दूर क्षितिजमा गोधुली घाम
टिलपिले ताराहरूको तामझाम
छद्मभेषी चन्द्रमा त्यो बेला दङ्ग पर्दछ
जब निलडामे आकाश सुनौलो रंग भर्दछ
मनोरम त्यो दृश्यमा-
पवन बहकिएर माधुर्य थपिदिन्छ
नाचिरहने बादलसँग ऊ पिरती साँचिदिन्छ
चराहरू आहाल्दित उड्छन- चरैवती, चरैवती
हरिया वृक्ष तन्किन्छन्- आफूले सकेजति
थोरै वर्षाले पनि जब सुख्खा धर्ती सिर्जिन्छ
फूलहरूको हृदय तब अहोभावले भरिन्छ
ब्रह्माण्डको यस्तै विस्मयमा रमेका सबै जीव
दुखी छौं त तिमी र म- नाम मात्रैका सजीव!
विचारका निरर्थक भारी सदैव मनमा बोकी
हाँस्नु पर्ने समयमा आफ्नो खुसी बलात् रोकी
रुनु पर्दा अहंकारले दुवै आँखा छोपी
लाग्छ- बाँच्नु पनि यथार्थ हो वा कल्पना पो होकी?
द्रव्यको खोजीमा सब यौवन लुटायौँ
प्रतिष्ठाको लोभमा आफ्नो स्वभाव गुमायौँ
के रहन्छ आखिर- त्यो कागज वा सुनमा?
जब हृदय नै रहन्न, आफ्नो नैसर्गिक धुनमा!
त्यसैले सुन- यो साँझ केही भन्दैछ
आज यो अन्तर्मन, भिडभाड हैन
अस्तित्वसँग एकाकार रोज्दैछ
आज यो चेतना, सानो थोपा हैन
सिंगो सागर खोज्दैछ
बन्द आँखाले हेरिराख मनका आवेगहरू
पक्कै रोक्न सकिन्न हृदयका संवेगहरू
मात्र यत्ति हो- तिमी आफ्ना भावनाहरूको
आफै द्रस्टा बन्न सक
जीवनका हर आयामहरूको तिमी
आफैं स्रस्टा बन्न सक
कुनै प्यासी माहुरीले फूलको रस चुसे झैँ
कुनै अटेरी दीप आँधीहुरीको माझ बले झैँ
जीवनलाई एक पटक स्वभावत: जिएर हेर
आफू भित्रको अमृत रस पिएर हेर
जीवन कदाचित यात्रा हैन
हरदिनको यही जात्रा हो
यो निमिष, यो घडी-
फगत यति मात्र हो!
यो निमिष, यो घडी
फगत यति मात्र हो!