मेरो देश, मेरो राजा
मेरो ढुकढुकी मेरो बाजा
स्वतन्त्र र निस्कलंक राख्यौ
मेरो देश
एसियाको माझ।
सही सलामदका
मेरा वीर पूर्खाहरू
भक्ति थापा, वलभद्र कुंवर
एकीकरणमा लड्ने थुप्रै-थुप्रै वीरहरू
कीर्तिले साँचेका तिमी युगहरू।
बाटो देखाउने बटुवाहरू
काजी कालु पाण्डेदेखि
बिसे नगर्चीहरू
स्याबास सपुतहरू!
हौ तिमी विश्व थर्काउने तोपहरू
लाग्छ मलाई मेरो भूगोलमा
अझै छन् तिम्रा डोबहरू।
भृकुटी सीताका आदर्श मिच्नेहरू
बुद्धको देशमा बारूद पड्काउनेहरू
सावधान! कर्के आँखा लाउनेहरू
शान्ति क्षेत्र प्रस्तावमा
देशको भविष्य नलेख्नेहरू!
देशको रोडम्याप आफ्नै भूगोलमा नदेख्नेहरू
मौलिक सिद्धान्तको खडेरीमा
कोरावादी दूषित तिर्सना मेट्नेहरू
राष्ट्र निर्माताको शालिक ढालेर
अन्तर्राष्ट्रिय गीत गाउनेहरू
संस्कृति निभाएर
संस्कार खोज्नेहरू!
राष्ट्रियताको मानचित्रमा
फिका लाग्दैछन् आफ्नै तस्वीरहरू
नदीनाला परदेशीएकोमा
रूँदैछन् देशका हिमालहरू
अँध्यारो कोठरीमा
सल्बलाउँदैछन् प्रेतात्माहरू
पेण्डोराबक्स भित्रको गुलियो ललिपपमा
परिस्कृत गरिँदैछन् साम्राज्यवादहरू!
भक्कानिँदै छन्
अमरसिंह, भिमसेन थापाका आत्माहरू
खोज्दैछन्
जंगे पिलर नउठाउनेहरू
अनि नदीनाला
किस्तावन्दीमा बुझाउँदै गर्नेहरू।
हो,
आउँदैछन् पुनर्जन्म लिएर
अनि समाउँदैछन्
देशलाई गुलामी बजाउनेहरू।
(नोटः राजा भन्नाले पृथ्वीनारायण शाहलाई भनिएको हो।)