आमाले इशारा गर्दै भन्नुभो, ‘यता आइज!’
छेउमा बस्नुभएका बालाई पुलुक्क हेरें, बा मन्द हाँस्नु भो। भाइहरू पर थिए, बाको छेउमा पल्लो गाउँका नरे काका। म सबैलाई छाडेर आमाले बोलाएकोतिर गएँ।
आमाले एउटा फोटो देखाउँदै भन्नुभयो, ‘यही हो! घर चितौन हो रे, मामाघर बुटोल।’
फोटो हेरें, राम्रै थिइन। अनि फेरि आमालाई हेरें, मुसुक्क हाँस्दै गमक्क परेकी मेरी आमालाई सोधें, ‘नाम के हो रे ?’
‘लक्ष्मी!’ आमाले मुस्कुराउँदै नाम भन्नुभयो।
मैले फेरि सोधें, ‘अनि थर ?’
‘खै! नरे काकाले शर्मा भन्दैथे। पूरा नाम लक्ष्मी शर्मा हो रे।’ आमाले मसिनो स्वरमा सुटुक्क भन्नुभो।
मैले गोजीमा भएको मोबाइल निकालें, फेसबुकमा लक्ष्मी शर्मा टाइप गरेर सर्च गरें।
भरर दर्जनौं लक्ष्मी शर्माहरू आइपुगे, आमाले देखाएको फोटो र फेसबुकका प्रोफाइल फोटोहरू दाँजें।
एउटी दुरूस्तै मिली, लक्ष्मी शर्मा। यो त्यही थिई, जसको कुरा लिएर नरे काका मेरो घरमा आएका थिए। मैले भेटाएँ।
बाहिर नरे काका र मेरा बा केटीका बारेमा गफिँदै थिए, नलजाई फेसबुकको फोटो देखाउँदै सोधें, ‘काका! यही हो?’
‘हो, हो! यै हो, मस्तै सिल स्वभाव कि! अचम्म नाम्री’ नरे काकाले बयान गर्दै थिए।
मभित्र हिँडें, मेरा पछि-पछि भाइहरू दौडिए।
मैले भाइहरूलाई फेसबुकको प्रोफाइल देखाउँदै भने, ‘हेर केटा हो! भविष्यमा भाउजू बन्न सक्ने केटी यै हो।’
भाइहरूले जिस्काए, मैले फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएँ।
आधा घन्टामा हामी साथी भयौं, मैले उसका फेसबुकमा पोष्ट भएका फोटा र स्टाटसहरू सम्पूर्ण हेरे।
मजस्तै हल्का रोमान्टिक लाग्यो मलाई ऊ। तर कतै-कतै अलि बढी उत्ताउली।
बाहिर आएँ, नरे काकाको छेउमा बसेर सोधें, ‘केटीका बाले के गर्छन् काका?’
‘बा मास्टरबाट रिटायर्ड हुन्, पेन्सन खान्छन् अनि राजनीति गर्छन्। नेता हुन् नेता,’ काकाले बडो फूर्ति लगाए।
मलाई केटी अझ बढी मन पर्यो, शिक्षित परिवारकी रैचिन्। म मख्ख परें। फेरि काकालाई प्रश्न गरें, ‘कुन पार्टीका नेता ?’
‘खै! कम्युनिष्ट हुन क्यारे’ काकाले पार्टीको नाम भनेनन्। कम्युनिस्ट हुन भन्ने चाहिँ खुलाए।
कम्युनिस्टकै छोरी भएर होला, अलि बढी स्वतन्त्रता पाएकी। मैले मन बुझाएँ।
नरे काकाले मेरो बारेमा उता सबै भनेका रैछन्। अनि उतैबाट यता कुरा पुर्याउने र यताको आशय उता लाने लमी रैछन् नरे काका।
उनले थप्दै भने, ‘तिम्रो बारेमा सबै भन्देको छु, केटी तिम्रो लागि सुहाउँदी छ। उता लगभग कुरा पक्का छ। तिम्रो मनसाय के छ?’
मैले बालाई हेरें, अनि मुस्कुराउँदै भनें, ‘बाले दुई चार दिनमा खबर दिनुन्च काका।’
काका बिदा भए, बाले मोबाइलमा केटीको फेसबुक प्रोफाइल हेर्न खोज्दै भन्नुभो ‘खै कस्ती छे, देखा त।’
‘अँ, ठिकै छे! तर नक्कली रैचे। पाल्न सक्चस्?’ बा हाँस्नुभो।
म लजाएँ, भाइहरूले मोबाइल तानेर फेरि उसकै फेसबुकमा दौडिएँ।
फेसबुकमा साथी भएको लगभग चार घन्टापछि मैले आफैं उसलाई म्यासेज गरें। ‘हाई!’ मात्र लेखेर।
उसले म्यासेज तुरून्तै रिप्लाई गर्दै लेखी, ‘हेल्लो!’
त्योभन्दा माथि गफिने मसँग कुनै बहाना थिएन। म एकछिन चुप बसें।
उसले आफैं लेखी ‘मलाई चिन्नुहुन्छ ?’
मैले हाँसेको इमोजी पठाएँ।
उसले फेरि लेखी ‘किन हाँसेको?’
मैले उल्टै प्रतिप्रश्न गर्दिएँ, ‘तपाईंले चिन्नुहुन्छ कि नाइँ ?’
उसले सजिलै भनी, ‘तपाईंलाई चिनेको त छैन तर तपाईंका बारेमा सुनेको छु।’
मैले पनि अब उत्तर दिएँ, ‘मेरो पनि तपाईंको जस्तै अवस्था हो। तपाईंलाई चिन्दिनँ तर तपाईंको बारेमा सुनेको छु।’
ऊ हाँसी, मैले यही मौकामा सोधें, ‘तपाईंको टिकटक छ?’
उसले एउटा भिडिओ लिंक म्यासेन्जरमा पठाउँदै भनी, ‘फलो गर्नुस् है, म फलो ब्याक दिन्छु।’
उसले दिएको लिंकमा क्लिक गरेर म उसको टिकटकतिर दौडिएँ।
हे भगवान! हेरि नसक्नु उत्ताउला भिडिओ।
शिक्षककै छोरी हो त यो? संस्कारमै हुर्केकी छोरी हो त यो? म अक्क न वक्क परें। मेरा मनमा अनेकन प्रश्न खेले।
फेरि म्यासेन्जरतिर आएँ। ऊ अनलाइन नै थिई।
केटी सुन्दर थिई। मैले खोजेको जस्तै सुन्दर। बा आमाले रूपको सुन्दरभन्दा मनको सुन्दर खोजेका थिए। तर उसका टिकटक भिडिओले मलाई ऊ मनको सुन्दर छे जस्तो लागेन। अलि बढी नै उत्ताउली।
‘टिकटकमा फलो गर्नु भएन? मात्र हेरेर आइहाल्नु भयो त?’ ऊ म्यासेन्जरमा रिसाई।
मैले छोटो उत्तर दिएँ, ‘गर्छु, अलि पछि।’
ऊ बिजी थिई या रिसाई, थाहा भएन तर ऊ हराई। म्यासेन्जरबाट अफ भएर गई।
म पनि मोबाइल चार्जमा छाडेर गाउँतिर निस्किएँ।
बेलुका बिस्तरामा निदाउने कोसिस गर्दागर्दै उसको म्यासेज आयो ‘कल गरम ?’
मैले सोधें, ‘मेरो नम्बर छ?’
उसले म्यासेन्जरमा डाइरेक्ट कल गरी। मैले नमस्कार टक्राउँदै फोन उठाएँ।
‘सञ्चै हुनुहुन्छ ?’ उसले आत्मीयता देखाई।
गफ सुरू भए, नरे काकादेखि टिकटक र फेसबुकसम्मका।
मैले टिकटकमा फलो नगरी सुखै पाइनँ, फोनमा बोल्दाबोल्दै फलो गर्दिएपछि ऊ खुसी भई। तुरून्तै फलो ब्याक पनि आयो।
ऊ टिकटकमा असी हजार फलोअर बोकेको सानोतिनो सेलिब्रेटी थिई, म हजार फलोअर नभएको बुङ्गा। हरेक कुरामा मलाई लज्जित बनाउँदै थिई।
‘छ्या! कस्तो अनुहार बिगारेको, कति नमिल्दो गीतमा भिडिओ बनाको, यो भिडिओ फाल्दिनु है।’ यस्तै यस्तै मागले हाम्रो दुई घन्टा लामो फोन वार्ता सकियो।
म आफैंले भनें, ‘अब सुतम्, भोलि बोलौंला।’
मनमा अनेक कुरा खेलाउँदै सुतें। टिकटकको भिडिओकै कारण उसलाई नकारात्मक सोच्नु हुँदैन भन्ने सकारात्मक मन पलायो।
उसले लगाएको लुगाकै कारण उसलाई उत्ताउली भन्न नहुने सकारात्मक मन पलायो, अनि मनलाई खुसी बनाउँदै कतिबेला निदाएँ, थाहै भएन। तर ढिलै निदाएँ।
बिहान ऊ अबेरसम्म अनलाइन आइन, म पनि हल्का बिजी नै भएँ।
दिउँसो उसले फेरि फोन गरी, मैले उठाएँ।
‘एउटा कुरा सोधम्?,’ उसले गफैगफमा अनुमति मागी।
‘सोध’ मैले अनुमति दिएँ।
‘ढाँट्न पाइँदैन नि?,’ उसले बाचा गराई।
मैले बाचा गर्दिएँ।
‘तपाईंको गर्लफ्रेन्ड छ? छ भने भन्नु , म माइण्ड गर्दिनँ तर पछि थाहा पाए भने रिसाउँछु।’ उसले कठोर प्रश्न गरी।
मैले हाँस्दै भनें, ‘मेरो त्यो उमेर नै आएन यार, प्लस टु पढ्दा एउटीले खुब मन पराउँथी तर मैले वास्तै गरिनँ।’
‘झूट नबोल्नु है, पछि नराम्रो होला फेरि?’ उसले धम्कीको भाषा बोली।
म हाँसेमात्र, उसले फेरि भन्दै गई, ‘आज भोलिको जमानामा पनि गर्लफ्रेन्ड नहुने हुन्छ? मेरो त ब्वाइफ्रेन्ड थियो।’
म छक्क परें, अनि सोधें, ‘अझै छ?’
‘नाई , ब्रेकअप भैसको।’ उसले सगौरब भनी। मानौं ऊ ब्वाइफ्रेन्ड हुनुलाई गर्व महसुस गर्छे।
‘किन गरेको त ब्रेकअप?,’ मैले प्रश्न गरें।
‘ऊ गाँजा तान्थ्यो, मैले जति भन्दा नि मानेन। अनि मैले छाडेको उसलाई।’ उसले ब्रेकअप हुनुको वास्तविकता बताई।
उसले फेरि भनी, ‘चुरोट त मलाई खास्सै नराम्रो लाग्दैन तर गाँजा त एकदम नराम्रो हो नि। अनि जति भन्दा नि नमान्ने यार।’
म हाँस्दै थिएँ। मसँग कुनै वाक्य थिएन अरू गफिने। उसले चेपारे पारामा फेरि सोधी, ‘साँच्चै तपाईंको गर्लफ्रेन्ड छैन?’
‘नाइँ! भैदेको भए म उसैसँग बिहे गर्थे’, मैले अन्तिम उत्तर दिएँ।
‘मलाई त अचम्म लाग्यो, आजको जमानामा पनि गर्लफ्रेन्ड छैन रे।’ उसले नपत्याएकै जस्तो गरी।
म चुप बसेर उसको कुरा सुन्दै थिएँ। ऊ भन्दै थिई, ‘मेरो विगतलाई कोट्याएर झगडा गर्न पाइँदैन नि फेरि, भन्देको छु।’
‘के विगत?’ मैले जान्न चाहें।
‘मेरो ब्वाइफ्रेन्ड थियो, तर अब छैन। यही कुरा लिएर बिहेपछि लड्न पाइँदैन।’ उसले आदेश जारी गरी।
मलाई ऊसँग बिहे नै गर्नु थिएन। खै किन किन, आफैंलाई थाहा छैन । मैले बहाना गर्दै फोन काटें।
बासँग बोल्ने हिम्मत थिएन, आमालाई भनें, ‘लक्ष्मीसँग बिहे गर्दिनँ म!’
‘किन?’ आमा ट्वाँ पर्दै सोध्नुभो।
‘उसको ब्वाइफ्रेन्ड थियो रे।’ मैले आमालाई लक्ष्मीको कथा सुनाएँ।
‘उसको ब्वाइफ्रेन्ड थियो, आज भोलि छैन। जमाना कहाँबाट कहाँ पुगिसक्यो, त चाहिँ विगत बुझ्दै बस।’ आमा रिसाउनुभो।
आमा सकारात्मक भए पनि म ऊप्रति सकारात्मक हुन सकिनँ। अन्त्यमा नरे काकाकै माध्यमबाट बिहेको कुरालाई अन्त्य गराइयो।
बिहेअघि मस्तले गफिने अवसर जुर्नु पनि एक प्रकारको भाग्य नै हो, बिहेपछि आइपर्ने समस्यालाई बेलैमा किनारा लगाउने अवसर पाइन्छ।
(दिपक घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)