इच्छा त मेरो त्यही हो
संसारकै सबैभन्दा लाटो
ग्वाचे अनि मूर्ख भई जीउने
त्यसैअनुसार जीउँदै पनि छु
फेरि पनि नियतीले बेलाबेलामा मलाई त्यहाँ डोर्याउँछ
जहाँ मान्छेहरू भन्ने गर्छन्
तिमी अति नै लाटो भयौ, तिमी बाठो हुनुपर्छ
अब यहाँ म एउटा क्याजुअल पार्टीमा छु
हातमा बियरको बोतल लिएर एउटा भलाद्मी मेरो सामुन्ने उभिएका छन्
एउटा बोतल मतिर बढाउँदै उनले मसँग हात पनि मिलाउँछन्
र हात जोडले अठ्याएर उनी बोल्छन्-
नाइस टु मिट यु
मेरो अनुहारमा के लेखिएको छ थाहा छैन
उनलाई के लाग्यो त्यो नि थाहा छैन
तर आफ्नो मुख मेरो कान नजिक ल्याएर केही हावा छोड्छन्-
भाइ हात मिलाउँदा अलि जोडले अठ्याउनू
हैन भने सामुन्नेको मान्छेलाई लाग्नसक्छ तिमी कमजोर रहेछौ
आफ्नो आत्मविश्वास दुनियाँको अगाडि देखाऊ
हामी किन कसैसँग हेपिने!
यो सुनेर मलाई अचम्म लाग्यो
र मैले पनि आफ्नो मुखलाई उनको कान नजिक लगेरै केही हावा छाडेँ-
पहिला मलाई यो भाइ भन्न बन्द गर
अनि मैले जसरी तिमीसँग हात मिलाएँ
त्यो नजानेर हैन
किनकी मेरो प्रकृति नै यही हो
म आफूलाई आत्मविश्वासी देखाउन, बलियो छु भन्न
अरु कसैलाई पीडा दिन सक्दिनँ
जसरी भर्खरै हड्डी नै भाँचिने गरी तिमीले मेरो हात दुखायौ
म चाहन्छु यो दुनियाँको कोही पनि मसँग नडराऊन्
सबैले मलाई हेपून्
कसैलाई रिस उठेको छ
मलाई दुई मुक्का, दुई लात हानून्
यदि उनीहरूको रिस मर्छ भने
म केही बोल्दिनँ, बरु मुस्कुराइदिन्छु
त्यसपछि थाहा छैन के भो
उसले मसँग छुट्टिने बहाना खोज्यो
पर कुनामा कोही देखेजस्तो चिनेजस्तो गर्दै
ऊ त्यहाँबाट लस्कियो
बेलाबेलामा मेरो नजर उसको अनुहारमा ठोक्किरहन्थ्यो
म मुस्कुराउँथेँ, हात उठाउँथेँ
तर उसले आफ्नो मुन्टो लुकाइरह्यो।