मलाई गर्भमै जित्ने बानी परेको थियो
मैले सयौँ शक्तिलाई हराएर 
जितेको जन्म हो यो
तर आज हारले मलाई बारबार वार गर्छ
म अछुत भनी मार खानु पर्छ
तिमी मलाई जहाँ जन्म दियौ।
आमा यो मलाई कहाँ जन्म दियौ?
खैर यो कुरा छोडौँ, तर तिमी त हिम्मतवान छौ नि!
कसरी हो? 
साँच्चै तिमी त आँसु पिएर जिएर
कसैलाई जीवन दिएर बाचेकी छौ आमा 
नशा लागेपछि मान्छेमा हिम्मत आउँछ रे 
नशाजस्तै लाग्ने तिम्रा आँसुले
जीवनभरि तिमीलाई हिम्मत दिए 
तिमीले दु:ख पीडा लुकाएर
आफूले आफैलाई लुटाएर दियौ 
अनन्त दियौ 
मलाई खुसी मात्र दियौ।
नशाभन्दा बढी लाग्ने
तिम्रा आँसुले 
जीवनभरि तिमीलाई खुसी लुटाउने हिम्मत दियो
आमा 
मैले तिमीलाई ढोग्दा भन्थ्यौ
हिम्मतिलो भएस् बाबु
अब के मैले 
जीवनभरि आँसु पिउनु?
आमा तिमीलाई मेरो प्रश्न
म कुन जातमा जन्मेँ?
मलाई लाग्छ म त कुजातमा जन्मेँ
मान्छेको जात आज आघात भैदिँदा 
हो, आमा सबै मैमाथि बज्रपात भैदिँदा 
म आफूलाई बिर्सन्छु 
ए! होइन होइन, म तिमीलाई सम्झन्छु
तिम्रा कोमल हात र मेरा गालाको भेट 
सम्झन्छु 
तिम्रो खाली भए पनि तिमीले भरिदिएको 
पेट सम्झन्छु
आमा गोजीको बजेट सम्झन्छु 
अनि फेरि तिमीले भरिदिएको पेट
सम्झन्छु।
तिमीलाई थाहा छ? 
अचेल मेरा सपनाले
हार मान्न थालेका छन् 
मेरो छोरो ठूलो मान्छे बनोस् 
भनेर तिमीले दिने ठूलो आशिषले मलाई 
पत्याउन छोडेको छ 
मसँग सम्बन्ध नै तोडिएको छ आमा 
भन्छ यसको साथमा पो आएछु 
ओहो! मत कुजातमा पो आएछु
सपनालाई बिपना बनाउन 
मलाई मह बनाउन म कहाँ 
कहाँ फुल्नु पर्ने हो? 
देखिने ठाउँमा या मेटिने ठाउँमा 
कि नभेटिने ठाउँमा? 
आमा, तिमी मौरी बनी आउनु है 
मौरीले जहाँ फुलेको फूल पनि भेटाउँछ
मह बनाएर देखाउँछ
मलाई मह बन्न मन छ आमा
मलाई मह बन्न मन छ।
मेरो सबै प्रश्को उत्तर तिमी हौ आमा 
चारै दिशा- पूर्व, पश्चिम, दक्षिण, उत्तर 
तिमी हौ आमा 
यो सब हुनुमा गलत को हुन्?
तिमी कि बा हुन्? 
या बाहुन 
कि समग्र उच्च जात?
यो बज्रपातले गरेको आजसम्मको तितो 
अनुभवलाई मिठो पार्न म के पखालौँ 
जात कि खुद आफै
समाज अदभूत या अदभूत आफै 
बिरालो हो साक्षी या दूध आफै 
थाहा पाउनै गाह्रो भो
म अलमल्ल भएर बल्लतल्ल 
केही सोध्ने भएको छु 
मलाइ थाहा छ मलाई थाहा नभएका कुरा 
तिमीलाई थाहा छ।
त्यसैले त आमा म हिम्मतिलो हुँदा
तिमीलाई सम्झन्छु 
म म हुँ जस्तो लाग्दा तिमीलाई सम्झन्छु
मर्छु जस्तो लाग्दा 
तिमीलाई सम्झन्छु 
आमा ओइलिएर झर्छु जस्तो लाग्दा तिमीलाई सम्झन्छु।