(ट्विटर प्रेम भाग–२)
उसले पहिल्यै भनेको थियो ‘म हावा हुँ।’
मलाई लागेको थियो ऊ हावाको चरम स्वरूप बतास हो। हुन त निमेसभरमा जीवनमा छिर्ने र निमेसभरमै बाहिरिनेहरू हावाका झोकाहरू नै हुन्। मलाई पनि लाग्थ्यो ऊ त्यस्तै केही हो। उसले गरेको अन्तिम डिजिटल गुडबाई मलाई लागेको थियो हाम्रो डिजिटल यर्थाथको अन्तिम सत्य हो।
तर त्यस्तो भएन। ऊ फेरि ट्विटरमा फर्क्यो र भन्यो, ‘तिमीले लेखेको कथा पढेपछि किनकिन मलाई फर्कूंफर्कूं लाग्यो। मेरो फर्काइमा तिमी खुसी त छौ नि? भनन्?’
त्यो मेरो कथाको अन्त्य थियो सायद मैले कल्पना गरेको उसको र मेरो सम्बन्धको पनि।
तर उसले भनेझैं जीवनको अप्रत्यासितता त्यहाँ पनि लागु भयो ऊ फेरि ट्विटरमा फर्क्यो।
मैले भनें, ‘म खुसी छु। तिमीले सोचेभन्दा धेरै नै’ त्यो दिन उसले हाँसेको दुइटा इमोजी मात्र पठायो।
भोलिपल्ट बिहान ट्विटर खोल्दा हरियो बटन देखेँ।
खोलेको उसको डियम रहेछ, डियम उसले लेखेको थियो ‘तिमीबारे म के महसुस गर्छु मलाई थाहा छैन तर तिमीले कथामा जसरी हाम्रो सम्बन्ध व्यक्त गर्यौ त्यो सुन्दर थियो। तिम्रो कथा पढेपछि मलाई लाग्यो म यर्थाथमा भन्दा कथामा रोचक लाग्दोरहेछु।’
उसको प्रतिउत्तरमा मैले भने, ‘तिमी वास्तवमै रोचक छौ, तिमीमा चाखलाग्दोपना नभएको भए तिम्रोबारे म कहिल्यै लेख्ने थिइनँ। झन् प्रकाशित त गर्ने नै थिइनँ। तिमी मेरो डायरीमा मात्र सीमित रहने थियौ।’ उसले ‘ओ त्यसो पो ...चाखलाग्दो मान्छे म भनेर’ प्रतिउत्तर दियो।
यसरी रोकिएको हाम्रो संवाद फेरि दोहोरिन थाल्यो।
‘यो डिजिटल संवादको युग हो। तिमी र म चाहेर पनि योबाट टाढा हुन सक्दैनौं। तर जसरी मैले तिमीलाई कथामा प्रेमील र रोचक पात्र बनाएकी छु। यो मेरो आफ्नै स्वार्थ हो। तिमी आफूलाई कथाको पात्र जस्तै छु भन्ने नसोच। तिमी त्यो पात्र त हौ तर मेरो कल्पनाको, यर्थाथमा तिमी त्योभन्दा फरक पनि हुनसक्छौ। मैले बुझ्नै बाँकी छ तिमी’ एक दिन हाम्रो संवादको क्रममा मैले च्वास्स भनिदिएँ।
उसले त्यस बखत केही भनेन ठिकै हो मात्र भन्यो।
मलाई थाहा छैन उसले त्यो दिन के सोच्यो।
भोलिपल्ट संवादकै क्रममा उसले ‘एउटा महत्वपूर्ण कुरा भन्छु’ ल भन्यो। मैले ‘हस्’ भनेँ।
ऊ त्यो दिन लगातार बोल्यो, ‘जब मैले तिम्रो कथा पढेँ। मलाई लागेको थियो तिम्ले मलाई साँच्चै मन पराउन थालेकी छौ र मलाई लाग्यो लोभिएका मलाई हेर्न चाहने आँखाबाट म यति चाँडै ओझेल पर्नु हुँदैन । वास्तवमा म फेरि ट्विटर तिम्रै लागि फर्किएको थिएँ। सायद तिम्रो त्यो कथा नपढेको भए म फकर्ने पनि थिइनँ होला।
तिम्रा अक्षरहरूले मलाई लोभ्यायो वा तिम्रो मप्रतिको हेराइले। तर हिजो तिमीले जे भन्यौ त्यो सुनेपछि थाहा भयो कथा लेख्नु भनेको स्वार्थी हुनु रहेछ।
तिमीले जे भन्यौ त्यसमा मैले तिम्रो लेखकीय स्वार्थ मात्र बुझेँ। कथालाई रोचक बनाउन जसरी तिम्ले हाम्रो सम्बन्धको कृत्रिम प्रेमिलतालाई रोज्यौ यसले मलाई दुखी बनाएको छ।’
उसले त्यो दिन गरेको संवादले मलाई दुखी मात्र होइन ऊभन्दा झन् दुखी बनायो।
मैले उसलाई म तिम्लाई मन पराउँदिनँ कहिल्यै भनेकी थिइनँ तर उसले यसरी बुझ्यो मानौं त्यो कथा झूटको पुलिन्दा थियो।
मैले त्यो कथा झूटमाथि झूट थप्नको लागि लेखेकी थिइनँ। त्यो समयको अनुभूति थियो तर अनुभूतिजस्तै यथार्थ पनि प्रेमील थियो आज पनि म भन्न सक्दिनँ।
यदाकदा लेखेर गर्ने संवादहरू अपूर्ण बन्न पुग्छन्। सायद शब्दहरूले बिरलै अनुभूतिलाई व्यक्त गर्न सक्छन्।
मैले चाहेर पनि त्यसपछि उसलाई मन पराउँछु भन्न सकिनँ।
उसलाई लाग्यो मेरो जीवनमा ऊ पात्र बन्यो र पात्रमै अन्त्य भयो।
मलाई लाग्यो म कथाकार भएँ र एक सुन्दर सम्बन्धको अन्त्य कथामै गरेँ।
मैले कथामा गरेको सम्बन्धको अन्त्य सुन्दर बन्यो तर उही चिज जीवनमा एक अपूर्ण र कुरूप यर्थाथ बन्न गयो। त्यसपछि ऊ पहिलेझै मसँग कहिल्यै बोलेन। उसका र्यान्डम प्रश्नहरू जसले मलाई ऊप्रति कायल बनाएको थियो, त्यो मैले चाहेर पनि फेरि महसुस गर्न पाइनँ।
त्यस दिनपछि उसले मलाई पहिलेझैं के छ हजुर कहिल्यै भनेन र म उसको प्रिय मान्छेबाट लेखक महोदयमा रूपान्तरित भएँ।
मलाई जहिले लाग्थ्यो जीवन कथाहरूको सुन्दर संयोजन हो। बिना कथा हामी सबै अपुरा छौं। तर मैले जीवनलाई हेरेको दृष्टिकोण केवल एक स्वप्न चित्र बन्न गयो।
यर्थाथमा जीवन कथाभन्दा सयौं गुना कुरूप र कठिन रहेछ। जसरी उसको चित्रण पात्र हुँदा सुन्दर लाग्छ यर्थाथमा त्यो भन्दा कयौं गुना अमिल्दो लाग्दो रहेछ।
आजकल म उसको र्यान्डमनेसमा आफूलाई समेट्न खोज्छु तर लेखक चाहेर पनि र्यान्डम बन्न सक्दोरहेनछ अरूझैं म पनि कथाको मिथिकल संरचनामा बाँधिएकी रहेछु जीवनकोझैं।
यथार्थमा कथा कहिल्यै जीवन बन्न सक्दो रहेनछ र जीवन कहिल्यै पूर्ण कथा बन्न सक्दो रहेनछ। हामी अकथाभित्र कथा मात्र खोज्दा रहेछौं र कथालाई सुहाउने बनाउन वास्तविकतालाई बदल्दा रहेछौं वा भनौं एकल यथार्थलाई पूर्ण सत्य बनाउन प्रयास गर्दा रहेछौं।
मैले त्यही गरेँ। मैले कल्पना गर्ने प्रेमिलतालाई उसको र मेरो सम्बन्धको प्रेमिलतामा बदल्न खोजेँ र नराम्ररी पछारिएँ।
आज म कथाकार भएँ तर किनकिन सम्बन्धको बागडोरमा बाहिरनै रहन पुगेँ।
सायद यो कथाकारहरूको समस्या हो। हामी जीवनलाई दोहोरिरहने बिम्बझैं कथा भनिदिन्छौं तर जीवन कथा हुँदै होइन। जसले बनाउन खोज्छ ऊ जीवनका पात्रहरूमाथि खेलवाड मात्र गर्छ।
यथार्थमा मैले कथा मेरो आफ्नो लागि लेखेकी थिएँ उसले बुझ्यो त्यो उसको लागि थियो। कथा लेख्नु आफैंमा एक इतिहासलाई आफ्नै नजरले केरमेट गर्नु हो र केरमेटमाथि प्रश्न गर्नु जायज पनि थियो। उसले त्यही गर्यो।
ऊ कथाकार थिएन। ऊ जीवनको नायक थियो त्यसैले यथार्थताको खोजी गर्यो। म कथाकार भएँ र यथार्थलाई मोड्न खाजेँ।
के यो सामान्य हो वा मानिसको रूपमा मेरो कमजोरी हो म अझै बुझ्दैछु। तर एउटा त्यस्तो ब्यक्ति जसलाई चाहेर पनि गुमाएँ त्यसले मानिसको रूपमा मलाई सधैं पीडा दिनेछ।
विस्तारै बिनाकारण उसको र मेरो संवाद पातलिँदै थियो। म चाहन्थें मेरो कथाले लेखेको इतिहास पुनरावृत्ति नहोस्। तर त्यही दोहोरिएको छ, जुन म नदोहोरियोस् भन्ने चाहन्थेँ।
करिब एक महिना भयो उससँग म बोलेकी छैन। उसले बोलाएको पनि छैन। उसको र मेरो सम्बन्ध वा भनौं डिजिटल सम्बन्ध अब पात्र र लेखकको रूपमा टुङ्गिएको छ र जीवन आफैंमा एक कथा बनेको छ। एक अपूर्ण कथा। ऊ पात्र भएर खुसी छै। म जीवनलाई केरमेट गरेर कथा बनाएकोमा पनि खुसी छैन।
ऊ कता गयो, के गर्दैछ। न पहिले थाहा थियो न अहिले थाहा छ। उसको र मेरोबीच जहिले पनि अर्ध सत्यहरू साक्षी थिएँ आज पनि त्यही छ। उसलाई तिमी कथामाझैं त्यति प्रेमील चाखलाग्दो नभएर पनि प्रेमील छौ किनकि मैले कथाको तिमीभन्दा पनि वास्तविक तिमीलाई मन पराउँछु भन्न कहिल्यै सकिनँ।
कथाकारको रूपमा मलाई यी वाक्यहरू अपूर्ण लागे। तर मानिसको रूपमा मैले उसलाई हेर्ने नजर यही हो। तर ऊ आफ्नो यात्राको लागि मबाट बिनाकारण टाढा भएको भए पनि म खुसी हुन्थेँ तर ऊ मेरो कथाको कारण मबाट टाढा भएको छ जसले मलाई सधैं पोल्नेछ।
कृपया यो कथा कहीँ कतैबाट पढ्दैछौ भने ‘तिमी खुसी त छौ नि’ भन्दै फेरि आइदिनु’ म तिमीले सोचेभन्दा बढी खुसी हुनेछु।
यो पनि:
ट्वीटर प्रेम