'यो रित्तो समय हो। लाग्छ रिक्तताको त्यो पुरानो इतिहास फेरि दोहोरिएको छ र सायद अब फेरि पनि दोहोरिने छ। पुनरावृत्ति नै जीवन हो तर नबुजे झैँ हामी यसलाई गतिशीलता भन्छौँ।'
ऊ यसरी बोल्छे लाग्छ, ऊ अरु कोही हो। मैले उसलाई यति स्पष्ट र यति नाजुक कहिल्यै देखिनँ। म उसलाई एक आम युवती ठान्थेँ। त्यो मेरो आफ्नै समस्या थियो। को आम को असाधारण। यो दोहोरिरहने एक कामचलाउ बिम्ब नै हो। तर ऊ मलाई विशेष कहिल्यै लागेन।
नाम- सपना
थर- थापा
यस्तो लाग्थ्यो ऊ सपना बेगरकी सपना थापा हो।
हामी क्याम्पसको कक्षा कोठामा एउटै बेन्चमा बस्न पुग्यौँ, त्यसैले साथी भयौँ। हामीबीच साथीबीच हुनुपर्ने समानता र सम्बन्धको कसीलाई कस्ने बन्धन केही थिएन र छैन पनि। मलाई लाग्थ्यो हामी नामका साथीहरू हौँ। ऊ उसको प्रेमीको बारेमा मलाई सुनाउँथी, म आफ्नै जन्जीरका कथाहरू उसलाई सुनाउँथेँ।
खासमा भन्दा उसको र मेरो सम्बन्ध वक्ता र श्रोताको जस्तो थियो। कहिले ऊ वक्ता म श्रोता, कहिले म वक्ता उ श्रोता। र एकअर्काको कथामा एकअर्कालाई कहिल्यै नभेट्ने श्रोता र वक्ता। ऊ र मबीच एक अनौठो समभेद सधैँ थियो।
उसको लागि क्याम्पस पुग्नु, हुर्काएकी तर नजन्माएकी आमाको कचकचबाट मुक्त हुने एक उपायमात्र थियो। ऊ चाँडै नै आफ्नो प्रेमीको स्वास्नी हुन चाहन्थी, आमाको कचकचबाट सदा सदाको लागि पर हुन। मलाई लाग्थ्यो ऊ अझै केटाकेटी नै छ त्यसैले पढाइको महत्व बुझ्दिन।
मेरा लागि पढाइ सधैँ एक सपना बन्यो। मलाई लाग्थ्यो यसले मलाई पर लग्नेछ। म अक्षरहरूसँग बग्दै पर पुन्नेछु। म प्रेममा परेकी थिइनँ र ऊजस्तै कसैको प्रेममा मस्त मस्तानी बन्न चाहँदैन थिएँ। म सपनाको यात्रामा थिएँ, ऊ प्रेमको।
ऊ सधैँ भन्थी, 'थाहा छ कृपा, जति तिमी आफूलाई जीवनबारे बुझक्कड ठान्छेऊ त्यो तिम्रो भ्रम हो। वास्तवमा जीवनलाई त्यति गहिरेर बुझ्नु आफैमा एक समस्या हो। जीवन सरल छ बस् तिमीले सरल नै बनेर महसुस गरे पुग्छ।'
मलाई सधैँ लाग्थ्यो ऊ चाहिनेभन्दा सरल सोच्छे। म ऊजस्तो कहिल्यै बन्न चाहँदैन थिएँ।
ऊ जीवनलाई प्रेम गर्थी जसरी ऊ आफ्नो प्रेमीलाई गर्थी। म सपनाको दौडमा थिएँ, म चाहन्थेँ म प्रेममा नपरुँ, जागिर खाउँ, पैसा कमाउँ, नाम कमाउँ। ऊ प्रेमको दौडमा थिई। उसको लागि उसको प्रेमी नै उसको संसार थियो। ऊ खुसी देखिन्थी, मेरा लागि त्यो उसको केटाकेटीपनको उपज थियो। मलाई लाग्थ्यो उसले जीवनलाई लिने प्रवृत्ति एक आवारा किशोर प्रवृत्ति हो। तर किन-किन उसको सरलतामा एक किसिमको अनौठो ठम्मयाइ थियो जुन ममा कहिल्यै थिएन।
दिनदिनैको क्याम्पसमा हुने भेट हाम्रा लागि एकअर्कासँग नजिकिने मौकाहरू बने। म आर्थिक कठोरतामा बाचेकी थिएँ। सम्पनताको यात्रा मेरो जीवनको यात्रा थियो। ऊ एक आमा बेगरकी टुहुरी, अर्की आमाको बन्धनमा भएर पनि उसमा अनौठो खुलापन थियो। ऊ प्रेम र घृणा दुवैसँग मज्जाले घुलेकी थिई।
एकदिन पहिलो वर्षको परीक्षामा नम्बर कम आएर म दुखी थिएँ, ऊ मेरै छैउ बसेर फेल भएर पनि मेरा दुःखहरूलाई कम गर्दै थिई। 'थाहा छ कृपा, जुन तिम्रो नियन्त्रण बाहिर छ त्यसमा दुखी भएर केही हुन्छ? तिम्री बन्धनले बाधिएकी छौ जुन कुरा मलाई कहिल्यै मन पर्दैन।'
थाहा छैन त्यसपछि उसलाई के भयो ऊ यति भनी र सरासर आफ्नो बाटो लागी। भोलिपल्ट सदाझैँ उस्तै हँसिली भएर क्याम्पस आई। मलाई लाग्यो यो केले बनेकी छ? मान्छे त हो?
दिनहरू बित्दै थिए। एकअर्कालाई भन्नको लागि कुराहरू त धेरै नै थिए तर किन-किन आजकल ऊ वक्ताभन्दा कम श्रोता भएको मैले महसुस गर्दै थिएँ। दिनहुँ गफमा झुल्कने उसको प्रेमी धेरै दिनदेखि उसको गफबाट हराएको थियो। मलाई किन-किन लाग्यो ऊ ठिक देखिए पनि ठिक छैन। मैले सोधेँ, 'सपना, तिमी ठिक त छेऊ? तिमीहरूको सम्बन्ध चल्दै त छ नि?'
एक्कासी उसका आँखाहरू झुके। मलिन स्वरमा भनी, 'कृपा, मैले भनिरहन्छु नि तिमीलाई जुन मेरो हातमा छैन त्यसबारे म धेरै सोच्दिनँ। प्रेम मेरो हातमा थियो, मैले गरेँ। सम्बन्ध सायद प्रेमभन्दा परको कुरा हो जुन थियो, अब छैन। म दुखी त हुँला तर तिमीले सोचेझैँ प्रेममा विरक्त भएकी छैन।'
उसको उत्तर यति थियो। मैले पनि थप केही सोधिनँ। मलाई लाग्यो सोधेँ भने ऊ अझ बढी दुखी हुने छे।
ऊ मलिन देखिन्थी केही दिन। तर उनीहरूको सम्बन्ध किन टुङ्गियो उसले मलाई कहिल्यै भनिन। विस्तारै हाम्रो क्यापसका दिनहरू सिद्धिने क्रममा थिए। म चाहन्थेँ त्यसपछि म जागिरे बनुँ, त्यो पनि सरकारी। मलाई थाहा थियो उसका केही त्यस्ता सपना थिएनन्।
मैले सदा झैँ सोधेँ, 'सपना, तिमी अब के गर्छ्यौ?'
'प्रेम गर्छु, बिहे गर्छु।'
उसका यस्ता उत्तरहरू मलाई सधैँ रमाइला लाग्थे। अब सधैँ भेट्दैनौँ भन्ने लागेर हो कि किन हो त्यस दिन म ऊसँग लामो समय गफ गर्न चाहन्थेँ। मैले भनेँ, 'किन तिमी प्रेम गर्न मात्र चाहन्छेऊ सधैँ?'
'तिमीलाई थाहा छैन कृपा, जसले प्रेम के हो कहिल्यै बुझेन, आमा कस्ती थिइन् कहिल्यै देखेन उसको लागि प्रेम नै सबसे ठूलो सपना हो। मेरो यात्रा प्रेमको यात्रा हो जस्तो कि तिम्रो सम्पन्ताको। आफ्नो सपनामा बाच्दा कोही दुखी हुन्छ। प्रेम मेरो लागि त्यस्तै केही हो। मैले जसलाई प्रेम गरेँ वा अब गर्नेछु ती मेरो दुवै जीवनका सफलताहरू हुन्।'
उसले भनेका कुराहरू मैले बुझ्न त खोजेँ तर त्यो मेरो वृत्त बाहिरको क्षितिज थियो बुजेझैँ मात्र गरेँ।
यसरी प्रेममा रमाउने मस्तानी थिई ऊ। थाहा छैन अहिले कसको प्रेममा छ। मैले प्रेमका पहेलीहरूलाई कहिल्यै बुझ्न कोसिस गरिनँ। सायद, दाम र नाम नै मेरो हिस्साको सपना थियो। म त्यसको यात्रामा निस्केँ र त्यसैको लागि यात्रा गरेँ। आज अफिसमा कसैको छोरीको नाम सपना हो भनेको सुन्दा एक्कासी उसलाई सम्झिन पुगेकी छु।
क्याम्पसे जीवनबाट मेरो जीवनमा भित्रिएकी ऊ गत वर्ष यही, समय यही दिन कोरोनाको प्रेमले बिदा लिई। कोरोनाले थलिएर हस्पिटलको बेडबाट उसले मलाई पढाएको अन्तिम सन्देश, 'यो रित्तो समय हो। लाग्छ रिक्तताको त्यो पुरानो इतिहास फेरि दोहोरिएको छ र सायद अब फेरि पनि दोहोरिने छ। पुनरावृत्ति नै जीवन हो तर नबुजेझैँ हामी यसलाई गतिशीलता भन्छौँ।' यही नै थियो।
प्रिय मस्तानी, तिम्रो हिस्साको प्रेम सायद भाग्यमानीको हातमा मात्र थियो। जसलाई तिमीले प्रेम गर्यौ, जसले तिमीलाई प्रेम गरे ती सबै मेरा लागि प्रिय रहनेछन्। कठोरताको बाटोमा मात्र हिँडेकी मलाई पहिलो पटक तिम्रो कोमलताले पगालेको थियो। यो कथा तिम्रो लागि मात्र नभएर प्रेम बाटोमा हिँडेका सबै मस्तानीको लागि हो।