जता जित त्यतै ताली 
बज्नैपर्छ भन्ने छैन 
कुनै अनौठो आविष्कार 
पनि त होइन 
कामले जताउँछ नाम 
विचारले बढाउँछ सान 
तिम्रो जितभन्दा 
शक्तिशाली मेरा औँला 
आहा! कति तालमेल छ 
जिताउँछ उही 
ताली बजाउँछ उही 
तालीको ताल छोपिन्छ 
तर ताल निकाल्ने औँलाहरूका 
छित्रैछित्रा भएका श्रमका घाउ 
उही बगरका पीडाहरूमा लुकेको छ 
पत्तो भएन सन्दुकीको लक्ष्मी पनि 
तिम्रै जितमा हराइछन् 
माइतीले दिएको सुकीको मुन्द्रो 
पनि तिम्रै जितमा हराएछ 
शंकै लाग्छ 
कतै मलाई पनि 
सम्झौता गरेका छौ कि 
कहीँ कतै दाउमा लगाउने हौ कि 
तिम्रो जितमा मेरो खुसी 
जोडिनै पर्छ 
किनकि समर्पण छ मेरो 
म जमिन मुनिको जरा हुँ 
तिमीलाई बचाउनु छ 
सबथोक सही ठानेर 
तिम्रो उम्मेदवारी नरहे 
मेरो भोटको मूल्य छ कहाँ नेर!