नेपाल बिग्रियो रे
नीति गलत भयो या नेता
कस्तो थियो हाम्रो पालाको नेपाल
अस्ति जन्मेका तिमीलाई के थाहा?
बा र दाइहरूले काँधमा डालो बोकेर
हामी सारा परिवारको
मेहनतको पसिना पुछ्दै
गोबरले लिपेको
आँटीको भकारीमा
खरर धान खनाउँदा
ध्यान मग्न भई कम्मर कसेर
आँगनीको डिलमा बसेर
मकैका गेडा अर्कोतर्फ सार्दै-सार्दै
गन्दै गरेको हिजोझैं लाग्छ
आज त्यो खेती हरायो
सहरमा नारा लाग्दैछ
कसैले रातारात मेरो देशलाई
स्वर्ग बनाउने अफवाहमा
त्यसैले
आऊ साथी आऊ
विदेशी चामलको
खाना खाएर अनि भुजा ज्युनार गरेर
चोकतिर आऊ
चिच्याएर सडकमा
फलानो मुर्दावाद भनौं
ढिस्कानो जिन्दावाद भनौं!
खै कसको लहडले हो
खै कुन बुज्रुकको संगतले हो
थाहै नपाई
आज म आधुनिक भएछु
खुसी र सुखवाला भविष्य किन्न
सहर गएछु
हुनेखाने र सम्पन्न हुन
ठूलो जहाज चढेर विदेश गएछु
अनि केही वर्ष ठक्कर खाएर
सुकिलो भएर लाहुरे ठानिएर
फेरि गाउँ पसेछु
उही पुरानो आफैले सस्तोमा बेचेको
जग्गा महँगोमा किनेर
देखावटी सन्तोषको सास फेरेछु
खान लाउन त पुगेकै थियो
किन आफ्नै जीवन कमजोर भयो
किन महत्वकांक्षा बढेर गयो
दु:ख गर्न बिर्सायो समयले
लोभी पापीको सल्लाहले
छोटो बाटोबाट कमाउन
कर छल्न
अब मलाई पनि नेता बन्ने रहर जागेको छ
भो अब नजाने सहर.. भो नजाने विदेश
त्यसैले
आऊ साथी आऊ
विदेशी ब्रान्डको चियर्स गर्दै
आइफोनले सेल्फी हानौं
चोकतिर आऊ
चिच्याएर सडकमा
फलानो मुर्दावाद भनौं
ढिस्कानो जिन्दावाद भनौं!
गाउँ कसरी सक्षम बनाउने
बाँझो बारीमा के-के फलाउने
देश कसरी आत्मनिर्भर बनाउने
बन्द उद्योगधन्दा र कल-कारखाना
कुन-कुन खुलाउने
नयाँ अरु कहाँ-कहाँ चलाउने
बहस त्यता हुनुपर्थ्यो
हुन त
त्यता बहस चलेको भए
किन आज टाउको समाएर
नेता सरापेर
रुनुपर्थ्यो
किन
महावीरहरू सडकमा निरीह हुनुपर्थ्यो
पछुतो मानेर केही हुँदैन
सुध्रिनु पर्छ हामी पनि
र सुधार्नुपर्छ व्यवस्था पनि
गलत मान्छेलाई पटक-पटक
लाहछाप हामीले लगाएकै हो
सही मानिस चिन्न नसकेर
निरास बनाएर सहर
अनि विदेश भगाएकै हो
देश अझै बिग्रिसकेको छैन
शताब्दी सकिएको हैन
केही वर्ष हामीलाई
नजाति ग्रहले सताएको मात्रै हो
त्यसैले आऊ साथी सडकमा आऊ
मन, वचन र कर्मले
माटोको सपथ लिएर आऊ
अल्छीपनालाई उतै कतै रोकेर
देश बनाउने हुटहुटी बोकेर आऊ
हातमा हात अनि काँधमा काँध
मिलाएर
देशप्रेमी सबै जिन्दावाद भनौं
राष्ट्रप्रेमी सबै जिन्दावाद भनौं!