उनी विस्तारै बोले, 'ठिकै छ, तिमी विवाहित नारी हौ। तिमीलाई तिम्रो श्रीमानले गर्ने माया नै वास्तविक माया हो। यसमा मैले थप टिप्पणी गरिनँ सरला!'
'हामीले व्यवहारिक पाटो र समाज हेर्नुपर्छ। त्यत्रा आफन्त र समाजलाई रोहवरमा राखेर आँगन पोलेर, अग्नी साक्षी राखी, सात फेरा लगाएर गरेको बिहेलाई कसरी तिलाञ्जली दिनु? समाज र आफन्तलाई के भन्ने? तपाईं आफै भन्नु न! बिहेपछि मेरो प्रेम भयो अनि बुढोलाई छोडेर प्रेमीसँग भागेँ भन्नु?'
'आजकै दिन पहिलो अनि अन्तिम डेट हुने भो प्रिय! तिमीलाई कसरी बिर्सन सक्छु म? तिम्रो सरलता, व्यवहारिकपन, सक्षमता र आत्मविश्वासले तिमीप्रति झुकाव बढ्दै गयो, कतिखेर प्रेममा परेँ, थाहै पाइनँ। तिमी मेरो जीवनको पहिलो प्रेमिका हौ, तिमीलाई माया गर्दागर्दै तिमी त अर्काको नासो हौ भन्ने नै बिर्सिएछु। मलाई माफ गर,' उनी भावुक बने।
मेरो आँखा भरिएर पोखियो। गालामा आइपुगेको आँसु पुछ्दै भनेँ, 'समीप! यस्ता भावुक कुरा गरेर मलाई नरुवाउनु न। यसमा मेरो के गल्ती? तपाईं मेरो ठाउँमा भए के उसलाई चटक्क छोडेर मसँग आउन सक्नु हुन्थ्यो? मेरो बाध्यता बुझ्नु न प्रिय मान्छे! एक शिक्षित र संस्कारी केटीसँग तपाईं बिहे गर्नुस्। अब हामी आ-आफ्नो परिवारमा इन्गेज हुनुपर्छ। मायामा सधैँ भावनाको सञ्चार हुनुपर्छ भन्ने छैन, सधैँ सँगै हुनैपर्छ भन्ने पनि छैन। भूगोल र सञ्चारको दूरतामा झन् मायाको प्रगाढता बढ्छ, प्रेमको महत्व बढ्छ। साँच्चै भन्दा तपाईंले मलाई कति मोहनी लगाउनु भएको छ, मैले वर्णन गर्नै सक्दिनँ।
तपाईंलाई कतिपल्ट सपनामा देखेँ, सपनाबाट अनायासै ब्युँझिँदा मिठो र उत्कर्ष पलको अनुभव लिन नपाई ब्युँझिएछु भनेर पछुतो मान्दै फेरि त्यही सपना देख्ने आशमा पुनः निदाएको छु। तपाईं आएर मेरो छेउमा बसेको, मलाई अगाँलो हालेको, जूनको शीरफूल लगाइदिएको, ताराहरू जडित रंगिन पछ्यौरी ओडाइदिएको, कपालका रेसा-रेसा चुमेको अनि यो प्यासी अधरमा म्वाई खाएको र मलाई न्यानो पार्न छातीमा टाँसेको सपना एक पटक मात्रै होइन, कैयौँ पटक देखेको छु।
समीप! मेरो प्रेमको गहिराइमा तपाईं कति डुब्नु भएको छ, म यसै भन्न सक्दिनँ तर मलाई त्यो गहिराइबाट, त्यो प्रेमको दलदलबाट बाहिर निस्किन साँच्चै गाह्रो पर्छ। फेरि पनि यो निश्चल र चोखो प्रेमलाई एउटा मिठो संस्मरण र कथाको रुपमा हृदयको केन्द्रमा जतन गर्दै बाँकी सांसारिक जीवन आफ्नो परिवारसँग व्यतीत गर्नुको विकल्प छैन प्रिय!'
'प्रेम पवित्र हृदयको अन्तरघुलन न रहेछ। प्रेमको परिभाषा न त लेखेर लेखिने, न त जोखेर जोखिने, न मासेर मासिने न त प्रेम गरेर नै थाकिने। तिम्रो र म बीचको यो स्वर्णीम अवधि सधैँ स्मृतिमा रहिरहनेछ। मैले बिहे गरेपछि फोनमा धेरै कुरा हुन नपाए पनि च्याट गर्ने, मेल गर्ने गर है? मलाई नभुल है?' समीपले गहिरो सामीप्यता पोखे।
'हजारौँ हारबीच निराश हुँदै भौतारिरहेकी म र मेरा गन्तव्यका ढोकाहरू तपाईंकै कारणले खुलेका हुन् समीप! कहिल्यै नओइलाउने दुबो र मखमली फूलजस्तै, कहिल्यै नबदलिने सूर्यको लालीमा जस्तै, साँझपख मन्द-मन्द बहने शीतल पवनजस्तै, कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्तकालसम्म प्रेम गरिरहनेछु माया! सम्भव भएसम्म फोनमा कुरा गरौँला, च्याट, मेल सबै गरौँला। हामीबीच चोखो र निश्चल सम्बन्ध छ भनेर हाम्रो परिवारमा अब यो कुरा कि त भन्न आँट गर्नुपर्छ, कि त गोप्य रुपमा भावनको सट्टेबाजी बन्द गर्नुपर्छ प्रिय!'
'अब कसरी अगाढि बढ्ने भन्ने विषयमा समझदारी बनाउँला सरला! घरबाट फोन आइराख्यो, अबेला भो जाम् अब।'
अघिदेखि घरबाट आइरहेको आमाको फोन उठाउँदै 'आइहालेँ आमा..' भन्दै उनले टाउकोमा हेलमेट लगाए। बाइकको पछि बसेर म माइक्रो स्ट्यान्डसम्म पुगेँ। माइक्रो चढ्नै लाग्दा समीपले भने, 'बिहेमा बोलाउँछु, आउनु नि जसरी पनि।'
'हस्' भन्दै बिदाइको हात हल्लाएँ। आँखाको डिलमा टम्म भएर बसेको आँसु छचल्कियो। म माइक्रो चढेर कोठामा फर्किएँ।
भोलिपल्ट बेलुका ८ बजेतिर मोबाइल खोलेँ। वाइफाई कनेक्ट गरेँ। टुंग घन्टी बज्यो। समीपको मेसेज रहेछ, 'मैलै सोचेभन्दा राम्री रहिछ केटी, गफ पनि भयो ऊसँग।'
उनी उत्साहित देखिन्थे। मैले के कुराकानी भयो उनीसँग भनेर सोधेँ।
'यति राम्रो मान्छेको गर्लफ्रेन्ड छ होला भन्दै थिई,' उनले लहरै हाँसेको इमोजी पठाए।
'अनि के भन्नुभयो त?' अनायासै सोध्न पुगेछु।
'नाई, नाई कहाँ हुनु हौ! कोही छैन स्पेशल मान्छे भनेँ नि।'
'हिजो मसँग भेट्दा रुन्चे मुख बनाउने मान्छे आज ऊ भेटेसी एक्साइटेड भएको हेर न! मोहनी लगाइछिन् एकैछिनमा। ल बधाई छ। मलाई काम छ अलिकति, म गएँ है? बेलुका बुढो आउँछन्, अब कुरो हुँदैन है केही दिन!' कुरो छोट्याएँ, मेसेज डिलिट गरेँ। नेट डिसकनेक्ट गरेँ।
एकाध दिन यसै बित्यो। केही दिनदेखि खाना रुचिरहेको थिएन। हिजो खाँदा खाँदै भमिट भएको थियो। जीउमा काम गर्ने जाँगर र उर्जा थिएन। आज झन् बढी थकान महसुस भएको छ। गर्मीको महिना, पानी नपरेको हप्तौँ भएको थियो। शरीरबाट चिटचिट पसिना आइरहेको छ, बान्ता आउँला-आउँलाजस्तो भैरहको छ। एक मनले समीपलाई भनौँ भन्ने लाग्यो, अर्को मनले अब ऊ अर्कैको हुँदैछ, मैले अब सबै कुरो उसलाई भन्न हुँदैन भन्ने लाग्यो।
अस्ती आएको बुढो हिजो एकदिन बसे, आज बिहानै निस्के। उनलाई फोन गरेर भन्न मन नि लागेन। नजिकै स्वास्थ्य चौकीमा गएँ, लक्षण बताएँ। स्वास्थ्यकर्मीले स्टेथोस्कोप लगाए, नाडी छामे, आँखा हेरे, आफैमा खासखुस गरे अनि 'आमा बन्दै हुनुहुन्छ तपाईं' भन्दै बधाई दिए।
म असमञ्जसमा परेँ। बुढासँग भित्रभित्रै रिस उठ्यो। कम्तीमा सल्लाह गरेको भए मैले सहमती नै दिन्थेँ, बुढोले ढाँटेकोमा उनीप्रति रोष जाग्यो। तर आमा बन्दैछु भन्ने सम्झेर एकैछिनमा भावुक भएँ, बुढोलाई फोन गरेँ।
बुढोले गल्ती गरेकोमा बोल्दा अप्ठ्यारो मानेझैँ लाग्यो। मैले कुनै रिस वा रोसभाव प्रकट गरिनँ। बाउ बन्न लागेकोमा बधाई दिएँ, अनायासै बुढोप्रति माया जागेर आयो।
समीपसँग कुरो नभएको नि हप्तादिन भैसकेछ। मैले फोन नगरे पनि उसले त गर्नुपर्ने! के भयो, कि बिरामी भयो? भन्ने लाग्यो। फेसबुक खोलेँ, समीपले मण्डपमा कसैलाई सिन्दुर हाल्दै गरेको फोटो फेसबुक वालको सुरुमै देखेँ। मेरा आँखा तिरमिराए, अरु फोटा हेर्न सकिनँ, थचक्क बसेँ। आँखाको तलाउ भरियो।
उसले मलाई यत्रो दिनसम्म किन बेवास्ता गर्यो? अस्ती हिँड्ने बेला 'बिहेमा बोलाउँछु, आउनु है जसरी नि' भनेको मान्छेले किन एकपटक पनि सम्झेन। न कल, न मेसेज। किन केही गरेन? किन यसो गर्यो? तुरुन्तै मैले उसको नम्बरमा फोन गरेँ, पूरा घण्टी गयो तर कल उठेन। यति चाँढै उसले मलाई कसरी बिर्सन सक्यो?
उसले मलाई बिर्सिन सक्छ भने मैले उसलाई बिर्सिन किन सक्दिनँ भन्ने लाग्यो। समीपप्रति असाध्यै रिस उठ्यो र मैले तुरुन्तै उसलाई फेसबुक, मेसेन्जर, ह्वाट्सएप, भाइबर, इन्स्टा सबैमा ब्लक गरेँ। फोन कल पनि ब्लक गरेँ। केही दिन उसको वास्ता गरिनँ।
क्रमशः
यो पनि:
तपाईं बिहे गर्नुस्!