हो, थाहा छ मलाई
तिमी आउँछौ
सधैँझैँ आउँछौ
पक्कै आउँछौ
हरेक महिना पल्टाउँदै गरेका यी
क्यालेन्डेरका पानासँगै
महिना-महिनामा हैन 
पूरै वर्षमा
पल्टिँदै पल्टिँदै
तिमी आउँछौ
सधैँ झैँ आउँछौ
पक्कै आउँछौ
टुप्लुक्क आइपुग्छौ।
मिर्मिरेमा उडेका ती चराजस्तै
नयाँ उमंग लिएर  
प्रकाश छर्दै आइदिन्छौ
एउटा नौलो उत्साह
आफूभित्रै जन्माएर 
मन्द मुस्कानसँगै
तिमी सुनौलो सपना छर्छौ।
म आँतुर छु
म व्याकुल छु  
नौलो बिहानी 
मेरो अन्तर आकाश हो त्यो 
लालिमा कान्ति 
मेरो अमुक शान्ती हो त्यो
यसैले म अधीर छु 
तिमीलाई हेर्न 
म चञ्चल छु 
तिमीलाई पाउन।
भन्छन् प्रतिज्ञा  मिठो हुन्छ
भन्छन् प्रतिज्ञा लामो हुन्छ
हो,
धेरै चोटि  क्यालेन्डरका पाना पल्टाएकी छु
रात-रातभर त्यो परको क्षितिज नियालेकी छु
एकान्त बासमा रम्दै-रम्दै
नयाँ हुनुको अभिष्सामा कल्पेकी छु।
तिमी आउँछौ 
यसैले त पर्खेकी छु 
तिमी गाउँछौ 
यसैले त नाचेकी छु 
भन्छन्
तिमी त समय हौ
यसैले
त  म हराउन चाहान्छु 
सुन्छु
तिमी सागर हौ
यसैले
त म बग्न चाहान्छु
सधैँ झैँ आऊ तिमी 
सधैँ झैँ गाऊ तिमी
दैलोमा बत्ती बाली 
म बाटो हेर्दैछु 
नौलो जीवनको आशमा
तिमीलाई कुर्दैछु  
सफल जीवन होइन 
सार्थक जीवन बनाऊ 
खुसी जीवन होइन  
आनन्दले मर्न सिकाऊ
हो थाहा छ मलाई
तिमी आउँछौ नयाँ वर्ष 
सधैँ झैँ आउँछौ 
तिमी आऊ
अलौकिक प्रेम लिएर आऊ
मनभरि खुसी र उमंग भर्न आऊ
त्यो परको झितिजजस्तै 
जीवनमा लालिमा ल्याऊ
अशान्ति र क्रान्तीको यी रक्त रन्जित बस्तीहरूमा
शान्ती र कान्तिको प्रकाशले  छाऊ
दुःख र पीडाको जीवनलाई
प्रेम र ध्यानको मार्ग सिकाऊ
नयाँ वर्ष २०७९ तिमी आऊ।