बिहानै मायालाई टेलिफोन फोन गरेर भनें ‘भेट नभएको पनि धेरै भयो, केही दिन छुट्टी मिलाऊ न माया! कतै घुम्न जाऊँ, आजभोलि त मलाई यहाँ सारै नरमाइलो लाग्न थालेको छ’
उनले मेरा आग्रहलाई उपेक्षा गर्दै भनिन्, ‘यो महिनाभरि त सम्भव नै छैन। अफिसमा अन्डर स्टाफिङ छ, अहिले त विकेन्डमा पनि छुट्टी पाउँदैनौं हामीले’ उनको कुराले फेरि पनि मलाई निराश बनायो र यसपटक पनि हाम्रो कुराकानी बिनानिष्कर्ष नै टुंगियो।
त्यो आत्मीयताहीन कुराकानीपछि अफिसमा काम गर्न मन लागेन र बोझिलो मन लिएर अफिसबाट निस्किएँ।
सोचें ‘एक पल पनि छुट्टिन नसक्ने मन अचेल किन महिनौंसम्म बेखबर भएर बस्छन? साँच्चिकै हामी बाध्यताले घेरिएका हौं कि कतै हाम्रा बाटाहरू नै बदलिइसके?’
मनमा पीडाको लहर दौडियो र मलाई चेतनाको दोषाधमा पुर्यायो।
ब्रुकलिनब्रिजबाट स्ट्याच्यू अफ लिबर्टीतिर हेर्दै टोलाएका मेरो नजरहरूमा आफैंले देखेका अनगिन्ति सपनाहरू रसाउँदै गए र आँखालाई जलमग्न बनाएँ। लामो सुस्केरा लिएँ।
सोचें ‘मनका सबै तम्मतमिला अनुभूतिलाई यही हडसन नदीमै बगाइदिन पाए पनि त हुन्थ्यो नि!’
मन भारी थियो। सम्झनाका लहरहरू आँखा वरिपरि थिए, चुपचाप गाडी स्टार्ट गरें र तिनमै हराउँदै अगाडि बढाएँ।
विकेन्ड थियो, कुनै योजना थिएन र चासो राख्ने पनि कोही थिएनन्। सरासर म्यानहटनको एउटा ककटेल बारमा छिरें।
एक जना वेट्रेस मनमोहक मुस्कान लिएर मेरो टेबल नजिकै आइन्। उनको त्यो कामुक मुस्कानले मलाई कताकता काउकुति लागेजस्तो भय।
मैले केही नसोची भनिदिएँ, ‘लुकिङ्ग सो हट एण्ड ब्युटिफुल’ मख्ख पर्दै उनी फेरी मुस्किराइन् र मलाई अंग्रजीमा धन्यवाद भनिन्।
केहीबेर मेनु हेरेपछि मैले ‘ह्विस्की अन द रक’ मगाएँ।
उनले नखारा देखाउँदै फेरि सोधिन्, ‘एनिथिंग एल्स सर?’
मैले जिस्क्याउँदै जवाफ दिएँ ‘तपाईंको कम्पनी (साथ) पनि पाए हुन्थ्यो’
उनले अझै माधुर्यताका साथ भनिन्, ‘तपाईंको वरिपरि त हुन्छु नि म’ त्यो लठ्ठैपार्ने बोली सुनेर म दंग परें।
बेला बेलामा उनी घुम्दै आउँथिन् र मेरो पुरूष चेतनालाई रन्थन्याएर जान्थिन्।
विस्तारै साँझ घर्किंदै गयो। म जीवनका तीता अनुभूतिहरूलाई ह्विस्कीमै मिसाएर पिउँदै गएँ।
समयको आफ्नै रफ्तारमा थियो, रूम पार्टनर सुबिनले सम्झनाले झसंग बनायो।
घडी हेरें, रात निकै बितिसकेको रहेछ। उसलाई पनि बारमै बोलाएँ, आफ्नो गाडीको साँचो रिसेप्सनमा बुझाएँ र ठेगाना टिपाएर उसकै गाडीमा कोठामा गएँ।
कोठामा पुगेपछि बल्लतल्ल मोजा खोलें र लडखडाउँदै गएर खाटमा पल्टिएँ।
भोलिपल्ट बिहान उठ्दा बेस्सरी टाउको दुखिरहेको रहेछ, आँखा खुले पनि निकैबेरसम्म बेडमै पल्टिरहें।
फ्रेस भएर लिभिङ रूममा गएपछि सुबिनले चिया लिएर आयो, चिया टेबलमा राख्दै गम्भीर भएर भन्यो, ‘किन यसरी बेहोस हुनेगरी रक्सी पिउछस् तँ ?’
म केही बोलिनँ, उसले रिसाउँदै भन्यो, ‘म के भनौं साथी? हामी परदेशमा छौं। समय छँदै आफूलाई सम्हाल, भोलि फेरि पछुतो नहोस!’
मैले चुप लागेरै उसका सबै कुरा टारिदिएँ। केहीबेरपछि ऊ ड्युटीमा हिँड्यो र म कोठामा एक्लै भएँ।
झ्यालबाट बाहिर हेरें, नजर पुगे जति सबैतिर घरैघरहरूमात्र देखिन्थे। कंक्रिटको जंगलजस्तो न्युयोर्कको त्यो रूप हेरिरहन मन लागेन, तल कम्पाउण्डतिर हेरें, झरेका गुलाबी रंगका ज्याकारण्डा फूलहरूले मनको उदासीलाई झनै बढाए।
दिनभरि केही पनि गर्ने जाँगर चलेन, कोठामै त्यतिकै बसिरहें। आफू हिँडेका बाटो सम्झेर दंग परें। यात्रामा अलपत्र भएका सपनाहरूले फेरि भावुक बनाए।
अमेरिका आएर मैले के पाएँ र के गुमाएँ ? भन्ने कुराको मनमा द्वन्द्व चल्यो र चेतनाहरू धमिला हुँदै गए।
कलेजमा मायासँग भएको पहिलो भेट र त्यसपछिका प्रेमिल पलहरूमा पनि नोष्टालजिक भएँ। ती दिनहरू कुनै मिठो सपनामात्रै त थिएन भन्ने पनि लाग्यो। कलेज बंक गरेर डेटिङ गएका स्वप्निल पलको सम्झनाले आँखा रसाए।
चोभारको डाँडामा बिताएको ती सुमधुर क्षणहरू पनि सम्झिएँ।
‘तिमीसँग छुट्टिएर बाँच्नुपर्ने भएछ भने म यही चोभार गल्छीमा हाम फालेर मर्छु मोहन!उनले गहभरि आँसु पार्दै भनेका ती कुरा मनमा खेले।
उनका शब्दले मुटुमा बेस्सरी घोचेका थिए र मैले भावावेसमा उनलाई कसिलो अंगालोमा बेरेको थिएँ।
हामी प्रेमको गहिराइमा चुर्लुम्म डुबेका थियौं र मन सिमलको भुवाजस्तै उडेको थियो।
कोठामा एक्लै बसेर रक्सीका थुप्रै प्याक र चुरोटका निकै खिल्लीहरू सके तर भावनाका गिर्खाहरू पटक्कै मेटिएनन्, ती झनै तिखारिए र मुटुमै रोपिँदै गए।
सम्झिँदै गएँ, विवाह पछिका दिनहरू पनि उस्तै सुमधुर भएर बिते। छोरो र छोरीको आगमानले सुन्दर संसार अझै सुन्दर बनायो।
दुबै जनाको राम्रो जागिर थियो। काठमाडौंमा उनकै नाममा एउटा घर किनेका थियौं। ईश्वरले मनग्य खुसी दिएका थिए।
यसैबीच मलाई डिभी पर्यो। यहाँ आइपुगें। त्यसको करिब एक वर्षपछि मायाको पनि भिसा लाग्यो। छोरा-छोरी बुवा र आमाको जिम्मा लगाएर उनी पनि यतै आइन्।
दुबै जना अमेरिकामा सँगै हुन पाउदा हर्षको सीमाना रहेन। ती दिन फेरि अर्को हनिमुन जतिकै सुमधुर रहे।
केही महिनासम्म हामी अमेरिकाको थुप्रै ठाउँ घुम्यौं र ती सबै सुखद् पललाई क्यामेरामा जतनसँग उनेर राख्यौं।
यसैबीच मायाले पनि काम गर्ने इच्छा गरिन्। नजिकै कतै काम पाउन सकिएन। मैले आफ्नै पुरानो मित्र विनय थापासँग कुरा गरें।
उसले सनफ्रानसिस्कोमा रहेको उसैको मलमा काम दिने भयो। साथीको विश्वासमा मैले मायाको चाहनालाई साथ दिएँ।
एक दिन उनी मलाई न्युयोर्कमा छोडेर रूँदै उनी सनफ्रान्सिस्को गइन्। त्यसपछि जीवनको पाटो....
दिनभरि नै मदिराको नशामा तिनै यादहरूमा डुब्दै गएँ। साँझ सुविन ड्युटी सकेर कोठामा आइपुग्यो। उसलाई देखेर म झसंग भएँ।
तर त्यतिबेलासम्म म बसेको ठाउँबाट उठ्न नसक्ने भैसकेको रहेछु। मुश्किलले कोठामा गएँ र कुन बेला निदाएछु पत्तै भएन।
भोलिपल्ट बिहानै उठें। अघिल्लो दिनको नशा उत्रेकै रहेनछ र पनि हतारहतार तयार भएर काममा गएँ।
अफिस पुगेर मोबाइल हेरें, धेरै मेसेज थुप्रिएका रहेछन्। हेर्दै गएँ। एउटा मेसेजमा छोरीले लेखेकी थिइन, ‘ह्याप्पी बर्थ डे बाबा’।
आफ्नो जन्म दिन सम्झेर झल्यास्स भएँ।
मेसेजको त्यही थुप्रोमा मायाको मेसेज पनि खोजें तर उनले पठाएकी रहिनछन्।
मन कता कता भारी भयो र तुरून्तै फोन गरें।
लामो घण्टीपछि उनले फोन त रिसिभ गरिन् तर, ‘म बिजी छु एक घण्टा पछि गर न है’ भनेर डिस्कनेक्ट गरिन्।
मलाई मनमा काँडा बिझे जतिकै भयो।
आफ्नो जन्मदिनको कुरा सुनाउन अर्को एक घण्टा कुर्नु पर्ने भयो। आफ्नो त्यो केटाकेटी रहर देखेर आफैंलाई अचम्म पनि लाग्यो।
त्यो समय पनि मानसपटलमा उनकै कुराहरू खेले।
उनी सनफ्रान्सिस्को गएपछि बिस्तारै भेटघाट पनि पातलिँदै गय। फरक फरक समय तालिकामा काम गर्दा दैनिक सम्पर्क पनि हुन छोड्यो। हरेक दिन हुने गरेका भिडिओ कलहरू बिस्तारै हप्ता र हुँदा हुँदै आक्कल झुक्कलमा सीमित भए। आ-आफ्नै काममा व्यस्तताले हामी टाढिएजस्तै भयौं।
एक घण्टापछि फेरि फोन गरें, आत्मीयताहीन आवाजमा उनी बोलिन्, ‘भन मोहन’
असजिलो मान्दै मैले भनें, ‘आज त मेरो जन्मदिन रहेछ नि। छोरीको मेसेजले पो याद दिलायो त’
उनले तुरून्तै जवाफ दिइन्, ‘ए हो है, सरी डार्लिङ मैले पनि भुलेछु! ह्याप्पी बर्थडे है।’
कुरा गर्दा गर्दै झल्यास्स सम्झिएँ - विवाहपछि हरेक वर्ष मेरो जन्मदिन उनले नै सम्झाउँथिन् र बिहानै संकटाको थानमा लगेर दर्शन गराउँथिन्। तर यस पटक भने उनले जन्मदिन पनि भुलिछन्! अमेरिकाको त्यो निष्ठुरी व्यस्तता देखेर विस्मित भएँ!
मेरो जवाफ ढिलो भएपछि उताबाट उनले ‘हेल्लो’ भनिन्।
मैले फेरि कुराकानी अगाडि बढाउँदै भनें ‘ज्यादै नियास्रो लाग्यो माया! आऊ न केही दिन सँगै बसौं, कति मरिमेट्नु।’
यस पटक पनि उनले शिष्टतापूर्वक इन्कार गर्दै भनिन्, ‘हो हुन त! तर अफिसमा धेरै स्टाफ बिदामा छन्, अहिले त बिदा लिन पनि मिल्दैन मोहन।’
टेलिफोनमा कुरा सकियो र मलाई एउटा गहिरो उदासीले अठ्यायो।उदास मन लिएर अफिसबाट कोठामा फर्कें। हात मुख धोएर आमालाई भिडिओमा कल गरें, देख्नासाथ आमाले भन्नुभयो,‘कस्तो दुब्लाको बाबु तँ! सन्चो भएन कि कसो? बुहारी पनि अन्तै काम गर्छिन् रे त! खाना पनि खाँदैनस् कि क्या हो?’
आमाको मायालु शब्द सुनेर मर्दै गएको मन फेरि पलाएजस्तै भयो। हजुर आमाको बुई चढ्दै भिडिओबाटै छोराले भन्यो, ‘ह्याप्पी बर्थडे बाबा’ छोरीले पनि उसैसँग स्वर मिलाइन्। हुर्कंदै गएका छोरा छोरीहरू देखेर आनन्द लाग्यो।
नाति नातिनालाई पर धकेल्दै आमाले फेरि भन्नुभयो,‘यति राम्रो जागिर छोडेर अमेरिका गयौ, किन मरिमटेछौ तिमीहरू? के नपुग्दो छ र यता पनि? मर्ने बेला भैसक्यो एउटै भ'को छोरो पनि कता हो कता?’
अचानक आमाको आँखा आँसुले भरिए र त्यो देखेर मलाई असह्य भयो, लामो सुस्केरा हालें र धेरैबेरसम्म मनमा अनेक कुराहरू खेलिरहे, दौडिएर त्यही पुग्न पाए पनि हुन्थ्योजस्तो लाग्यो।
साँझ झमक्क परेपछि सुबिन ड्युटी सकेर आयो। उसको प्रसन्नता देखेर अचम्म लाग्यो, म पनि अलिकति पिउँछु भन्दै ऊ पनि मसँगै बस्यो, मैले कौतुहलतापूर्वक उसलाई सोधें ‘होइन आज दंग छस् नि तँ?’
मुस्कुराउँदै उसले भन्यो, ‘एउटी डिभी सुन्दरी आउँदैछिन् क्या, मैले जागिर खोजिदिनु पर्ने, बस्ने व्यवस्था पनि मिलाई दिनुपर्ने। एक दुई महिना जति मैकहाँ बस्छिन्। मेरो पनि सेवा गर्छिन्।’
‘यो त शोषण हो..’
‘होइन, यो आवश्यकता हो मोहन... मेरो शारीरिक आवश्यकता र उनको यता स्थापित हुने आवश्यकता। गिभ एण्ड टेक हो बुझिस्, सजिलो छ र अमेरिकामा?..’
उसले आफ्नो हातको गिलास रित्यायो र टेबलमा राखेर हिँड्यो। म भने उसको कुरा सुनेर स्तब्ध भए।
अमेरिकाको रंगीन सपना बोकेर आउने निर्दोष नारीहरूका विवश अनुहारहरू दिमागमा सलबलाए र तिनको नियतिप्रति दु:ख लाग्यो।
सोच्दै गएँ। आफू पनि, सपनाहरूकै परिबन्दमा परेझैं लाग्यो। अपार्टमेन्टको भाडा, सवारी साधनको खर्च, त्यसको बीमा, आफ्नो स्वास्थ्य बीमा, जीवन बीमा, खाद्यान्न, लुगाफाटो र मासिक किस्ता! कसरी फस्दो रहेछ मान्छे अमेकरिकामा!
आधा रातमै निन्द्राले छोड्यो र मनमा अनेक तर्कना चल्न थाले। टाढिँदै गएका दाम्पत्य जीवन सम्झेर नमज्जा लाग्यो। अब अमेरिकामामै बसौं कि फर्केर फेरि घर जाऊँ भन्ने कुराले बेचैन बनायो।
एकातिर वृद्ध आमा र कलिला छोरा-छोरीका मायालु अनुहार अर्कोतिर आफ्नो धर्मराएको दापत्य जीवन! मनमा भावनाहरूको अन्तरद्वन्द्व चल्यो।
मायालाई पनि यतै बोलाएर सँगै काम गर्न पाए त सारा अन्यौल समाप्त हुन्थे कि भन्ने आशा पनि पलायो।
बिहानै उनलाई फोन गरें, ‘माया हेर हामी त सारै टाढा पो भयौं, बरू त्यहाँको काम छोडेर तिमी यतै आऊ, यतै काम खोजौंला, कि मलाई पनि उतै बोलाऊ कम्तीमा सँगै बस्न त पाइन्छ’
उनले शिष्टतापूर्वक आफ्नो अडान सुनाइन्, ‘पहिला सोचिएन, अब त मैले यता काममा लय समातिसकें, अब जिरोबाट सुरू गर्न हामी दुबै जनाको लागि सजिलो हुँदैन, मोहन!’
उनले त्यो इन्कारी सुनेर म केहीबेर त बोल्नै सकिनँ। समयको त्यो निर्ममता देखेर विस्मित भएँ र पनि एउटा आशा लिएर उनलाई सोधें, ‘के अब हामी छुट्टाछुट्टै बस्ने हो त सधैं?’
उनले झर्को मानेझैं गरेर भनिन्,‘तिमी नेपालबाट अमेरिका आउँदा म त्यहाँ एक्लै थिइनँ र मोहन?’
म उनको जवाफ सुनेर स्तब्ध भएँ।
अब उनी न्युयोर्क फर्किन चाहँदिनन् भन्ने कुरा पनि बुझें तर किन उनमा यत्रो परिवर्तन आयो भन्ने कुरा भेउ पाउन सकिनँ।
नियतिले कोर्दै गरेको गएको उदेक लाग्दो बाटो देखेर निराश बनें।
त्यसपछिका निकै दिनसम्म हाम्रो सम्पर्क पनि भएन। धेरै दिनपछि उनको जन्म दिनले मेरो मनमा फेरि पुनर्मिलनको आशा पलायो।
मैले हिराको टप उपहार किनें र उनलाई सरप्राइज दिने गरी सनफ्रान्सिस्को गएँ।
अकस्मात् मलाई त्यहाँ देखेर उनको अनुहारमा केही हतासपन देखियो। मैले सहज बनाउने यथेष्ट प्रयास गरें, उनले पनि आफूलाई खुसी देखाउने मनग्य चेष्टा गरिन्। केही समय उकुसमुकुसमै बिते र फेरि मैले कुरै कुरामा सोधें, ‘किन तिमी यसरी बदलियौ माया? के मबाट कुनै गल्ती भयो र?’
उनले केहीबेर सोचेझैं गरिन् र गम्भीर भएर भनिन्, ‘म बदलिएको होइन मोहन, समय बदलियो र सायद हाम्रा खुसी हुने तरिकाहरू पनि बदलिए। गल्ती कसलाई लगाउनु र! समयभन्दा बलियो केही नहुने रहेछ मोहन’
उनको जवाफ सुनेर मलाई करेन्ट लागेजस्तो भयो।
एकैपटक सम्बन्धको डोरी छिनेजस्तो लाग्यो। रन्थनिँदै एकछिन मौन रहें र फेरि आफूलाई सम्हालेर भनें, ‘आखिर एकदिन त मरेरै जाने हो माया, हिँड अब नेपाल फर्केर जाऊँ, आनन्दको जीवन बिताऊँ, के नपुग्दो छ र हामीलाई?’
उनको अनुहारको चमक हरायो र विस्तारै उनले भनिन्, ‘भर्खरै त मैले ग्रीन कार्ड पाएको छु। मेरो पनि त जीवन छ नि मोहन! के म खुसी भएर बाँच्न पाउँदिनँ? तिमीलाई त म रोक्दिनँ तर मलाई यतै रमाएर बाँच्न देऊ’ उनको कुरा सुनेपछि मन बेस्सरी कुडियो, अब अरू केही बाँकी रहेजस्तो पनि लागेन।
लामो सास फेरें र कोठामा नजर घुमाएँ।
दराज खुल्लै थियो, त्यसमा आधा भरिएको जोनिवाकर ह्विस्कीको बोतल, टेबलको एस्ट्रेमा मालबोरो चुरोटका ठुटा थिए, ह्याङ्गरमा पुरूषका केही भित्री र बाहिरी कपडाहरू पनि थिए। भुइँतिर आँखा गयो, विनयको फोटो भएको मनि व्याग पनि देखें।
मलाई उकुसमुकुस भयो। बसेको ठाउँबाट उठें। झ्यालबाट बाहिर हेरें, अनुहार रातो पारेर घाम डुब्दै थियो, त्यससँगै न्युयोर्कदेखि सान्फ्रानसिस्कोसम्म पुगेका मेरा सबै सपनाहरू डुब्दै गए।
चुरोटको लामो सर्को लिएँ र मैले विस्तारै भनें, ‘म त यहाँ टुट्न लागेका हाम्रा सपनाहरू फेरि जोडौंला भनेर आएको थिएँ तर तिमीले कित्ता काटै गरिदियौ माया! हाम्रो बाटाहरू यति सजिलै छुट्टेलान् जस्तो लागेको थिएन, सारै दु:ख लाग्यो!’
उनले मेरो कुराको कुनै जवाफ दिइनन्। त्यही बेला उनको भाइबरमा घण्टी बज्यो, घण्टी सँगै विनयको फोटो पनि डिस्प्ले हुँदै थियो।
उनले फोन डिसकनेक्ट गरिन् तर फेरि लगत्तै घण्टी बज्न थाल्यो। उनको अनुहार रातो भयो, उनी सायद वाईफाई बन्द गर्न लागिन्।
म भारी मन लिएर न्युयोर्क फर्किनको लागि त्यहाँबाट हिँडें। घर नजिकैको ट्याक्सी स्ट्याण्डबाट एउटा ट्याक्सी लिएर रेल्वे स्टेसन पुगें।
तुरून्तै रेलमा चढें, रेल अगाडि बढ्दै गयो, झ्यालबाट बाहिरतिर हेरें।
झलमल्ल बत्तीको उज्यालोमा सान्फ्रान्सिस्को सहरको सुन्दर दृष्यहरू पछाडि छुट्दै गए।
म भने पीडाले मर्माहत भएर चुपचाप आफ्नै जिन्दगीको तमासा हेर्दै गएँ।
म पहिलो पटक अमेरिका हिँड्ने बेलामा निथ्रुक्क भिजेका आँखा लिएर कोक्किएर रूँदै गरेकी मायालाई सम्झेर भावुक भएँ।
काखमा राखेर छुरा रोप्ने मित्रको भेष गरेको जल्लादजस्तो विनयको अनुहार सम्झेर मनमा आक्रोश पैदा भयो।
यात्राभरि मनमा अनेकौ तर्कनाहरू चलिरहे। मन एकदम रित्तो भएको थियो, कुनै सपनाहरू बाँकी थिएनन्, मनै सोचें ‘अब एकपल पनि म अमेरिका बस्दिनँ’।
कोठामा पुगें, उनको लागि साथै लगेको हिराको टप निकालेर हेरें, त्यसको चमकमा मायाको कुटिल चेहेरा जगमगायो। मनमा पीडाको राँको दन्कियो। लामो सुस्केरा लिएँ, ल्यापटप खोलें र अनलाइनबाट नेपालको टिकट बुक गराएँ।
भोलिपल्ट बिहानै भावशून्य भएर जोन एफ केनडी एयरपोर्ट पुगें, एकैछिनमा बोर्डिङ भयो, बिस्तारै जहाज आकासियो र म सदाको लागि अमेरिका छोडेर हिँडें।
बाहिर बाक्लो कुहिरो लागेको थियो, आकाशबाट अन्तिम पटक न्युयोर्क सहरको त्यो हँसिलो अनुहार हेर्ने धोको पनि पूरा भएन। बेवारिसे छोडेका न्युयोर्कका अनगिन्ती रंगीन सपनाहरूलाई भारी मनका साथ पुन: सुमसुम्याएँ र चेतनाशून्य हुँदै र म जहाजकै गतिमा समाहित हुँदै गएँ।
जहाजले बम्पिङ गर्यो, फेरि संयम डगमगायो। महत्वाकांक्षा, स्वार्थ र घातैघातको भूमरीमा फसेको दाम्पत्यको पीडाले असह्य भयो।
रसाएका आँखा पुछें। न्युयोर्क र सान्फ्रानसिस्कोका परिधिमा हराएका सम्बन्धका तिता अनुभूतिहरूलाई हृदयमा गाँठो पारें। हडसन नदीको निला छालहरूलाई मनमनै स्पर्श गरें।
लामो सुस्केरा लिएर सोचें, यही हडसन नदीजस्तै, अनेकौ भंगाला र दह र बगरमा रोकिँदै, फिजारिँदै र फेरि साँघुरिँदै अनवरत बग्दै जानु त रहेछ नि जीवन पनि!!