ऊ मेरो साथीकै मामाकी छोरी थिई। एक हप्ताको लागि एउटा मार्केटिङ प्रोजेक्टको क्रममा हाम्रो भेट भएको थियो। पहिलो दिन कुन पहिरन लगाएकी थिई ठ्याक्कै याद छैन तर फाइबर ब्यागमा पानी र छाता बोकेकी थिई।
भर्खर पहाडको चिसो हावा खाएर आएकी केटी एक्कासी यस्तो गर्मीमा पसिना-पसिना भएकी थिई। त्यही पनि छाताको सहाराले छाला डढ्न भने दिएकी थिइन। पसिनाको तपतपसँगै केही गह्रुंगा पाहिलालाई जबरर्जस्ती लतारिरहेका थियौँ हामी।
घाम र हिँडाइबाट थकान भएकी उसलाई अझ मेरा ती लगातारको प्रश्नले ऊ दिक्क मान्दै एकोहोरो जवाफ दिइरहेकी थिई। उसको जवाफले ऊ धेरै बोल्न नचाहेको स्पष्ट संकेत गर्थ्यो तर म बोलाउन छाड्ने थिइनँ। कति बेला त यस्तो लाग्छ कि घामको किरण, त्यो सिमेन्टी गरेको बाटो र मेरो बोलीले उसलाई एकनास प्रहार गरेर गलाइरहेको छ।
म प्रश्न सोध्छु, ऊ उत्तर भन्छे तर मलाई प्रश्न सोध्दिनँ। उसको लागि म छिमेकीले बजाएको रेडियो जस्तो भएको थिएँ, न त बन्द गर्न मिल्ने न त भागेर कतै जान मिल्ने। म ऊबाट प्रश्नको अपेक्षा गर्छु तर ऊ एकोहोरो उत्तर मात्र फर्काउछे। म जवाफ माग्छु त ऊ दिन्छे। म चुप हुन्छु त ऊ पनि चुप हुन्छे।
जब म केही समय नबोल्दा उसको प्रश्न आउने आशामा एक/दुई मिनेट वातावरण एकदम मौन हुन्छ। ऊ केही बोल्दिन र आफ्ना प्रतिबद्धतालाई दागबत्ती दिँदै आफू पराजित भएको आभासले आफै प्रश्न सोध्छु, ऊ उत्तर दिन्छे तर प्रश्न सोध्दिन। यो क्रम जारी रहन्छ।
हामी घर-घर जान्थ्यौँ र उनीहरूको घरमा कुन ट्वाइलेट क्लिनर, किचन क्लिनर, सिसा क्लिनर प्रयोग गर्छन् भनेर सोध्थ्यौँ र छुट्टाछुट्टै बसेर मोबाइलमा टिपोट गर्थ्यौं।
केही समय काम गरेपछि साँझ हुन लाग्यो। हामी अब छुट्टिनु पर्ने भयो। एकदिनको भेटमै म कति नजिकिन पुगेछु। अब एकैदिनमा छुट्टिन गाह्रो पर्ने। तैपनि म उसलाई लामो-लामो बाटो हिँडाउँथेँ र ऊसँगको पल लम्बाउन खोज्थेँ। उसलाई कर गर्थें केही समय बसौँ न भन्दै। उसले इन्कार गर्थी, मानोस् पनि किन?
'ल है मणिग्राम, भलवारी, कोटिहवा, भैरहवा, सुनौली' भन्दै खलासी दाइले आफ्नै प्राकृतिक माइकको सहाराले भनिरहे। ऊ त्यही गाडीको सिँडीबाट माथि उक्ली र मन्द मुस्काल 'ल गएँ है' भन्दै मलाई बिदा टक्राई।
म पनि केही उछिट्टिएका दाँत देखाएर, अनुहारको पीडालाई लुकाएर 'पुगेपछि कल गर है’ भनेँ।
ऊ अब गाडीभित्र मानिसको हुलमा मिसिई। बस विस्तारै हिँड्यो, मेरा आँखाले पनि उहीँ बसलाई पच्छाइरह्यो। एकैछिनमा बस देखिन छाड्यो। ऊतिर कष्ट गरेर हेरिरहेका मेरा आँखाले विश्राम पाए र मेरा खुटा आफ्नो गन्तव्य तिर सोझिए।
गोजीबाट बटारिएको इयरफोनलाई कष्ट गरेर फुकाउन थालेँ। जति गर्दा पनि पूरै नफुकेपछि त्यही अलिअलि अल्झिएको इयरफोन मोबाइलमा घुसारे र फत्तेमानराज भण्डारीको 'यस्तो पनि हुँदो रहिछ जिन्दगीमा कहिले कहिले' गीतमा झुम्दै, डुब्दै, उसैलाई सम्झिँदै म कोठामा पुगेँ।
दुई दिनपछि हाम्रो पुनः भेट भयो। पहिलो दिनजस्तै पुरानै कृया नै दोहोरियो। पहिलेको जस्तै गर्मी, पहिलेको जस्तै घर-घर जाने र डाटा लिने अनि छुट्टाछुट्टै बस्ने। पहिलेको जस्तै म धेरै बोल्ने ऊ उत्तर मात्र दिने, प्रतिप्रश्न नगर्ने। बस पहिलेको भन्दा फरक थियो त केबल हाम्रो सम्बन्ध।
पहिलो दिन अन्जान ऊ आज भेट्दा आफ्नै मान्छे भेटेजस्तो लागिसकेको थियो। को हो, कसरी भेट्नेबाट कति बेला यी आँखाले उसको अनुहार हेर्न पाउँला र यी कानले उसको बोली सुन्न पाउँला भैसकेको थियो या भनौँ छोटो समयमै म ऊसँग एक किसिमको नजानिँदो तरिकाले आत्मीय महसुस गर्न थालिसकेको थिएँ।
पहिलेभन्दा अलि जिस्काउथेँ, नजिक हुन खोज्थेँ। ऊ मन्द मुस्कान छर्थी। उसको मुस्कानले जिस्काउन चाहिँ थप प्रेरित गर्थ्यो। मैले आफू पसिनाले पूरै भिजेको देखेको थिएन तर ऊ अनुहारको अलिअलि पसिना रुमालले पुछ्थी। घामले उसलाई निकै नै गाह्रो भएजस्तो लाग्थ्यो। यसलाई यस्तो काममा लगाएर मैले गल्ती गरेँ, उसलाई पीडा दिएँ कि जस्तो आभास हुन्थ्यो।
बेलाबेलामा सोच्थेँ, मजस्ता साथीहरू केटीलाई बाइकमा घुमाउँछन्। म घाममा छाता ओढ्दै बाटोमा पसिनाको रेखा कोर्दै उसलाई हिँडाइ राखेको छु। अरु साथी महङ्गो रेस्टुरेन्टमा लैजान्छन्, म उसलाई दिनभर समोसा र त्यही २० रुपैयाँको चियामा टारिरहेको छु।
बेलाबेला आफैलाई हेर्थें र लाग्थ्यो, कतै ऊ मसँग असहजिलो त महसुस गरेकी छैने? म उसलाई असहज भए नभएको सोध्थेँ तर उसले असहज नभएको भन्थी। तर यदि असजिलो भए पनि कसरी भनोस् विचरीले!
म ऊसँग जिस्कन्थेँ, ऊसँग नजिकिन खोज्थेँ, मलाई ऊतिर तानिरहेको थियो तर बीचमा हाम्रो सम्बन्धको ठूलो पर्खाल खडा हुन्थ्यो। मलाई मन थियो उसको हात समाएर हिँड्न, मलाई मन थियो एक किसिमको मायाको स्पर्श लिन तर म उसको मायामा नजानिँदो तरिकाले परे पनि ऊ मलाई साथी नै सोच्थी र म पनि उसलाई साथी नै भन्थेँ।
म सोध्थेँ- यदि मैले तिमीलाई प्रपोज गरेँ भने तिमी के जवाफ दिन्छौ नि?
ऊ 'म लभमा बस्दिनँ’ भन्थी।
'हुन त ममा के नै छ र है तिमीले माया गर्न, मन पराउन' भनेर आफूलाई सानो बनाएर प्रश्न गर्थें।
उसले 'हैन! म कसैलाई नि माया गर्दिनँ, पहिलो मायाले धेरै कुरा सिकायो म मागी विवाह गर्ने’ भनेर केही कुटनैतिक र केही मलाई सहानुभूति मिश्रित जवाफ फर्काउथी।
ऊ हिँड्न गाह्रो मान्थी तर म उसलाई जबर्जस्ती हिँडाउन खोज्थेँ। छोटोभन्दा पनि लामो बाटो हिँडाउँथेँ। सधैँ लामा-लामा पाइला सार्ने म ऊसँग छोटाछोटा पाइला अघि सार्थें। ऊ मभन्दा अघि बढ्थी र मलाई पर्खेर 'केटा भएर नि कस्तो हिँड्न नसकेको' भनी मलाई गिज्याउन खोज्थी तर मलाई खेल बराबरी भएर खेललाई इन्जुरी समयमा लान थियो। मलाई अझै लामो समय ऊसँग बिताउन थियो।
यसै गर्दै ऊसँगको चार दिन पूरा भयो। आज उसको अन्तिम दिन थियो अर्थात् भोलि अर्को साथी मसँग आउने थिइन्। उसलाई भोलि पनि तिमी नै आऊ भनेर बिन्ती टक्राएँ तर उसले साफसाफ अस्वीकार गरी। ऊ भैरहवा बस्थी भने म बुटवल। केबल ऊसँग कुरा गर्नकै लागि ऊसँगै बसमा जान्थेँ ऊ मलाई नकार्थी। हामी भैरहवा झर्थ्यौं। ऊ कोठामा जान्थी म भने जेब्राक्रश गर्थें र बुटवल फर्कन्थेँ।
उसको अभाव हुँदा म उसको गहिरो प्रेममा रहेको बल्ल आभास पाएको थिएँ। चार दिनमै म ऊसँग कति नजिकिएको रहेछु, अब त म ऊबिनाको दिनहरू शून्य-शून्य लाग्न थालिसकेको थियो। उसको आवाज सुन्न मन लाग्थ्यो। उसलाई हरपल हेर्न मन लाग्थ्यो।
उसलाई अर्को दिन भेट्न विशेष समय मागेँ। उसले केही समय नाई-नास्ती गरे पनि अन्तिममा मलाई एकैछिन भेट्न राजी भई।
ऊ भेट्ने कुराले मनमा एक किसिमको उमंग छाएको थियो। तर म उसलाई मनको कुरा भनुँ कि नभनुँ भन्ने कुराले दोधार बनाएको थियो। म सधैँ आफूलाई ऊ सामुन्ने कमजोर नै ठान्थेँ। उसले मभन्दा धेरै राम्रो केटो पाउन लायक छे जस्तो लाग्थ्यो।
एक त विवाह हुन उमेर पुगेकी केटी अनि म जसको अहिलेसम्म केही छैन। यदि मेरो प्रपोज एसेप्ट नै गरे पनि मैले उसलाई खुसी बनाउन सक्दिनँ जस्तो लाग्थ्यो। लभ परे पनि विवाह गर्ने तत्काल अवस्था नभएकोले उसलाई धोका दिने अवस्था आए म कहिल्यै आफूलाई माफ गर्ने थिइनँ। उमंग सँगसँगैको त्यो उकुसमुकुसले मलाई पसिना-पसिना बनाएको थियो।
अझ त्यति राम्रो साथी मैले प्रपोज गर्दा गुमाउन सक्ने खतरा त छँदै थियो। त्यही पनि मेरो स्वभावैले म कुनै पनि कुरा दबाएर राख्न सक्दिनँ। कुनै न कुनै समयमा त्यो बिस्फोट भएरै छाड्छ।
ऊ र म एक रेस्टुरेन्टमा भेट भएका थियौँ, कोठाभित्र ऊ र म मात्र थियौँ। पहिला केही रमाइलो गर्न खोज्ने म आज ऊसामु एकदम भावुक महसुस गरेको थिएँ। उसको बोली सुन्दा, उसलाई हेर्दा नै खै किन हो म भावुक हुन्थेँ।
ढोका ढकढक पार्दै वेटर आयो र के लिनुहुन्छ भन्यो। मैले मेनु सरर पढेजस्तो गरेँ र सधैँजसो मःम र स्प्राइट अर्डर गरेँ।
उसलाई हेरेँ, ऊ केही नर्भस देखिन्थी। मेरो सामुन्ने बसेकी उसलाई मैले आफ्नो नजिक बोलाएँ। तर उसले इन्कार गरिरही। धेरै कर गरेपछि ऊ मेरो छेउ आउन तयार भई। उसको हात टेबलमा राख्न भनेँ। उसको हत्केलामा मेरा हात राखेँ। उसको अनुहारमा हेरेँ। उसले केही अप्ठ्यारो महसुस गरिरहेकी थिई। हात हटाउन खोजेजस्तो, मुन्टो निहुँराएजस्तो। तर पनि मैले उसलाई हेरेँ, उसले मुन्टो अर्को दिशातिर फर्काई।
लाग्छ त्यतिबेला मेरा आँखामा आँसु झर्न ठिक्क थियो, मुटु ढुकढुक गरिरहेको थियो, एककिसिमको डर र उकुसमुकुसले भरिएको थियो। आँखा चिम्म गरेँ र गुम्सिएका भावनाहरू ऊसामु खन्याउने कोसिस गरेँ।
'मलाई थाहा छ म तिम्रो लागि डिजर्भ नै गर्दिनँ तर म तिमीलाई नभनी बस्न सक्दिनँ, तिम्रो मायामा कसरी परेछु थाहा नै छैन। म तिमीलाई मन पराउँछु...।'
मेरो प्रस्तावले ऊ सिथिल र राती पिरी भई। उसले केही शब्द पनि निकालिन। अघिसम्म अलिअलि भए पनि बोल्ने ऊ अब चुप थिई, ऊ मलिन थिई, ऊ अप्ठ्यारो मानिरहेकी थिई।
ढोका ढ्याक-ढ्याक भयो। मैले उसको हातबाट मेरो हात हटाएँ।
वेटरले मःम र स्प्राइट दियो। उसले मेरो प्रेमको मौन अस्वीकार गरी। उसलाई गाह्रो भएको महसुस गरेँ। उसलाई पहिलाको ठाउँमा गएर बस्न आग्रह गरेँ। उसले मुन्टो झोक्राएकी थिई। म पनि केही अँध्यारो र पानी पर्न लाएर धुम्म भएको मौसम जस्तो अनुहार लिएर बसेको थिएँ।
'किन, के भयो? दुखी बनाए जस्तो लाग्यो क्या तिमीलाई?' मैले अवस्था सामान्य बनाउन खोजेँ।
'त्यो त लागिहाल्छ नि, मेरो कारणले कसैलाई दुखी बनाउन पर्यो भन्ने,' उसले उत्तर दिई।
'धत्! त्यस्तो नि सोच्छन्? प्रपोज त कतिले गर्छन् नि अनि सबैलाई एसेप्ट गर्न सकिन्छ त! मःम खाऊ खुरुक्क।'
मःम दुवैलाई मन पर्थ्यो, भोक पनि लागिरहेको थियो, मिठो पनि होला। तर खै त्यो मःम यस्तो लागिरहेको थियो कि कसैले सजाय सुनाएर जबर्जस्ती खान भन्दैछ र हामी त्यही सजायको भागिदार बनिरहेका छौँ।
म उसलाई रिलेसनमा नबसे पनि राम्रो साथी त बन्न सक्छौँ नि भन्थेँ। ऊ त्यसमा मलाई विश्वस्त तुल्याउथी। हामी खाना खाएपछि बाहिर निस्क्यौँ, केही समय हामी अडियौँ। मलाई उसलाई बिदाइ गर्न पटक्कै मनले मानेको थिएन। मलाई थाहा थियो यो हाम्रो अन्तिम भेट हुनेछ भनेर। साथी बन्छु भने पनि ऊ मसँग मेसेजमा र फोनमा बोल्ली भन्ने संकोच नै पैदा थियो।
ऊ बिदाबारी भएर चोकसम्म बस भेटाउन हिँडी। उसले मलाई पछाडि फर्केर हेर्छे कि भन्ने आश थियो तर त्यसो गरिन। म उसलाई हेरिरहेको थिएँ, उसका पाइला-पाइला गनेको थिएँ। ऊ त्यहाँ हिँड्डा मेरा हृदयले उसको आवाज सुनिरहेको थियो। लाग्छ उसले फेरेको श्वास म अनुभव गरिरहेको थिएँ। म पनि रुममा जानलाई फर्किएँ। तर खै मनले मानिरहेको थिएन।
म डौडिएँ यसरी कि १०० मिटरको डौडमा भाग लिएको छु। मलाई मान्छेले अचम्मले हेरिरहेका थिए। लाग्छ उनीहरूले कुन पाखे रहेछ भनिरहेका थिए। मलाई त्यसले केही फरक पार्ने कुरा थिएन। मैले वास्ता गरेको थिइनँ। मलाई बस् मेरो मायालाई भेटाउनु थियो। बस् उसलाई फेरि अन्तिम पटक माया पोख्नु थियो। मलाई उसको मायाको गुरुत्व बलले तान्यो, म ऊतिरै हुत्तिएँ।
'किन के भयो र?,' उसले आत्तिएको भावमा भनी।
'कस्तो बिर्सिएको, मलाई नि भैरहवा पुग्नु थियो,' स्वास्वा गर्दै बसमा चढेँ।
सत्य के भने मलाई ऊसँगै केही समय व्यतीत गर्नु थियो। ऊसँगको त्यो स्वर्गानुभूति हुने पललाई अझै लम्बाउन थियो। ऊसँगको त्यो अन्तिम पल स्पर्शले मायाको अनुभूति गर्ने मसँग अधिकार नभए पनि ऊसामु मेरो भावना र मेरा हृदयदेखिका शब्दले म माया पोखिरहेको थिएँ।
ऊ बस् मेरो कुरा उदासिन हुँदै सुनिराखेकी थिई। ऊ मसँग यस्ता कुरा नगर्नू भनेर भन्नसकेकी थिइन। ऊ सुनोस् नसुनोस्, म जबर्जस्ती आफ्नो माया पोखिरहेको थिएँ तर ऊ त्यसलाई उठाएकी थिइन। बरु त्यसलाई नै कुल्चिरहेकी थिई।
म बुझ्छु कुल्चनु पनि उसको बाध्यता थियो। म उसलाई तिमीले गल्ती नगरेको भनेर सम्झाउथेँ र कमसेकम साथी बनेर बोल भनेर म उसलाई भिख माग्थेँ। उसले त्यसमा आश्वस्त पार्थी।
कति छिटो भैरहवा आइपुगेछ। ऊ बसबाट ओर्ली, म अगाडिको चोकमा ओर्लिएँ। पहिलाको जस्तै जेब्राक्रसिङ गरेँ अनि उतिबेलै बुटवलतिर फर्किएँ। फर्किँदा बसमा आँखा चिम्म गर्दै काल्पनिक दुनियाँमा रमण गरेँ। म उसलाई आँखाले भ्याउन्जेल हेरिरहेँ। आँखाले देख्न छोडेपछि पनि आफै काल्पनिक ठाउँ बनाउँदै त्यसमै ऊ हिँडिरहेको चित्र आँखामा सम्झन्थेँ।
जाँदा मसँग मेरो सबैथोक थियो, म पूर्ण थिएँ तर फर्कँदा म एक्लो। ऊसँग हुँदा वर्तमानमा रमाउँथेँ तर अहिले वर्तमानमा कम, भूत र भविष्यमा ज्यादा बाँचिरहेको थिएँ। लागिरहेथ्यो उसलाई छोडेर फर्कँदै छु तर ऊ अब कहिल्यै पनि मसँग हुने छैने। हामी अब कहिल्यै घाममा पसिना चुहाउँदै हिँड्न पाउने छैनौँ। उसलाई जिस्काउन पाउने छैन। शब्दले भए पनि माया पोख्न पाउने छैन। ऊ मबाट गई तर उसका यादहरू जीवित छन्, ताजा फिल्म बनेर आँखामा प्रदर्शित हुन्छन्।
उसले मेरो प्रेमको अस्वीकार गर्दा केही दुखी भए पनि आफूलाई हलुका महसुस गरेको थिएँ। उसबाट मैले उपयुक्त उत्तर नपाए पनि कम्तीमा मेरा केही प्रश्न सकिएका थिए तर ती पूर्ण भने थिएनन्।
म उसलाई मेसेज गर्थें, ऊ एकोहोरो मेसेज रिप्लाई गर्थी। म फवनको प्रस्ताव गर्थें, ऊ साफसाफ इन्कार गर्थी। तपाईंले कर गरे ब्लक गर्दिन्छु भन्ने धम्की दिन्थी। ऊ सुन्न चाहने थिइन तर म आफ्नो सबै कुरा, सबै पीडा सेयर गर्थें। अनि एकै छिनमा पछुताउथेँ।
जसले मलाई सुन्दैन, जसले मेरो आँसुलाई अपमान गर्छ, त्यसलाई म किन आफ्नो पीडा सुनाइरहेको छु? तर जब ऊ मसँग जुनसुकै माध्यमबाट जोडिन्थी, म ऊसँग एकदम भावुक हुन्थेँ र सबै पीडा सुनाउथेँ।
मैले दश पटक उसको नाम लिएर बोलाउथेँ, उसले एकपटक हजुर भन्थी अनि अर्को प्रश्नको जवाफ दिने थिइन। म सायद एक करोडको चिट्ठा परे पनि त्यति खुसी हुँदिन थिएँ होला जति मैले १० पटक उसको नाम लिएर बोलाउँदा एक पटक हजुर भनेर रिप्लाई आउथ्यो।
उसलाई म आफ्नो बनाउनको लागि पछि परेको थिइनँ, बस् साथी बनेर बोलोस्। मलाई उसलाई आफ्नो बनाउने आँट थिएन, बस् उसको बोली सुन्नु थियो। ऊसँग सबै पीडा सुनाउनु थियो। मलाई उसैगरी ऊसँग हराउनु थियो तर खै उसले मेरो कुरो बुझ्ने थिइन।
ऊ विस्तारै मबाट टाढिन्छे। मेसेन्जर, फोन, ह्वाट्सएप सबैतिरबाट मलाई ब्लक गर्छे। म आफूलाई थाम्न सक्दिनँ, उसैको मेसेज बक्समा गएर मेसेज गर्छु, व्यस्त भने पनि दिनमा दुई/चार पटक फोन गर्छु लाग्छ।
म महिनाको १० दिन जति भैरहवा जान्थेँ। उसको दाइको पसल बाटोमै पर्थ्यो। उसलाई सम्पर्क गर्ने मसँग कुनै माध्यम थिएन। म उसको पसल भएकोतिर झ्यालको सिट पाए मात्र सिटमा बस्थेँ नत्र जति घन्टा पनि गाडी कुर्न तयार हुन्थेँ। जब-जब उसको पसल नजिक आउन थाल्थ्यो, उसलाई देख्न पाइने आशले नजर सिसा बाहिरबाट एक सेकेन्ड पनि हटाउने थिएन।
एकदिन त्यस्तै झ्यालबाट हेरिरहेको थिएँ, ऊ पसलमा बसेर अरु साथीसँग कुरा गरिरहेकी थिई। गाडी केही समय रोकियो, उसलाई हेर्न पाएँ। ऊ कति खुसी देखिन्थी, राम्रीको त कुरै नगरौँ। म उसलाई सिसाबाट हेरिरहेको थिएँ। उसले पुलुक्क मुन्टो मतिर फर्काई, मैले पनि सिसाबाट मुन्टो हटाएँ।
धेरै समय यसरी नै हिँडेको छु। त्यसपछि एक/दुई पटक झलक्क देखेको थिएँ। पछि पसलमा ऊ देखिन छोडेको पनि धेरै भएको थियो। पसलमा उसको दाइ मात्र हुने गर्नुहुथ्यो। त्यही पनि म उसलाई हेर्न पाइने आशमा झ्यालमा बस्न छाडेको थिइनँ।
तर पछि त्यो पसल बन्द देखिन्छ। सटर बन्द भएको धेरै महिना भयो, म अझै पनि उसलाई देख्छु कि भनेर उसैगरी यात्रा गर्छु तर सटर बन्द नै हुन्छ। बन्द सटर हेर्दा पनि ऊ त्यहीभित्र साथीसँग हाँसिहाँसी कुरा गरेको झलझली आँखा वरिपरि घुम्छ।
यसरी नै वर्षौं भयो, बाटोमा हिँड्दा ऊ देखिन्छे कि जस्तो लाग्छ। मोबाइलको रिङ बज्दा उसको फोन आयो कि जस्तो लाग्छ। आँखा बन्द गर्दा ऊ मेरो नजिकै याद बनेर आउँछे, उसको छायाले मलाई पछ्याए जस्तो लाग्छ।
आशा छ एकदिन उसलाई यी आँखाले कसो नदेख्ला! झुक्किएर भए पनि उसको फोन कसो नआउला! कुनै दिन त ऊ पनि मसँग कुरा गर्ली, मेरा दबिएर रहेका र अनुत्तरित प्रश्नहरूको उत्तर म कसो नपाउँला!
धेरै वर्ष भयो तर अझै पनि उसलाई देख्न पाइने आशामा उसको दाइको पसलमा बसबाट चियाइरहन्छु। लाग्छ एकदिन त उसलाई सटरभित्र उसैगरी मुस्कुराएको कसो नदेखुँला!