बाल्यकालमा जब थोरै लड्दा पनि धेरै ठाउँमा दुख्थ्यो
आँखाभरि आँसु अनि नाकभरि सिंगान हुन्थ्यो
हिलोमा धसिएर, धुलोमा टाँसिएर जब चप्पल चुँडिन्थ्यो
‘फुच्चे’ भनेर कसैले हेपिदिँदा हृदय धेरै कुँडिन्थ्यो
त्यो स-सानो मनमा ठूलो झैँ लाग्ने अन्योल छाउँदा
आमाले नै थाहा पाउनुहुन्थ्यो सबैभन्दा पहिला
देखेर आमालाई बुर्लुक्क उफ्रेर त्यही मजेत्रोमा बेरिन्थेँ
परिस्थिति जे होस्, मनस्थिति मेरा आफैं फेरिन्थे!
झलझली सम्झन्छु आमाको त्यो पातलो मजेत्रो
पुरानो तर ममताको त्यहाँ झल्को कत्रो
स-साना प्वाल कतै टालिएका, कतै उदांगो
अभावमा पनि बगिरह्यो ममताको छहरेछाँगो
कस्तो होला त्यो हृदय जहाँ प्रेम कहिल्यै रित्तिन्न?
त्यति धेरै बाँड्दा पनि माया आखिर किन सिद्धिन्न?
परिवारको हर्ष बाहेक उहाँको न अरु कुनै इच्छा थियो
जे छु आज आमाले नै दिएकै निःस्वार्थ भिक्षा रह्यो
मेरो यो शरीर- हाड, रगत अनि मांसपिण्ड
उहाँकै सौगात हो यो- हेर्न यो विश्व ब्रह्माण्ड!
कुनै दिन जब द्रव्यको दौडले थाकेर म रुग्ण
शरीरले विश्राम माग्ला तर मातृप्रेम अक्षिण
मिलेसम्म मलाई आमाको त्यही मजेत्रोले बेरिदिनू
आवर्तनमा मलाई फेरि बालक बनाइ छाडिदिनू
किनकि त्यो जादुयी मजेत्रोमा मैले-
मेरा फोहोर पैतालाका डामहरू देख्नेछु
बालापनका सिंगानका पाप्राहरू भेट्नेछु
अनि त्यो न्यानो स्पर्शमा
निश्चल प्रेमको आदर्शमा
गर्नेछु म अनन्तको यात्रा
छाडेर यो संसार विचित्र
आमाको त्यही जादुयी मझेत्रो भित्र
आमाको त्यही जादुयी मझेत्रो भित्र!