गर्मीले दिन धपक्कै बलेको थियो। तातो हावाले सासै फेर्न पनि मुस्किल पर्थ्यो। त्यसको कुनै पर्वाह नगरी दया सागर मरीक साइकल घिच्याइरहेको थियो।
ऊ सधैं मनमा जातीय विभेद विरूद्धको भर्भराउँदो आगो लिएर हिँड्थ्यो र आफ्नैजस्तो तिरस्कृत नियति आफ्ना सन्ततिहरूले पनि व्यहोर्न नपरोस् भन्ने चाहन्थ्यो।
साबिकजस्तै त्यसदिन पनि उसले थुप्रै शौचालयहरू सफा गर्यो। भोक, तिर्खा र थकाइले लखतरान भएर साँझपख घर फर्कियो। घरको भित्तामा साइकल अड्यायो। निधार र कन्चटको पसिना पुछ्यो। लगत्तै हाँस कुखुराहरूले घेरे, तिनलाई मकैको चारो हालिदियो र टुसुक्क भुइँमा बसेर लामो सुस्केरा हाल्यो।
पत्नी कलावतीले चिया लिएर आइन्। त्यसदिन उनी अघिपछि भन्दा बेग्लै देखिन्थिन्, अनुहारमा सधैं देखिने कान्ति थिएन, गहिरो उदासी थियो। उनको त्यो रूप देखेर दयासागरको मनमा कौतुहलता जाग्यो तर उसले सोधखोज गर्न नपाउँदै कलावतीले गुनासो गरिन्-
‘यतिबेलासम्म पनि छोरो घर आएको छैन! के गर्नु? अहिले मोटरसाइकल नकिन्दिऊ भनेको तपाईंले मान्नु भएन! अचेल उसको घरमा बासै हुन छोडेको छ!’
दया सागरले कुनै प्रतिक्रिया जनाएन। ऊ अन्तरमुखी स्वभावको थियो पटक पटक उनी यस विषयमा गुनासो गर्थिन् तर ऊ कहिल्यै पनि बदलिँदैनथ्यो। आज पनि उसको उस्तै तटस्थता देखेर उनलाई असैह्य भयो र उनले च्याठ्ठिँदै भनिन्, ‘छोरा बिगार्ने तपाईं नै हो! महंगा महंगा कपडा, मोबाइल र मोटरसाइकल- जे जे भन्यो त्यही किनदिनु हुन्छ, केटाकटीले आज दु:ख देखे भने पो भोलि सुखको बाटो खोज्छन् त, यसरी पुलपुल्याएका छोरा छोरी गतिला हुँदैनन् बुझ्नु भो...!’
छोरा बिगारेको आफ्नै श्रीमतीको आरोप सुनेर ऊ खिन्न भयो।
छोराको भविष्यको लागि आफूले बगाएका रगत पसिना सम्झेर ऊ भावुक भयो। तिरस्कृत भएर आफूले बाँचेका जिन्दगीका अरू थुप्रै नमिठा सम्झनाले पनि अठ्याउन आए।
आमाले बाँसका ढाकी बेचेको थोरै पैसा मागेर ल्याएका जडाउरी लुगा र बाबुले ‘सिनो’ फालेर जुटाएको रासन पानीमा गुज्रेको आफ्नो किशोरवस्थाका पीडादायी यादहरूले ऊ मर्माहत भयो। पाइलै पिच्छे सहेका अपहेलना, विभेद, तिरस्कारका घाउहरू सहनै नसक्ने गरी दुखे। भोलि छोरामाथि पनि थोपरिँदै जाने त्यस्तै किसिमका उत्पीडनको कल्पनाले मन अमिलो भयो र उसले मनमनै सोच्यो।
‘दलित हुनुको हिनताभाषले उसको मानसिकता नखुम्चियोस् भनेर मैले थोरै सुख दिन खोजेको न हो .... छोरा बिगारेको त होइन नि कलावती!’
कलावती भित्र घर धन्दा गर्दै थिइन्, ऊ भने उनले भनेकै शब्दहरूको सेरोफेरोमा भौंतारिँदै थियो। जातीय विभेदले मरेतुल्य भएर बाँच्नु परेको पीडा फेरि बल्झिएका थिए। त्यहीबेला थालमा गहुँका रोटी, तारेका अण्डा र एक गिलास पानी ल्याएर कलावतीले उसको अगाडि थेचारिदिइन्। त्यो आवाजले ऊ झसंग भयो, उनी फेरि भुत्भुताउँदै भित्र पसिन्।
उसले गिलासको पानी खायो र त्यसमा घर फर्कंदा किनेको सोफी (रक्सी) खन्याएर पिउन थाल्यो। रक्सीको नशा बिस्तारै बिस्तारै चढ्दै गयो, नशासँगै सम्झनाहरू झनझन गहिरिँदै गए। त्यहीबेला कलावती फेरि कराउँदै आइन्।
‘होइन तपाईंलाई रक्सी पाए अरू केही चाहिँदैन है? यति बेला भइसक्यो छोराको खोजी गर्न पर्दैन?’
त्यो कर्कश आवाजले उसको त्यान्द्रा भंग भयो। छोराको मोबाइलमा फोन गर्यो। चिनेजानेका शिक्षकहरू र कलेज साथीहरूबाट पनि उसको कुनै जानकारी मिलेन। रात छिप्पिँदै गयो तर ऊ फर्केर आएन। लाचार भएर दुबै जना ओछ्यानमा पल्टिए। दुबैको आँखामा निन्द्रा थिएन, मनमा बेचैनी थियो।
दिमागमा छोरा जन्मेको दिन देखिका तम्तमिला स्मृतिहरू सलबलाउँदै थिए। त्यसताका ऊ सिराहाको हुलाक कार्यालयको पिएन पदमा कार्यरत थियो। अफिस नजिकै कुलानन्द झाको घरमा डेरा लिएर ऊ बसेको थियो।
दिनहरू सामान्य तरिकाले बित्दै थिए, त्यहीबेला पण्डित जी ( कुलानन्द झा) को सानो छोरा बिरामी पर्यो र त्यससँगै उसका दिनहरू पनि कष्टप्रद हुँदै गए।
एक दिन साँझ ऊ अफिसबाट फर्कंदै थियो, घरभेटीसँग उसको बाटैमा भेट भयो, त्यहीबेला उनले कठोर शब्दमा भने, ‘दया सागर! धामीहरूले घरमा अछुत बसेकोले कुल देवता रिसाएका छन् भन्छन्। के गर्नु? तँ अहिले नै मेरो घर छोडेर जा, मेरो छोरालाई बचाई दे दया सागर..’
घरभेटीका असहिष्णु कुरा सुनेर ऊ स्तब्ध भयो। फेरि उनले हातै जोडौंला झैं गरी भने, ‘हेर म भोलि नै क्षमा पूजा गर्छु। टायर गाढा पनि बोलाएर राखिदिएको छु, फटाफट आफ्नो सामान हाल र यहाँबाट निस्किहाल’
उनको संवेदनाहीन कुरा सुनेर मनमा आक्रोशको राँको दन्कियो। तर एउटा निरीह दलितको दपेटिएको मानसिकताले उनको प्रतिवाद गर्न सक्ने कुरै थिएन, उसले त्यो रात मात्रै भए पनि त्यही बस्न पाऊँ भनेर बिन्तिभाउ गर्यो तर पण्डितको मन पटक्कै पग्लिएन। हार खाएर ऊ कोठामा गयो।
कलावतीको सुत्केरी हुने महिना थियो। उसले लाचार नजरले उनलाई हेर्यो। एकातिर पण्डितका मानवताहीन चेतावनी अर्कोतिर कलावतीको दयनीय अवस्था। परिस्थितिको निर्ममता देखेर ऊ मर्माहत भयो। कलावतीलाई पनि पण्डितका ती निर्मम शब्दहरू सुनायो। कुरा सुन्दासुन्दै उनका आँखा पनि जलमग्न भए। भावुक भएर उसले सम्झाउँदै भन्यो,‘चिन्ता नगर कलावती ..डेरा न हो घर होइन, एक न एक दिन त छोडेर जानै पर्थ्यो .. आजै जानु पर्ने भो ...के भो त ?’
कलावती निकैबेर हिक्कहिक्क गर्दै रोइन्, उसले चुपचाप पोका पन्थरा बाध्यो र राति नै श्रीमती डोर्याउँदै डेरा छोडेर हिँड्यो। हिँड्ने बेलामा गहभरी आँसु पार्दै उसले घरभेटीलाई भन्यो,‘जन्म र मृत्यु कसैको बस हुन्छ र पण्डित जी? म दलित भएर जन्मनुमा मेरो दोष के हो? यत्रो दया, माया र करूणाका प्रवचन दिँदै हिँडने मान्छे तपाईं, खोइ तपाईंको मानवता? यो गतिकी श्रीमतीसहित आधा रातमा मलाई घरबाट निकाल्न असजिलो लागेन तपाईंलाई ? ..’ पण्डितले उसको कुरा सुनेको नसुने झैं गरे।
साउनको महिना! अन्धमुष्टि अँध्यारो थियो, पानी बेस्सरी दर्किंदै थियो। जाने ठाउँ कतै पनि थिएन। कलावतीले केही सोधिनन्, चुपचाप उसको पछि लागिन्, टायर गाढा चढेर उनीहरू बसपार्कमा पुगेर झरे।
बसपार्क झरेर उसले एउटा लजमा कोठा लियो र पोका पन्थरा थन्कायो। त्यो रात त्यही बिताउला भनेर सोच्दै थियो, एक्कासि कलावती पेट दुखेर छट्पटिन थालिन्। उसले एकपटक आफ्नो भाग्यलाई सराप्यो र उनलाई रिक्सामा हालेर अस्पताल पुर्यायो। त्यही रातको बिहानीपख छोरो जन्मियो। दुइटा गर्भ खेर गई सकेको थियो, छोरा जन्मेको त्यो रात उनीहरूको खुसीको कुनै सीमाना नै भएन। त्यसपछिका सारा दु:ख कष्ट पनि त्यही छोराले बिर्साउँदै लग्यो।
जीवन यात्राका ती अप्ठेरा बाटाका सम्झनाहरू फेरि दिमागमा सलबलाए। उसले जलमग्न भएका आफ्ना आँखा सुटुक्क पुछ्यो। त्यहीबेला सँगै पल्टिरहेकी कलावतीले त्यान्द्रा भंग गर्दै सोधिन्,‘कतै दुर्घटनामा पो पर्यो कि? कस्तो ढुक्कसँग बसेको होला! जानुस् न खोज्न’
कलावतीको त्यो कुराले उसलाई गम्भीर बनायो। तै पनि सामान्य भावले उसले कलावतीलाई सम्झाउँदै भन्यो,‘कति चिन्ता गरेकी कलावती! केटा केटी होइन जवान छ, केही हुन्न। यो मध्यरातमा उसलाई खोज्न म कता जाऊँ? उज्यालो त हुन दे ..... ?’
जवाफमा कलावतीले बरबरी आँसुमात्र झारिन्। त्यो देखर उसलाई असैह्य भयो, जुरूक्क उठेर घडी हेर्यो बिहानको चार बजेको रहेछ। विस्तारै मिर फाट्दै थियो, कता जाने ? के गर्ने ? भन्ने दुबिधामै ऊ साइकल लिएर हिँड्यो।
अचानक दिमागमा कतै उसले अपहत्ते त गरेन? भन्ने झस्का पस्यो। नदी किनारा, पोखरी, जंगल र पुल पुलेसाहरू सबै पुग्यो। त्यो मिरमिरे उज्यालोमा दृष्टि धमिलो थियो, कति ठाउँमा छोराजस्ता देखिने आकृतिहरूले झसंग बनाए।
बिहान दश बजेतिर उसले प्रहरीमा पनि रिपोर्ट लेखायो। त्यसपछि दिमागले केही कामै गरेन र ऊ चुपचाप घर फर्कियो।
घर आइपुगेपछि कलावती पनि पछिपछि आइन् र आशातित नजरले उसलाई हेरिन्। उसको थकित, हतास र लाचार चेहारा देखेर उनी झन् उदास भइन्। सँगै बसेर दुबै जनाले थोरै थोरै खाना खाए। त्यसपछि घरैमा उसको प्रतीक्षामा बेचैन भएर बसे तर साँझसम्म पनि उसको कुनै खबर आएन।
अबेला साँझ घरमा प्रहरीको गाडी आयो। उसलाई छोरा पो ल्याइदिएकी भन्ने लाग्यो र ऊ हतार हतार गाडी भएतिर गयो। गाडीमा हेर्यो छोरा थिएन, त्यसपछि ऊ निराश भयो, कतै अनिष्ट कुरा पो सुन्नुपर्छ कि भन्ने डरले ऊ भयभीत भयो। नभन्दै प्रहरीले उसलाई भने, ‘तपाईंको विरूद्ध अपहरणको उजुरी छ, हामी तपाईंलाई लिन आएका हौं ...’
आश्चर्यचकित भएर उसले प्रहरीलाई हेर्यो। उजुरीको बारेमा प्रहरीले थप कुरा बताए। केहीबेर गलफत्ती भयो, त्यसपछि उसलाई हतकडी लगाएर गाडीमा हाले। उसले दुखी मनले आफ्नो हातको हतकडी हेर्यो। कलावतीले पछाडि बसेर सबै सुनेकी थिई, अतिशय पीडाले उनी भुइँमा थचक्कै बसिन्। उसले लाचार आँखाले श्रीमतीलाई हेरिरह्यो। उसको त्यो रात चरम बेचैनीमा प्रहरी हिरासतमै बित्यो।
भोलिपल्ट बिहान सोधपुछ सुरू भयो, सहरका नामी व्यापारी जनम सिंह पत्नी चिन्तित मुद्रामा त्यही आइपुगे। प्रहरीले सोफातर्फ इशारा गरे, दुबै जना चुपचाप सोफामा बसे, दया सागरसँग आँखा जुध्यो, उसलाई खाउला झैं गरेर हेरे र रूखो शब्दमा प्रहरीसँग सोधे, ‘खोइ मेरी छोरी? कहाँ अपहरण गरेर पुर्याएको छ यो कुजातले?’
राम जनमको संघीन आरोप सुनेर दयासागरको ओठमुख सुक्यो, हात खुट्टा गले र दिमाग शून्य भयो। यसैबीच त्यहाँ बसेका प्रहरीले कोठामा भएका सबैको अनुहार हेरे। रामजनम आक्रोशित भइसकेको थियो भने दया सागरको मुहार ओइलिएको थियो। प्रहरीले शान्त भएर रामजनम तर्फ हेर्दै भने, ‘..हामीले दुबै जनालाई भर्खरै फेला पारेका छौं.. प्रारम्भिक सोधपुछमा दुबैले प्रेम सम्बन्धमा रहेको कुरा बताएका छन्।’
त्यसपछि प्रहरी अधिकारीले दयासागरतर्फ पनि हेर्दै भने, ‘तपाईंको विरूद्ध उहाँको छोरीको अपहरणको उजुरी छ। हामीले तपाईंको छोरा विवेक मरीकको साथमा उनलाई फेला पारेका छौं, उनीहरूलाई यहाँ ल्याइँदै छ, त्यतिबेलासम्म प्रतीक्षा गरौं’
छोरी भेटिएको खबर सुनेर रामजनमले राहत पाएझैं गरी सुस्केरा हाल्यो। पत्नी राधादेवीको अनुहार पनि चमक आयो। दयासागरले भने सपना हो कि विपना यकिन गर्न सकेन। प्रहरीले दुबै पक्षलाई बाहिर बस्ने अनुरोध गरे। दयासागर चुपचाप बाहिर गयो तर रामजनमले त्यही बसेर प्रतीक्षा गर्ने कुरा गरे। बस्दा बस्दै उनले प्रहरीलाई भने, ‘देख्नु भो त दलितहरूको नियत? यो सबै यही दयासागरको प्रपन्च हो। अब यसको बाउ छोरालाई नै अपहरणमा जेल हाल्नुपर्छ अनि मात्र कुनै दलितका छोराहरूले हाम्रा छोरी चेलीमाथि आँखा लगाउन सक्दैन...’
प्रहरीले उनको कुरा ध्यानपूर्वक सुने र शान्त भएर भने, ‘रामजनम जी! यस्तो पूर्वाग्रही नहोऔं। हरेक किसिमको विभेद कानुनी रूपले दण्डनीय हुन्छ। केटाकेटी आफ्नै मर्जीले भाग्छन्, बाउ आमालाई अपहरणको मुद्दा लगाउन मिल्छ? पहिला उनीहरूको कुरा त सुनौं.... !’
प्रहरीको जवाफ सुनेपछि उसको अनुहार कालो निलो भयो। त्यसपछि ऊ चुपचाप सोफामा बस्यो। करिब एक घण्टापछि दुबै जनालाई त्यहाँ ल्याइ पुर्याइयो। दयासागर पनि भिजेको बिरालो जस्तो लुत्रुक्क भएर कोठाभित्रै आयो।
केटाकेटी दुबैले अभिभावकहरूको वास्तै गरेनन्, एकार्काको हात समातेर सोफामा बसे। दुबैको मुहार निचोरेको कागतीजस्तै थियो, विवेकले आँखा पनि झुकाएको थियो, त्यस्तै प्रियाको मुहार डरले आतंकित देखिन्थ्यो तै पनि प्रियाले ढुक्कसंग प्रहरीसमक्ष आफ्नो कुरा राख्दै भनिन्, ‘सर हामी कानूनका विद्यार्थी हौं। मलाई कसैले अपहरण गरेको होइन, आपसी राजीखुसीले प्रेम विवाह गरेका हौं’
प्रियाको कुरा सुनेर उनका बुवा निकैबेर घोरिए।
एकपटक राधा देविको अनुहारमा हेरे र शान्त भएर छोरीलाई सम्झाउँदै भने, ‘बेटा’ तिमी यी अछुतहरूको बहकाउमा नपर। यिनीहरूको त नियतै खोटो हुन्छ। यिनीहरूले तिमीलाई सम्पत्ति हत्याउने र हाम्रो हुर्मत लिने हतियारमात्र बनाएका हुन्, त्यो षड्यन्त्र बुझ र चुपचाप घर हिँड’
प्रियाले बाबुको कुराको विनम्रतापूर्वक प्रतिपाद गर्दै भनिन्,‘होइन बाबा! अब म घर फर्किन्न। हुन त हजुरहरू मेरो सबभन्दा प्रिय हुनुहुन्छ, तर कुनै कुनै सम्बन्ध आफैंभन्दा पनि प्रिय हुँदा रहेछन् बाबा! अब हामी अलग्गिएर बाँच्नै सक्दैनौं!’
केटाकेटी ठानेकी छोरीको यति कठोर निर्णय सुनेर राधादेवी स्तब्ध भइन्। रामजनम आक्रोशले बौलाएजस्तै भए र उनले अत्यन्त अमर्यादित भाषामा छोरीलाई भने,‘जसको अनुहार देखे पनि अपसकुन हुन्छ, जो पुस्तौंदेखि हाम्रो शौचालय सफा गरेर बाँचेको छ, त्यस्ता कुजातसँग राजपुतको छोरीको सम्बन्ध? यो हुनै सक्दैन छोरी! अब यो नाटक बन्द गर र खुरूक्क घर हिँड’
उनले जुरूक्क उठेर छोरीलाई घिच्याउन थाले तर उनी भने विवेकको पाखुरामा झुन्डिँदै रून थालिन्। उनको रूवाइले कोठाको माहोल कारूणिक भयो, अति भएपछि प्रहरीले रामजनमलाई चेतावनी दिँदै भने,‘यसरी करकाप गर्न पाइँदैन। सबै कुरा कानुनबमोजिम हुन्छ। तपाईं खुरूक्क बस्नुस्।’
रामजनम लाचार भएर सोफामा बस्यो। त्यसपछि प्रहरीले प्रियासँग उनको उमेर सोधे, उनले आफ्नो नागरिकता दिइन् र प्रहरीको कुराले हौसिँदै भन्न थालिन्, ‘यहाँ धर्म, वर्ग र जातीयतालाई प्रतिष्ठाको विषय बनाइन्छ र त्यसैको चेपुवामा परेर हामी जस्ता किशोर किशोरीहरू आत्महत्या गर्नुपर्छ। दृष्टि बदलिए पो त सृष्टि बदलिन्छ त सर!’
उनी अझै दृढताका साथ बोल्दै गइन्, ‘अब दृष्टि, दृष्टिकोण र चेतना बदलिनै पर्छ।
मानिसको जात केवल ‘मानिस’ मात्रै हुन्छ। वंश, जन्म, पेशा र परम्पराको आधारमा कोही पनि ठूलो र सानो हुँदैन।’
छोरीका कठोर शब्दहरू सुनेर रामजनम रातो न रातो भइसकेको थियो, उसका हातहरू काप्न थाले तर प्रियाले रूँदै बोलेका ती संवेदनशील कुराहरूले सब ध्यान उनैतर्फ खिच्यो अरूतिर कसैको पनि ध्यानै गएन।
उनी धारा प्रवाह बोल्दै गइन्, ‘कथित उच्च जात र वर्गका मानिसले गर्यो भने प्रेम विवाह हुने तर दलितले गर्यो भने चाहिँ ऊ किन अपहरणकारी हुने बाबा? मैले मेरो खुसी आफैंले रोज्न पाउने कि नपाउने ?’
कुरा सुन्दासुन्दै अचानक रामजनम भुइँमा ढल्यो। उनलाई प्रहरीको गाडीमा राखेर तुरून्तै अस्पताल लगियो। तत्काल एम. आर. आई. भयो। डाक्टरले तत्कालै अपरेसन गर्नुपर्ने सुझाव दिए तर उनको समूहको रगत कतै फेला परेन। राधादेवी अर्धमुर्छित जस्तै थिइन्। प्रियाको अवस्था पनि उस्तै दयनीय थियो। त्यस कठिन घडीमा दयासागर र विवेकले नै कुराको व्यवस्था मिलाउँदै गए ।
दैवको लिला! उनको रगत पनि विवेकका बाबु छोराकै सँग मात्रै मिल्यो। रगतको प्रबन्ध मिलेपछि अपरेसन सुरू भयो।
करिब ५\६ घण्टासम्म अपरेसन भयो, त्यसपछि डाक्टर बाहिर आएर परिवारजनलाई बधाई दिए। अपरेसन पछिका क्षणहरू पनि अत्यन्त भारी भएर बिते। करिब ३ घण्टा जति पछि रातको १२ बजेतिर उनको होस आयो। होस आएपछि राधादेवी भेट्न गइन्। सबै जनाबाहिर उनको व्यग्र प्रतीक्षामा बसे।
करिब १५ मिनेट जति पछि उनी बहिर आइन् र टिलपिल आँसु लिएर दया सागरलाई भनिन्,‘तपाईंको रगतले मेरो सौभाग्यको सिन्दुर जोगायो! यो गुण हामीले कहिले तिर्नु!’
त्यो कुरा सुनेर दयासागर अनुभूतिको विचित्र अवस्थामा पुग्यो, उसका आँखा आफ से आफ भरिए तर ऊ नि:शब्द रह्यो। त्यसपछि पनि उनीहरूको रात छटपटीमै बित्यो।
भोलिपल्ट फेरि आमा छोरी नै बिरामी भेट्न गए। त्यतिबेलासम्म उनी निकै नै टठिला भइसेकेका थिए। राधादेवीले उपचारको बारेमा सबै बताइन्।
उनले अभिरूचिपूर्वक सुने तर निकैबेरसम्म केही बोलेनन्, आँखाबाट केवल आँसुमात्र बगिरहे।
धेरैबेरपछि उनले दया सागर र विवेकलाई पनि खोजे। उनीहरूलाई देखेपछि उनका ओसिला आँखा फेरि जलमग्न भए। उनले विस्तारै विवेकको हात समाएर र छोरीतर्फ हेर्दै अवरूद्ध आवाजमा भने,‘ठिक हो छोरी! मानिसको जात त केवल मानिसमात्रै हो अरू कुनै होइन। हो, यदि कुनै दलितले प्रेम विवाह गर्न खोज्यो भने आखिर ऊ किन अपहरणकारी हुनुपर्ने ? यो चरम विभेद केका लागि?
लगभग मृत्युशय्यामा पुगेजस्तै अवस्थामा उनले गरेको आत्मबोधले सबैलाई भावुक बनायो।
बोल्दाबोल्दै उनको सास बढ्यो, सबैको जना फेरि चिन्तित भए तर विस्तारै उनले आफना रसिला आँखा पुछ्दै भने,‘म गलत रहेछु! तिमीहरूलाई मेरो शुभ आशीर्वाद छ!’
त्यो कुरा सुनेर प्रिया अत्यन्त भावुक भइन्, जीवनको सपना साकार भएको खुसी त छ छँदैथियो, उनलाई आफ्नो सम्हाली नसक्नुको आत्मा ग्लानीमा पनि राहत मिलेको थियो, उनी र्याल-सिङ्गान एकै हुने गरी रोइन्, उनीसँगै त्यहाँ उपस्थित सबै जना भावविह्वल भए।