देशको सिमानाभित्र
मौलाएको अराजकताले विरक्त
न टेक्ने माटो
न समाउने हाँगो भएर
सत्तरी काट्दै गरेकी
एकल आमा
एकल बा
छोडेर एक्लै
गाउँको उजाडिएको पाखो
जहाँ बादर फल्न दिँदैनन्
एक मुठी साग
हानिन्छे छोरी भविष्य खोज्न
पतिको घर
हानिन्छ छोरो
भविष्य खोज्न
खाडी तिर
सपना एउटै छ
कमाएर माधवपुरमा घर बनाउने
आमालाई मधेस झारेर
सुखको सास फेराउने
बाको मुखै नदेखेको उसलाई
थाहा छ
आमा भनेको
सुखको महल होइन
सन्तोषको सुस्केरा हो
मायाको आँचल हो
जहाँ चुहिन्थ्यो
घाम उसैगरी पानी
थाहा छ उसलाई
हातमा भावीले कोरेका भविष्यका रेखाबाहेक
केही सीप नभई खाडी भासिनु भनेको
रातो बाकसमा फर्कनु पनि हुनसक्छ
तैपनि सबेरै ३ बजे
द्रुत राहदानी बनाउने लाइनमा बस्छ
नागरिकताको पत्रबाहेक
राष्ट्रिय परिचय पत्र बोकेको
ऊ नेपाली नागरिक हो?
वा कफिनमा फर्कने?
तपाईं नै भन्नुहोस् महोदय
ऊ नागरिक हो कि अनागरिक?