पुस महिनाको आधाआधी तिर हुनुपर्छ, भर्खरै जलविद्युत आयोजनाबाट कर्पोरेट कार्यालयमा सरुवा भएको थियो मेरो।
कर्पोरेट कार्यालयको एक शाखाको प्रमुख थिएँ।
म कार्यरत संस्थानबाट अवकाश प्राप्त कर्मचारीको पेन्सन, उपदान, सेवा निवृत्तपछिको रै-रकम, बिमा लगायतका रकम भुक्तानी सोही शाखामार्फत हुन्थ्यो। जनसम्पर्क बढी हुने हुँदा म अलि व्यस्त नै हुन्थें अफिसमा।
एकदिन अफिसको काममै व्यस्त थिएँ। सहकर्मी बहिनीले ‘एकजना सर भेट्न आउनुभएको छ, अलि हतारमा छु भन्नुभा छ, आफ्नो राजिनामा र रै-रैकमको फाइल हातमै लियर आउनुभएको छ’ भन्नुभयो। मैले मेरोमा पठाइदिन संकेत गरें।
‘नमस्कार म्याडम!’ त्यो आवाजले झस्कें म।
आवाज कता-कता परिचित जस्तो लाग्यो। नमस्कार फर्काएँ। मलाई यहाँ देख्दा ऊ पनि झस्कियो। अप्ठ्यारो मान्दै ‘तपाईं यहाँ!’ भन्यो।
दुवैले एकअर्कालाई चिन्न समय लागेन। उसले आफ्नो फाइल मलाई दियो। सोफामा बस्ने इसारा गरें। घन्टी बजाएर चिया मगाएँ। उसको राजिनामा र रै-रैकमको फाइल खोलेर हेर्न थालेँ। कतिबेला वर्षौंअघिको स्मृतिमा फर्केछ मन, थाहै भएन।
व्यवस्थापनमा स्नातकोत्तर सकेपछि मेरा सामु दुई वटा विकल्प अघि थिए- एक कुनै बैंक वा प्राइभेट जागिर गर्ने, अर्को लोक सेवा आयोगको तयारी थाल्ने।
घरकी कान्छी छोरी म, बुवा म सानै हुँदा बित्नुभयो। घरमा एकजना दाइको कमाइ। मेरो पढाइ, दिदीहरूको पढाइ र विवाह, घर खर्च सबै-सबै उहाँले नै धान्नुभयो। अझै अगाडि भार थप्न मन लागेन। दुवै विकल्प सँगै बढाउने निधो गरेँ मैले।
निजी वाणिज्य बैंकहरू धमाधम खुल्ने क्रम सुरु भएको थियो तिनताका, विज्ञापन दिनहुँ जस्तो आइरहन्थे दैनिक अखबारहरूमा।
लोक सेवा तयारी सुरु गरिसकेकी थिएँ मैले। बैंकहरूमा जागिरलाई आवेदन पनि सँगसँगै दिँदै थिएँ। एकदिन कुनै एक वाणिज्य बैंकबाट छोटो सूचीमा परेको जानकारीसहित र लिखित परीक्षाको लागि इमेलमार्फत बोलाहट आयो। औधी खुसी लाग्यो, परिवारमा सबैलाई सुनाएँ।
त्यसपछि बैंकका सबै भर्ना प्रक्रिया पार गरी उपत्यकाभित्रकै शाखामा नियुक्ति पाएँ। उपत्यकाभित्र जागिर पाएपछि लोक सेवा तयारी छाड्नु नपरेकाले खुसी थिएँ म।
बैंकमा जागिर भैसकेपछि विवाहको कुरा आउन थाल्यो। विवाहको उमेर पनि भैसकेको थियो क्यारे, धेरै थरीका केटाहरूको कुरा आउँथ्यो। कोही बैंकमा काम गर्ने, कोही नेपाल सरकारका अधिकृत, कोही सरकारी संस्थानका, क्याम्पसका लेक्चरर, यस्तै-यस्तै।
तर आफ्नो कुनै स्थायी जागिर नखाई बिहे गरी घरजम गर्ने मनसुवा नभएकोले विवाहका अफरहरू टार्दै गएँ। सानैदेखि पढाइमा अब्बल र आफैमा अनुशासित भएकोले होला आमा, दाइ र दिदीहरूले मेरा निर्णयहरूमा पनि नाईनास्ती गर्नुभएन। बिहेको लागि कहिले पनि परिवारबाट करकाप भएन।
बैंकमा जागिर सुरु गरेको केही समयपछि पोखरा नजिकैको एक नगरपालिकाले राजस्व अधिकृतको विज्ञापन गर्यो। लोक सेवा तयारी गरिरहेकीले एकचोटि परीक्षा दिई हेर्ने विचार गरें। दाइले नै परीक्षा फारम भरिदिनु भयो, केही समयपछि लिखित परीक्षा भयो।
मोफसलको स्थानीय तहमा बसी काम गर्नुपर्ने भएकोले खासै धेरै परीक्षार्थी थिएनन्, धेरै स्थानीयहरू नै थिए। त्यतिबेला स्थानीय तह आफैले परीक्षा लिने हुँदा परीक्षाको निष्पक्षता के हुने हो सबै अन्योलमा थिएँ म। परीक्षा राम्रै भए पनि नाम निस्कनेमा विश्वस्त थिइनँ।
बैंकको जागिर र लोक सेवा आयोगको तयारी जारी नै थियो। त्यसैबीच नगरपालिकाको लिखित परीक्षाको नतिजा प्रकाशित भयो। मेरो नाम निस्केछ, मसँगै अरु दुई जनाको पनि नाम थियो। पन्ध्र दिनपछि अन्तरवार्ताको मिति तोकिएको थियो। अन्तरवार्ता दिएँ, पास भएछु। राजधानी छोड्नु परे पनि जागिर स्थायी भएकोमा म खुसी थिएँ।
नगरपालिकामा स्थायी जागिर भएपछि बिहेका अफर अझ धेरै आउन थाले। म पनि बिहे गर्ने मनस्थिति बनाइसकेकी थिएँ। उमेर भैसकेको थियो, अब धेरै पर्खनु थिएन मलाई। जीवनले नयाँ र महत्त्वपूर्ण घुम्ती मोड्न आँटेको भान हुन थालेको थियो मलाई त्यति र।
शिशिरले नांगा परेका रुखमा वसन्तले नयाँ पालुवा भर्दै थियो। चैत वैशाखका दिन, न धेरै जाडो न धेरै गर्मी। आफैमा रमाइला लाग्थे मलाई यी दिनहरू। त्यस वर्ष वैशाखको सुरुका दिन हुनुपर्छ शनिबार, इद लगायत लगातार परेकाले लामै सरकारी बिदा थियो।
त्यही छेक म घर पुगेकी थिएँ आमालाई भेट्न। दाइ जागिरको सिलसिलामा कार्यक्षेत्र तिरै हुनुहुन्थ्यो। आमाको मुख हेर्ने दिन हामी सबै दिदीबहिनीहरू जम्मा भएका थियौं। बिहानको खाना खाएपछि आमाले सानिमामार्फत एक केटासँग मेरो बिहेको प्रस्ताव आएको कुरा बताउनु भयो।
केटाको मामाघर र मेरी सानिमाको घर सँगै भएकोले केटाको मामा र मेरी सानिमाबीच हाम्रो कुरा भएको रहेछ। आमा र दाइले सम्बन्ध जोड्न हुने नाता कुटुम्ब देखेर मसँग कुरा राखेको बताउनु भयो।
सानिमाको अनुसार सरसर्ती सुन्दा केटाको पारिवारिक पृष्ठभूमि लगायत सबै राम्रो लाग्यो, नराम्रो केही थिएन। भेटघाटको लागि परिवारलाई स्वीकृति दिएँ। दिदी सदरमुकाममा डेरा लियर बस्नु हुन्थ्यो। त्यहीँ भेट्ने कुरा भयो।
भोलिपल्ट मसँग भेट्न ऊ आयो। बाटुलो, गोरो अनुहार, हँसिलो चेहेरा, घुमेको केश। ऊ शालीन थियो, शान्त सागर जस्तो, नहासी नबोल्ने, बोलीमा साँच्चिकै मिठास थियो र शिष्टता झल्किन्थ्यो उसका हरेक वाक्यमा।
परिचय भयो। परिवारको कान्छो छोरो। दाजु-दिदीहरूको बिहे भैसकेको। सरकारी संस्थानमा इन्जिनियर। काठमाडौंमा पोस्टिङ रहेछ उसको। उसको परिवारको, कुल इज्जत, खानदान सबै मेरो परिवारसँग मिल्ने।
एउटै जिल्ला भए पनि मेरो घर सदरमुकाम नजिकै थियो, सदरमुकामबाट केही टाढा गाउँमा रहेछ उसको घर। गाउँमा हुर्केर पढेर पनि आफ्नै मेहनतले त्यहाँसम्म पुगेको रहेछ ऊ। संयोगले अहिले कार्यालयको कामको सिलसिलामा एक जलविद्युतको सम्भाव्यता अध्ययनको यता लागि आएको बतायो।
मलाई ऊ मन पर्यो, उसले मलाई उसले मन पार्यो कि नाइँ थाहा भएन। चिया पियर फर्क्यो ऊ। घरमा दुवैको चिना देखाउने सल्लाह भयो।
साँझ खाना खाएर सुत्ने तरखर गर्दै थिएँ, एक अपरिचित नम्बरबाट म्यासेज आयो। ‘खान खानु भो?’ भनेर सोधिएको थियो। अनुमान लगाउन गाह्रो परेन मलाई उसकै म्यासेज हो भनेर। अनि उसले म मन परेको कुरा घरमा बताएछ।
उसले फेरि मसँग एकचोटि भेट्ने मनसाय व्यक्त गर्यो। मैले पनि हुन्छ भेटौं भनिदिएँ सजिलै। कलेज पढ्दा केटा साथी नजिक बन्न खोज्थे, मैले कहिल्यै त्यस्ता कुरामा वास्ता गरिनँ, ध्यानै गएन।
सदरमुकामबाट पोखरा संगै जाने सल्लाह भयो। पोखरा पुगुन्जेल धेरै कुरा भए। आफ्नो वास्तविक धरातल नछोडी सपना कुराका भए। मैले भने सानैमा बुवा गुमाएँ, पितृवात्सल्यबाट बिमुख भएँ म, म मायाको स्नेहको भोको छु, आफ्नो मान्छेको हौसलाको खाँचो छ मलाई यस्तै के-के भनेछु ऊ भावुक बन्थ्यो।
जीवनभर साथ र प्रेरणाको खाँचो नहुनेमा विश्वस्त पार्थ्यो मलाई घरीघरी। उसले त्यस्तै कुरा गर्थ्यो, म भावुक बन्थेँ। जिन्दगीका योजनाका कुरा गर्यो उसले। ऊ सलल बग्थ्यो, म सुनिरहन्थेँ। उसको बोलीचालीबाट ऊ देख्दा साधारण लागे पनि बौद्धिक र चेतनास्तर निकै उच्चस्तरको भएको थाहा हुन्थ्यो।
छोटो समयमै उसले मेरो मन जित्यो। दिन कति छिट्टै बितेछ थाहै भएन। केटा मान्छेसँग जीवनमा पहिलोपटक नजिकको स्पर्श प्राप्त गरेकोमा निकै सुखानुभूति अनुभूति भएको थियो मलाई त्यो दिन। हामीले एकअर्कालाई आफूले मन पराइसकेको कुरा कतैबाट छिप्दैनथ्यो।
हामी दुवै कार्य क्षेत्रतिर फर्कनुपर्ने थियो, हामीलाई छुट्न निकै गाह्रो भयो। तत्काल बिछोडको भयले अनुहार मलिन थियो हामी दुवैको। परिवारलाई अगाडि बढ्न जानकारी दिने भन्दै हामी छुट्टियौं।
भोलिपल्ट बिहानै आमाको फोन आयो। आमाले उदास भएर उसको र मेरो चिनामा गुणभन्दा दोष धेरै नै भएकोले वैवाहिक सम्बन्ध गाँस्न कुनै हालतमा उपयुक्त नहुने बताउनुभयो। म छाँगाबाट खसे जस्तै भएँ। दुई वटा ज्योतिषलाई देखाउँदा पनि कुरा फरक नआएको बताउनुभयो।
दाइ-दिदीहरूको कुरा पनि नजुरी बिहे गर्न नहुने आशय बुझेँ। परिवारको इच्छा बेगर गर्ने मनसाय थिएन मेरो। शुभ खबर थिएन, तुरुन्त खबर गर्न मन लागेन उसलाई। त्यो दिन खाना पकाएर खाने जाँगर चलेन, मन नलागी-नलागी अफिस गएँ।
साँझ उसैले फोन गर्यो। अलिअलि सुइँको पाइसकेको रहेछ, उदास थियो ऊ। जबर्जस्ती केही गरेन, हामी एकअर्कालाई जन्मेका रहेनछौं, आगे इश्वरको मर्जी भन्यो र फोन राख्यो। मलाई निकै पीडाबोध भएको थियो त्यतिबेला, केही नखाई यत्तिकै सुतें।
केही समयपछि उसले बिहे गरेको फेसबुकबाट थाहा पाएँ। त्यसपछि धेरै वर्षबाद अचानक आज मेरै अफिसमा भेटियो ऊ।
कति बेला स्मृति बिमुख भएछु पत्तै पाइनँ, ऊ चिया पिउँदै रहेछ। मतिर हेरेर फिस्स हाँस्यो। कत्ति परिवर्तन भएको रहेनछ ऊ। केही न केही लेख-रचना लेखिरहन्थ्यो संस्थाको मुखपत्रमा। त्यसपछि मतिर हेरेर बोल्यो, सायद मेरो अनुहारमा प्रश्न झल्केछ क्यारे।
संस्थामा ठूलै पदमा पुगे पनि राम्रो विश्वविद्यालयले छात्रवृत्ति अफर गरेकोले अध्ययन बिदामा अमेरिका पढ्न गएको रहेछ ऊ। पढाइ सकेर पढाइअनुसारकै सरकारी नोकरी पाएपछि उतै बस्ने निर्णय गरेर राजिनामा गरेको बतायो। उता नयाँ वर्ष र क्रिसमसको बिदा पारेर नेपाल आएको रहेछ।
सोचेँ, संस्थामा ठूलो पदमा पुग्ने सम्भावना हुँदाहुँदै पनि देशको राजनीति र संस्थामा अवसर नदेखेर ऊ र ऊजस्ता अरु थुप्रै क्षमतावान इन्जिनियरहरू संस्थाले थाम्न सकेन। न त हाम्रो समाजले नै उनीहरूलाई थमाएर राख्न सक्यो।
आफ्नो रहरभन्दा बाध्यताले विदेशिनेको भिडमा ऊ एक्लो थिएन। उसलाई बाँकी जीवनको सफलताको शुभकामना बाहेक के दिन सक्थें र म यतिबेला! ऊ फाइल लिएर बाहिर निस्क्यो, म मेरा आँखाबाट ओझेल नपरुन्जेल हेरिरहें उसलाई।