म मौन छु 
तिमी मौन छौ
हाम्रो आवाज मौन छ
मन, वचन र कर्महरू 
सबै आज मौन छन्।
हो, तिमी भन्न सक्छौ
आवाज मौन हुन सक्दैन 
किनकि
आवाजभित्र ध्वनी  हुन्छ
ध्वनिभित्र शब्द हुन्छ
शब्दभित्र भाव हुन्छ
भावहरू तरंगित हुन्छन्
हो, पक्कै आवाज मौन हुन सक्दैन
तर पनि म मौन छु
तिमी मौन छौ
हाम्रो आवाज मौन छ।
मन, वचन र कर्महरू पनि त मौन हुन सक्दैनन्
हैन र?
पक्कै हो
मन चञ्चल छ
प्रकाशभन्दा छिटो दौडिन्छ
मन शरीरमा मात्र बस्न सक्दैन 
पलपलमा गन्तव्य फेरिरहन्छ
मन मौन हुन सक्दैन 
तर पनि म मौन छु
तिमी मौन छौ
हाम्रो आवाज मौन छ
त्यस्तै,
वचन पनि त मौन हुन सक्दैन 
वचन निकै स्नेह पोख्छ
वचन  निकै चोट पुर्याउँछ
वचन गहिरो भाव पोख्छ
वचन आँसु बगाउँछ
वचन मुस्कान छर्छ
वचन मौन हुन सक्दैन 
तर पनि म मौन छु
तिमी मौन छौ
हाम्रो आवाज मौन छ।
तिमी सोध्न सक्छौ
अनि कर्महरू नि?
यो पनि कसरी मौन हुन सक्छ र?
कर्तासँगै हातेमालो गर्छ कर्म 
जान अन्जानमा पोखे जोडी खेल्छ कर्म
अहमताको भर्याङ चड्दै 
मै ठूलो पनि भन्छ कर्म 
तर पनि म मौन छु
तिमी मौन छौ
हाम्रो आवाज मौन छ।
यसैले हजुर
मौनाताको गहिराइमा पुग्न 
दृढ संकल्प लिनुपर्छ
आनन्दको जीवन जिउन 
ध्यानको मार्ग पहिल्याउनु पर्छ
अत:
मौन हरेक समस्याको समाधन हो
मौन नादको मोठो ध्वनी हो 
मौन नूरको सन्ध्या प्रकाश हो 
मौन आत्माको खुराक हो 
मौन अलौकिक प्रेम पथ हो
मौन अन्तर आकाश हो 
मौन जीवन हो 
मौन मृत्यु हो 
मौन  शून्य हो 
मौन सत्य हो 
मौन परमात्माको भाषा हो 
यसैले त
म मौन छु
तिमी मौन छौ
हाम्रो आवाज मौन छ।