आकासै छुने सपना थिएनन् उसका, उसले त केवल जीवन धान्ने उपाय मात्र खोजेको थियो तर त्यसको पनि कुनै उपाय फेला परेन र ऊ परदेश जान बाध्य भएको थियो। बिदाईको क्षण अत्यन्त भारी थियो, ऊ भावुक भएर मालतीलाई सम्झाउँदै थियो।
‘पिर नगर मालती! बेला-बेला भिडिओ कल गरौंला। तिमी र त्यो कलिलो बाँसको मुनाजस्तो छोरादेखि टाढा म कसरी बाँच्न सक्थें र? थोरै बन्दोबस्त भयो भने फर्किहाल्छु नि!’
मालती बोल्नै सकिनन्, केवल जलमग्न आँखाले हेरिरहिन्। ऊ आफैं भावविह्वल थियो, असीम मायाले उनलाई एकपटक अंगालोमा बाध्यो, उनी हिक्कहिक्क गर्दै रूँन थालिन्, ऊ किंकर्तव्यमुढ भयो तर बाटो नलागी सुख थिएन। आखाका आँसु पुछ्दै ऊ कोठाबाट निस्क्यो।
बिहानैदेखि आँगनमा मयूरी टेम्पो खडा थियो। दोमन-दोमन गर्दै ऊ त्यसमा चढ्यो र मयूरी धुलो उडाउँदै अगाडि बढ्यो।
ऊ फर्की-फर्की हेर्दै थियो तर मिनेट भरमै मयूरी ओझेल पर्यो र अन्तिम पटक अनुहार हेर्ने दुबै जनाको रहर अधुरै रह्यो। त्यसपछि मालतीलाई आफ्नो संसारै अँध्यारो भएझैं लाग्यो।
उनको मन मान्दै मानेन। आँगनको डिलमा आइन् र मयूरी जाने बाटोमा आँसुले भिजेका नजर बिछ्याइन्, हेर्दाहेर्दै मयूरीले सातघुम्ती काट्यो र पर भन्जाङमा पुगेर आँखाबाट हरायो, त्यसपछि उनको छातीमा भक्कानो पर्यो, दौडेर कोठामा गइन् र ओछ्यानमा घोप्टो परेर रूँन थालिन्। आँखा वरिपरि उसैको अनुहार नाँचिरहेको थियो, भारी मनले आफैंसँग सोधिन्।
‘अब ऊ कहिले फर्केर आउला ?’
आफ्नै प्रश्न, आफैंलाई फलामे काँडा रोपिएजस्तै गरी रोपियो। आहत भएर पाँच महिने छोरालाई काखमा लिइन्, भावुक भएर उसलाई हेरिन्, ऊ हात खुट्टा फालेर हाँस्न थाल्यो, त्यो निश्छल हाँसोले उनलाई रूँन न हाँस्नुको अवस्थामा पुर्यायो।
छोरा काखमा बसेर दूध पिउँदै थियो। उनी झ्यालबाट बाहिरतिर हेर्दै टोलाउँदै थिइन्, पर क्षितिजबाट एक हुल चराहरू उड्दै आए र उनको आँखा अगाडिबाट पार भए, चराहरुको त्यो उडान देखेर भावुक हुँदै मनमनै सोचिन्,
‘अहिलेसम्म उडेर कुन देशमा पुगिसक्यो होला राम पुकार पनि!’
घाम डुबिसकेको थियो, उनले आँखा चिम्म गरिन्, सम्झनाका लस्करहरू मानसपटलमा सलबलाए।
उनले सम्झिन्, उनी एघार कक्षामा पढ्दै थिइन्, राम पुकार उनकै गाँउ जोगबनीमा मजदुरी गर्न आएको थियो। ख्याल ख्यालैमा उनीहरूको चिनजान भयो। कुराकानी बढ्दै गयो र थाहै नपाई उनीहरूको सम्बन्ध प्रगाढ भयो।
उनको कलिलो उमेर, ऊ नेपाली केटा! बिहे हुने कुनै संभावना थिएन तर ऊबाहेक उनको जीवनको अर्को कुनै सपना थिएन।
एक दिन झिसमिसेमै उसैसँग उनी घर छोडेर भागिन्। त्यससँगै जीवनमा आमूल परिवर्तनका रेखाहरू कोरिए। बुवाआमा मरिसकेका थिए, दाजुभाइले कहिले पनि मरे बाँचेको खबरसम्म लिएनन्।
तिनै सम्झनाहरूले कक्रक्क पारेर अठ्याउदै थिए, सासूले किचेनबाट बोलाइन् र त्यो आवाज सुनेर उनको तान्द्रा टुट्यो र झसंग हुँदै उनी त्यतै लागिन्।
सासूको अनुहार पनि गहिरो उदासी थियो। आँखाहरू उस्तै ओसिलै थिए। पीडामा चुर्लुम्म डुबेका ती दुई प्राणीहरूले एक अर्काको अनुहार हेर्न पनि सकेनन्। निकैबेर सन्नाटा छायो, त्यसपछि सासूले मनको बह पोख्दै भनिन्।
‘देशमै कुनै इलम पा’को भए किन डाँडो काट्न पर्थ्यो र मेरो छोराले!’
सासूका कुराले पीडामाथि झन् पीडा थप्यो, सहन नसकेर त्यहाँबाट हिँडिन् र ओछ्यानमा गएर डंग्रङ्ग ढलिन्। आँसुले टिलपिलाएका नजरहरू, पोहोर साल गढीमाइमा खिचेको तस्वीरमा पुगेर रोकिए।
त्यो सुन्दर तस्बिरमा उनी लजाउँदै मुस्कुराएकी थिइन्, राम पुकारले उनलाई अंगालो हालेको थियो।
तस्बिरबाट निस्केर ऊ फेरी अंगालो हाल्न आउला जस्तो भ्रान्ति भयो र उनले सिरकले मुख छोपिन् तर मनमा तर्कना चल्न छोडेका थिएनन्, त्यो रात पूरै छटपटीमा बित्यो।
समय बित्दै गयो, सासूको मातृवत् व्यवहार र लोग्नेसँगको नियमित भिडिओ कलले जीवनको उत्साहमा कमी आएको थिएन। दुर्भाग्यबस एकदिन सासू गम्भीर बिरामी परिन् र उनको मुटुको भल्ब फेर्नुपर्ने भयो।
उनका सबै गरगहनाहरू पनि बेचिए, सौभाग्यको निशानी एउटा मंगलशूत्र बाँकी थियो, त्यै पनि नमासी सुख भएन, त्यो बेचेको दिन उनलाई सही नसक्नु पीडा भयो।
समय जसोतसो बित्दै थियो, एक दिन साँझ मोबाइल हेर्दै थिइन्, मेसेन्जरमा केही म्यासेजहरू थिए, एउटा म्यासेज रामपुकारको साथी मोहनको थियो।
मोहन उनलाई शालिन लाग्थ्यो र मेसेन्जरमा कुराकानी पनि हुन्थ्यो तर विदेश गएदेखि मोहन पनि बदलिएको थियो र म्यासेजमा ‘भाउजू’ बाट ‘मालती’ लेख्न थालेको थियो। उसले लेखेको थियो।
‘मालती! ऊ चाहिँ विदेशमा को-कोसँग मस्ती गर्दो हो! तिमी किन आफ्नो इच्छा मारेर बस्छ्यौ? जवानी ढल्केपछि त कसैले पनि हेर्दैन है! हामी पनि छौ हौ सम्झेदेखि!’
म्यासेजमा उसको दुरासाय प्रष्ट थियो, मन तम्तमिलो भयो र आफ्नो भ्रमित विश्वासप्रति ग्लानि पनि भयो।
लोग्ने विदेशमा भएका सबै महिलाहरू यौनिक नजरले मात्र हेर्ने दुषित पित्तृसत्तात्मक सोचप्रति घृणा लाग्यो, मोहनलाई त उनले सजिलै बल्क गरिन् तर हरेउ सर्पजस्ता अरू मोहन प्रवृत्ति सम्झेर मनमा गहिरो पीडा भयो।
दिनहरू निकै अप्ठ्यारोसँग बित्दै थिए, त्यसदिन राति पनि ससुरा रक्सीले ज्यादै मातेर घर आयो, ऊ भित्ता समाएर उभिएको थियो। ससुरालाई छुन असजिलो लाग्दै थियो तै पनि संकोच मानी-मानी उनले सहारा दिइन् तर ऊ अस्वाभाविक ढंगले शरीरमा टाँसिदै गयो। उनको मनमा चिसो पसिसकेको थियो तै पनि उनले कोठासम्म पुर्याइन् र फर्केर आफ्नै कोठामा आइन्।
उसको अकल्पनीय व्यहार सम्झेर मन अमिलो भयो, कोठामा सुत्न आँट आएन र उनी सासूकै कोठामा सुत्न गइन्, उनी निदाइसकेकी थिइन्, विस्तारै गएर उनले खाटमुनि ओछ्यान लगाइन् र छोरो च्यापेर सुतिन्।
आँखामा निन्द्रा थिएन, मनमा कुराहरू खेलिरहेका थिए, आधाराततिर कोठाको ढोका खुल्यो, अर्धनग्न रूपमा ढोकामा ससुरा उभिएको थियो, त्यो देखेर उनको सातो गयो। उसले निर्लज्ज भएर दबेको आवाजमा भन्यो- ‘म तिम्रो कोठामा गएको थिएँ, तिमी त यहाँ पो रहिछौ! हिँड आफ्नो कोठामा!’
कुरा सुनेर उनी स्तब्ध भइन्! ऊ आशक्त नजर हेर्दै थियो, सासूले अचानक निन्द्रैमा खोकिन्, त्यसपछि ऊ बिरालोको चालमा फर्कियो तर उनलाई भने उसकै डरले छोडेन र त्यो रात पनि कोल्टे फेर्दाफेर्दै बित्यो।
भोलिपल्ट बिहानै ऊ घरबाट निस्कियो तर उनलाई भने दिनभरि उसकै त्रासले छोडेन। घाम डुब्दै थियो तर उनको आँगमा काँडा उम्रिँदै थिए, तर अचम्म! त्यसदिन ऊ रक्सी नपिइकन घर आयो, मालतीसँग पनि मर्यादित भएर बोल्यो। ऊ कसरी सुध्रयो भन्ने सोचेर सासू बुहारी नै छक्क परे। अझै उसले रक्सी छोडेको कुरा पनि सुनायो, त्यो सुनेर उनीहरूको खुसीको सिमाना रहेन, घरको वातावरण नै उत्सवमय भयो।
भोलिपल्ट बिहानै उनी जानकी माताको दर्शन गर्न गइन्। पालो कुर्दाकुर्दै अप्रत्यासित रूपमा बालसखी सबितासँग भेट भयो। उनको पनि सुनसरीमै बिहे भएको रहेछ। त्यो अकल्पनीय भेटले दुबै जनालाई प्रफुल्ल बनायो। दुबै जनाले सँगै दर्शन गरे, मालतीले सकल परिवारको सुस्वास्थ्यको लागि प्रार्थना गरिन्। दर्शन गरी सकेर दुबै जना मन्दिरको कुनामा बसेर बालापनका प्रेमिल स्मृतिमा पोखिए र त्यसपछिका दिनहरूमा पनि आत्मीय भेटघाट भई नै रह्यो।
दिनहरू बितिरहेका थिए, एकदिन उनी खेतमा उखु काट्न गएकी थिइन्। केही बेरपछि ससुरो पनि त्यही पुग्यो। उनी डरले खंग्रङ्ग भइन्, केही सोच्न नपाउँदै उसले दुरासयपूर्ण प्रस्ताव गर्दै भन्यो-
‘हेर् मालती! तेरो लोग्ने पनि परदेशमा छ, मेरो पनि स्वास्नी नभए सरह नै छ। घर भित्रकै कुरा हो कसैलाई थाहा हुने होइन ... आखिर देउताकै पालादेखि चलेको कुरा हो ... तेरो के विचार छ?.. ’
ससुराको कुरा सुनेर उनी स्तब्ध भइन्, हातको हँसियाले उसलाई छिनाली दिऊँजस्तो लाग्यो तर आफूलाई सम्हालिइन् र दारा किट्दै भनिन्-
‘थुक्क हरामी! आफ्नै बुहारीसँग यस्तो कुरा गर्छस्? कतिसम्मको नीच रहेछस् तँ! तँलाई भगवान मान्ने तेरो आफ्नै छोरो र मर्ने बेला भएकी स्वास्नीको डर लागेन तँलाई?’
उनको कुराले ऊ किंचित डगमगाएन बरू उल्टै बाजले चल्ला झम्टेझैं गरी झम्ट्यो। उनले प्रतिकार त गरिन् तर उनको केही सीप चलेन।
नाता, धर्म, नैतिकता र संस्कारका सबै लक्ष्मण रेखाहरू मेटिए। उसले निर्ममताका साथ बलात्कार गर्यो। तृप्त भएर उठेपछि फेरि सातो जाने गरी थर्काउँदै भन्यो-
‘देखिस् होइन? अबदेखि मेरो कुरा मान्। होइन भने, यदि यो कुरा अरू कसैलाई भनिस् भने तेरो लाश बेपत्ता बनाइदिन्छु याद गर्’
आफ्नो स्वार्थ पूरा गरेर ऊ बाटो लाग्यो तर उनी भने हलचलै गर्न नसक्ने भइन्।
निकैबेरपछि ज्यान पलायो र खोटो भाग्य सम्झेर खुब रोइन् तर त्यो निर्जन ठाउँमा उनको बिलौना कसले सुन्ने?
रूँदारूँदै थाकिन्, केहीबेरपछि छोराको फेरि सम्झनाले अठ्यायो र विवश भएर उनी यातना गृह जस्तै त्यही घरमै फर्किइन्।
घरमा पनि उसकै आतंकले छोडेन, त्रसित मन लिएर सासूको कोठामा गइन्, आफूलाई टाउको दुखेको छ भनिन् र आफ्नै कोठामा गएर पल्टिइन्। असीम वेदनाले छोरालाई हेरिन्, ऊ मुसुक्क मुस्कुरायो, त्यो मुस्कान देखेर उनको मातृत्व कौलासियो, उसलाई छातीमा टाँसिन् र निकैबेरसम्म भावशून्य भइन्।
समय आफ्नै रफ्तारमा थियो, उसको यातनाको श्रृंखला रोकिएन। हरेक दिन उनलाई असह्य पीडा हुन्थ्यो र सासूलाई भन्छु भनेर सोच्थिन् तर उल्टो आफैंमाथि आरोप लाग्ने हो कि भन्ने डर लाग्थ्यो। सबितालाई भनौं जस्तो लाग्थ्यो तर त्यसको कुनै फाइदा देख्दैनथिन्।
लोग्नेलाई सिधै भन्न सक्दैनथिन्, ‘छिटो घर फर्की’ भनेर जिद्दी गर्थिन् तर ऊ ऋण तिर्न पुग्ने जति पनि क’माको छैन् भनेर टार्थ्यो। यसरी परिस्थितिले अचानोमा राखेर उनलाई छ्याक छ्याक पार्दै गयो तर उनले ऐंयासम्म पनि भन्न पाइनन्।
दिनहरू अझै कष्टप्रद हुँदै गए, बाँच्न ज्यादै कठिन हुँदै गयो। अरू उपाय केही देखिँदैनथ्यो र झुण्डेर मरौंजस्तो मात्रै लाग्थ्यो तर फेरि मनमा कुरा खेल्थ्यो अनि छोराको मायाले लाचार बनाउँथ्यो, लोग्नेका सपनाहरू बाटो छेक्न आउथे र सासूका बाँच्ने अभिप्साले दुविधामा पार्थे र उनी लाश भएर बाँच्न बाध्य हुन्थिन्। हुँदाहुँदै यातनाले सबै सिमाना नाघ्यो र एक दिन राती भिडिओमा लोग्नेलाई सबै पीडा पोखिन्,
कुरा सुनेर ऊ स्तब्ध भयो, बोल्नै सकेन, धेरैबेरपछि विस्तारै भन्यो
‘श्रीमतीले भनेको कसरी नपत्याउनु? त्यो अपराधी आफ्नै बाउ हो भनेर कसरी पत्याउनु? दिमागै फुट्लाजस्तो भयो मालती!’
मोबाइल दराजमाथि थियो, दुबै जना नि:शब्द थिए तर भिडिओ सम्प्रेषण भइरहेको थियो। ऊ फेरि आयो र निर्ममतापूर्वक बलात्कार गर्यो, आफ्नै छोराले बाबुले गरेको त्यो जघन्य अपराध हेर्न सक्यो कि सकेन खोइ? तर उनको चेत फिर्दा मोबाइल सम्पर्क टुटिसकेको थियो। तर त्यहाँ न उसको एउटा मिस कल थियो न कुनै म्यासेज! लोग्नेको त्यो तिरस्कार देखेपछि उनलाई एक पल पनि बाँच्ने इच्छा भएन।
उनी जुरूक्क उठेर राति नै घर छोडेर हिँडिन्, असरल्ल केश र अर्धनग्न शरीर लिएर उर्लेको सप्तकोशीमा हाम फाल्ने सूरले हिँडिन्, कोशी व्यारेजमा पुग्न लाग्दा एउटा मोटरसाइकलले उनको बाटो छेक्यो। त्यसबाट झरेर सबिताले उनलाई च्याप्प समाइन्, हत्तपत्त आफ्नो सल ओढाउँदै आश्चर्य भावले सोधिन्
‘के भयो मालती ? यति राति यो अवस्थामा तिमी कता हिँडेकी?’
उनी मूर्तिजस्तै प्रतिक्रियाहीन भएर उभिइरहिन्, जति सोधे पनि उनको मौनता तोडिएन। हल्लाखल्ला भयो र प्रहरीहरू पनि त्यहाँ आइपुगे।
उनीहरूले पनि त्यसैगरी सोधपुछ गरे तर ढुंगाजस्तै मौन रहिन्। त्यसपछि उनलाई थाना लगियो , त्यहाँ महिला प्रहरीहरूले निकै सोधपुछ गरेपछि बल्लतल्ल उनले भनिन्-
‘मलाई केही भएको छैन’
उनले त्यति बोलेपछि थानाबाट उनलाई बुझेर सबिताले आफ्नै घरमा ल्याइन् र रातभर काउन्सेलिङ गरिन्, त्यसका वाबजुद उनले थप कुरा केही पनि बताइनन् र हार खाएर सबिताले बिहानीपख अर्को प्रश्न गरिन्-
‘तिम्रो छोरा खोइ मालती?’
त्यो प्रश्न सुनेपछि उनको अनुहारको रंग बदलियो, झसंग भएर दायाँ/बाँया हेरिन् र छोरा खोज्दै रूँन थालिन्। त्यसपछि सबिताको श्रीमानले गाडी निकाले र त्यही गाडीमा तीनै जना मालतीको घरतर्फ लागे।
बाटोमा उनी विस्तारै खुल्दै गइन् र ससुराका कुकृत्यहरू सुनाइन्।
उनको कुरा सुनेर दुबै जना स्तब्ध भए।
उनको घर पुग्दा उज्यालो भइसकेको थियो, आँगनमा छिमेकीहरू जम्मा भएका थिए, उनीहरू मालती छोरा छोडेर पोइल गई भनेर उनको कुरा काट्दै थिए।
उनी फर्केर आएको देखेर उनीहरू लाखापाखा लागे। उनले सासूको काखबाट छोरा लिइन् र थचक्क भुइँमा बसिन् र दूध पिलाउन थालिन्। रूँदारूँदै थाकेको त्यो बालक हिक्कहिक्क गर्दै दूध पिउन थाल्यो र उनका आँखबाट पनि आँशुका धारा बगिरहे।
सासू अलमल्ल परेर हेर्दै थिइन्, चाउरी परेका गलाबाट आँसु बगिरहेका थिए।
सबिताले विस्तारै विस्तारै मालती र सासू दुबै जनालाई लामो मनोपरामर्श गरिन् र अन्त्यमा जोड दिँदै भनिन्-
‘मालती! हिजो तिमीले आत्महत्या गर्थौ। तिम्रो छोरो पनि त्यतिकै मर्थ्यो या बाँचे पनि टुहुरो भएर कतै भिख माग्थ्यो तर त्यसलेअपराधीको मनोबल झन् बढ्थ्यो र उसले अर्की मालतीलाई पनि आत्महत्या गर्न बाध्य बनाउँथ्यो!’
मालती र उनकी सासू गम्भीर भएर सुन्दै गए, सबिता आवेगपूर्ण भावले बोल्दै गइन्
‘केही सहरका शिक्षितहरूको कुरा बेग्लै होला अधिकांश दूरदराजमा बुहारीहरूमाथि अझै पनि केवल दासता थोपरिन्छ तर उनीहरूका चाहनाहरूले कुनै अर्थ राख्दैनन्!..
... कति घरमै ससुरा र आफन्तबाटै लुटिन्छन् तर बुहारीहरू उनीहरूविरूद्ध बोल्ने आँटै गर्दैनन्, धेरैलाई कानुनै थाहा छैन, थाहा भइहाले पनि मुद्दा हाल्न डराउँछन्, कतिका आवाजभित्रै दबाइन्छन्, ...यसरी बाध्य भएर उनीहरू यातना सहन्छन्, नसके आत्महत्या गर्छन्। कहिलेसम्म जिउँदै मरिरहने निमुखाहरू? अब पनि कानुनी बाटोमा नहिँड्ने हो भने अरू पनि मालतीहरू यसैगरी मरिरहेन छन्’
उनको कुरा सुनेर मालती उजुरी गर्न तयार भइन्, त्यही दिन उनको जाहेरी दर्ता भयो। थानाबाट फर्केर आएपछि सासूसँग भेट भयो, मालतीसँग भन्ने शब्दहरू थिएनन्, उनले केबल मायालु भावले हेरिन्, सासूका आँखा पनि जलमग्न थिए, उनले व्यथित भएर अवरूद्ध आवाजमा भनिन्-
‘.... अधर्मीको यो पाप कर्म सुन्नु पहिले म मर्न पाको भए पनि त हुन्थ्यो नि! ’
त्यसपछि सबिताले सासूलाई लामो मनोपरामर्श गरिन्। भोलिपल्टै ससुरा पक्राउ पनि पर्यो। अर्को दिन उनलाई थानामा बोलाइएको थियो, उनी प्रतिक्षालयमा छोरा काखमा लिएर टोलाइरहेकी थिइन्, पछाडिबाट परिचित आवाजले बोलायो, फर्केर हेरिन् रामपुकार गहभरि आँसु लिएर उभिएको थियो, उनी किंकत्व्यमुढ भइन्, उसले आफ्ना दुबै हातले उनको गाला सुमसुम्याउँदै भन्यो-
‘भिडिओमा जे देखें, त्यसपछि मलाई असैह्य पीडा भयो, त्यही दिन जहाज चढेर आएँ’
बोल्दाबोल्दै उसको आवाज अवरूद्ध भयो र उसले विस्तारै भन्यो-
.... प्रारब्ध कै कुरा होला! कि म त्यस्तो अपराधीको छोरा भएर जन्में! मलाई ग्लानि छ तिमीले छटपटाउँदै मलाई बोलाई रह्यौ तर मैले तिम्रो यातनाको कल्पनै गर्न सकिनँ। अहिले सोचेर पनि पीडा हुन्छ कि कसरी ‘बोल्न सक्दैनन् बरू चुपचाप यातना सहेर जिउँदै मर्दा रहेछन् बुहारीहरू!’
मैले गोमन सर्पलाई भगवान सम्झेको रहेछु! हुन त ऊ मेरो बाउ हो तर उसले सजाय पाउनै पर्छ ... नत्र भने अरू मालतीहरू तिमीजस्तै मरिरहने छन्।
त्यसपछि ऊ केही बोल्न सकेन, उनी पनि भावशून्य भइन्। नजिकै उभिएका सबिता र उनका श्रीमान भावुक नजरले उनीहरूलाई हेरिरहेका थिए र आमाको काखमा रहेको त्यो सानो ईश्वर मनमोहक मुस्कान फिजाइरहेको थियो।
(सत्य घटनामा आधारित )
(रविन्द्र केसीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)