नसम्झुँ भने पनि
स्मृतिका पाना पल्टिँदो रहेछ
विछोडमा नै
सम्झना बेजोड हुँदो रहेछ
इतिहास सम्झिँदा
विगत आज लाग्दो रहेछ।
हेरेको छु तिमीलाई
आँखीझ्यालबाट
छैन विपना त्यो आज
सम्झन्छु तैपनि
त्यसैले चियाएर मात्र हरेको छु
ढुकढुकी तिमीमा
अझै छ कि भनी।
मनको भेलसँगै
माझी बनेर आउँछौ कि भनी
पर्खिरहेछु
गन्तव्य टाढा हुँदा पनि।
तिमी हिमाल भएको देखेकै छु
तुषारोको पर्दाभित्र छेकिए पनि
त्यसैले चियाइरहेको छु
मन अझै सङ्लिन्छ कि भनी।
आकाश नियालिरहेको छु
तारा तिम्रै निसानी हौ कि भनी
इरादा अझै बाँकी नै छन
यात्रा निरन्तर चलिरहोस् भनी।