायद म आफूलाई हिरो सम्झिन्थें। बोल्न बिर्सेर पोष्टकार्डको सहारा लिएँ।
मभित्र उठेका प्रेमिल ज्वारभाटहरूलाई संप्रेषण गर्न हतारहतार नायकका थरीथरीका पोष्टकार्डहरू किनें।
कार्डको पछिल्लो भागमा नववर्ष २०५० को मंगलमय शुभकामनाका साथै एउटा प्रेमिल कविता पनि कोरें। गजल पनि लेखें। सूचनाबाट पनि आश गरेको थिएँ।
धिक्कार होस् मेरा लागि पनि त दुई शब्द कोरेकी भए हुन्थ्यो। यो लाटीले कस्तो नजानेकी!
मलाई ऊ असाध्यै राम्री लाग्थी कुनै हिरोइनसँग तुलना गर्न नमिल्ने अतुलनीय थिई सूचना।
ऊ हाँस्दा सारा प्रकृति हाँस्थ्यो। लरक्क परेका दुईजुल्ठी कपाल बाटेर जब मैदानमा भलिबलको सर्ट हान्थी म जड भएर उसलाई नै नियालिरहन्थें। मलाई उसको हरेक कुरा मन पर्न थालेको थियो। एकदिन कुमारले जिस्क्याउँदै भन्यो- 'के हो केटा तेरो पारा, सूचनालाई निक्कै घुर्दै छस् त उसलाई देख्ने बित्तिकै तेरा यी दाँत किन यसरी चम्केका, थाहा पाइ भने तँसँग बोल्न छोड्छे है। त्यसका बाउ र दाजुले थाहा पाए तेरो उठिबास लाउँछन्।'
कुमारले यसो भन्दा संकटको चस्का मनमा पस्थ्यो। अनि कछुवाझैं सम्पूर्ण भावहरू समेटेर आफूभित्र खिच्थें। निराशका बादल मडारिएपछि फुस्रा ओठ टोक्दै कुमारलाई मनको भारी बिसाउँथे।
'हेर्न यार! मलाई सूचनाले निकै आकर्षित गर्छे। उसलाई देखेपछि मेरो नशानशामा नौलो तरङ्ग उठेर सन्तुष्टि छाउँछ। मेरो होस हराउँछ। जबजब सूचनालाई देख्छु म सम्पूर्ण हुन्छु।
थाहा छ मलाई मेरो र सूचनाको मिलन असम्भव छ। तर यार! मलाई सूचनालाई माया र प्रेम मात्र गर्नु छ, त्यो पनि परबाट।
उसलाई हृदयमा राख्न, उसलाई हेर्न, बोल्न मात्र पाए पुग्छ। उसलाई जित्नु छैन, प्राप्त गर्नु छैन र उसलाई भोग्नु पनि छैन।
मेरो जीवनमा सूचनाको स्थान माछापुच्छ्रे झैं रहने छ। जसरी फेवामा माछापुच्छ्रे तैरिन्छ त्यसैगरी मेरो हृदयमा सूचनाको छाया तैरिन्छ। फेवाले माछापुच्छ्रेलाई अँगालो हालेझैं म पनि सूचनालाई हृदयमै अँगालो हाल्न चाहन्छु।
सूचना मेरो आत्मीक प्रेम हो। पवित्र पूजा हो। ईश्वरको आराधना हो। तर यार ! उसले थाहा नपाओस् मेरो मनको अवस्था।'
कुमारले मेरो पागलपन देखेर तीन छक्क पर्दै भन्थ्यो।
'कि त पागल होस् ! कि तँ भगवान नै होस्। यो उमेरमा पनि तेरो यस्तो सोच। अरू केटाहरूलाई हेर्छु घिन लागेर आउँछ। कस्तो कस्तो कुरा गर्छन् केटीको विषयमा। केटीलाई भोग्नको लागि मात्र अनेक लिला रच्दै प्रेमको जालमा फसाउँछन्। तँ भने कस्तो गम्भीर कुरा गर्छस् यार!' अतितको पिङमा कुमारको कुरा सुन्दै झुलिरहेको थिएँ।
श्रीले बोलाउँदा हठात् भएँ।
'हजुर अझ ऐना हेरेको हेरै!'
श्रीले नजिकै आएर निधारमा हात राख्दै छामी। पुलुक्क उसको अनुहार हेरें। म गदगद थिएँ श्रीको अनुहार सूचनाको अनुहारसँग करिव करिव मिल्थ्यो। आनिबानी पनि उस्तै थियो।
श्रीलाई मेरो हृदयको ऐना बिहे हुने बित्तिकै देखाएको थिएँ। श्रीले मक्ख पर्दै भनेकी थिई।
'हाऊ रोमान्टिक! मलाई पनि सूचनासँग भेट्न मन छ। मेरो श्रीमानको हृदयमा कहिले नसुक्ने गरी प्रेमको सागर उत्पन गरिदिने त्यो देवीलाई नमन गर्न मन छ।'
म एकोहोरो श्रीलाई हेर्दै थिएँ। श्रीमतीहरू कति इखालु हुन्छन् तर श्री अपवाद नै थिई।
अतीत र वर्तमानले मलाई नराम्रोसँग गिजोल्दै थियो।
छातीमा लपक्क टाँसिएर श्रीले चुम्दै भनी- 'सूचनाको याद आयो। हजुरले दिएको त्यो पोष्टकार्डलाई सूचनाले पोष्टकार्डको रूपमा मात्र हेरिहोला है? बिचरी अभागी रहिछे। यति माया गर्ने प्रेमीलाई जीवन साथीको रूपमा पाएकी भए! तर ठिकै भयो मेरो संसार कस्तो हुन्थ्यो होला ? म भाग्यमानी रहेछु र हजुरजस्तो जीवन साथी पाएँ। साँच्चै अरू के के भएको थियो फेरि भन्नु न ल। मलाई हजुरको पवित्र प्रेमको कथा सुन्न मन लाग्यो। सूचनाले हजुरलाई दिएको त्यो पोष्टकार्ड जतन गरेर राखेकी छु आजसम्म।
त्यसको फोटो खिचेर म्यासेन्जरमा पठाउनु न। बिचरीले २०५० सालको मंगलमय शुभकामना मात्र त लेखेकी छ।'
श्रीले नै त्यो पोष्टकार्ड मेरो डायरीबाट झिकेर फोटो खिची। अनि सूचनाको म्यासेन्जरमा पठाएर लेखी। 'नव वर्ष २०८० सालको मंगलमय शुभकामना।'
म्यासेन्जरमा ट्वाङ्ग म्यासेज आयो।
'ओहो! तिमीसँग अझ सुरक्षित छ अतीतको कुराहरू? शुभकामना छ है साथी नववर्ष २०८० सालको। कल गर्न सक्छु तिमीलाई?'
मेरो फोक्सो फुल्यो, अनायास नै मुटुको चाल तीव्र भयो, सेता कपालमा पनि अनौठो छट्पटी मडारिन थाल्यो। सूचना उस्तै पारामा हाँस्दै अतीतलाई कोट्याउन थाली। सूचनाको बोलीमा म यस्तरी लाटिएँ कि जसरी कुन्दनको रूखमा सर्प लठ्ठ पर्छ।
श्री पनि नजिकै बसेर हाम्रो कुराकानी सुनिरहेकी थिई।
सूचनाले अप्रत्याशित रूपमा भनी - 'तिमीले मलाई असाध्यै मन पराउँथ्यौ हो कि होइन भन त? तिमीले स्कुल बेलादेखि मन पराएको कुरा मलाई थाहा थियो। कहिले प्रस्ताव राखौंला भनेर तिम्रो मात्र बाटो हेरेर बसें। तिम्रो र मेरो जात, धर्म केही मिल्दैन थियो। सायद तिमी तत्कालीन समाजदेखि डरायौं।
त्यो बेलाको समाजले ब्राह्मणकी छोरीले दलितको छोरोसँग बिहे गरेको पचाउन सक्दैन भनेर तिमी सचेत भयौ, हो कि होइन भन त?
जब तिमीले आफ्नै जातकी केटीसँग बिहे गर्यौ अनि बल्ल मैले आफूलाई सम्झाएँ आफूलाई जब्बर पार्दै गएँ।
ठीक छ, तिमी डरायौ त्यो पनि समयको माग थियो दोष तिम्रो प्रेमको पक्कै होइन उपल्लो जात र तल्लो जातको संघर्षको दोष थियो। थाहा छ तिमीलाई पछि मैले कुन जातको केटासँग बिहे गरें।'
म नि: शब्द हुँदै थिएँ। हात गोडाबाट पसिनाको धारो छुट्दै थियो।
हिम्मत गरेर भने- 'भन न सूचना कोसँग बिहे गर्यौ?'
'तिमी राम्रोसँग चिन्छौ उसलाई। तिम्रो मनमा मप्रतिको प्रेम, सद्भाव र मायाको साक्षी हो ऊ। तिम्रो अव्यक्त प्रेमको सागरमा उसैले मलाई चुर्लुम्म डुबाएको हो। म पनि भित्रभित्र तिमीलाई प्रेम गर्न थालेकी थिएँ। तर असहजता, अप्ठ्यारो र अदना उमेरले गर्दा मैले पनि भन्न सकिनँ।'
सूचना चुप्प भई। मौनतालाई चिर्दै म नै पुनः बोलें।
'ठिकै छ सूचना जे भयो भयो। तिमीलाई आज पनि आदर्श प्रेम उत्तिकै गर्छु। तिमी जहाँ भए पनि खुसी, सुखी र आनन्दमा रमाउनु। साथीको रूपमा तिम्रो साथमा सदैव रहने छु।'
'श्रीलाई लिएर भोलि मेरो घरमा आऊ न है , तिमीलाई कसैसँग भेट गराउनु छ'
सूचनाको निम्तोमा अनुरोध थियो। रात कटाउन प्रलय हुँदैथियो। एकबाजी पनि आँखामा ताली लागेन।
भोलिपल्ट श्री र म सूचनाले दिएको ठेगानमा गयौं।
गेटमा नाम लेखेको रहेछ।
'सूचना आवास ।।'
भित्र गयौं। कोही थिएन। सूचना उस्तै आकर्षक देखिएकी थिई। म हेर्दै थिएँ। सूचनाको जीवन साथीलाई। तर मेरो दृश्य मैले लेखेको डायरीमा अचानक पर्न गयो। डायरी हराएको निकै वर्ष भएको थियो। मेरो मन, मस्तिष्क र हृदय टपक्क त्यही डायरीमा टाँसिएको थियो। त्यो डायरी र ममा कुनै कुरा लुकेको थिएन। सूचनाको बारेमा म के सोच्ने गर्थें, सबै कुरा खुला रूपमा लेखेको थिएँ।
'कसरी यो डायरी तिम्रो हातमा आयो सूचना ?'
आत्तिदै मैले सोधें।
सूचना मुसुक्क हाँस्दै भनी, 'जसरी भए पनि मैले पाएँ नि, मेरो सम्पत्ति। थाहा छ मैले तिम्रो डायरीसँग बिहे गरें मलाई तिमीले गरेको यो अनौठो प्रेम मन पर्यो मैले तिम्रो जात हेरिनँ, आजीवन म यही डायरीको प्रेमिल काखमा निदाउँछु।'
कोठाभरी चिरपरिचित स्वर गुन्जियो।
'यार के छ तेरो खबर? कता हराएको थिइस्? तेरो त नाकमुख देख्न पाइएन।'
पछाडिबाट कसैले झ्याप्प अँगालो मार्यो। अँगालो चिरपरिचित थियो। फनक्क फर्केर हेरें, मेरो मुख खुलेको खुलै भयो 'ओई! कुमार तँ कताबाट, अनि सूचनासँग तेरो भेट्घाट कहिले भयो?'
'लामो छ कहानी यार। जागिरको सिलसिलामा डोल्पामा पुगेको थिएँ। तँ सम्पर्कविहीन भइस्। सूचना र मेरो भेट वर्षौंपछि दुनैमा भयो। हामी सहपाठीबाट सहकर्मी भयौं। सँगै काम गर्यौं।
तेरो मनको घाउ जम्मै मैले सूचनालाई सुनाएको थिएँ। सूचनाले तेरो आश गर्दै थिई। त्यही बेला तेरो विवाह सृजनासँग भएको खबर हामीले प्राप्त गर्यौं।
तँलाई याद छ, तेरो घरमा एक पटक म आएको थिएँ। त्यो बेला तेरो टेवलबाट यो डायरी लुकाएर मैले सूचनालाई दिएँ। सूचनाको हृदय विशाल रहेछ यार हामीलाई थाहै रहेनछ। तँ र म सधैं आफ्नो जात, वर्ग र स्तरसँग सतर्क भयौं। तर डोल्पाको त्यो पवित्र भूमिमा सूचनाले तेरै जातको मलाई आफ्नो जीवन साथी बनाउने निर्णय गरी। जुन मेरा लागि आश्चर्यचकित पार्ने कुरो थियो।'
'बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।' समयमा तिमीले प्रेम प्रस्ताव राखेको भए आज कहानीले अर्कै रूप लिन्थ्यो।'
सूचना बोल्दै थिई , श्रीले हाँस्दै बीच्चैमा प्वाक्क बोली 'जे भयो राम्रो भयो! माया गर्न किन बिहे नै गर्नुपर्यो र, हजुरहरूको बिहे भएको भए यो कहानीमा म कता हराउँथे। कुमार बाबु र सूचना जीलाई हार्दिक बधाई।'
साँच्चै प्रेम प्राप्त गर्नु र भोग्नु होइन।
प्रेम पूजा हो, म त्यही प्रेमको पूजा गर्छु ::
म फुस्फुसाउँदै कुमारको अँगालोमा बाँधिएँ।