मरुभूमिको उष्ण बालुवाले उसलाई पोल्दैन
शिशिरको चिसो तुसारोले उसलाई छुँदैन
दूर गगनमा बादल गड्-गड् गर्जिछ
बिजुलीको गडगडाहटले सारा संसार तर्सिछ
तर प्रेम माग्नीले ऊ तप्त, उत्कण्ठाले मस्त
एउटै फूलमा देख्छ आफ्नो बगैँचा समस्त
ऊ मनमौजी, ऊ बिल्कुल बज्रस्वाँठ
प्रेम बाहेक जान्दैन ऊ अरु कुनै पाठ
नदेख्दा प्रेयसी, हृदय उसको चंचल
चाँदनीमा देख्छ उनको आकृति हरपल
आँखा अर्ध खुलेको
हृदयमा जून झुलेको
हर श्वासमा मायाकै छ सुवास
न कुनै भोक, न उसलाई प्यास
बसी-बसी कल्पनामै ऊ उडान भर्छ
हाँसी-हाँसी मनका तूफानसँग ऊ जुध्छ
किनकी ऊ प्रेममा छ!
ऊ सुन्दछ ती शब्दहरू पनि
जुन प्रेयसीले बोलेकी नै छैनन्
ऊ बुझ्दछ ती कुरा पनि
जुन उनले खोलेकी नै छैनन्
भन्नुपर्ने धेरै थियो-
तर सबै स्पन्दनहरू गीत बनेनन्
गर्नुपर्ने धेरै थियो-
तर सबै आशक्तिहरू प्रीत बनेनन्
दिन र रात ऊ जान्दैन
बाधा र बन्धन ऊ मान्दैन
ऊ रोमियो, ऊ मजनु, अनि ऊ नै हो मदन
सान्निध्य नहुँदा प्रेम थपियो, अझै झन्-झन्
हृदयमा असीम आनन्द, रहेन कुनै भ्रम
बैराग्य प्राप्ति- त्यो पनि बिना श्रम!
किनकी ऊ प्रेममा छ!
यत्रो विशाल ब्रह्माण्डमा
ऊ एक फगत कवि-
शब्दहरू उसका क्रमशः सकिँदैछन्
पाइलाहरू उसका विश्रामतिर लम्किदैछन्
भोलिको ऊ भन्न सक्दिन
भविष्य ऊ जान्न सक्दिन
तर आज-
ऊ संसारी मूर्ख, बेवकूफ अनि गँवार
प्रेमको लडखडाउँदो डुंगामा सहर्ष सवार
हावाको झोकाले जहाँ लान्छ त्यहाँ जान तयार
प्रेम उसको प्रयोजन, जे होस्- आर या पार
ऊ हाँस्दछ अनि ऊ रुँदछ घरीघरी
ऊ बल्दछ अन्धकारमा जुनकिरी सरि
किनकी ऊ प्रेममा छ!
किनकी ऊ प्रेममा छ!