अवसाद र विषादका दिनहरूले घेर्न थाल्यो। विराटतालाई बुझ्दाबुझ्दै एउटा सानो परिवार र समाजमा साँघुरिँदै थिएँ।
अध्यात्म छायामा पर्यो संसारले जित्यो। अशान्तिले चारैतिरबाट घेरेर विछिप्त पार्यो। पूर्ण आनन्दमा झुम्दै कैवल्य हुने म, विस्तारै सुस्त हुन थालें। छट्पटी, असन्तुष्टि र अनिन्द्रा मौलाउँदै आए। चेतना निकृष्ट हुँदै गयो अनि पतनको मार्गमा म होमिदै गएँ।
छोरी भएर जन्मिएकोमा अपसोच मान्दै बसेका सामाजिक प्राणीहरूका अनावश्यक र अर्थहीन कुराहरूमा रस लिन थालें। छुद्र विचारहरू ओकल्दै हिँड्ने मान्छेहरूका फन्टुस कुराहरूलाई प्राथमिकतामा राखेर आफ्नै विचारहरूको जालोमा नराम्रोसँग अल्झिँदै गएँ। कहाँ मुक्ती र निवार्णको यात्रालाई छोडेर संकुचित विचारहरूको भूमरीमा फनफनी घुम्न थालें। गन्तव्यविहीन भएर भड्किएको आत्माझैं भौंतारिँदै गर्दा मैले मलाई नै बिर्संदै गएँ । म आफैंभित्र आफैं हराएँ।
आमा कहिले सदरमुकाम त कहिले अन्चलाधीशको कार्यालय धाउनु पर्थ्यो।
ठूलीको निगरानीमा बस्न थालें ।
त्यहाँ जे पाक्थ्यो त्यही खुवाई दिन्थे।
जाँडको बटुकोले नै स्वागत गरे, झुङ्गेली बाजेले। सेजो हातमा बोकेर मीठो भन्दै झ्वाम पार्थें। च्वाक्क च्वाक्क पार्दै घोङ्गी चुस्न थालें, गंगटा, माछा जम्मै खाएँ। जति बढी तनाव हुन्थ्यो जिब्रोले उति बढी आहार खोज्थ्यो। कहिलेकाहीँ बुवाको यादले ज्यादै पिरोल्थ्यो अनि त्यो छट्पटी उकुसमुकुस र औडाह भुल्न अलि बढी नै जाँड घुट्क्याई दिन्थें। महादेवले विष, भाङ्, धतूरो खाएर लम्पसार परेझैं, म पनि झुङ्गेली बाजेको पिँढीमा घुस्रैफुस्रै मदहोस भएर दिनभरि सुतिदिन्थें।
पहेंला घाम भए पछि गाईगोरु लिएर बाजे आउँथे।
‘लौ घोले बिहानदेखि मस्तै छ?’
‘जाँड अलि अमिलो थ्यो, सखर बढी मिसाएर दिएको थिएँ, कडा भएछ।’ ठूली बाजेलाई स्पष्टीकरण दिन्थीं।
यसरी मेरो बाल्यकाल गोबर, माटो, जाँड, माछा, गंगटा र घुङ्गीहरू बीच रूमलिँदै थियो। सूर्यमा ग्रहण लागेझैं आहार, व्यवहार र अज्ञानताले बोधिसत्वलाई छपक्क छोपेर कालो बनाएको थियो।
म अँध्यारोमा हिँड्न अभ्यस्त हुँदै थिएँ।
स्कुल जान थालें दिमागले कामै गर्दैन थ्यो। गुरूहरू आजित भए, साउँ अक्षर चिन्न पनि महिनौं लगाएँ। पढाइ लेखाइमा ध्यान फिटिक्क लाग्दैन थ्यो। खोल्मामा होस या ढिकुटीमुनि खेल्दा प्रायः बुवाको यादसँग जोडिएका घटनाहरूलाई खेलमैदानमा उतारेर आनन्द मान्दै बुवालाई नै सम्झिरहन्थें। तर खेल्दा खेल्दै रमा टक्क अडिएर प्रश्न तेर्स्याउँथी ‘तेरो बुवालाई किन मारेका?’
म ती क्रूर दृश्यहरू देख्थें अनि हतार हतार कुरालाई अन्तै मोड्थें। नरमाइलो लाग्थ्यो बुवाको हत्या भएको कुरा दोहोर्याउनु पर्दा।
केमा चित्त बुझ्दैन थ्यो अनि निहुँ खोजेर भकुरिदिन्थें। चिच्याउँदै ढिकुटीमुनिबाट उनीहरू भाग्थे।
‘किन कुटेको ? भोलि फेरि तिनेरूनै चाहिन्छ तँलाई।’
आमा हकार्दै आउनु हुन्थ्यो।
नङले भुइँको माटो कोट्याएर एकोहोरो जमिनलाई हेरिरहन्थें। मलाई नै थाहा थिएन किन कुटें? त्यसैले चुपचाप एकोहोरो सुनेर बस्थें। मलाई आत्मग्लानी हुन्थ्यो आफ्नो व्यवहार सम्झेर।
केहीबेर सम्झाएर आमा हिँड्नु हुन्थ्यो।
सानो गल्तीमा पनि रमाका गालामा झापड हान्न पछिपर्दिन थिएँ । जति कुटे पनि, जति झगडा गरे पनि भोलिपल्ट हामी एकै हुन्थ्यौं, पुनः खेल्थ्यौं। बाल्यकालको विशेषता नै त्यही थियो क्यार।
हाम्रो घरनजिकै माधव काकाको घर थियो। काका जागिरे भएकाले खासै घरमा बस्दैनन् थिए। जब काका घर आउँथे, म बिछिप्त हुन्थें। मेरो होस गुम्थ्यो। म मतवालाझैं हुन्थें। मैले खोजेको बाल्यकाल रमा र राजुले भोग्दै थिए। पिताको काँधमा चढेर जब रमा र राजु गाउँ घुम्थे। मेरो शरीरमा कम्पन उत्पन्न हुन्थ्यो, होश हराउँथ्यो।
म असामान्य व्यवहार प्रकट गर्थें तर कसैले मेरो मनको व्यथा बुझ्ने कोसिस गर्दैन थिए । उल्टै गाला र ढाडमा मुक्का बर्सिन्थ्यो। गाली र अपहेलनाले कान बहिरा हुन्थे। अनि झन् उदण्ड हुँदै गएँ।
छोराछोरीलाई माधव काकाले औधी माया गरेको देखेर म लालायित हुन्थे बुवालाई भेट्न, बुवासँग खेल्न। अनि त्यसैत्यैसै मन भौंतारिन्थ्यो। आफ्नो मौलिक गुण जम्मै हराएर खोक्रो र आक्रमक हुँदै थिएँ। सबैले यो भङ्गजाई, बौलाही हो भन्थे। कसैले मृगी रोग लागेको हो पनि भन्ने हल्ला फिँजाएछन्। यथार्थ कसैले खोतल्न चाहेनन्। मनोविज्ञान कसैले बुझेनन्। सायद म केही कुरा खोजिरहेको हुन्थें, अनि नभेटेर छट्पटिन्थें, बौलाउँथें।
अरूको नजरमा म मानसिक रोगीझैं देखिन्थें। सत्य मलाई मात्र थाहा थियो।
पुसको बिदामा काका घर आएका थिए।
दिन निकै छोटा। कमलाको चोसो सिरेटोले हानेर शिखरको डाँडोनै लुगलुग काँपेको थियो।
म रमाको घरतिर थर्थराउँदै गएँ। अँगेनामा आगो दन्दन्ती बलेको थियो। भुङ्ग्रो भर्भराउँदो थ्यो। माधव काका अँगेनाको छेउमा परालको गुन्द्रीमाथि बसेर, राजु र रमाको टाउको आफ्नो काखमा राखेर सुम्सुम्याउँदै कथा सुनाउँदै रहेछन्। म पनि कसैले नदेख्ने गरी टाटीमा अडेस लागेर सुनकेस्री रानीको कथा सुन्दै थिएँ।
रमा आफ्ना पितालाई निर्धक्क भएर सोध्दै थिई- ‘बुवा ! बुवा ! सुनकेस्री रानीको कपाल किन त्यति लामो भाको ? साँंच्चै बुवा सुनकेस्री रानीको कपाल सबै सुनका थिए ?’
माधव काकाले रमाको निधारमा वात्सल्यले लप्पकै भिजेका ओठहरूले चुम्दै भने।
‘यो त कथा हो नानु! तर नारीको लामो कपाल सुनभन्दा बढी मूल्यवान हुन्छ।’
रमा लाडिँदै भनि - ‘म पनि सुनकेस्री रानीको जस्तै लामो कपाल बनाउँछु, अनि मेरो कपाल पनि सुनको हुन्छ।’
राजु हाँस्दै बोल्यो- ‘अनि म तेरो कपाल समातेर रूखमाथि चढ्छु र जम्मै काटेर सुनारलाई बेचिदिन्छु।’
‘बुवा हेर्नु न यो नशे मेरो कपाल काटेर बेच्छ रे।’ माधव काकाको मुहारमा हजार सूर्य उदाएको थ्यो।
रमा र राजुको भाग्य देखेर मलाई औडाहा भयो। पितासँगको प्रेमिल संवाद देख्न नसकेर घरतिर बेतोडले कुदेँ अनि सिरकमा गएर गुटुमुटु हुँदै ढोकाबाट आँगनको मियोमा हेरिरहें, निद्रा फिटिक्कै लागेन।
‘नानी ! खान आइज ।’ आमाले खाना खान बोलाउनु भयो।
‘मलाई भोक फिटिक्क थिएन, टाउको दुखेको छ, म सुत्छु है आमा।’ आमा केही बोल्नु भएन।
यस्तै मनोविज्ञानमा मेरा दिनहरू चिप्लिँदै थिए।
सबैले छोरा भएको भए पो हुन्थ्यो भन्दा भन्दै मलाई मेरै दाजुसँग पनि जलन हुन्थ्यो। आमाले त छोरो र छोरीमा विभेद कहिले गर्नु भएन तर गाउँ र समाजलाई धेरै छोरी भएकोमा निकै गुनासो थियो। सबैको मुखबाट एउटै बोली निस्किन्थ्यो ‘सात सातवटा छोरीहरू बाफ्रे।’ भन्दै यति लामो जिब्रो निकाल्थे। मलाई खप्नु हुन्थेन। भन्न मन लाग्थ्यो - ‘तिमेरले पालिदिनु पर्छ र ?’
जोगाउँदा जोगाउँदा पनि मनोविज्ञान बिग्रदै गयो। थाहै नपाइकन म त बिद्रोही हुँदै गएछु। घरमा जो आउँथे दाजुको मात्र प्रशंसा गर्थे। छोराको मात्र महत्त्व दर्साउँथे। छोरी त सन्तान नै होइन भन्ने पुराण सुनाउँथे। सबैले मेरै अगाडि मेरो जन्म र अस्तित्वको उपहास गर्थे। मेरो जन्म अर्थहीन भएको वकालत गर्थे। समाजको डरलाग्दो हाउगुजी देखाउँथे। काखमा दाजुलाई राखेर माया गर्थे, दाजुभन्दा दुई वर्ष सानी म मलाई अलच्छिना सम्झन्थे। मेरा आँखाहरू अपलक ती दृश्यहरू हेरिरहन्थे। साना साना कुराहरूले सुषुप्त मस्तिष्कमा मानसिक तनावले डेरा जमाएको पत्तै भएन।
एक दिन कमलाको दहमा पौडी खेल्न गएका थियौं। रमा, राजु, रन्जु र दाजु सबै। हरियो दह फनफनी घुमेको थियो पानी। पानी निर्मल र कन्चन भएको कुरा दह भित्रका दर्शन ढुंगा र ठूला साना माछाको नृत्यले छर्लङ्ग पारेको थियो।
हामी प्रायः दहमा एउटा खेल खेल्थ्यौं।
‘पानी डुम’ एक जनाले ठूलो दर्शन ढुंगा दहमा फाल्ने अनि अरूले त्यो ढुंगा खोज्ने। यसै क्रममा ढुंगा फाल्ने पालो मेरो आयो।
दहको छेउमा केही आइमाईहरू लुगाफाटो धुँदै कुरा गरिरहेका थिए। उनीहरूको कुराको विषय हाम्रो घर, आमा र दाजु नै थियो। उनीहरू भन्दै थिए- कुलको नाम राख्ने सन्तान त त्यही एउटा छोरोमात्र हो। छोरी त दु:खका भकारी हुन्। कुनै जन्मको पापले जन्मन्छन् पगित्रा छोरीहरू। छोरीहरूको कारण बाआमालाई कत्रो पीडा हुन्छ। अझ एक्ली आमा।
यी सबै कुरा सुनेर मलाई भाउन्न भयो। दाजु पानीमा पौड्दै थियो मेरो उग्ररूप जागृत भयो। आँखामा अँध्यारो छायो, केही नदेखेर त्यो ठूलो ढुंगा दाजुका ढाडमा मर्ने गरी हुत्याइदिएँ। दाजु ढुंगाको चोटले जोडले चिच्यायो। हतार हतार ती आइमाईले दाजुलाई पाखामा निकाले। दाजु श्वास फेर्न नसकेर निलो भएको थियो। म निकै डराएँ धन्न पानीभित्र ढुंगाको चोट कमै भएछ।
केहीछिन पनि दाजु बौरियो तर म बेतोडले भागेर बियाड डाँडातिर कुदेँ। मुटु फुत्तै बाहिर आउला झैँ भएको थियो। कुद्दाकुदै खुट्टा चिप्लिएर कतिखेर बेलबट्टी कुलोमा नराम्रोसंँग खुर्मुरिएँ। घुँडा, कुहिनो तछारिएर रगताम्यै भएछन्।
नाथ्री फुटेर चिउँडोसम्म रगत बगेको पनि पत्तै भएन। कुलोबाट बल्लतल्ल बियाड डाँडामा उक्लिएँ। जिउ लुगलुग काँपेको थियो। मुटुमा चिसो पसेको थियो । घर जाने त कुरै थिएन। फतौरी आईमाईहरूले तिललाई पहाड बनाएर आमाका कान भरिसके होलान्, सोच्दै थिएँ। चिउँडोदेखि घाँटीसम्म कट्कटिएको रगत बोकेर ढुंगामाथि भुसुक्कै निदाएछु।
कतिखेर कान्छा दाइले बोकेर घर लगेछन् थाहै भएन। होस आउँदा तातो जाउलोमा घिउ धेरै हालेर नजिकै आएर आफ्नै हातले आमाले खुवाउन थाल्नु भयो । आमाको मुहार मलिन थियो, मलाई पीर पर्यो।
अनि हतारहतार भने ‘अबदेखि दाजुलाई हात कहिले उठाउने छैन’ बाचा गरें।
दाजु नजिकै आएर मेरो ढाड सुम्मसुम्यायो। आफूलाई केही भएको छैन जस्तो गर्यो।
‘बरू तेरो नाक सुनिएको छ त,कतै ठोकियो? घुँडा र कुहिनो नराम्रोसँग तछारिएछ त?' भन्दै आमालाई अँगेरीको पात चुँडेर ल्याइदियो।
म छक्क परेर दाजुलाई हेरिरहें। कस्तो मनोविज्ञान जन्मिन पुगेछ!
यी पनि:
श्रीमानको अन्तिम चिनो!
बुवा, आमालाई हाँस्नु भन्नु न!
लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।