अक्टोबरको यो महिना घामका किरणहरूसँगै रंगिन बन्दै गएको छ।
अपार्टमेन्ट र वर्कप्लेस वरिपरिका बगैंचा र पार्कहरू रंगिविरंगी पातहरूले थप रंगिन भएका छन्।
कामबाट एक हप्ताको ब्रेक लिएको छु। थाहा छैन क्यामरा बोकेर ब्रुकलिन ब्रिजको वरिपरि टहलिनेछु वा खस्दै गरेका पातहरूको क्लोजअप सट लिँदैमा मस्त रहनेछु वा यी सब केही गर्नेछैन।
तर अबको एक हप्ता म ल्याबको नियमितताबाट पर हुनेछु। यो रमाइलो समय हो। साथमा केही पुस्तकहरू र सिनेमाको लिस्ट छ। तर म नियमिततामा बाँच्ने मानिस होइन। मलाई कहिलेकाहीँ केही नगरिकन बस्न पनि रमाइलै लाग्छ। वा बिना संकोच कुनै अपरिचितसँग बिनामतलब बोलिदिन पनि सक्छु। अहिले पनि म कुनै अपरिचितसँग र्यान्डम तर गहिरो कुराकानीको प्रतीक्षामा छु।
देशबाट पर हुनुको बेफाइदा भनौं वा फाइदा जब तपाईं काम गर्नुहुन्न तब तपाईंसँग गर्नको लागि केही बाँकी रहँदैन।
म न्यूयोर्कमा भए पनि म वरिपरि नेपालीहरू खासै भेटिँदैनन्। त्यसैले ट्वीटरमा बहकिने गरेको छु। अपरिचित बनेर गरिने संवादहरू मलाई टेसिला लाग्छन्। जसले मलाई आफ्ना भावनाहरू बिना बन्देज पोख्ने स्वतन्त्रता दिन्छ। मेरो लागि ट्वीटर अप्रत्यासित बहस गर्ने र मानिसहरू भेट्ने एक रमाइलो ‘भर्चुअल कर्नर’ हो।
एक हप्ताको लागि म एक गफ गर्ने मानिसको प्रतीक्षामा छु। जसलाई म आफ्ना र्यान्डम प्रश्नहरू सोध्न सकूँ। र्यान्डम विचारहरूसँग थप र्यान्डमनेस थप्न सकूँ। मेरो रोजाइमा ऊ परेकी छ। ऊ को हो म भन्न सक्दिनँ। म उसलाई करिब एक वर्षदेखि ट्वीटरमा निहालिरहेको छु। ऊ लेख्छे उसको बारेमा मलाई थाहा भएको त्यति हो।
लेखकहरूलाई म अरू मानिसहरूभन्दा अल्लि बढी नै प्रेम गर्छु। मैले कुनै लेख्ने व्यक्तिसँग गरेको यो पहिलो संवाद भने होइन र पनि म ऊसँग संवादको लागि आतुर छु।
‘हेलो, हाउ यू डुइङ ?’ मैले उसलाई गरेको पहिलो डिएम यही थियो। मलाई लागेको थिएन उसले मेरो सन्देशको जवाफ पठाउँछे तर त्यस्तो भएन।
एक अप्रत्यासित सन्देशको मैले जवाफ पाएँ।
ऊ प्रतिउत्तरमा लेख्छे, ‘तपाईंको सन्देशले उत्साही भएको छु। थप संवादको आशा गर्छु।’
मलाई लागेको थिएन उसले मलाई यस्तो रमाइलो जवाफ दिनेछे। त्यसपछि म कुराकानीलाई थप रफ्तारमा दौडाउँछु।
ऊ मैले भर्चुअल दुनियाँबाट बोल्न थालेको पहिलो केटी होइन। मसँग यसरी सुरूआत भएको संवादको लामो फेरिस्त छ। मलाई थाहा छ केटीहरूसँग लामो समय संवादमा रहनु ठिक होइन। वा भनौं लामो क्याजुअल संवादमा रहनु थप राम्रो होइन। त्यसैले म चाहन्छु ऊसँगको संवाद एक हप्तामा टुंगियोस्। त्यसपछि सदाझैं म फेरि ल्याबको महफिलमा बहकिन सकूँ। थाहा छैन ऊ मसँग किन संवादमा छे। मेरो लागि यो एक हप्ताको लागि छुट्टाएको फन टाइम हो। त्यो बाहेक ऊसँग मेरा अपेक्षाहरू केही छैनन्।
उसको प्रतिउत्तर र प्रतिक्रियाको वास्ता नगरी म सुरूआती संवादमै सोधिदिन्छु, ‘तपाईंको प्रेम, विवाह र यौनबारे कस्तो धारणा छ?’।
म सधैं यस्ता र्यान्डम प्रश्नहरूको उत्तरभन्दा पनि प्रश्न पछिको प्रतिक्रियालाई लिएर उत्साहित रहन्छु।
मलाई लागेको थियो ऊ मसँग रिसाउनेछे वा उत्तर दिनेछैन। तर त्यस्तो भएन। ऊ यसरी उत्तर दिन्छे मानौं त्यो कुनै परीक्षा पास गर्नको लागि सोधिएको प्रश्न थियो।
मलाई ऊसँगको संवाद रमाइलो लाग्दैछ। त्यस्ता प्रश्नहरूलाई सजिलै लिने ऊ मेरो भर्चुअल दुनियाँमा आएकी पहिलो केटी मान्छे हो। म ऊसँग सजिलै जीवन र जगतका अप्ठ्यारा प्रश्नहरू सोधिदिन्छु। ऊ यसरी उत्तर फर्काउँछे मानौं ऊसँग प्रश्नहरूको रेडिमेट उत्तर छ।
ऊसँगको संवादले मलाई अनौठो अनुभूति दिएको छ, उबारे र आफैंबारे पनि। मलाई थाहा छ, ऊ सजिलै कसैसँग बहकिने उमेरकी होइन। तीसको उमेरमा कसैसँग बहकिन सजिलो छैन। ऊ लेख्ने काम गर्छे त्यसकारण बहकिन्छे त्यो पनि मलाई थाहा छैन। तर म आफैंसँग भाग्न सकेको छैन। खासमा म ऊसँगको संवादले रोमाञ्चित छु। मलाई थाहा छैन अबका तीन दिनमा म संवादलाई बिट मारेर आफ्नो ल्याबको संसारमा पुग्न सक्नेछु वा छैन।
म अहिलेसम्म कसैसँग लामो सम्बन्धमा रहेको छैन। जो-जो मेरो जीवनमा आए तीसँग म अनुग्रहित छु। मसँग उनीहरूलाई लिएर कुनै गुनासो छैन। जसरी आए, जसरी गए म त्यसलाई एक क्याजुअल जीवनचक्रको रूपमा लिने गर्छु। सायद म स्वार्थी छु वा अरूभन्दा बढी नै आत्माकेन्द्रित । म जे गर्छु रमाइलोको लागि गर्छु । म नियमितताको बिम्वमा विश्वास गर्दिनँ।
आज ऊसँगको संवादको चौथो दिन हो। अबका तीन दिनपछि म ऊसँग थप संवादमा बस्न चाहन्नँ। ऊ मसँग गहिरो संवादमा छे जसमा म पनि रमाइरहेछु। ऊ मलाई मेरो वास्तविक नाम र परिचय सोध्छे। म भन्छु, 'नाममा केही छैन, म एक यायावर हुँ अनियमिततामा विश्वास गर्ने यायावर, एक वैचारिक यायावर मसँग स्थिरता को कल्पना नगर्नुस्'।
मैले ऊसँग यी कुराहरू गर्नु जरूरी थियो किनभने म चाहन्नँ उसले संवादपछि हामीबीचको सम्बन्धको अरू कुनै आयामबारे सोचोस्। त्यो मेरो लागि सुखद् बन्नेछैन।
मलाई थाहा छ नारी र पुरूषबीच भावनात्मक गहिराइको हिसाबले तुलना गर्ने हो भने तुलनाको कुनै बिन्दु रहँदैन।
मलाई यो पनि थाहा छ, म जति हामी बीचको सम्बन्धलाई क्याजुअल रूपमा लिन सक्छु उसले त्यसरी लिन सक्ने छैन। तर म चाहेर पनि सम्बन्धको नाममा नियमितता चाहन्नँ। मलाई लाग्छ सम्बन्धको लामो फेहरिस्तले दु:ख मात्र निम्त्याउँछ। म दुखी बन्न चाहन्नँ।
लेखकहरू भावनामा विश्वास गर्छन्, भोगाइमा विश्वास गर्छन् अनि कल्पनामा पनि। तर मैले गरेको जीवनको यात्रा भनेको तर्कमा निहित छ।
चाहेर नचाहेर म काममा झैं जीवनमा पनि उपयोगिता र प्रमाणमा निहित धारणाहरू बनाउँदो रहेछु।
मेरो लागि ऊसँगको संवाद एक हप्ताको लागि गर्न मिल्ने एक रमाइलो कार्य हो। यस्तो गरिरहँदा मलाई लाग्छ म कुनै अप्रत्यासित तर सुन्दर यात्रामा छु।
ऊ भन्छे, 'जीवन एक नियमितता हो। आज अनियमित लागेका धेरै चिजहरू भोलि नियमितताको घेराभित्र पर्न पनि सक्छन्'।
म उसको विचारसँग सहमत हुन सक्दिनँ र होइन पनि भन्न सक्दिनँ। बस् यति हो म नियमिततामा बाच्न चाहन्नँ। आज आफ्नै लाग्ने ल्याबको जीवनबाट थाहा छैन अबका दुई वर्षमा म अपरिचित बनिदिन पनि सक्छु।
आज बोलेकासँग भोलि नबोलिदिन पनि सक्छु। आज आफ्ना लाग्नेसँग भोलि अपरिचित बनिदिन पनि सक्छु। तर म जीवनको नाममा पुनरावृत्ति चाहन्नँ। मलाई आफैंलाई पनि हिजोकोझैं बन्नु छैन। मलाई बदलावहरू मनपर्छ।
म ऊसँग संवादमा बदलावको खोजीमा छु।
ऊ मलाई भन्छे, 'किताबहरू भन्दा मलाई सिनेमाहरू मनपर्छ। सोचेझैं बन्न सक्ने भए म मूभिमेकर बन्ने थिएँ। कहिलेकाहीँ मलाई आफ्नै लिमिटेसन देखेर रिस उठ्छ। 'यू नो आइ एम अनलिमिटेड्ली लिमिटेड'।
मलाई थाहा छ उसको र मेरो विचारमा समन्वय हुन सक्दैन। म चाहेरै पनि बन्दिनँ र घेराहरूमा विश्वास गर्न सक्दिनँ।
मलाई जीवनको असीमिततामा विश्वास लाग्छ। तर म उसलाई भन्न सक्दिनँ तिमीले जे भन्दै छौ त्यो मेरो सत्य होइन। वा म त्यसमा विश्वास गर्न सक्दिनँ।
आज ऊसँगको संवादको सातौं दिनमा छु। मैले भन्नुपर्छ अब म तिमीसँग संवादमा नरहन सक्छु। अब हामीले हाम्रो डिजिटल सम्बन्धको अन्त्य गर्नुपर्छ। तर सम्बन्धको अन्त्य गर्न सम्बन्ध छोटो नै भए पनि सजिलो छैन।
ऊ सँगको संवादमा म रमाएँ त्यो सत्य हो। तर म यसलाई अझ गहिरो बनाउन चाहन्नँ यो पनि सत्य हो।