ऊ उड्यो। अफिसको झ्यालबाट उसलाई बोकेको जहाज ओझेल नपरुन्जेल हेरेँ। निमेषभरमा बादलसँग लुकामारी गर्दै हरायो। मन भक्कानिएर आयो। आँखा भरिएछन् आँसुले। सम्हालिएर आँसु पुछेँ। मन स्मृतिमा पुग्यो, फर्काउने जाँगर चलेन।
नेपालबाट ऊ उड्ने बेला एअरपोर्ट गएर बिदाइ गर्न मन थियो। ऊ र म बीचको सामाजिक बन्धन तगारो बन्यो, तोड्न उचित ठानिनँ।
ऊ र म एउटै संस्थामा काम गर्थ्यौं। उसको र मेरो सेवा समूह एउटै थियो। लामो समय एउटै संस्थामा काम गरे पनि खासै भेटघाट हुन्थेन। सामान्य चिनजान थियो। भेट्दा सामान्य हेल्लो-हाई हुन्थ्यो।
म उनलाई दाइ भन्थेँ। कलेजमा पनि ऊ सिनियर थियो र यता पनि। ऊ धेरै उपत्यका बाहिर हुन्थ्यो कामको सिलसिलामा। पछि हाम्रै परियोजनामा सरुवा भएर आयो।
गाउँमा जन्मिए पनि ठूलो संघर्ष गरेर यहाँसम्म आएको भन्थ्यो। सामान्य परिवारमा जन्मिएको ऊ अन्त्यत सुशील थियो। मिठो बोल्ने, पद, ज्ञान, वैभव असाधारण भएर पनि साधारण थियो ऊ। राम्रो गुण कसलाई मन पर्दैन र मलाई मन पर्थ्यो ऊ।
मन मिलेपछि नजिकिन समय लाग्दैन रे। हामीलाई पनि त्यस्तै भयो। ऊ र म पनि छिट्टै नजिकियौँ। सामाजिक बन्धनहरू थिए, नाघ्न नहुने सामाजिक मर्यादा र लक्ष्मण रेखाका सीमाहरू थिए हामीबीच र त्यस्तो कहिलै भएन सबै कायम रहे। ती सीमा नाघिएन पनि।
भावनात्मक सम्बन्ध निकै माथि र पवित्र हुने रहेछ। उसलाई भेट्दा मिठो अनभूति, नभेट्दा नरमाइलो र खल्लो महसुस हुन्थ्यो मलाई। उसलाई पनि उस्तै हुन्थ्यो होला सायद। मलाई भेट्दा निकै खुसी, उत्साहित देखिन्थ्यो। हाम्रो पढाइ र कार्यक्षेत्र एउटै हुँदा धेरै कुरा साझा हुन्थे।
केही समयपछि संस्थाको ठूलै पदमा भए पनि उसलाई एक पटक विकसित मुलुकबाट उच्च अध्ययनको अभिलासा रहेको बतायो। मैले पनि कर्मचारी विनियमावली बमोजिम संस्थाबाट अध्ययन बिदा मिल्ने हुँदा प्रयास गर्न सुझाएँ।
त्यसपछि उसले विभिन्न विश्वविद्यालयका सम्बन्धित प्रोफेसरहरूलाई सम्पर्क गर्न थाल्यो। आवेदनका विभिन्न चरणका बारेमा उसले उत्साहित हुँदै सुनाउथ्यो र प्रोफेसरहरूसँग भएका कुराहरू बताउँदै मलाई पनि आवेदन गर्न भन्थ्यो।
ऊ आफूले मलाई सक्दो सहयोग गर्ने बताउथ्यो तर आफ्नो पारिवारिक अवस्थाले अहिले नमिल्ने, पछि अनुकूलमा गर्ने बताउथेँ। इन्जिनियर पास भएदेखि नै ठूला र राम्रा परियोजनामा काम गरेको हुँदा उसले विदेशी विश्वविद्यालयमा सजिलै भर्ना पायो र ऊ जाने पनि भयो।
ऊ जाने भनेदेखि नै उसलाई मिस गर्न थालिसकेकी थिएँ मैले। कता-कता नरमाइलो हुन्थ्यो मन। एक मनले ऊ नगए हुन्थ्यो भन्ने लाग्थ्यो। ऊ साथमा हुँदा म कति खुसी थिएँ।
उसले भाषालगायत अध्ययन बिदा आवेदनको तयारी गर्न थाल्यो। सबै कुराको प्रगति मलाई सुनाउथ्यो। ऊसँग एकदिन भेट भएन भने म पिरोलिन्थ्यो, न्यास्रो लाग्थ्यो। अध्ययन सकेपछि संस्थामा फर्की सेवा गर्छु भन्थ्यो तर म ऊ नेपाल फर्किनेमा विश्वास गर्दिन थिएँ।
आजभोलि गर्दागर्दै ऊ जाने दिन आयो, र ऊ गयो पनि।
आज ऊ बस्ने अफिसको कोठा, कुर्सी अझै खाली नै छ तर घरीघरी उसको यादले म विक्षिप्त हुन्छु अनि सम्हालिन्छु। फेसबुकमा कुरा हुन्छ कहिलेकाहीँ।
ऊ व्यस्त छ, अभ्यस्त बनाउँदै छ आफूलाई विदेशमा। एउटा मिठो याद छाडेर गएको छ ऊ मेरो मनमा। भविष्यमा भेट अवश्य होला। तर अहिले ऊ कहाँ, म कहाँ!