पहिला-पहिला म मेरा खुसी
मभित्रै खोज्दथें
मेरा परिवारभित्रै भेट्दथें
अनि मेरा आफन्तजनमै पनि
सदभावले माया लाउँथें
अनि भरपूर खुसी पाउँथें पनि!
तर आजभोलि मेरो खुसी खोज्ने दायरा
फराकिलो भएको छ
म मात्रै खुसी भएर हुँदैन
म मात्रै रमाएर पुग्दैन
मलाइ खुसी देखाउनु पर्छ
खुसी छु मात्रै भनेर कहाँ हुन्छ र
विभिन्न संजालमा
लेख्नु अनि लेखाउनु पर्छ
खाएको लाएको पस्किनु पर्छ
सेल्फी हानेर मस्किनु पर्छ
लाइक, कमेन्ट गनेर ठस्किनु पर्छ
त्यसैले त म भित्रैदेखि
खुसी हुन सकेको छैन
अनि
जलन ईर्ष्याले बेलाबेला
चसक्क चस्किनु पर्छ।
पहिला-पहिला हामी सबैले बुझेको त्यही हो
परिवार सुख हो, सन्तान सुख हो
आफन्तजन र छरछिमेकको माया सुख हो
अनि
सन्तोषम् परम् सुखम् हो
तर आजभोलि त समय फेरिएछ
सम्बन्धहरू
अनावश्यक जालोले घेरिएछ
त्यसैले त हुन थालेको छ आजभोलि
भाइरलम् धन सम्पन्नम्
भाइरलम् मन प्रसन्नम्!