ऊ ट्याक्सी चालक। विदेशको ठाउँ। नयाँ परिवेश। मनमा उत्साह। पक्कै पनि केही कमाइन्छ भन्ने मनमा आशा। अँध्यारो कोठा। बाहिर भने उज्यालो।
कहिले अँध्यारो नहुने। रात जान्छ। खम्बाका बत्तीहरू रातलाई उज्यालो बनाउँछन्। उसको कोठा भने अँध्यारो। चाहेर पनि ट्युबलाइटको बटन थिच्न सक्दैन। बाँकी साथीहरू सुत्दै छन्।
कतिपय रातको उज्यालोसँग ड्युटी गरी भर्खर अँध्यारो कोठामा आश्रय लिँदैछन्। हल्ला गर्नु पनि भएन। भोलि आफैंलाई पर्न सक्छ। के गर्ने परदेश। मेलमिलाप गरेरै बसेको राम्रो। मनमा यस्तै कुरा आउँछन् उसको। आफ्नो अनुहार ऐनामा हेर्छ। तयार भएको महसुस गर्छ। टेबलमा रहेको हिजोको बासी रोटी चियासँग कपाकप खान्छ।
हातमा ट्याक्सीको साँचोसँगै ऊ बाहिरिन्छ। उज्यालो बिस्तारै छाउँदै थियो। पार्किङबाट ट्याक्सी निकाल्छ। ट्याक्सी यात्री आउने पार्किङमा यात्रीको पर्खाइमा थियो ऊ। टहलिँदै बिहानीको मौसमको मज्जा लिँदै। उदाउँदै गरेको उज्यालोसँग दिन शुभ हुने आश पनि थियो उसलाई। सोचेजस्तो चलेको पनि थियो। उसको मनमा सन्तुष्टि र तनमा खुसी थियो।
समयको गतिसँगै दिन हप्ता महिना हुँदै वर्ष पनि बितिसकेछ। उसको दैनिकी पहिलाजस्तै चलेको थियो। स्वभावमा भने परिवर्तन। ऊ कताकता हराएजस्तो लाग्थ्यो।मन चञ्चल थियो। आँखाहरू कसैको आगमनको प्रतीक्षामा रहन्थे। के भयो उसलाई। उसलाई नै थाहा छैन। यस्तो पनि हुन्छ र? कहिलेकाहीँ प्रश्न गर्छ आफैंलाई।आज पनि ऊ ट्याक्सी सधैंझैं राखेको थियो। यात्रीको प्रतीक्षामा। मन भने यात्रीभन्दा पनि अन्तै दौडिएको थियो। अरूको प्रतीक्षामा। उसको दैनिकीमा फरक ल्याउने एउटा अनौठो घटना प्रवेश भएको थियो। बुर्का।
के थियो त्यसको रहस्य। उसलाई पनि थाहा छैन। तर ऊ त्यो बुर्काभित्रको रहस्य बुझ्न आतुर छ। घरतिरको भन्दा पनि त्यो बुर्काको सम्झनाले सताउँछ उसलाई। बुर्काभित्र को छ? के छ? उसले देख्न सकेको छैन।
अवस्था रहस्यमा नै छ। ऊ रहस्य बुझ्न चाहन्छ। बुर्काभित्र रमाउन चाहन्छ। किन? बुझ्न सकिरहेको छैन। न ऊ ट्याक्सीको यात्री नै हो। उसको लागि अलगै कार आउने गरेको छ। बुर्काभित्रको बनोट कुनै महिलाको हो भने ऊ निश्चिन्त थियो।
माथिदेखि तलसम्म कालो बुर्काले छोपे पनि बुर्कामाथि उठेका ती उसका अंगका बनोटहरू स्पष्ट रूपमा महिला भएको प्रमाणित गरेका थिए। छाती उचालिएको थियो। कम्मर बटारिएको थियो। हाउभाउ भने अलिकति फरक देखिन्थ्यो।
ऊ बुझ्न चाहन्थ्यो। तर कसरी? नजिक पुग्ने मौका नै मिलेको छैन। कार आउँछ। ढोका खुल्छ। भित्र पसेपछि बन्द। उसको आँखामा कहिलेकाहीँ कारमा बस्दा बुर्का उचालिन्छ। बुर्काभित्र पनि अर्को रंगीन कपडा नै खुट्टा ढाकेको देख्छ। के हो, उसको पहिचान उसलाई सताइरहन्छ।
उसले हिम्मत हारेको छैन। ऊ कुरा गरिछाड्ने प्रतीज्ञामा छ। साँझ झमक्क परे पनि रोड रंगीन लाइटहरूले रंगिएको छ। बुर्कावाला दृश्य देखिएको छैन। न त कार आएको छ। ऊ कोठातिर जाने तयारीमा थियो। आत्तिँदै बुर्कावाली उसको नजिक उभिएको देख्यो। हत्तपत्त बाहिर निस्कियो। बुर्कावाली यताउता हेर्दै गरेको देखेर ऊ खुसी भयो। प्रार्थना पनि गर्यो। कार नआओस् भनेर। उसले सोचेजस्तो भयो। तन, मन खुसीले गदगद। उसले सोचेजस्तै भएकोमा।
बुर्कावाली ट्याक्सीको पछाडि सिटमा बसिन्। अगाडिको लुकिङ ग्लास उनको अनुहारतिर घुमायो। अनुहार भन्दा पनि बुर्का नै देख्यो उसले। बुर्कावाली भने आफ्नै धुनमा मस्त देख्यो उसले। बोल्ने कसरी? कुन ठाउँ जाने भनेर प्रश्न गर्यो।
बुर्कावालीको आवाजमा लोग्ने मान्छेको आवाज मिसिएकोजस्तो लाग्यो उसलाई। बुर्कावालीको गन्तव्यतिर ट्याक्सी हुइँकियो। ऊ बोल्न खोज्थ्यो। मनमा हिम्मत जुटाउथ्यो।फेरि सोच्थ्यो। बुर्कावालीले सिकायत गरी भने जेलमा सड्न पर्ने हो कि? ऊ सोचमा पर्यो। अगाडि रेडलाइट बल्यो। एक्कासि ब्रेक लाग्दा बुर्कावालीको हात कुर्सी समाउने क्रममा उसको टाउकोमा पर्यो।
उसले विस्तारै 'सरी' भन्यो। मनमा भने खुसी थियो। बुर्कावाली भने आफूलाई असहज भएको महसुस गर्दै थिइन्। उनले छातीमा हात लगेर केही मिलाएको देख्यो, उसले। सुनसान ठाउँमा गएर ट्याक्सी रोकियो। फार्म हाउसमा। ट्याक्सी न हो उसलाई यात्री र पैसासँग मतलब हुनुपर्ने। आज उसलाई पैसाभन्दा पनि यात्रीसँग बढी मतलब छ। उसलाई प्रतीक्षा गर्न भन्दै बुर्कावालीभित्र पसिन्। ऊ हेरिरह्यो। कति समय लाग्छ भनेर पनि सोध्न भ्याएन। कस्तो राम्रो महल। एकछिन हेरिरह्यो। हेरेर के गर्नु? हेर्दाहेर्दै उसको सामु प्रश्न उभियो। यत्रो महलमा पस्ने बुर्कावालीको एउटा कार पनि किन छैन? उसलाई यो कुराले घाेचिरहेको थियो। गेटमा उभिएको पालेसँग सोध्यो।
'अहिले भर्खरभित्र जाने बुर्कावालीलाई चिन्नु हुन्छ?'
सौभाग्य, ऊ पनि नेपाली नै रहेछ। केही कुरा त थाहा पाउँछुजस्तो लाग्यो उसलाई। सोचेजस्तो भएन।
'तपाईं आफ्नो कामको मतलब राख्नु। यो परदेश हो, यहाँ जे पनि हुन्छ।'
झन् अलमल पर्यो ऊ। आफ्नै ट्याक्सीभित्र पस्यो। कुर्सीमा बसेर फेरि कल्पनाको सागरमा डुब्न थाल्यो। आज पनि बुर्कावालीसँग कुरो गर्न सकिनँ भने उनलाई यति दिनदेखि हेर्नुको अर्थ रहँदैन।
के गरूँ? कसरी बोलूँ? आज हिम्मत जुटाउन नै पर्छ मैले। मनमै भुनभुनाउँदै थियो ऊ। एक्कासि पछाडिको ढोका खुल्यो।
बुर्कावाली हतार-हतार कारभित्र पस्दै छिटो कार अगाडि बढाउन आग्रह गरिन्। ऊ पनि तत्काल कार कुदायो। बुर्कावाली जाँदाजस्तो सहज थिइनन्।
धड्कन बढेको थियो। मन बेचैन। कुर्सीमा पल्टिन उनी। ऊ पछाडि फर्कंदै हेर्दै गर्यो।
एक मनले बोल्ने मौका यही हो भन्थ्यो। अर्को मनले रोक्थ्यो। हिम्मत जुटाएर सोध्यो, यसपालि। के भो? केही भएको होइन समय गलतमात्र पर्यो।
समय भन्नाले? फेरि प्रश्न।
के हुनु नि! एक घन्टा चाँडै पुगिएछ। धन्न मरेको, बचायो बुर्काले। ट्याक्सी ड्राइभर अचम्मित भयो। बुर्काले बचायो। उसको आश्चर्यजनक प्रश्न थियो। हो, बुर्काले नै बचायो।
उत्तर त पायो तर अर्थ बुझेन। फेरि सोध्यो, कसरी? बुर्का शरीरबाट निस्कियो। ट्याक्सी ड्राइभर बुर्काभित्रको शरीर हेरिरह्यो। उसको कल्पना, कल्पनामै रह्यो। बुर्काभित्र जुन उनी खोजेको थियो। त्यो देखेन। यस्तो पनि हुन्छ त? उसका आँखा एकोहोरो हेरिरहे। मनको लड्डु मनमै फुट्यो। उसले सोच्ने उनी, ऊ बनेर निस्कियो।
एकछिनको मौनता भंग गर्दै ट्याक्सी ड्राइभर सोध्छ,'के हो यो? को हो त? सेक्स ब्वाई! उत्तर सुनेर तर्सियो। सुनेको थियो, आज आँखाले देख्न पायो। बुर्काभित्रको रहस्य खुलेसँगै सपना पनि उड्यो ट्याक्सी ड्राइभरको। बुर्कावाला ट्याक्सीबाट बीचबाटोमै उत्रियो। ट्याक्सी कुदिरह्यो।