तिमी मप्रति बफादार भएर पनि आफ्नो खातिर बरालिँदा
मैले बाफले छोपेको घुम्टो च्यात्ने यत्न गर्दो हुँ
फगत तिम्रो दिमागले युरेनियमको शक्तिको जोड गणना गर्दा 
म तिम्री आमालाई
तिम्रो उदयका लागि खर्चिएको पूर्ण शक्तिको जोडफल सोध्दो हुँ 
तिमीले शुद्ध व्यक्तित्वको आफ्नो मूल्य कुनै मासमा खोज्यौ भने 
म तिमीसँगै बाल्कोनीमा बसेर
तिम्रा जिबाले हाम्रो अज्ञात भविष्य आकलन गरी बचाएको 
अस्तित्वको मूल्य सोधुँला
अनि
मैले रुस र यूक्रेन दुवैको जटिल राष्ट्रवादको
लक्ष्य सल्टाउने तागतको तिमीसँग अपेक्षा गर्दो हुँ
हे मेरो उत्तराधिकार सुन
यहाँ न उत्तरको समृद्ध पुँजी आर्जन सहितको 
साम्यवाद बोकेको राष्ट्रले आफ्नो दायित्व सकार्यो 
न दक्षिणी भूगोलको सर्वश्रेठ प्रजातान्त्रिक विशिष्टवादले 
आफ्नो न्यायिक धर्म बचायो
युद्धले पलभर नैतिकता नभुलेको क्षण 
अनि 
तिमीले आफ्नो जिम्मेवारी नभुलेको समय
मैले तिमी उदाउनुको सार्थकता बुझुँला
म तिमीबाट यही अपेक्षा गर्नेछु
तिमी कुनै मण्डलामा उभिएर मुस्कुराउने छौ 
र 
भन्नेछौ 
वर्तमानमा न रुसको जित स्वीकार्य छ हामीलाई 
न युक्रेनको हार
केवल 
हामीलाई दुवैको जितको पर्व मस्को, किभ र खार्किभमा सँगै मनाउनु छ
हे मेरो उत्तराधिकार सुन
फेरि एकपटक मस्कोलाई किभको निम्तो या 
किभलाई मस्को आतिथ्यता थमाएको क्षण 
हामीसँगै बसेर तिमी उत्तराधिकार हुनुको सार्थकतामा गमौँला।