पल्लाघरे जमिनदार साइलो
बाँकी एउटा
दोहोरो मोहडाको घडेरी बेचेर
बाजा गाजासहित
लामो लाइन बसेर नाम दर्तापछि
प्रतिनिधिसभा नपाए पनि
प्रदेश सभामा रमाउँदै
देश र जनताको सेवक बन्ने दाउमा
घरका लालाबालाको माड खोसिने गरी
घरमा झगडाको आगो झोसिने गरी
जिन्दावाद मुर्दावाद भन्दै
चिच्याइरहेछ, उफ्रिरहेछ
आफूले हालेको
टेन्डरमा लङ्गुरबुर्जामा झैं
डबल र तिर्बल पर्ने
एकल अहम् अभिलाषा बोकेर!
उसलाई कुनै सरोकार नै छैन
अरु कुराको
त्यसैले त ऊ दौडिरहेछ
भविष्यमा पाइने
कुर्ची देखेर
ललिपप र लहडमा बबुरो कुदिरहेछ
राजनीतिलाई चिट्ठा सम्झेर
अक्कल छैन कुनै उसमा
न त बुझ्यो ज्ञान चाहिन्छ
राजनीतिमा
ऊ नाफा कमाउन
सपना बाँड्न तल्लीन छ
यसरी कि माने लिउँ
राजनीति सेवा हैन
लगानी हो, जुवा हो
राजनीति पेसा हो
राजनीति पैसा हो
र पैसा राजनीति!