‘हाम्रो पनि मन हुन्छ नि यार... केटा मान्छे हुँ, यो त अत्ति भयो,’ ऊ रिसाउँदै कोल्टे फेर्छ। म सिरकलाई अझ माथिसम्म तानेर गम्लङ्ग मुख छोपेर सुतिदिन्छु।
बिना अनुमति न ऊ मलाई जबरजस्ती गर्न सक्छ, न त म ऊसँग लुटुपुटिएर माया दर्शाउन नै सक्छु। म एकातिर फर्किएर फ्वाँ-फ्वाँ गरी निदाइदिँदा थाहा छैन ऊ कतिखेर निदाउँछ। कहिलेकाहीँ आधा रातमा म ब्युँझिँदा पनि ऊ अनिदो भएको मैले पाएको छु।
यस्तै सिलसिला हाम्रो वैवाहिक जीवनको एउटा पाटो नै हो।
हाम्रो प्रेम विवाह आजभन्दा ८ वर्षअगाडि भएको हो। हाम्रो एउटा छोरी ६ वर्षकी छे। हाम्रो परिवारमा सुरजको आमा र हामी तीन गरी चार जना छौँ। ऊ आफ्नै व्यवसाय चलाउँछ। म पनि जागिरे जीवनमा छु।
ससुराबुवा पनि सरकारी सेवाबाट अवकाश प्राप्त हाकिम साहेब हुनुहुन्थ्यो रे। त्यसैले पनि हाम्रौ पुर्ख्यौली सम्पत्ति राम्रै छ। दुवैजना शिक्षित र आ-आफनो पेसामा छौँ। हाम्रो घरमा लडाइँ, झैँझगडा वा ठूलो स्वरमा चर्काचर्की समेत कहिल्यै भएको मलाई याद छैन।
समाजमा हामीलाई आर्दश र शिक्षित परिवारको रुपमा चिन्छन्। कसैलाई केही भइहाले वा केही सहयोग गर्नपर्ने भए सुरजको सहभागी भैहाल्ने र सक्ने जति सहयोग गरिहाल्ने बानीले समाजमा हाम्रो इज्जत र प्रतिष्ठा पनि राम्रै छ।
छोरीलाई आमा भएपछि हामी पनि चाहिँदैन। खाने, खेल्ने, विद्यालय जाने, आउने र सुत्ने पनि आमासँगै गर्छे। अफिसबाट घर आएपछि म भान्छाको काममा तल्लीन हुन्छु।
सुरज घर आएर फ्रेस भएपछि फुर्सद हुने वित्तिकै फोन र ल्यापटपमा समय बिताउने, भातभान्छा र सरसफाइको काममा त्यति मलाई सहयोग नगर्ने, बेलुकी ढिला सुत्ने र बिहान अबेरसम्म नउठ्ने बानीले मलाई आजित बनाउँछ।
यही कुराले ऊप्रति कहिलेकाहीँ शंका पनि उत्पन्न गराउँछ। कतै ऊ कोहीसँग...
मैले घरमा धेरै ल्यापटप र मोबाइलमा समय नबिताऊ, मसँगै मलाई घरायसी काममा सहयोग गर भनेर सधैँ गुनासो गर्छु, ऊ भने व्यवसायको काम र संसारसँग अपडेट हुनको लागि यो आवश्यक छ भन्छ। यस्तै कुराले म हैरान हुन्छु र उसको अनुपस्थितिमा ऊप्रति हुने मायालाई उसको उपस्थितिमा कमजोर बनाइदिन्छ।
तर आज सायद ऊ निदायो या निदाएको छैन थाहा भएन। मलाई भने निन्द्रा पटक्कै लागेन। उसले भनेको त्यही वाक्यले झकझकाइरह्यो, ‘यो त अत्ति भयो!’ कतै सुरजलाई मैले अन्जानमै अन्याय त गरिरहेको छैन?
आजको जमानामा पनि घरको काम मैले अर्थात् महिलाले मात्रै गर्न परेकोमा सधैँ ऊसँग गुनासो गर्ने म, मैले चाहिँ कत्तिको बाहिरको काममा उसलाई सघाएको छु त? यो कुराले आज नराम्रोसँग आफ्नै मनलाई प्रश्न गर्यो।
हुन त म पनि बाहिर गएर कमाउँछु। तर त्योभन्दा बढी घरको सरसमान किनमेल गर्ने, पारिवारमा कोही बिरामी हुँदा हस्पिटल लाने, छोरीको स्कुलको फी, घरको पानी-बत्तीको बिल कहाँ, कहिले, कत्ति र कसरी तिर्न पर्छ, इन्टरनेट, टिभी कुन जडान गर्ने, कति तिर्ने, ग्यास सिलिन्डर कहाँबाट ल्याउने, पैसा कहाँ गएर कति तिर्ने, घरमा धारा, बत्ती, पानी सोलार खरिद तथा मर्मत गर्ने आदि काम पुरुषको मात्रै हो जसरी मैले कहिले पनि त्यतातिर ध्यान दिइनँ।
बरु कहिलेकाहीँ उसले बनाउन नभ्याउँदा 'केटा मान्छे भएको घरको हालत यस्तो हुन्छ? आज कति दिन भैसक्यो बनाउन पर्दैन? हेर छिमेकमा मिनाको बुढा कति घरको काम गर्छ' भन्दै थर्काउँदा ऊ 'अब गरिहाल्छु नि भ्याएको छैन, कत्ति कराको' मात्र भनेर टारिदिन्थ्यो।
त्यति मात्रै हैन, प्रायःजसो मलाई अफिस पुर्याउने र लिन जाने काम पनि सुरजको नै हो। स्कुटर सिक भनेर सुरजले ड्राइभिङ सेन्टरमा नलगिदिएको पनि हैन, तर मलाई चलाउने आँट कहिल्यै आएन। बरु उसले कहिलेकाहीँ आज काम छ भ्याउदिनँ भन्दा 'आफ्नै विजनेश त हो नि, यत्ति पनि पुर्याउन नहुने' भन्दै २/३ दिनसम्म पनि रिसाएर नबोल्ने मै हुँ।
उसको व्यवसायको विषयमा मलाई कहिल्यै मतलब भएन। कहिलेकाहीँ अफिसमा टेन्सन छ त भन्थ्यो, त्यो विषयलाई मैले कहिले पनि ध्यान दिइनँ। उसले पनि सकेसम्म तनावका कुराहरू मलाई सेयर गर्न खोज्दैन थियो सायद र त्यसमा मेरो चिन्ता, चासो र सहयोग केही पनि र कहिले पनि भएन।
बरु मेरो र छोरीको बिदाको क्यालेन्डर हेर्दै सपिङ गर्न, घुम्नको लागि योजना बनाइ साथीहरूको परिवारको फेसबुकको फोटो देखाउँदै घुम्न जान दबाब दिँदा मैले कहिले सोचिनँ त्यो समयमा उसले आफ्नो कामबाट फुर्सद मिलाउन सक्छ कि सक्दैन भनेर। बरु 'भो-भो तिमीलाई परिवारभन्दा पैसा नै ठूलो छ, मेरा साथीहरू हप्तैपिच्छे कहाँ-कहाँ घुम्न जान्छन् तिमी भने..' भन्दै छोरी च्यापेर रिसाउँदै माइती गइहाल्ने पनि मै हुँ।
मेरो ल्यापटप, मोबाइललगायत सरसामान किनेर ल्याइदिने, सेटिङ मिलाउने बिग्रियो भने बनाउने, चलाउन सिकाउनेदेखि कुनै मलाई नआउने टेक्निकल कुराहरू उसले जान्नैपर्ने, जानेन भने फेरि पनि केटामान्छे भएर नि यत्ति पनि नजान्ने भनेर घुर्क्याउने पनि गर्छु।
कहिलेकाहीँ सासूआमाले ‘बाबु तँलाई कत्ति दुःख छ, कहिले त आराम गर्, कत्ति गोरु जोत्तिएको जसरी काम गर्छस्? तेरो बा पनि यस्तै दुःख गर्दागर्दै बितेर जानुभयो, कहिल्यै सुखले बस्न पाउनु भएन’ भनेर सम्झाउँदा उल्टै 'कत्ति न छोराको मात्र दुःख देख्ने, म पनि त आरामले कहाँ बसेको छु र? तिमीलाई त आमा छँदैछन् नि माया गर्नलाई, म पो अर्काकी छोरी' भन्दै थाहा छैन के-के फतफताउँथेँ ऊसँग।
साँच्चै घरको भातभान्छाभन्दा पनि अरु धेरै काम हुन्छन् जुन उसले मात्र चुपचाप गर्छ र त्यो काम उसले मात्र गर्न परेकोमा कहिल्यै कसैसँग गुनासो गर्दैन। यतातिर वास्तै नगरी उसको कामलाई चाहिँ काम नै हो भन्ने नबुझेर एउटा आमाको मायालाई पनि शंका गर्दै सुरजलाई आमा र मबीचको सम्बन्ध मिलाउन समेत अप्ठ्यारो पारिरहेको रहेछु मैले।
कहिलेकाहीँ उसको विषयलाई लिएर मेरा माइतीका आमा र दिदीहरूसँग गुनासो पनि गरिरहेको हुन्छु र मन हलुको बनाउँछु। तर सुरजले मेरो कमजोरीहरू मलाई त भन्न सक्दैन भने कोसँग गर्थ्यो होला र? यदि कसैलाइ भनिहाल्दा पनि एउटा स्वास्नी तह लगाउन नसक्ने नार्मदको उपाधी पाउने डर हुन्थ्यो होला उसलाई।
कतै कहिले आमाले मेरो विषयमा कुरा गर्न खोज्दा ‘त्यसो हैन आमा, बुहारीलाई पनि गाह्रो छ, हजुरको सोचाइ मात्र त्यस्तो हो’ भनेर कयौँपटक मेरो ढाकछोप गरेको मैले सुनेको छु।
कहिलेकाहीँ मलाई अल्छी लाग्यो, गाह्रो भयो, रिस उठ्यो भने सन्चो छैन भन्दै अफिसबाट आएपछि भान्छामा नै नगई ड्याम्म ढोका लगाएर सुतिदिन्थेँ। यस्तो बेलामा सुरज केही नबोली घरको काम सकेर ‘के भयो तिमीलाई? खाना खान हिँड, के खान्छ्यौ? औषधि ल्याउने हो?’ भनेर हातमा तातोपानीको गिलास लिँदै कोठाभित्र पस्थ्यो।
तर मलाई आजसम्म याद छैन सुरज कहिल्यै रिसाएर ‘सन्चो छैन, गाह्रो भयो’ भन्दै खाना नखाइ सुतेको। आज बुझ्दैछु पूर्वमिस नेपाल सुहारिका केसीले भनेजस्तै ऊ अर्थात् पुरुष चाहिँ थाक्नै पाउँदैन त? परिवारको जिम्मेवारीको भारी बोक्ने भरिया नै हो त? मनोरन्जन चाहिँदैन, आराम गर्ने छुट छैन उसलाई? के ऊ मेसिन नै हो त?
यति सोच्दासोच्दै मध्यरातमा नै मेरा आँखाबाट एकाएक आँसुका भेल बगेर आउँछ। म सुरजलाई हेर्दै सुक्कसुक्क गर्न थाल्छु। ऊ जुरुक्क उठेर तर्सिंदै, ‘के भयो अस्मिता? तिमीलाई सन्चो भएन हो?’ भन्दै मलाई झकझकाउँछ।
मलाई उसको यत्ति धेरै माया लाग्छ कि एकैचोटि ऊ मेरो एक असल साथी, श्रीमान, अभिभावक यो परिवारको पिल्लर र मेरो सबैथोक भएकोमा आफूलाई निकै भाग्यमानी ठान्छु।
‘मलाई माफ गर सुरज, मलाई माफ गर’ भन्दै बरबराउँदै उसको काखमा लुट्पुटिन खोज्छु। ऊ भने मलाई अनौठो तरिकाले एकतमासले हेरिरहन्छ, मानौँ म एक एलियन हुँ।