घरमा बहिनी मायाको इन्गेजमेन्ट थियो, तयारी भने विवाहकै जस्तै थियो। केटा पक्षका मानिसहरु गाडी र मोटरसाइकलमा आउँदै थिए। कौसीमा बसेर महिमा हेर्दै थिइन्, नजिक आएर उनलाई मामुले भनिन्-‘यता नबस छोरी, अनुहार त्यस्तो छ! छततिर गएर बस, बरू खाना पनि त्यतै पठाइदिउँला।’
मामुका कुराले उनको खाटा बसेको घाउ फेरि कोट्टयाई दियो। एकै छिनमा आँखा जलमग्न भए, दौडिएर छतमा गइन्। आँसुले दृष्टि धमिलो थियो, चुपचाप आँसु पुछिन् र आफूले बाँचेको जिन्दगीलाई फर्केर हेरिन्, झरेर गएका ती रूमानी सपनाहरूले पीडामाथि झन् पीडा थपे, भावशून्य भएर उनी क्षितिजतिर हेर्दै टोलाइरहिन्।
नजिकैको चौरमा एउटा बुढो कुकुर हर लतार्दै घिस्रिँदै थियो। लुतोले फतक्क पाकेको त्यसको शरीरमा केटा केटीहरू ढुङ्गा हान्दै थिए, कुकुर बच्चाहरूतिर फर्केर झम्टौला झैं गर्दथ्यो, एक छिन केटाकेटी रोकिए झैं हुन्थे र फेरि ढुंगा हान्न सुरू गर्दथे र कुकुर कारूणिक आवाजमा रून्थ्यो। त्यो देखेर मनको पीडामाथि अर्को पीडा थपियो। त्यसबाट नजर हटाउँदै उनले मनमनै सोचिन्।
‘घिस्रेर पनि त कहाँ बाँच्न दिँदो रहेछ र जिन्दगीले!’
तल्लो तलामा किडब्लुमको ‘आई फेल इन लभ एगेन’ भन्ने लोकप्रिय गीत बजिरहेको थियो तर उनको मनमा भने आफ्नो वेदनाको सारंगी बजिरहेको थियो। छातीभरि नमिठा सम्झनाहरू थिए र त्यसमै उनी छताछुल्ल भएकी थिइन्।
सँगैको घर कि बहिनी घरको ढोकाबाट स्कुटर निकाल्दै थिइन् र त्यो देखेर उनलाई पनि आफ्ना कलेजका दिनहरूको सम्झना आयो, एक दिन मामुले उनलाई भनेकी थिइन्- ‘फैसनको मात्रै होइन, भविष्यको पनि चिन्ता गर है छोरी, तिम्रो यो उमेर पढ्ने उमेर हो!’
‘ह्या मामु पनि! खाली ड्रेसअप मै किचकिच। मेरो भरोसा लाग्दैन हजुरलाई..... ? खोइ पकेट मनी दिनुस’
त्यसै भनेर उनले ममीलाई जितिन् र उनको पर्सबाट पाँच सय रुपैयाँको नोट झिकिन्। पार्किङबाट स्कुटर निकालिन्। मिरर एड्जस्ट गर्दै ऐनामा हेरिन्, गुलाफको फूलजस्तै फक्रेको आफ्नो अनुहार हेरेर आफैं मख्ख परिन्। स्कुटर तुफानले कुदाएर कलेज पुगिन्। क्लास सुरू भैसकेको थियो, हतार हतार क्लासतिरै जाँदै थिइन्, पछाडिबाट मानवले बोलायो,
‘ओइ महिमा! बल्ल आइपुगिस्!, हिँड् क्याफ्टेरियातिर जाऔं! आज पढ्ने मुड छैन यार’
उसले आफ्नै मनको कुरा भन्दिएजस्तै लाग्यो। उनी फरक्क फर्केर आइन्। दुबै जना क्याफ्टेरियाको कुनामा गएर बसे। मानवले उनको हात समायो। आत्मीय अनुभूतिले दुबै जना रोमान्चित भए। हात पन्छाउँदै उनले मानवको आँखामा हेरिन्, उसले एक पटक लामो सास फेर्यो र आफ्ना छटपटी सुनायो।
‘धेरै गारो हुन थाल्यो महिमा! तँबाहेक मनमा अरू केही पनि आउँदैन यार ...’
महिमाको अवस्था पनि उस्तै थियो, उसको कुराले झन् सोच मग्न बनायो,आँखाहरू पहिले नै रसाइसकेका थिए, भावुक भएर उनले मानवलाई सोधिन्- ‘माया भनेको खाली छटपटी मात्रै हो त मानव?’
मानवले बोल्नै नपाई टेबलमा कफी आइपुग्यो। महिमाले कोमल नजरले उसलाई हेरिन्, उसले पनि उस्तै मायालु मुस्कान फिजायो। लामो सुस्केरा लिँदै महिमाले उसलाई सोधिन्- ‘कहिलेसम्म यसरी छटपटिएर बाँच्ने हो मानव ? ...’
उनको त्यो प्रश्नको उत्तर मानवसँग पनि थिएन। चाहना उस्तै थियो, डर उस्तै र छटपटी पनि उस्तै! समयको त्यो भावुक स्पर्शमा दुबै जना निमग्न थिए।
मन नलागी नलागी दुबै जना उठेर क्याफ्टेरियाबाट क्लासतिर लागे। क्लासमा पनि आँखाहरू जुध्न छोडेनन् मेसेजको आदानप्रदान भइरह्यो। विगत दुई वर्षदेखि यो शिलशिला यसरी नै चल्दै आइरहेको थियो।
बेलुका घरमा खानपिन सकियो, सुत्न जानुअघि मालती महिमाको कोठामा गइन्। सामान्य भलाकुसारी भयो, त्यसपछि उनले महिमाको बिहेको कुरा निकालिन् तर मामुको कुरा ठाडै इन्कार गर्दै महिमाले भनिन्-
‘आ.. हजुरहरू जे सुकै भन्नुस् ममी! म त पढाइ पूरा नगरी बिहे गर्दै गर्दिनँ ....’
मालती कोठाबाट निस्केपछि महिमाले मनमनै सोचिन्, अब मानवको बारेमा घरमा बताउनुपर्छ ’ तर मनमा शंका उब्जियो!
‘यदि बाबा मामुले मन पराउनु भएन भने? के म ऊबिना बाँच्न सक्छु?’ सोच्दा सोच्दै मन भारी भएर आयो, उनी बेडमा पल्टिन् र मन अन्तै लैजाने प्रयास गरिन्।
निन्द्रा लाग्ला लाग्ला जस्तो हुँदै थियो। फेसबुक मेसेन्जरको घण्टी बज्यो। मोबाइल हेरिन्, मेसेज विवेकको रहेछ। उनको सानैदेखिको साथी विवेक। दुबै जनाले स्कुल सँगै पढेका थिए तर कलेज भने अलग अलग थियो। मित्रता राम्रो थियो तर पछिल्ला दिनहरूमा विवेकले आशक्ति देखाउन थाल्यो र महिमा तर्केर हिँड्न थालिन्। ऊ सधैं त्यही कुराको गुनासो गर्दथ्यो र त्यो मेसेजमा पनि लेखेको थियो
‘ओई मलाई बिर्सिस होइन?’
‘आफ्नो साथीलाई पनि कोही बिर्सिन्छ त?’
‘अरू नै छन् नि तेरा! मलाई किन सम्झिन्थिस् र?’
अब कसरी ‘रेस्पोन्स’ गरौं भनेर महिमाले सोच्न नभ्याउँदै उसले अर्को मेसेज पठायो,
‘तँ किन यति ‘इग्नोर’ गर्छेस् महिमा? हेर, तलाई नदेखेको दिन त मलाई निन्द्रै लाग्दैन यार! के भ’को मलाई तै भन त!’
उसको आशय उनले बुझिसकेकी थिइन् तर कुराले गम्भिरता नलेओस् भनेर नबुझे झैं जस्तै गरी उनले लेखिन्-
‘तँ पागल भ’को अरू के हुनु नि! सधैं नचाहिने कुरा मात्र गर्छस्, अति त नगर न तँ!’
उसका मेसेजहरू यस्तै हुने गर्दथे। उनी सम्झाउँथिन् तर ऊ आफ्नो जिद्दी छोड्दैनथ्यो। आज मेसेज पढ्दा पढ्दै उनको दिमाग रन्थनियो।
‘तँलाई नदेखेको दिन त म मलाई निन्द्रै लाग्दैन यार!...’ उनले पटक पटक पढिन् र मनमनै भनिन्
‘स्टुपिड! मायामा पनि जबरजस्ती हुन्छ!’
उनी उसको चित्त नदुखोस् भन्ने सोच्थिन् तर उसको पागलपन दिनदिनै बढ्दै थियो। ऊ अक्सर कलेजमा आउथ्यो र क्याफ्टेरियामा बोलाउथ्यो।
पिक एण्ड ड्रपको बहानामा बाटो ढुक्थ्यो र उनकै यादमा काटेको भनेर नाडीको खत देखाउथ्यो। हुँदैहुँदै उनी सहनै नसक्ने अवस्थामा पुगिन् र अब आफू कठोर बन्नुपर्छ भन्ने लाग्यो र विवेकलाई फोन गरिन्।
एकै घण्टीमा उसले फोन उठायो र उत्साहित हुँदै बोल्यो ‘ओई! तैंले मलाई फोन गरिस्! ओ माई गड! म कति खुसी भएँ यार’
उसको कुरामा ध्यानै नदिइकन उनले कठोर शब्दमा भनिन्, ‘आज म तँलाई स्पष्ट भन्छु, हेर म तलाई साथीको रूपमा मात्रै माया गर्छु, म तेरो प्रेमिका हुनै सक्दिनँ, म मानवसँग गहिरो रिलेसनसिपमा छु!’
महिमाको कुरा टुंगिसकेको थिएन तर उसले बीचमै उनको कुरा काटेर भन्न थाल्यो
‘ओई, पख न ... अरू कुरा नभन यार! मलाई तेरो मायाको भ्रममै बाँच्न देन...,..बहुलाउन दे!’
‘ओई तँ पाखण्डी कुरा नगर त। तेरो खुसीको लागि मैले किन यो यातना सहनु पर्ने? अब यी वाहियात कुराहरू बन्द हुनुपर्छ विवेक।’
ऊ एकछिन रोकियो, सुस्केरा हाल्यो र विचलित भएको झैं गरी दबेको आवाजमा भन्यो
‘ओके...ओऽऽऽके ..... बट लेट मि लभ यू फर एभर! म तँबिना बाँच्न पो सक्दिनँ त, मर्न त सक्छु नि! .. हेर म मर्न पनि मार्न पनि सक्छु!......., ’ बोल्दा बोल्दै उसको आवाज अवरूद्ध भयो र ऊ बच्चाजस्तै गरी रूँन थाल्यो।
महिमा आफैंले फोन डिस्कनेक्ट गरिन तर उनको दिमाग भने हल्लिरह्यो। बेडमा पल्टेर उनी पनि डाँको छोडेर रूँन थालिन्।
घरमा खैलाबैला भयो, बाबा ममी दुबै जना आत्तिँदै उनको कोठामा आए। उनी उस्तै गरी रूँदै थिइन्, बाबा मामुले मुखामुख गरे। मालतीले छोरीलाई समाउँदै मायालु भावमा सोधिन्- ‘यति राति किन रो’को? के भयो नानी?’
ममीलाई झ्याम्म अंगालो हालेर उनी झन कोक्किँदै रूँन थालिन्।
मोबाइलमा नोटिफिकेसनको आवाज आइरहेको थियो। बाबाले मोबाइल समाते र सबै मेसेजहरू पढे र लामो सुस्केरा लिएर
उनको कपाल सुम्सुम्याउँदै भने- ‘मैले सबै मेसेजहरू पढें छोरी। त्यो अपराधी रहेछ, अब हामीले पुलिस केस गर्नुपर्छ। तिम्रो खुसीको लागि हामी जे गर्न पनि तयार छौं! तिमी चिन्ता नगर।’
महिमा सम्हालिँदै गइन् र बाबा आफ्नै कोठातिर लागे, आमा छोरी अबेरसम्म कुरा गरेर बसे र त्यो रात दुबै जना महिमाकै कोठामा सुते। उनले मामुलाई मानवको बारेमा पनि बताइन्।
भोलिपल्टै विवेकलाई प्रहरीले पक्रेर लगेको कुरा सुनिन्। केही दिनपछि ऊ जेल गएको पनि थाहा पाइन्। धेरै दिनसम्म उनको मनमा त्यही कुरा खेलिरह्यो। छुटेर आएपछि उसले कस्तो व्यवहार गर्ला भन्ने कुराले पनि चिन्तित बनायो। उनी निर्धक्कसँग खुलेर हिँड्न सकिनन्, धेरै दिनसम्म मन उदास भइरह्यो।
समय आफ्नै रफ्तारमा थियो, उनको र मानवको पारिवारिक सहमतिमा विवाह पनि तय भयो। त्यही अनुसार उनीहरूको इन्गेजमेन्ट हुँदैथियो, उनीहरू हर्षको सिमाना थिएन। शुभकामना दिनेहरूको बाक्लो भिड थियो।
अकस्मात विवेक उनीहरूको अगाडि आइपुग्यो र आक्रोसित मुद्रामा भन्न थाल्यो- ‘मैले जेलमा छ महिना तेरै कल्पनामा बिताएँ तर तैंले मलाई धोका दिइस् महिमा ..!’
उसले आफ्नो कुरा भन्यो तर महिमाको प्रतिक्रिया पर्खेन। तुरून्तै उनको अनुहारमा तेजाब फ्याँकिदियो। उनी तत्कालै लडिन् र एकैछिनमा बेहोस भइन्। खुसीको त्यो माहौल एकाएक भागदौडमा बदलियो। उनलाई तुरून्तै अस्पताल लगियो। पाहुनाहरूले विवेकलाई पनि तत्काल समाए र प्रहरीको जिम्मा लगाए।
अस्पतालमा अपरेसन थिएटरबाट रात छिप्पेपछि मात्रै उनलाई बाहिर ल्याइयो। अनुहार र गोडामा व्यान्डेज लगाइएको थियो तर दुबै आँखा, नाक, मुख र हात सामान्य थिए।
बाहिर ल्याएको निकै पछि होस आयो। त्यतिबेला मानव उनकै अगाडि थियो, उनले कौतुहलपूर्ण नजरले हेरिन्, मानवले विस्तारै भन्यो- ‘तिमीलाई विवेकले एसिड एट्याक गर्यो महिमा !....’
उनले आश्चर्य मान्दै सुनिन् र त्यसपछि उनको जीवनको कारूणिक यात्रा सुरू भयो।
उपचारले शरीरको घाउ त भरिँदै गयो तर मनको घाउ झनझन गहिरिँदै गयो। उपचार अत्यन्त महंगो थियो। सहयोग गर्ने कोही पनि थिएनन्।
बाबाले जागिर छोड्दा पाएको उपदानको रकम पनि निख्रिँदै गयो। दिनहरू जति जति बित्दै गए जीवन उतिनै कष्टकर हुँदै गयो।
उनको फक्रेको फूलजस्तो अनुहार विभत्स भइसकेको थियो। आफूले सर्वस्व ठानेको मान्छे पनि क्रमश:टाढा टाढा हुँदै थियो। भाग्यले निर्मम तमासा देखाउँदै थियो, उनी चुचाप सहदै थिइन्।
एकदिन अनपेक्षित रूपमा मानवले अष्ट्रेलिया जाने कुरा निकाल्यो, उनले सुन्नै सकिनन्, मुटु चिरिएला जस्तो भयो, त्यतिबेला मानवले सम्झाउँदै भन्यो- ‘मेरो आजै रातिको फ्लाइट छ तर म चाँडै लिन आउँछु महिमा, उतै गएर तिम्रो प्लास्टिक सर्जरी गरौंला’
उसको भाग्ने मनसाय स्पष्ट थियो तर उनको अगाडि नियतिलाई चुपचाप स्वीकार्नुको विकल्प थिएन। उनले लाचार हाँसो हाँसिन् र सहमतिमा मुन्टो हल्लाइन्। उनलाई अलपत्र छोडेर त्यही दिन ऊ गयो र फेरि कहिल्यै पनि फर्केर आएन। त्यही दिनदेखि उनलाई नाता, सम्बन्ध र माया, प्रेम, विश्वास भन्ने कुराहरू सबै बकवास जस्ता लागे र उनले पटक-पटक आफैंलाई प्रश्न गरिन्।
‘के सौन्दर्य, शरीर र यौनमात्रै हो त माया?’
त्यो प्रश्नको जवाफ उनले कहिल्यै भेटन सकिनन्। जिन्दगी यस्तो भयो कि उनी ऐनासम्म पनि हेर्न नसक्ने भइन्। कतै जाने र कसैलाई भेट्ने कुरा त कल्पनै गर्न छोडिन्। बाँच्ने सारा मोह हरायो, आत्महत्या सोच मात्र आउन थाल्यो।
बाबा र ममीले असिम मायाले उनको ढुकढुकी चलिरह्यो। तर उनी अक्सर आफैंसँग सोध्छिन, ‘यसरी कहिलेसम्म? उनी आफैंसँग सधैं नै अनुत्तरित हुन्छिन्!
जवानीका कहालिलाग्दा ती नौ वर्षहरूलाई उनले छतमै बसेर फेरो मारिन्! साँझपख बहिनीको इन्गेजमेन्ट सकियो, सबै पाहुनाहरू बिदा भएपछि उनी पनि मामु सँगै तल झरिन्। बहिनीले सेल्फी खिच्ने कुरा निकालिन्।
सेल्फी खिचियो तर उनलाई कसैले बोलाएन। मन कुँडियो तर मुहारमा सधैंझैं एउटा नक्कली हाँसो ल्याइन् र त्यहाँबाट बिदा भइन्।
कोठामा गएर ओछ्यानमा पल्टिइन्। भोलिपल्ट फलोअपको लागि अस्पतालमा जानुपर्ने थियो। आफ्नो अत्यासलाग्दो उपचारको सम्झेर मन खिन्न भयो।
पटक-पटक अस्पताल भर्ना, सर्जरी र फलोअपमा, आखिर यो महंगो उपचार कहिलेसम्म? मनमा अन्तरद्वन्द्व चलिरह्यो र झिमिक्कै निदाउन सकिनन्।
***
भोलिपल्ट बिहान मोटरसाइकल लिएर रामनाथ घरमै आयो। ऊ स्किन केयर हस्पिटलमा स्वीपरको काम गर्थ्यो। उसको औसत कद, कालो वर्ण र नबुझिनी बोली थियो। टोलमा ‘लाटो लाटो’ भनेर गिज्याउथे। बिहे गर्ने खुब रहर थियो तर केटी पाउन सकेको थिएन।
नाता त केही पनि थिएन, केवल एउटा छिमेकीमात्रै तर उसले जति सहयोग उनका आफ्नै हुँ भन्नेले पनि गरेनन्। उसले कहिल्यै पनि धैर्यता गुमाउन दिएन। वर्षौंदेखि महिनाको दुई तीन पटकसम्म आफ्नै मोटर साइकलबाट अस्पताल लैजाने र ल्याउने गरिरह्यो। उनी ज्यादै भावुक हुन्थिन् र रामनाथलाई दिने कृतज्ञताका शब्दहरू भेटाउँदैनथिन्।
आज पनि उनी उसकै मोटरसाइकलमा अस्पताल जाँदै थिइन बाटोमा उसले भन्यो- ‘हाम्रो अस्पतालमा विदेशबाट प्लास्टिक सर्जरी गर्ने टिम आउँदैछ! म तिमीलाई मेरो आफ्नै मान्छे हो भनेर नाम लेखाउछु है? त्यसो गरेपछि उपचारको पैसा लाग्दैन नि..। तिम्रो सर्जरी हुन्छ र हामी सँगै घुम्न जानु पर्छ ..’
कति आत्मीय हुँदा रहेछन् स्वार्थरहित शब्दहरू! उसले निर्धक्कसँग भन्यो, उनी भावुक भएर सोधिन्- ‘मलाई तिम्रो को भन्छौ नि राम नाथ ?? ..’
उसले कुनै जवाफ दिएन, केबल हाँसी मात्र रह्यो र उसको त्यो हाँसोले शब्दहरूले भन्दा हजार गुना बढी स्पष्टसँग उसको मनका भावना व्यक्त गरे।
दिनहरू बित्दै गए। एकदिन हँसिलो अनुहार लिएर रामनाथ घरमै आइपुग्यो। उनीहरू सबैसँगै थिए, उसले नि:शुल्क प्लाष्टिक सर्जरी गर्ने टिम आइपुगेको र महिमाको नाम लेखाएर आएको कुरा सुनायो।
सबै जनाले मुखामुख गरे, उसको कुरामा यकिन गर्न गाह्रो भयो। त्यो रात सबै जनाले कौतुहलता र छटपटीमै बिताए।
भोलिपल्ट बिहान ८ बजे उनीहरू स-परिवार अस्पताल गए। उनको सबै चेक जाँच भयो र दश बजे अपरेसनको लागि बोलाइयो। रामनाथ अपरेसन कक्षको ढोका मै थियो।
उसको मुहारमा चिन्ता, सन्तुष्टि र खुसीको अनौठो भाव थियो। बाबा आमाका आँखा पनि रसिला थिए, उनी भावुक भएर अपरेसन थिएटरभित्र पसिन्।
धेरै नै लामो समयसम्म उनको अपरेसन भयो र होस आउन पनि उत्तिकै समय लाग्यो। होस आएपछि डाक्टरले मुस्कुराउँदै भने- यो असाध्य जटिल, महंगो र नविनतम अपरेसन हो! भाग्यमानी हुनु हुँदो रहेछ, यो अवसर पाउनु भयो। पहिलाको उपचार पनि राम्रो रहेछ र यो अपरेसनपछि आशा छ अब तपाईंले ९० प्रतिशतसम्म पुरानै रूप पाउनु हुनेछ, हाम्रो शुभकामना!’
डाक्टरका कुरा सुनेपछि उनी भावविह्वल भइन्, आँसुले अनुहारको व्याण्डेज भिज्दै गए र हातहरू स्व: स्फूर्त रूपले नजिकै उभिएको रामनाथतर्फ बढे।
मन पुलकित भयो र उनले उसको अनुहारमा हेर्दै भनिन्- ‘त्यो घटनापछि म आफैंलाई प्रश्न गर्दथें कि के माया भन्नु सौन्दर्य, शरीर र यौन मात्रै हो? तर होइन रहेछ राम, मायाको बारेमा मलाई तिमीले पो बुझायौ। म त भाग्यमानी रहेछु! तर मेरोभन्दा पनि बढी पीडामा बाँचेका अरू दिदीबहिनीहरूले यस्ता रामनाथहरु कहाँ पाऊलान!’
उनको कुरा सुनेर रामनाथ पनि भावुक भयो र आत्मीय मुस्कान फिजाएर उसले भन्यो, ‘भोलि पर्सि घुम्न जाने है महिमा’ उसको ती निष्कपट शब्दहरू सुनेर उनको सारा पीडा हराए। उनी भावविभोर भइन्, निकैबेरसम्म बोल्न पनि सकिनन्। धेरै वर्षपछि उनी रामनाथसँगै मुस्कुराइन्।
(रविन्द्र केसीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)