कान्छा, तँलाई थाहा छ?
सानोमा एकदिन आमाले
तँलाई र मलाई हटिया लिएर जानु भएको !
काँचको चुरा किन्न।
बुबा हुनुहुन्थेन घरमा
सुटुक्क जानु भएको
फर्सी र खसी बेचेको पैसाले
रातो, नीलो चुरा हातभरी लगाएर
हामीलाई पापा खुवाएर
फर्किनु भएको।
बुबालाई नभन्नू भन्नुहुन्थ्यो!
बेलुकी चुराको आवाजले धरै रमाएको
बुबाले थाहा पाउनुभयो
कसले पैसा दिएर गईस्?
को सँग गईस भन्दा, हामी रोएको
आमा रुनु भएको याद पो आयो, कान्छा!
तँ सानो थिईस्,याद छ?
हाई! हाम्री आमा!
कस्तो थियो जमाना
आमाहरू न कतै जानु, न कतै रमाउनु
मात्र घर रुँगेर बस्नु!
कान्छा, तँलाई थाहा छ?
सानोमा एकदिन आमाले
तँलाई र मलाई हटिया लिएर जानु भएको!
काँचको चुरा किन्न।
रहर नै रहर थियो आमाको चुरा लाउने
छ-छ भाइ छोरा र एउटी छोरी हुँदा पनि
आमा पराधीन नै हुनुहुन्थ्यो
पाखुरा दह्रो थिए हाम्री आमाको
बाख्रा र साग सब्जीको आम्दानी
किन नरूचेको होला बुबालाई!
कान्छा, तँलाई थाहा छ?
सानोमा एकदिन आमाले
तँलाई र मलाई हटिया लिएर जानु भएको!
काँचको चुरा किन्न।
कसैले सक्ला बोलाउन
दिवंगत मेरी आमालाई!
म चुरा किनिदिने थिएँ
लगाई दिने थिएँ
रमाउने थिएँ।
फर्किने थिएँ विगतमा
बुबालाई सोध्ने थिएँ!
किन जानु दिन हुन्थेन आमालाई!
कान्छा, तँलाई थाहा छ?
सानोमा एकदिन आमाले
तँलाई र मलाई हटिया लिएर जानु भएको!
काँचको चुरा किन्न!
पोते,चुरा,सिन्दुर र रातो साडी लिएर
मन्दिर जाउँ हिँड कान्छा!
चढाई दिउँ देवीको मन्दिरमा
रमाउँ केही बेर
अनन्त भावना,अनन्त कथा
कसलाई भन्नु ,कहाँ लेख्नु कान्छा!
कान्छा, तँलाई थाहा छ?
सानोमा एकदिन आमाले
तँलाई र मलाई हटिया लिएर जानु भएको!
काँचको चुरा किन्न!