सडकको त्यो निर्जन कुनामा
दौडिरहेको बालक आफ्नै धुनमा
स-साना हात उसको तर आकाश छुने चाहना
वर्षातको बेगले रोकिन्न खेलिरहने बहाना
तर चिप्लेर अचानक जब ऊ जमिनमा लड्छ
घुँडा ठोकिएर उसको सुरुवाल फाट्छ
थकाइले ऊ थुरथुर
रिसले ऊ चुरचुर
विस्तारै उठी हिलो टकटकाउँदै गर्दा
सकसले थोरै आँसु सुकसुकाउँदै गर्दा
जब देख्छ आफ्नी आमालाई केही पर
उल्लासले भरिन्छ मन उसको-
सोच्छ- 'आखिर के नै भएको थियो र?'
अनि दूरदराजमा देख्यो जब बाबाको छाया
हतास बन्यो साहस तुरन्तै- त्यो कस्तो माया?
थकान सब भुली फेरि ऊ बेतोड कुद्छ
मातापिताको आशीर्वाद जसमाथि
हिलोमा कमलको फूल ऊ टिप्दछ!
त्यो लडेको सिँगाने केटोमा जो आफैंलाई देख्छ
बालापनको धुमिल यादहरू उसले हृदयमा बोक्छ
बाले कहिलै घामले पोल्यो भनेको उसले सुनेन
आमाले कहिलै दुःख भयो भनेको उसले जानेन
उसको पढाइका लागि बाले कति जुत्ता खियाए
नयाँ लुगा उसको तर आमाको पुरानो मजेत्रो कतिले चिहाए
उसको आँसु, सिंगान पुस्दा आमालाई कहिल्यै घिन लागेन
थकाइ लाग्दा उसलाई बाले नबोकेको कुनै दिन थिएन
जब सुनको निश्चेष्ट छानोभन्दा
परालका त्यान्द्रा नै सुनौला लाग्छन्
जब देखावटी चमक-दमकभन्दा
बालापनका दिन नै घमौला लाग्छन्
जब बाले सुनाएका पौराणिक कथाहरू
अझै जिवन्त र कारुणीक लाग्छन्
जब आमाका सुरिला भाकाहरू
हृदयका खाकाभित्र सधैं बज्छन्
जब मृगतृष्णाले थकित भई
मात्सर्यले चकित भई
ऊ खोज्दछ कतै शीतल छहारी
प्रेम कुनै द्रव्य हैन मूर्ख, पाइने चहारी-चहारी
जब पाएका ताली पनि गाली झैँ लाग्छन् लाख
जब जलेको हर मुर्दामा देख्दछ ऊ आफ्नै राख
जब चिन्ताको बक्ररेखाले सदैव सताइरहन्छ
जब पश्चातापको विभिन्न भेषले सधैं तड्पाइरहन्छ
जब सागरको बीचमा पनि अझै गहिरो प्यास हुन्छ
जब सुकिलाहरूको माझ पनि ती बृद्ध अनुहार नै खास हुन्छ
जब अभिशक्त मनोदशाले हेर्न सक्दैन ऊ ऐना
उद्विग्न, सोध्छ आफैंलाई- 'यो म नै हो, या हैन?'
अनि त्यो विषम परिस्थितिमा
त्यो विक्षुब्ध मनस्थितिमा
अचानक उन्मुक्तिको केही आश आउँछ
मृतप्राय चैतन्यमा फेरी केही सास आउँछ
जब उसको शिर ती देवात्माप्रति श्रद्धाले आफैं झुक्दछ
जब उसको हृदय उन्माद छोडी प्रेमले आफैं सजिन्छ
हो, त्यो अनुगृहित प्रहर
जब घट्दै जान्छ अहंकारको जहर
अनि बा-आमाको याद आउँछ
अनि बा आमाको याद आउँछ!